सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न
“मातृभाषाको संरक्षण गरौँ, आफ्नो पहिचान जोगाऔं” भन्ने मूल नाराका साथ स्थापना भएको मातृभाषा संरक्षण समूहले अमेरिकाको पेन्सलभेनिया राज्यको हेरिस्बर्ग शहरमा मातृभाषा संरक्षण समूहको दोस्रो प्रस्तुतिका रूपमा तीनवटा पुस्तकको लोकार्पण गर्नुका साथै भूटानी समुदायका दुई समाजसेवी विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ ।
यही मिति अप्रिल २, आइतबारका दिन सोही समूहका सदस्य बैरागी माइलाको अध्यक्षतामा भएको कार्यक्रममा तीन पुस्तकहरू सुशील रेग्मीको “भूल्नै सकिन” गजल सङ्ग्रह, बैरागी माइलाको “कुलागाङ्रीको फेदिबाट” गजल सङ्ग्रह अनि धर्मेन्द्र तिम्सिना “क्षितिज”को “एक अञ्जुली सपना” कविता सङ्ग्रहको लोकार्पण समपन्न भएको छ साथै भूटानी समुदायलाई लामो समयदेखि चित्रकलाले सुसज्जित गराउनुहुने अनि मातृभाषा संरक्षण समूहको पहिलो र दोस्रो दुवै प्रस्तुतिहरुमा पुस्तकको कभर फोटो डिजाइन गरिदिनुहुने चित्रकार डी.बि सारु र कम्प्युटरमा राखेर त्यस फोटोलाई पुस्तकमा मिल्ने गरी डिजाइन गरिदिनुहुने गोपाल बाँस्कोटा सम्मानित भएका छन् ।
मातृभाषा संरक्षण समूहले पहिलो प्रस्तुतिका रूपमा आठ जना भूटानी स्रष्टालाई समेटेर संयुक्त गजल सङ्ग्रह “समुन्द्रपारीका कलमहरु” २०७२ प्रकाशित गरिसकेको छ ।