सांकेतिक भाषा सञ्चार:- मेरो आवज

लेखक

पुष्प ढकाल (सांकेतिक)
साउथ डाकोटा, अमेरिका

भूटानको साम्ड्रुपजोङ्खर जिल्ला अन्तर्गत हस्तिनापुर ब्लकको बेतहोली गाउँमा जन्मेको थिएँ । मेरा घरमा म र मेरी दिदी बाहेक अरू सबै सुन्ने थिए भने हामी चैँ जन्मजातै बहिरा थियौँ । घरमा पनि कसैलाई साङ्केतिक भाषाको ज्ञान थिएन भने भूटानको स्कुलमा पनि हामी जस्ता बहिरा र सुस्त श्रवणका लागी केही वेवस्था थिएन । सन १९९० मा भूटानबाट बिस्थापित भई माइधारको कोटिहोम हुँदै बेलडाँगी नपुगुन्जेलसम्म मेरो बाल्यकाल अन्धाधुन्ध हात हल्लाउँदैमा बित्यो । मानसिक विकास हुनुको सट्टा सबैबाट पाएको तिरस्कार र अपहेलनाले गर्दा झन् अपाङ्गमा परिणत भैसकेको थिएँ । म जस्ता अरू धेरैको यही हालत थियो । शरणार्थी शिविरको आर्थिक अवस्था नाजुक भएको सबैलाई थाहा नै छ ।

मानव इतिहासमा, आदिकालदेखिनै , भाषा-भाषीहरूको विकास हुनुभन्दा पहिले सङ्केत वा इसारालाई एक आपसमा विचार वा भावनाहरूको आदान प्रदान गर्ने सञ्चारको माध्यमको रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । ढुङ्गे युगमा पनि यसरी नै सङ्केत वा इसारालाई मुख्य रूपमा प्रयोग गरेको हामीले इतिहासमा पाउँछौँ । पछि गएर जब भाषा-भाषिकाहरुको विकास भयो, तब सुस्त श्रवणको समस्या जुनै पनि समाजमा विधमान भएको पाइयो र यी सुस्त श्रवण भएको व्यक्तिहरूलाई समाजमा घुलमिल हुन कठिनाइ अवश्य भयो वा अर्को शैलीमा भन्ने हो भने, समाजले यस्ता व्यक्तिहरूलाई सहजै स्विकारेन जसका कारण बहिरा वा सुस्त श्रवण भएका व्यक्तिहरूले जीवनका हरेक खुट्किलाहरुमा पछि पर्नु पर्ने वा अनेकान समस्याहरूको सामना गर्नु पर्ने भयो । यी सबै कुराहरूलाई मध्यनजर गर्दै केही बिध्वानहरुले अठारौँ शताब्दीमा युरोपेली मुलुकमा साङ्केतिक भाषाको विकास गरेर केही बहिराहरूले पढ्ने स्कुल पनि स्थापना भए पछि सुस्त श्रवण भएका व्यक्तिहरूले राहत पाएका हुन् ।

यही सिलसिलामा नेपाली समाजमा पनि बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरूको सङ्ख्य प्रशस्तै हुँदा कसरी दैनिक जीवन यापनमा सरलता ल्याउन सकिन्छ र शैक्षिक क्षेत्रमा यस्ता व्यक्तिहरूका लागी कसरी सहज बनाउन सकिन्छ भन्ने हेतुमा सन १९९६ को १८ नोभेम्बरको दिन राष्ट्रिय स्तरको ‘नेपाली साङ्केतिक भाषा’को विकास सुरु भयो । सन १९९५ मै ‘राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घ’को स्थापना भएको थियो । यही संस्थाले नेपालको पूर्वाञ्चलमा अवस्थित सातवटै भूटानी शरणार्थी शिविरहरूमा साङ्केतिक भाषाका कक्षाहरू र तालिमहरू छ महिनाको अवधि सम्म सञ्चालन गरेको थियो । कारितास नेपाल र संयुक्त राष्ट्र सङ्घद्वारा सञ्चालिन स्कूलीय शिक्षा प्रणालीमा सुन्ने व्बिद्यार्थीहरुका लागी मात्र सहज वातावरण थियो र त्याहा बहिरा र सुस्त श्रवण भएका बिद्यार्थीहरुका लागी अनिवार्य रूपमा साङ्केतिक दोभासेको जरुरत थियो । घर परिवारमा पनि बहिरा र सुस्त श्रवण भएका अभिभावकहरूलाई पनि साङ्केतिक भाषाको तालिम त्यतिकै जरुरत थियो जसले गर्दा सजिलै वार्तालाप गर्न सकिन्थ्यो । यी सबै समस्यालाई यो राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घले दिएको तालिमले पुरा गरेको थियो । यसले साक्षर विद्यार्थी, शिक्षक र दोभासेहरू निर्माण गर्‍यो ।

जब ‘राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घ’को प्रवेश भयो भूटानी शरणार्थी शिविर र स्कुलहरूमा तब म र म जस्ता धेरैले नयाँ जीवन पाए । साक्षात्कार बने र अरू जस्तै सामानन्तर विकास हुँदै गए । म यहाँ त्यस संस्था र त्यस सँग सम्बन्ध सम्पूर्ण व्यक्तिहरूलाई यसै लेखद्वारा आभार व्यक्त गर्न चाहन्छु ।

साङ्केतिक भाषामा हातका इसारा, ओठ र अनुहारको हाउभाउले अक्षर, शब्द वा परिस्थितिलाई बुझाउने काम गरिन्छ । विश्वमा सबैतिर साङ्केतिक भाषा एउटै हुन्छ तर शब्दकोश भिन्नाभिन्नै हुन्छ । बहिरा र सुस्त श्रवण व्यक्तिहरूलाई त त्यसैपनी विशेष फाइदा हुन्छ नै तर यदि घरपरिवारको अन्य सद्श्यहरुले पनि साङ्केतिक भाषा सिकिदिए म जस्ता अरू धेरैलाई ठुलो राहत हुने थियो । घरमा विचारको आदान प्रदान सजिलो हुन्छ । म सबै अभिभावकहरूलाई आफ्ना घरमा भएका बहिरा वा सुस्त श्रवण व्यक्तिहरूलाई अपहेलना नगरी उनीहरूलाई साङ्केतिक भाषा सिक्न र सिकाउने उपाय, व्यवस्था मिलाईदिनुहोस भनी अनुरोध गर्न चाहन्छु ।

सन १९९९ मा ओठे भाषा सिक्ने तीन महिने तालिम लिने सौभाज्ञ मिल्यो मलाई र २००१ देखी मेरो तोते बोली आउन थाल्यो । संसारको सबै भन्दा धेरै खुसी प्राप्त भयो मलाई । पछि गएर श्रवण यन्त्रको सहयोगले मैले सुन्न पनि थालेँ । अहिले केही अप्ठ्यारो लागे पनि अरू सरह सुन्न र बोल्न सक्छु म र मैले यो साङ्केतिक भाषा प्रति मरिमेटेर लागेको छु । यहाँ अमेरिकामा पुनर्स्थापना भएपछि पनि मैले अमेरिकी साङ्केतिक भाषा सिक्ने र पढ्ने मौका पाएको छु ।

सुन्ने गीत , कविता, गजल र मुक्तकहरूलाई साङ्केतिक भाषामा अनुवाद गर्नु र फेसबुक लाइभ गरेर म जस्ता मेरा सम्पूर्ण साथीहरूलाई गीत सङ्गीतमा, साहित्यमा र लेख पढेमा अभिप्रेरित गराउनु मेरो विशेष उधेय्श्य हो । यहाँहरूले पनि लाइक , सेयर र कमेन्ट्स गरेर उत्प्रेरणा दिनुहुन र म जस्ता मेरा साथीहरू समक्ष पुर्‍याउनु बिनम्र अनुरोध गर्दछु ।

(नोट: कान नसुन्ने मान्छेलाई सबैले लाटो भनेर बोलाउने गरेको देखेको छु । साङ्केतिक भाषा पढेको व्यक्ति लाटो होइन । उसले सम्वाद गर्न सक्छ । नबोल्नुको कारण पनि कान नसुन्नु नै हो । त्यसैले कृपया कसैलाई पनि लाटो नभनिदिनु होला)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *