सम्पादकीय
जमाना परिवर्तनशील छ । जमाना तरल छ । जमाना परिमार्जनशील छ । जमानामा लगातारको सुदृढीकरण छ । यसमा लगातारको सुदृढीकरण पनि रहि रहनु पर्दछ । परिवर्तित जमानासँगै दैनिक रहन–सहनको प्रविधिमा पनि लगातारको परिवर्तन आइरहेको छ । हिजोको प्रविधि जति सरल थियो, आज त्यो धेरै जटिल बनेको छ । यी सम्पूर्ण परिवर्तनसँग मानिसको तारतम्य मिलाउन पनि लगातार सुधारको आवश्यकता पर्दछ । हिजो गरेको कामकार्वाहीको फडका, आजकोसँग नमिल्न सक्तछ । त्यसैले मानिसले केही सतर्कता, चेतना र विवेकपूर्वक आजको कार्य गर्नुपर्दछ ।
साहित्य पनि परिवर्तनको एक हिस्सा हो । हरेक सर्जकले लगातारको सुदृढीकरण अवलंवन गर्नु पर्दछ । सुदृढीकरणमा ‘राम्रो’ भन्ने चलन बाधक रहन्छ । ‘राम्रो’, ‘ठीक’, ‘वाह! वाह!’, जस्ता शब्द नै विकास र सुदृढीकरणका बाधक हुन् । यी शब्दले कम्जोरी, अपूग, अल्पता, अपूर्ण, असक्षमता, असमझदारी जस्ता समस्यालाई लुकाएको हुन्छ । ढाकछोप गरेको हुन्छ । त्यसकारण पाठकले सर्जकको प्रशंसा होइन गल्ती औंल्याउने गरिदिनु पर्दछ । सर्जकले पाठकले देखाएको गल्तीमा आवेगममा क्रान्त नबनेर, धन्य बन्नु पर्दछ । गल्ती देखाउन मानिस डराउँछन् — कतै दण्डित भइन्छ कि भनेर । यो त्रास पनि सफलताको बाधक हुन्छ । त्यसकारण गल्ती देखाउनेलाई दण्ड होइन, पुरस्कृत गरिनु पर्दछ । सफलता पाउन गल्तीको समाधान गरिनु पर्दछ । यो निरन्तर प्रकृया हो ।
सम्पादक