सम्मेलन सम्पन्न

साहित्य परिषद-भूटानको बहुप्रतिक्षीत प्रथम सम्मेलन संगठनको औपचारिक विधान, भावी कार्यदिशासहित योजनाका सात बुँदे औपचारिक र केही अनौपचारिक घोषणा जारी गर्दै सम्पन्न भएको छ ।

परिषद सचिव रूप पोखरेल र निर्देशक मण्डली सदस्य श्री सञ्चमान खालिङको व्यवस्थापनमा नोभेम्बर ७ र ८ मा आयोजित सोही समारोहमा भूटानी युवा कवि श्री नारद पोखरेलकृत अंग्रेजी कविता संग्रह “The Pathetic Journey” को विमोचन पनि गरियो ।

यसका साथै साहित्य परिषद-भूटानले पुनर्वाश कार्यक्रम अन्तर्गत अमेरिका आएपछि विभिन्न कष्ट झेलिरहेका भूटानीहरुलाई विविध सहयोग पुऱ्याएकोमा ओहायोस्थित केन्ट स्टेट यूनिभर्सिटीका पूर्व प्रोफेसर डा. टेह्री क्हुनलाई कदर पत्रसहित सम्मान पनि गरेको छ ।

नेपाली साहित्यका मूर्धन्य हस्ती महाकवि स्व. श्री लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीकै छेक पारेर अमेरिकाको पिट्सबर्ग शहरमा आयोजित सो दुई दिने सम्मेलनको प्रथम दिन आयोजित बन्द सत्रबाट पारित योजनाहरुको घोषणा जस्ताको तस्तैः-

साहित्य परिषद-भूटान, पिट्सबर्ग घोषणा
७ / ८ नोभेम्बर, २०१५

नोभेम्बर ७ र ८ मा आयोजित साहित्य परिषद-भूटानको पिट्सबर्ग सम्मेलनले विविध विषयमा छलफल गरी निम्नानुसार तत्कालीन र दीर्घकालीन योजना तथा रणनीति पारित गरेको छ ।

क. आधुनिक प्रविधिमा सन्तुलित र सकेसम्म समयानुकुल शिक्षण पद्धतिमा आधारित पाठ्यक्रमको विकास गर्ने । यस उद्देश्यमा योजना अघि बढाउन सात सदस्यीय समिति गठन गरिएको छ ।

ख. साहित्य परिषद-भूटानलाई अमेरिकाको ओहायो राज्यमा गैर-नाफामुखी संस्थाको रूपमा दर्ता प्रक्रिया अघि बढाउने सन्दर्भमा निर्णय पारित गरियो । (गैर-नाफामुखी संगठन दर्ता गराउने क्रममा अमेरिकी नियमभित्र सन्तुलित हुनलाई आवश्यक परेको खण्डमा साहित्य परिषदको वर्तमान संरचना फेरबदल गर्न सकिने छ ।)

ग. साहित्य परिषदको निर्देशक मण्डली सदस्य बुद्धमणि ढकालद्वारा पेश गरिएको मस्यौदा विधानलाई छलफल गरी सुझावसहित अन्तिम रूप दिइयो । (यसको एक कपी निर्देशक मण्डलीका प्रत्येक सदस्यलाई उपलब्ध गराइनेछ ।)

घ. कलाक्षेत्रमा सक्रिय सर्जकहरुको सरोकारलाई ध्यानमा राख्दै निकट भविष्यमा अभिनय कलासित सम्बन्धित कार्यक्रम बनाउन चरण बजगाईंको संयोजनमा चार सदस्यीय समिति गठन गरियो ।

ङ. साहित्य परिषद-भूटानमा आबद्ध सदस्यहरुबाट प्रतिव्यक्ति वार्षिक $२० सदस्यता शूल्क लिने निर्णय गरियो ।

च. प्रत्येक वर्ष साहित्यको एउटा कुनै विधाको उत्कृष्ट कृति वा पत्रिका प्रकाशन गर्ने । पहिलो वर्षको हकमा भने आगामी वर्ष कथासंग्रह प्रकाशन गरिने छ ।

छ. प्रत्येक वर्ष एउटा बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । यस योजना अन्तर्गत आगामी वर्ष ओहायो राज्यको कोलम्बसमा सेप्टेम्बर महिनाभित्र उपयुक्त मिति तय गरी आयोजना गरिने छ । यसका साथै अमेरिकाबाहेक अन्य मुलुकहरुमा रहेका परिषद सदस्यहरुको संयोजनमा समयानुकुल कार्यक्रमहरु आयोजना गरिने पनि निर्णय भयो ।

यसबाहेक www.bhutaneseliterature.com लाई अझ प्रभावकारी र सशक्त प्रकाशनको रूपमा विकसित गरी अगाडि बढाउने निष्कर्षसहित बिधागत विभागहरु खडा गरिएको छ जसमा पहिलो कदमस्वरूप भूटानी गजल विधाको क्षेत्रमा स्तरीय सिर्जनाहरु प्रकाशन गराउने लक्ष्यसहित यसको सहज प्रबन्ध गर्नलाई हालका लागि परिषद सदस्यद्वय याम थुलुङ र प्रकाश धमालालाई मनोनित गरिएको छ ।

अझ थप कतिपय आन्तरिक परिचालनका विषयहरुमा पनि परिषदले महत्वपूर्ण निर्णयहरु गरेको छ जसलाई आगामी दिनमा कार्यान्वयन गर्दै लगिने छ ।

धेरै लामो प्रतीक्षापछि परिषदले निर्दिष्ट बाटो तय गरेको छ । यस अवसरमा नयाँ उर्जा भरेर परिषदलाई सक्रिय बनाउने उपायहरु सोचेर अघि आउन सबै मौजुद सदस्यहरु समक्ष सविनय निवेदन गर्दै अब उसो साहित्य परिषद-भूटानको मातहतमा रहेर सक्रिय बन्न इच्छुक समग्र भूटानी सर्जकहरुलाई परिषदको सदस्यताको निम्न फारम भरेर lcobmembership@gmail.com इमेल ठेगानामा पठाउनुहुन पनि आग्रह पनि गरिन्छ । Membership Form

Leave a Reply

Your email address will not be published. Required fields are marked *