सस्तो आँसु
नवीन भट्टराई
भिक्टोरिया, अष्ट्रेलिया
कैयौं मैले दिन काटें
आँसुको भेल बगाई
रातहरु त्यसै बिते
आशाहरूको सपना सजाई,
कहिलेकाहीं यसो सोच्छु
निधारमा हात लगाई
कर्मलाई दोष दिन्छु
आफ्नो व्यथा पाखा लगाई,
परिस्थिति नै कस्तो मेरो ?
दु:ख सामना गर्ने शक्ति सबै हराई,
अघि बढ़्न प्रयास गर्छु
खुट्टा तानी दिन्छ लडाईं !
निराश छु म मेरो जिन्दगीदेखि
आफन्त खोज्छु देख्छु सबै पराइ !
गर्न केही सक्दिनँ रै’छु अब,
रुन्छु सस्तो आँसु बगाई ।
हो, मेरो बिकल्प नै के पो छ र,
सम्झिन्छु अतीत टाउकोमा म हात समाई
जिउँदै छु म मृत्युतूल्य जीवन
सधैं आँसुले आँखाहरू रसाई !
गर्न केही सक्दिन रै’छु अब
रुन्छु सस्तो आँसु बगाई । (२)