सम्पादकीय

साहित्यको स्रोत जीवन र जगतलाई मानिन्छ भने साहित्यको विषयवस्तु मूर्त र अमूर्त दुइटै हुन्छन् । ब्रह्माण्ड आफैंमा एउटा अलिखित साहित्य हो । साहित्य सिर्जना गर्न सर्जक र विषयवस्तुको भूमिका अहम् मानिन्छ । एउटै विषयवस्तु भएपनि सर्जकको प्रस्तुतिकरणमा फरक पर्दछ । पाठकको मन छुने साहित्य त त्यस सर्जकले दिन सक्छ जो प्रतिभावान,व्युत्पादक र अभ्यासशील छ । सल्फ्युरिक एसिड जस्तो कच्चा पदार्थलाई प्लेटिनियम जस्तो परिवर्तनकारक तत्वको स्पर्शबाट सल्फरडाइअक्साइड बनाए जस्तै जीवन र जगत, जो साहित्यको स्रोत हो, त्यसलाई साहित्य सिर्जनका निम्ति कच्चा पदार्थको रुपमा लिइन्छ । त्यस्तो विषयवस्तु सिद्घहस्त सर्जकको हृदयको स्पर्शले सत् साहित्य बन्दछ,अनि पाठकको मन छुन्छ ।

आधुनिक युगमा साहित्यका पाठकले प्राथमिक, माध्यमिक र आधुनिक युगको भन्दा पनि उत्तर आधुनिक युगको ज्यादै उच्च बौद्घिक खुराकको अपेक्षा गर्दछन् । सर्जकले जोडजाम पारिदिएको वस्तुलाई आफ्नै ढंगले अथ्र्याउन खोज्छन् आजका पाठकहरुले । आजका सर्जक र पाठक शंकर लामिछाने, मोहन कोइरालाभन्दा पनि जटिल र दुर्बोध्य हुन थाले । आजका पाठक र सर्जक वाद र प्रणालीमा रोकिंदैनन् । सर्जकभन्दा पनि पाठक बढी चतुर हुन्छन् । कवि करोति काव्यनि भाव जानन्ति पण्डिताः। पाठकपरक समालेचनाको चुरो आजका पाठकले पक्रिएको पाइन्छ । साहित्य सबैलाई राम्रो, मीठो र प्यारो लाग्छ, किनकि यसमा कोलाजको प्रतिविम्ब पाइन्छ । काव्यका प्रकार, साहित्यका रस आदि आदि । नेपाली साहित्यको उचाई सगरमाथाको उचाईमा पुगेको छ । विश्वस्तरको साहित्यिक कृति सिर्जना नेपाली सर्जकले गरेका छन् । तर नेपाली साहित्यलाई विश्वभर फैलाउने काम चाहिँ भूटानी पाठक र सर्जकले पनि गरेका छन् भन्ने कुरामा गर्व गर्नु पर्दछ । अवसर न पाएको भए शेक्सपियर हलो जोत्ने कृषक नै हुन्थे होला भनेझैँ अवसरले मानिस महान बन्छ । त्यस्तै भूटानी सर्जकले पाएको अवसर नगुमाउने हो भने भोलि गएर भूटानी सर्जकले पनि विश्वस्तरका कृति सिर्जना गर्नेछन् । भूटानी साहित्याको इतिहास छोटो भएपनि यसले गरेको उन्नति, विकास ज्यादै प्रशंसनीय छ । भाषा बोकेर हिंडे संसारको जुनसुकै कुनामा बसेर पनि साहित्य सिर्जना गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भइसक्यो । भूटानी समूदायका साहित्यसर्जकका हात एक सफलताको मोडतिर मोडिएको पाइन्छ । कलममा परिष्कार देखिन्छ भने विचारमा गहनता, भाषामा सरलता छ भने भावमा गम्भीरता, शैलीमा नवीनता पाइन्छ भने रसमा माधुर्यता ।

मनभित्रका भावना नितान्त व्यक्तिगत नै हुन्छन् । तर भाषाका माध्यमबाट भावना व्यक्त गरेपछि व्यक्तिगतभन्दा सामाजिक मूल्य र मान्यताका विषय बन्दछन् । त्यसैले सर्जकले भावना पस्कँदा सकभर कलात्मक एवं परिष्कृत रुपमा प्रस्तुत गर्न सकियो भने समालोचकले मस्को लगाएर सर्जकका कृतिलाई मस्काइ रहनु नपर्ला ।

सम्पादक

One Reply to “सम्पादकीय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *