सर्वधर्म समभावका लागि ओ.एच.आर.सी. क्रियाशील
- ह्यारिसबर्ग/ पेन्सिलभेनिया
“ठाडो चञ्दन लगाउने, श्रीतिलक लगाउने, गोलाकार अथवा तेर्छो, रातो, पहेंलो वा सेतो टीका लगाउने अथवा नगाउने, तुलसीको माला लगाउने वा नलगाउने, वैदिक सनातन संस्कृतिभित्रका जुनसुकै सम्प्रदायकालाई एउटै भवनभित्र अँटाएर संसारका नेपालीभाषी हिन्दूहरुमा सद्भावपूर्ण साझेदारी र सहकार्यको नमूना पेश गर्ने महान उद्देश्य बोकेर क्रियाशील बनेको हाम्रो संगठनले आफ्नो प्रारम्भिक लक्ष्य हासिल गरेको छ”- ‘हिन्दू धर्म तथा सांस्कृतिक संगठन’ (ओ.एच.आर.सी.)-का अध्यक्ष डा. तुलाराम नेउपानेले भन्नुभयो ।
ओ.एच.आर.सी.-ले एक साता अघिमात्र पेन्सिलभेनियाको ह्यारसिबर्ग महानगरस्थित 5650 Lancaster Avenue, HBG 17111 मा ठेगाना भएको एउटा भव्य भवन खरिद गरेको छ । सोही सरोकारमा गरिएको कुराकानीमा अध्यक्ष डा.नेउपानेले यो कुरा बताउनुभएको हो ।
हासिल भएको तपाईंहरुको प्रारम्भिक लक्ष्य के हो त? भन्ने प्रश्नमा जवाफ दिँदै उहाँले भन्नुभयो,“वर्षौंदेखि हामीले एउटा सामुदायिक भवनको अभाव सामना गरिरहेका थियौं । त्यसकारण सबैभन्दा पहिले हामी मन्दीर स्थापना र नेपालीभाषा तथा संस्कृतिको अध्ययन-अध्यापन गराउने साझा स्थल निर्माणका लागि खटिरहेका थियौं । यस दिशामा स्थानीय शहरभित्र उपयुक्त जमीन खरिद गरी नवहरिहर धाम परियोजना अन्तर्गत निर्माणकार्यको शिलान्याससमेत भइसकेको छ । यद्यपि, यो निर्माणकार्य अत्यन्तै ठूलो आर्थिक लगानीको परियोजना भएको र स्थानीय महानगरीय कानुनी प्रावधानहरु नियमबद्ध पूरा गर्न अझै समय लाग्ने भएका कारण समाजका भक्त-अनुयायीहरुको आशा तत्कालै पूरा नहुने भएपछि हामीले एउटा वैकल्पिक भवन खरिद गर्ने निर्णय गरेका थियौं । जुन उद्देश्य आज पूरा भएको छ ।”
उसोभए भवन खरिद गरिसकेपछि अब तपाईंहरुको परियोजना खारेज भएको हो ? भन्ने अर्को प्रश्नमा डा. नेउपाने भन्नुहुन्छ,“खारेज होइन; स्थगित भएको हो । हामीले सो परियोजना अन्तर्गतको जमीनलाई कुनै रकम तिर्न बाँकी छैन । त्यसको स्वामित्व संगठनले ग्रहण गरिसकेको छ । परियोजना निर्माण समिति पनि गठन भएको छ र योजनाअनुसार नै समिति सक्रिय बनिरहेको छ । सो समितिलाई पनि अझ विस्तार गर्न लागिरहेका छौं । हाम्रो ध्यान अहिले खरिद गरिएको भवनको व्यवस्थापनमा केन्द्रित भएको छ । यो व्यवस्थित भइसकेपछि हामी परियोजनालाई पनि विस्तारै अघि बढाउँदै जानेछौं ।”
उहाँले अगाडि भन्नुभयो,“शिव-पार्वती, राधा-कृष्ण, सीता-राम, विष्णु-लक्ष्मी जसलाई माने पनि, बौद्ध र किराँत नै भए पनि हामी सिंगो समाजको एकिकृत छविलाई सजीव राख्न चाहन्छौं । हाम्रो ऐतिहासिक समाजको पृष्ठभूमि अत्यन्तै सौहार्द्र थियो । हामी समुदाय, संस्कृति नमिल्नेहरु बीचमा पनि मितेरी साइनो लगाएर नाता-सम्बन्ध कायम गर्थ्यौं । ‘उदारचरितानांतु वसुधैव कुटुम्बकम्’ को आदर्श बोकेर हिँडेको हाम्रो समाज हो । तर, आज विभिन्न वहानामा समाजले अनेक गुटबन्दीको परिणाम भोग्नु परिरहेको छ । यो अवस्थालाई चिरेर हामी पुनः एकिकृत समाज निर्माण गर्ने प्रयासमा छौं । हिन्दू सनातन परम्पराभित्र ‘सर्वधर्म समभाव’ हाम्रो मूल लक्ष्य हो ।”
यसै सिलसिलामा डा. नेउपानेले सो महान सामाजिक लक्ष्यमा भागीदार बनेर ओ.एच.आर.सी.-लाई सफल बनाउनुहुने समुदायका हरेक सदस्यहरु, अनुदाता र शुभेच्छुकहरु सबैमा कृतज्ञता व्यक्त गर्नुभयो ।
यसका साथै उहाँले ओ.एच.आर.सी. द्वारा सञ्चालित नेपाली शिक्षा कार्यक्रम परिमार्जन हुने कुराको पनि जानकारी गराउनु भएको छ । डा. नेउपानेकै भनाइमा अहिलेसम्म परिचालन गरिएको आधारभूत नेपाली शिक्षा कार्यक्रमलाई अब उसो शैद्धान्तिक र अभ्यासगत गरी दुइ-विभागमा छुट्याएर प्रयोगमा ल्याइनेछ । योजना अनुसार नेपाली शिक्षाका अतिरिक्त वैकल्पिक विषयका रूपमा संस्कृतप्रज्ञा कक्षा, संगीत र नृत्य कक्षा पनि समावेश गरिने भएको छ । जसलाई विद्यार्थी र अभिभावकहरु स्वैच्छा अनुसार चयन गरी समावेश हुन सक्नेछन् ।
विशेष गरी पेन्सिलभेनियाको ह्यारिसबर्ग केन्द्रित नेपालीभाषी हिन्दू समुदाय र आमरुपमा संसारभरिका हिन्दू धर्म-संस्कृतिमा श्रद्धाभाव भएका मानवसमुदायप्रति अविराम सहयोग, सद्भावना र शुभेच्छाका लागि ओ.एच.आर.सी. को मातहतमा डा. नेउपानेले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । यसका साथै उहाँले यसै मार्च महिनाको २० तारिखका दिन सो भवनको उद्घाटन हुने र मार्च २४ देखि शुरु भएर २ अप्रिलमा समापन हुनेगरी नवाह महायज्ञको लागि सबैलाई निमन्त्रणा पनि गर्नुभएको छ ।