सम्पादकीय

साहित्यको निश्चित सिद्घान्त भएझैं कविता लेखनको निश्चित सिद्धान्त छैन । कविता स्वतन्त्र अनुभूतिको स्वतन्त्र र वैयक्तिक अभिव्यक्ति हो । यसमा कला र अनुभूति आफ्ना हुन्छन् । भाव–विचार र चेतना भने जनताका हुन्छन् । कलाविनाको कविता र चेतनाविनाको कला दुवै शून्य हुन्छन् । यी दुवैलाई विषाक्त सिर्जना मानिन्छन् । दुवैले यसो वा त्यसो जनताको चेतना समुन्नत पार्न भूमिका खैल्दैनन् । कलाविना कविता आकर्षण शून्य हुने र चेतनाविना कविता खोक्रा हुने हुँदा दुवैले घुमाउरो भ्रम छर्छन् । भ्रम छर्नु जनता विरोधी काम हो । त्यसैले कविता लेख्दा सर्जकले कलात्मकरुपमा जीवन र जगतका मूर्त वा अमूर्त विषयवस्तु स्वतन्त्ररुपमा प्रस्तुत गर्न सक्नुपर्छ । सजर्कले साहित्य भनेको समाजको दर्पण हो भन्ने कुरालाई ध्यानमा राख्नु पर्दछ । सर्जकको सिर्जना भएपनि प्रकाशित भएका कृति भने समाजको अमूल्य निधि बन्ने हुनाले पाठकले कृतिका माध्यमबाट समाजकै विविध कृयाकलापको प्रतिविम्ब अनुभूति गर्दछन् । जतिखेर सामाजिक दृश्यहरु आँखाद्वारा साक्षात्कार गरिन्छ, त्यतिखेर नै चेतनायुक्त लेखकमा मानवीय सम्वेदना जन्मिन्छ । मानवीय जीवनका साक्षत् विम्ब–प्रतिविम्ब जन्मिन्छन्, जनताका स्पन्दन अनुभूत हुन्छन् र तिनैलाई समेट्दै जनताका बोलीमा सकेसम्म आफूलाई समावेश गरी कविता लेख्नु असल लेखक वा कविको कर्तव्य मानिन्छ । व्यक्ति आग्रहविना कविता लेख्नु र सिङ्गो जनतामा सामन्यीकरण गर्नु नै कविताको कुशलता भन्ने ठान्नुपर्छ । कविता जनताबीचमा जन्मन्छ, जनतामा बाँच्छ र जनतामै अमर रहन्छ । त्यसैले कविताको सफलता जनताको हृदय जितेर र जनताको हृदयमा छाप छोडेर मात्र हुन्छ । जनताका धुकधुकी साँचेर जनताका जीवनका रुपलाई प्रतीक बनाउँदै जनताका स्वरलाई शैली बनाउँदै कविता लेखेपछि मात्र कविता जनताको चासोको विषय बन्नसक्छ ।

परम्परावादी कविताभित्र हेलिएर अमूल्य समयलाई त्यसै खेर फाल्न चाहने एकाइसौं शताब्दीका मानव, त्यसमा पनि भूटान जस्तो नेपाली भाषाको अति अल्प पृष्ठभूमि भएको समाजमा त्यस किसिमको कविता नफक्रन पनि सक्छन् । त्यसैले सर्वसाधारणले प्रयोग गर्ने भाषाका माध्यमबाट कवितात्मक शैलीमा लेखिएका कविताले मात्र उचित साहित्यको दर्जा पाउँन सक्छ भन्ने धृष्टता पनि हो । आफ्नो रचना सर्वसाधारण जनताले पढिदिएर केही मात्रामा बुझिदिए पुग्छ । यसैमा लेखकले सन्तुष्टि मान्नुपर्ने हुन्छ । तर परम्परावादी लेखक एवं साहित्यकारहरुबाट त्यस्ता सर्वसाधारण जनताले पढ्न र बुझ्न सक्ने सरल र सुगम भाषाको प्रयोग गरी लेख्ने लेखक र उनीहरुका रचनाप्रति शास्त्रीय रड्डीचड्डी छैन, यो शुद्ध साहित्यिक रचना पनि होइन भनेर आरोपप्रत्यारोप पनि लाग्नसक्छ । यो पाठकपरक समालोचनाको अधिकारको विषय पनि हो । कविता त टोयटा, मारुती र पजेरोमा चढेर, सीसमहलामा बसेर, आलिशानको दिव्य भवनमा उभिएर तल सडक वा गल्लीमा हेर्दा देखेका नांगा पैताला, हिउँमा हिँड्ने र काँडामा चल्ने गरीब मान्छेका शरीरसम्मको समानरुपमा चित्रण गर्ने हुनपर्दछ । यदि कविताले पाठकको मन छोएन भने जतिसुकै गुलियो भाषामा लेखेपनि त्यो कविता जीवनशून्य र स्पनदनहीन कविता बन्न पुग्दछ । कवितालाई कला, व्यञ्जना आदिका फलामे बारमा थुनेर राख्नु अबको साहित्यमा चेतनशील मानिदैन । यसैले अबको कविता लेखनले ती घेरा लगाएका फलामे बारलाई तोडेर खुल्ला मैदानमा ओर्लिंदै प्रगतिशील र विकासवादी चेतनाले भरिभराउ नवलेखक एवं साहित्यकाहरु एक ढिक्का भएर कर्मक्षेत्रमा अब ओर्लिनु भूटानी साहित्यका लागि नयाँ युगको सुरुवात हुने कुरामा दुईमत नहोला ।

सम्पादक

One Reply to “सम्पादकीय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *