सानेकी आमा

डिल्लीराम शर्मा आचार्य
नर्वे

बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको थियो । गाई, बाख्रा धमाधम जंगलबाट निस्केर घूलो उडाउँदै घरतिर लम्किरहेका थिए । चरा चुरुङ्गीहरु सुमधुर आवाजसँगै धमाधम आफ्ना गुँडतिर लाग्दै थिए ।

गर्मी बड्दै गएकोले मानिसहरु बेलुकाको शीत्तल हावा ताप्न बाहिर फेर निस्कनेको चहल पहल देखिन्थ्यो । किसान मेलो छाडेर दाउरा र घाँसको भारी बोकेकाहरु धमाधम घर फिर्न थालेका थिए ।

डाँडाका माथि माथि घामको पँहेलो ज्योतिले पाखो पँहेलो देखिन्थ्यो । वसन्तको कल्कलाउँदो पाउलाले ढकमक्क हरियाली छाएको वनभित्र कुहु कुहु कोइलीको सुमधुर आवाज आइरहेको थियो।

लप्सीबोटे डाँडाको द्यौराली छेउमा थुप्रै नचिनेका मानिसहरु ओरालो झर्दै गरेको देखेपछि सानेकी आमा हतार हतार धारामा पानी थापेर घरतिर फिरिन् ।

विस्तारै उज्यालोलाई अँध्यारोले मिच्तै मिच्तै ल्याइरहेको थियो । वारिपारिका गाउँहरुमा साँझ बत्ती पल्याक् पुलुक् बल्न थालेपछि सानेकी आमा हतारिँदै धन्दातिर लागिन् ।

‘सानेका बाबु पक्रा परेको पनि आज दुई महिना जति भयो ।’ लामो सास तान्दै सानेकी आमाले मनमनमा भनिन् । ‘ती आउने मानिसहरु को हुन् ? आर्मी त होइनन् होला,ए म त कति साह्रो टोलाएँ छु’। ‘ए साने ! साने …..’ भन्दै सानेलाई बोलाइन् ।

पाँच छ वर्षको बालकले घर भित्रबाट “हदुल” भन्दै बाहिर निस्क्यो ।

‘आइज त बा पाठा समा, अलच्छिना साँडे कति भित्र पस्या होलान् । राति छाप्छाप्ती स्याल कुद्छन् ।’ सानेकी आमाले खोरको दैलो मिलाउँदै भनिन् ।

भित्र डोकाले पाठा छोपेर हतार हतार बत्ती बालिन् र कोक्रामा चिच्याई चिच्याई रोइरहेको नानीलाई ‘मेरो बाबालाई कल्ले’ भन्दै दूधको मुन्टा चुसाउन थालिन् । साने आमाका छेउमा बसेर भाइले दूध चुसेको एक टक लागेर हेरिरहेको थियो । सानेको बाबु जसे दुई महिना अघि पार्टीमा लागेको झोसपोल भएपछि मंगलबारेबाट आर्मीले पक्राउ गरेका थिए । नागरिक हक र स्वतन्त्रताको निम्ति देशव्यापी रुपमा आन्दोलनको ज्वालो दन्दनी सल्किरहेको थियो।

गाउँमा गिरफ्तार, लुटपाट, बलात्कार, हत्या मच्चिँदै गएकाले गाउँलेहरू आतंकित हुँदै गएका थिए ।

माथि गुराँसे डाँडामा मानिसहरूको खैला बैला र रुवाबासी मच्चिएको सुनेर सानेकी आमा झस्किदै बाहिर निस्किइन् । रात निक्कै छिप्पिइसकेको थियो। वरपर शुन्य हुँदै गएकोले गाउँमा चकमन्न थियो । दुईचार वटा टर्चलाइट बेलाबेला बल्दै निभ्दै गरको देखिन् । सानेकी आमाका हंसले ठाउँ छाड्यो । बीसे बाइसे भए पनि छ महिनाकी सुत्करी ।

त्यो रात सानेकी आमाको मन डराइरहेको थियो । शरीर थर्थर काँपिरहेको थियो ।

सम्पतिका नाममा दुईचार बाख्रा र एक हल लिखुरे बहर मात्र थिए । केही छिनपछि हल्ला सुनसान भयो । तर सानेकी आमा सिकुवाको डिलमा बसेर हल्लाको जड पत्ता लगाउन कोसिस गर्दै थिइन् । एक छिनपछि जोरधारामा टर्च पिलिक्क बल्यो र झ्याप्प निभ्यो । सानेकी आमाको जीउ फुलेर जिरिङ्ग भयो । सानेकी आमा हतारहतार उठेर भित्र पसिन् । दुइटै नानी ओछ्यानमा मस्त निदाइरहेका थिए । भर्खरै जोरसालेमा भएको बलात्कारबाट तामाङ्गनी कान्छीले ज्यान गुमाउनु परेको थियो । त्यो घटना सानेकी आमाका मस्तिष्कमा सजीव भएर रुमलिन थाल्यो ।

सानेकी आमाले आफ्नो सहाराको निम्ति अनेक उपायहरू सोच्न थालिन् । तर केही पनि उपाय भरपर्दो फेला पार्न सकिनन् । घर मास्तिर बुट बजेको आवाज सुनिन थाल्यो । सानेकी आमा हतारहतार बत्ती निभाएर दुइटा नानीका बीचमा पसिन् र गुटुमुटु भएर लुगाले मुख छोपेर सुतिन् । डरले मुटुको थर्को बाहिरै सुन्ने गरी थर्किरहेको थियो ।

घरको माथिल्लोपट्टि मान्छे गुन्गुनाएको सुनेपछि सहाराको निम्ति सानेकी आमाले इष्टदेवलाई सम्झिनु बाहेक कुनै सहारा थिएन । केही छिनमै सिकुवामा बुट बजेको सुनियो र पिलिक्क टर्च बल्यो।

बाहिर कसैले सानो स्वरमा भन्यो ‘घर यही होइन त।’

‘हो हजुर ’अर्काले छोटो उत्तर दियो ।

‘ब्रिटिश सेनामा हुँदा पनि यति दुःख त पाइएन बा ! पातमाथि जीउ राखेर हिड्नु पर्छ त्यो पनि राति कतिबेला छोरा छोरीको आँखा चिसो हुने हो थाहा छैन । राष्ट्रको सुरक्षाका लागि भनेर सैनिकमा भर्ना भयो कामचाहिँ पुलिसको गर्नु पर्छ।’

‘भित्र को छ हँ? दैलो खोल ।’ बाहिरबाट ठूलो स्वरमा भन्यो ।

सानेकी आमा अटेर गरेर केही बेर सुतिरहिन् । दैलोमा बन्दुकको दबासले हिर्काउन थालेपछि ‘को हो यति राति? घरमा ठूलो मान्छे छैन ।’ कम्पित स्वरमा सानेकी आमाले भनिन् ।

‘हामी सैनिक हौं, दैलो खोल भनेको, अहिले चाबुक पाउँछ है ।’ बाहिरबाट चर्को आवाज आएपछि लग्लग जीउ कपाउँदै सानेकी आमा उठेर बत्ती बालिन् र दैलो खोलिदिइन् । सात आठ जनाको हुद्धा हातहतियारसंग भित्र पस्यो ।

‘तिम्रो श्रीमान खोइ ?’

छोटो उत्तरमा सानेकी आमाले भनिन्, ‘जेलमा छन् ।’

‘पैसा कति छ ? चाबी लेउ त, घरमा बम राखेको छैन ?’ दुई फुलीवालाले भन्यो ।

‘लिनोस् चाबी,केको पैसा हुनु कमाउने मान्छे त जेलमा छ ।’ सानेकी आमाले डराउँदै उत्तर दिइन् । ‘दिदी नझर्की भनन ! अब पेसा छैन, खानु पनि छैन अति टारो दुःख गरेर आयो लुगा खोल त अब बूरा पनि घरमा छैन । हामी बूरी भेट्न पनि जानु पाउँदैन ।’ एक जना सैनिकले प्याच्च मुख फो-यो।

सानेकी आमा डरले पछि सर्दैसर्दै नानीको साहरा लिन खाटमा गएर बसिन् । राइफलको नोकले छातीमा घोच्दै घिसारेर सिकुवामा निकाल्यो । सानेकी आमा रोइन्, चिच्याइन्, कराइन्, सहारा खोजिन् तर उनको केही जोड चलेन । उनी लुटिइन्, लुछिइन् र बेहोस भइन् ।

घन्टौंपछि नानी चिच्याईचिच्याई रोएको सुनेर छिमेकी जंगे र श्रीमती सुनिता हातमा बत्ती बोकेर डराउँदै पुगे । जहाँ सानेकी आमा अचेत अवस्थामा लडिरहेकी थिइन् । गुप्ताङ्गबाट खून र बीज मिश्रितरुपमा बगिरहेको थियो ।

जंगेकी बूढीले ढाक छोप गरी र काखको बच्चालाई दूध चुसाउँदै भनी ‘ सुत्केरी मान्छे पापीहरूले मारिहाले छ नि ! हामीले केही गर्न सक्ने होइन, अस्पताल लानु पनि दिँदैन।’ एक छिनपछि गर्जे र हर्के पनि पुगे ।

विहान पख मात्र सानेकी आमाको होस घु-यो । पाखे गाउँमा पनि रातभरि राँको, बत्ती वरपर डुलिरहेको थियो ।

पूर्वबाट उज्यालो फाट्तै आएपछि विहानैदेखि मानिसहरूको चहलपहल बड्दै गयो । मानिसहरू एक आपसमा भेला भएर आ-आफ्ना गुनासाहरू पोखिरहेका थिए । हर्कमान गाउँ बूढो झोला बोकेर पीपलबोटेबाट उकालो लागेको देखेपछि जसमानले भन्यो ‘ल है साथी हो अब फेरि बेगार हो कि, सेन्सेस दुईमा एकचाहिँ पक्का गाउँबूढो देख्यो कि आङै जिरिङ्ग भएर आउन थाल्यो ।’

हैन हाम्रो उफारेको ससुराली गाउँमा त मान्छे खेदाएर अर्को गाउँको मान्छेलाई लगेर घर डडाउन र भत्काउन लगाएर फोटो खिच्यो भन्दै उफारेको सालो आत्तिदै आएको थियो ।’ जंगेले पारिको गाउँतिर हेर्दै भन्यो ।

‘नीति,संविधान छैन,ओठे कानूनमा जसो गरे पनि भाकै छ । हाम्रो पनि पालो त उही हो । उजुर आपत्ति लिएर गयो भने उल्टै जेलमा ठोक्छ । ‘मुखमा रामराम बगलिमा छूरा’ हाम्रो बाजे बोजुको हाडखोड यै देशका कुना कुनामा आलै छ तर आज हाम्रो यस्तो गति ।’ जसेले निराशा व्यक्त ग-यो ।

कुरा गर्दागर्दै गाउँबूढो टुप्लुक्क आइपुग्यो र भन्यो ‘कति राम्रो साइत जुरेछ हौ आज । साँची आजराति आर्मी यताको पाटो पस्यो भन्ने सुनेँ कतै बिगार त गरेनन् ?’ जसेतिर हर्दै भन्यो ।

‘भित्र गएर हेरन ? सानेकी आमाको गति, आर्मी पसेपछि बिगार नगरी जान्छन् ? थुप्रै घर सक्या जस्तो छ ।’नरेले भित्र देखाउँदै भन्यो ।

हर्कमानले इन्तु न चिन्तु भएकी सानेकी आमालाई हेरेर आखाँबाट दुई थोपा आँसु खसाल्दै भन्यो, ‘यो पाप लुक्तैन बाबू………………।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *