सामाजिक विभेदको पराकाष्ठा
प्रेमबहादुर गुरुङ
पेन्सिलभानिया, अमेरिका
औंसीको कालो रात, चारैतिर सुनसान थियो । जूनकिरीको प्रकाशबाहेक बाहिर अन्धमुष्टि थियो । कीराहरू फट्यांग्रा आ-आफ्नै कोकिल कण्ठ धूनमा व्यस्त थिए ।
लोग्नेको पिटाइबाट अर्द्धमृत शरीर लिएर विस्तार विस्तार पूर्णीमा अगाडि लम्किरहेकी थिई । लज्जा र ग्लानीले भुतुक्क भएको अनुहार उसले कसैलाई देखाउन पनि चाहेकी थिइनँ तर, थियो बाध्यता । त्यसैले आफ्नो गन्तव्यमा पुग्न उसले रातको समय रोजेकी होली ।
केही वर्षअघि शिवलाल मिजारसित स्वैच्छिक अन्तरजातीय विवाह गरेकी पूर्णीमा रातदिन शारीरिक दर्द, मानसिक पीड़ा र तिरष्कारको शिकार बनेकी थिई । सासूले भन्थिन्-‘‘ठूला जातकी छोरीलाई कसैले बुहारी नबनाओस्, घरमा पनि ठूलै हुन खोज्छन् ।’’
पहिले त ढकबहादुरले आफ्नी छोरीलाई त्यो विवाहबाट बन्देज गर्न ठूलै प्रयत्न गरेका थिए । विवाहपछि छुट्याउने कोशिश पनि धेरै गरे ढकबहादुरले । तर पूर्णीमाको जिद्धिका अगाड़ि कसैको केही लागेको थिएन ।
मिर्मिरे उज्यालो भएको थियो । चराचुरुंगी विभिन्न भाका-लयमा आफ्ना प्रभात गीत गाइरहेका थिए । निद्रादेवीले ढकबहादुरलाई छोडिसकेकी थिइन् । उनी उठेर बाहरि निस्किए । अचम्म ! केशराशी फुकेर छरपष्ट, अनुहार मलिन र क्लान्त, निरीह आकृतिमा उभिएकी पूर्णीमालाई देखेर ढकबाहदुर के गरौं कसो गरौं भए । छोरीलाई भित्र लैजाउँ भने दैलोमा तगारो छ ‘समाज ।’ घण्टाभित्र हट्टाबाहेरको पूर्जी टाँसिएला भन्ने डर छ उनलाई ! नलैजाउँ त विचलित छ आफ्नी छोरी, आफ्नै मुटुको टुक्रा । द्विविधाग्रस्त अवचेतनमा मुख खोले ढकबहादुरले, ‘‘किन आएकी ? के भो ?’’ पूर्णीमा रुँदै भन्न थाली-‘‘बाबा ! शिवलाई मबाट सन्तुष्टि मिलेन रे ! अब मेरो आवश्यकता नभएर उसले मलाई माइत जा भनी लखेट्यो । तपाईं मेरो जन्मदाता, सहारा खोज्दै आएकी, भनिदिनुस् बाबा, मैले कुन बाटो अप्नाउनुपर्ने हो अब?’’
ढकबहादुरले अँध्यारो अनुहार लाउँदै भने-‘‘हेर छोरी, चल्दोमिल्दो जातमा विवाह गर्नुपर्छ भनेर मैले तिमीलाई सल्लाह दिएकै हो ।’’ उनको एकोहोरो वक्तव्य जारी भो,‘‘मैले शिलस्वभाव राम्रो भएको जातको केटो हेरेको थिएँ । तर मेरो प्रस्तावलाई अस्वीकार गर्दै चुनौती दियौ । ‘जीवनसाथी रोज्ने मेरो अधिकार बो’, भन्दै उम्लिएको पानी जस्तो गर्यौ । फेरि आज पोखिएको पानीजस्तो तल्लो जातिमा गएर फर्केर आयौ । तिम्रो मेराबीचमा वियोगको सामाजिक तगारो खड़ा भएको छ । हुन त तिमी मेरै अंगसरह हौ, तापनि लोकलाजको कारण तिमीलाई मैले गुँड़बाट खसेर फुटेको एउटा फुलसरह सम्झन कर लागेको छ । मेरो निम्ति यो भन्दा कठोर निर्णय लिनुपर्ने बाध्यता अरुबेला कहिल्यै परेको थिएन, छोरी…! अब मबाट न्याय पाउने आशा नराख छोरी । ’’ यति भनेर ढकबहादुर सुँक सुँक रुनथाले ।
केहीबेर पछि ढकबहादुरले शिर खड़ा गरी पूर्णीमालाई हेर्नखोजे । तर पूर्णीमा त्यहाँ थिइनँ । कागजको एउटा टुक्रा भुइँमा थियो । ढकबहादुर कागज टिपेर पढ़्न थाले, ‘‘बाबा ! आफ्नो रगतबाट निर्मित देहलाई माथिल्लो र तल्लो भन्ने जातिको आधारमा विभाजन गरी स्थान र दर्जा तोक्ने यो कस्तो निर्दयी समाज निः बा…! समाजभित्र कसले यस्ता असामाजिक तत्वहरू निर्माण गरे होलान् ? यो मेरा निम्ति कौतुहलको विषय भएको छ । रीति-थिति र नियमहरू आदिम मानवको स्वभावलाई नियन्त्रण गर्न तयार गरिएका बन्धनहरू हुन् । तर परिस्थितिले ल्याएको निरन्तर परिवर्तनको संवाहक आजको युगलाई उपभोग गर्न पूरातन समाजले लगाएको तगारो तोड्न मैले यो कदम चालेकी थिएँ ! हो बाबा ! यस दुनियाँलाई यथास्थितिबाट परिवर्तन गर्ने कार्यगत योजना बनाउने छु अब । अनि शिवजस्ता अवसरवादी र यो समाजका अन्धविश्वासीहरूलाई तवाह गर्नेछु । समाजमा नयाँ परिपाटीको सिर्जना गर्नेछु । म आजैदेखि भूमिगत अभियानमा लागेकी छु । जीवन रहे भविष्यमा भेटौंला ।’’
चिट्ठी पढ़िसकेर खिन्न हुँदै ढकबहादुर पनि समाजभित्रको दुराग्रहपूर्ण असामाजिक भावनालाई निर्मूल गराउने जुक्तिहरू सोच्नथाले । एकदिन गाउँलेहरूले घेरिएका ढकबहादुर सबैलाई सामाजिक परिवर्तनको उपदेश दिइरहेका थिए ।
(सन्देश साप्ताहिकको १२० औं अंकबाट साभार)