सामाजिक सञ्जाल र बलात्कारको अभियोग
“आजभन्दा १२/१५ वर्ष पहिले ममाथि बलात्कारको प्रयास भयो; बलात्कारी मेरो आफ्नै परिवारको भएकाले म उसको नाम खुलाउन चाहन्न । अब मलाई न्याय चाहियो; मेरो सुरक्षाका लागि आर्थिक सहयोग गर्नुहोला ।”
यतिबेला सामाजिक सञ्जालहरुमा बग्रेल्ती देखिने सन्देशको नमूना हो यो । यसभित्र हाम्रै समुदायका बालबालिकाहरु धेरै सक्रिय देखिएका छन् । यस अवस्थामा हामीले हाम्रो संक्रमणकालीन समाजको स्थितिबारे गहिरो चिन्तन गर्नुपर्ने भएको छ । के वास्तवमै हाम्रो समाज आफ्नै छोरी-चेली बलात्कार गर्ने स्खलित चेतना बोक्नेहरुको बगाल हो ? अनि यी माथि दाबी गरिएजस्ता घटनाहरु वास्तविक दुर्घटना नै हुन् के त ? के आधारमा यस्ता दाबीहरुको पारख गर्ने ? बलात्कारजस्तो पीडाको कथा सुन्ने वा पढ्नेबित्तिकै आर्थिक सहयोग गर्नेहरुको लर्को पनि लागिहाल्छ । तथ्यगत आधारमा सही पीडितलाई सहयोग पनि गर्नुपर्छ । तर, पैसाको सहयोगले हाम्रो समाजमा रहेको यस्ता समस्या टुंगो लाग्छ ? यो अवस्थामा पैसाकै लागि बालबालिकालाई आफन्तलगायत विभिन्न व्यक्तिमाथि बलात्कारको अभियोग लगाउन उत्प्रेरित गर्ने तथाकथित वकीलहरुको जमात नबढ्ला भनेर ग्यारेण्टी गर्ने केही आधार छ? यो परिस्थितिको मूल्यांकन कसरी, कसले र कहिले गर्ने हो ?
हाम्रो समाजमा यौनजन्य कुरा गर्नै अपराध सरह मानिने, समाजका स्त्रीलिंगी सदस्यहरुप्रतिको हेय दृष्टिकोण आदि कुरा पनि यो समस्याको जडका रुपमा देखिएका छन् । परिवारमा यौनजन्य कुरा गर्नु अश्लील हो, घृणित कार्य हो, अपराध हो भन्ने मानसिकताका कारण कुनै सत्य घटनामा परेका बालिकाहरु भए पनि उनीहरुले त्यो कुरो पहिले बाहिर ल्याउन नसकेका हुनसक्छन् । अहिले आएर उनीहरुमा परेको स्थानीय वातावरणको प्रभाव, स्कूली शिक्षाको उत्प्रेरणा आदि कुराले पुराना कुरा बाहिर आउनु स्वाभाविक पनि हो । अपराध र अपराधी कार्यलाई कसैले सहयोग गर्नु हुँदैन । यदि कसैले अपराधकार्यलाई सहयोग गर्छ भने त्यो पनि अपराधी नै हुन्छ । तर, साथीको जस्तै आइप्याड र ल्यापटप नकिन्दिएको झोंकमा आफ्नै बाबु-आमालाई ठूल्ठूला अपराधको अभियोग लगाउने बालबालिकाका अभिभावकहरुको के हालत होला जब कि उनीहरुमा स्थानीय भाषाको दक्षता कुरै नगरौं, नेपाली भाषा पनि बोल्न/बुझ्न सक्तैनन् । कुनै पनि सरकारी मान्छे, पुलिस देख्तैमा विगतको घाउ बल्झिएर मानसिक असन्तुलन हुने मानिसहरुको के हालत होला ? यस्ता तमाम विषयको निष्कर्ष कसले दिने हो? हरेक दृष्टिकोणले समाजको अगुवाइ गर्नेहरुले यस विषयको निकासा पत्ता लगाउनुपर्ने भएको छ ।
ल, विगतमा कसैले साँच्चै त्यस्तो अपराध गरेकै रहेछ भने अहिले पनि कारबाही होस्, सजाय होस्; यसमा कसैको दुइमत हुँदैन । तर, घटनाको प्रकृति, यथार्थहरु कसरी, कसले निर्क्यौल गर्छ? सही-सत्य दुर्घटनाहरुको छानबिन अनुसन्धान कसले गर्छ? त्यसको प्रक्रिया के हुन्छ? बेला छँदै यस्ता आदि कुराको टुंगो लागेन भने यस विषयले समाजलाई थप अपराध र दुर्घटना नै दिनसक्छ ! समस्याको निकासा दिँदैन ।
यहीँनेर स्पष्ट गरौं, पारिवारिक माया-ममता अभिव्यक्त गर्ने क्रममा छोरीलाई चुम्बन गर्ने बाबुको आड लिएर कुनै छोरी बलात्कार गर्ने बाबुहरु सजायबाट नबँचुन् । आफन्त, छोरी-चेली, भाञ्जी-भतिजीमाथि जाइलाग्ने कुनै दाजुहरु, भाइहरु, काका-मामाहरु सजायबाट भाग्न नपाउन् । तर, सँगसँगै पाँचवर्षकी छोरीलाई मायाले चुमेको बाबुलाई छोरी २० वर्षकी हुँदा ‘१५ वर्षअघि बलात्कारको प्रयास गरेको’ अभियोग कदापि नलागोस् । यस्तो कतै भएमा यो अपराध एक वा दुइ व्यक्तिमा सीमित नभएर समाजलाई ऐना देखाउने विषय हुनेछ ।
हामी सबैलाई थाहा छ, हाम्रो विगत अत्यन्तै पीडादायक इतिहासबाट गुज्रिएर आएको छ । हुनसक्छ, राजनीतिक उत्पिडन र यातनाको दौरानमा कतिपय बलात्कृत चेलीहरुले नै सन्तान जन्माएर हुर्काएका पनि होलान् । जस्तोसुकै संकटमा पनि हामीले आफ्ना परिवारका सदस्यहरुको रखवालीमा ठूल्ठूला मूल्य चुकाएका छौं । भाषा, संस्कृति, नागरिकता, सम्पत्ति र सम्पूर्ण देशत्यागको कथासँगै हाम्रा आमा-चेलीहरुको इज्जत-रक्षाको सवाल पनि गाँसिएको थियो ।
शिविरहरुमा गाँस, वास र कपासको अभावग्रस्त अवस्थामा कतिका परिवारले एउटै ओछ्यानमा सुत्नुपऱ्यो, कतिले एउटै थालमा खानुपऱ्यो भन्नेजस्ता कुरा त सामान्य नै भए । कतिले खान नपाएर, कुपोषणले सताएर, हैंजा र महामारीले साखासन्तान समाप्त भएका कथाहरु पनि हामी सँगै छन् ।
त्यस्तो विगत पृष्ठभूमि लिएर आएका हाम्रो समाजका अधिकांश मानिसहरु सामान्य साक्षरदेखि आफ्नै भाषा राम्रोगरी बुझ्न नसक्नेसम्मको संख्यामा छन् । धेरैले शिविरबाट पुनर्वाशको योजनालाई रोजेको पनि आफ्ना छोरा-छोरी, नाति-नातिनीहरुले शिक्षा पाउन्, सुख पाउन् भनेर नै हो । आज हामी सतही दृष्टिले सुविधासम्पन्न मुलुकहरुमा आइपुगेका छौं । केही हदमा, कुनै दृष्टिमा केही गतिला सफलताहरु पनि हासिल नभएका होइनन् ।
तर, आज आएर, केही व्यक्तिले हाम्रो समाजको सांस्कृतिक पूर्वाधार, इतिहासका विभिन्न कालखण्ड र घटनाहरुको अध्ययन नै नगरीकन ‘लौ, तिम्रो समाजमा त जोसुकैले जोसुकैलाई बलात्कार पो गर्दो रहेछ’, भन्दिएका छन् । यो सन्देश बालबालिकाबाट घरमा पुगेको छ । सडकबीचमा सवारी दुर्घटनामा परेकाहरुले आफ्नो गल्ती नभए पनि अलिकति अहं र धेरै भाषाकै कारणले अनावश्यक सजाय भोगिरहेका छन् । यस्तो चेतनाको प्रकृतिबाट अनुमान गर्दा के स्थानीय संस्कृतिको प्रभावमा जमेका राम्रो अंग्रेजी बोल्ने बालबालि (हरु) ले आफ्नै अभिभावक र आफन्तमाथि अनाहक अभियोग लगाए भने पुलिस, अदालत आदिको सामना गर्नसक्छन् हाम्रो समाजका अधिकांश सर्वसाधारणहरु ? यस्ता प्रश्नहरुमा समाजको भविष्यबारे चिन्तन गर्नेहरुले घोरिनुपर्ने भएको छ ।
अमेरिकी जीवनशैलीमा भुटेको मकैका ठेटना झैं बनिरहेका हाम्रो समाजका सामान्य मान्छेहरु, जो खाजाको झोला लिएर कारखानामा काम गर्न जान्छन्, भाषिक अल्पज्ञानका कारणले समाजका सरोकारवाला विषयमा कोहीसित खुलेर छलफल पनि गर्न सक्तैनन्; त्यसता मानिसहरुमाथि कामको थकानबाट घरमा आइपुग्दा आफ्नै छोरीले बलात्कार अभियोग लगाएर अदालतमा बोलाएको, कुनै कानुनी पत्र आएको अवस्था भए के नतिजा होला ? कसैले कल्पना गरेको छ ? यसै पनि अनेक किसिमका दुर्दान्त पीडाले ग्रस्त जनजीवन भोगिरहेको हाम्रो समाजमा हीनताबोधको मनोदशा र आत्महत्याको शृंखला बढिरहेको छ । सामाजिक सञ्जालको वर्तमान युद्धमैदानबाट छोडिएका रकेटहरु अब थप समस्याका रूपमा देखिन थालेका छन् । माथि नै भनिएको छ, यथार्थमा अपराध गर्नेहरु सजायबाट जोगिन नसकून् । तर, कसैले पनि सांस्कृतिक भिन्नता र सामाजिक चलनचल्तीको पृथकताकै कारण आफ्नो इतिहासलाई धिक्कार्नुपर्ने, आफ्नै बालबच्चाबाट अभियोग झेलेर जीवनबाट पलायन हुनुपर्ने स्थिति पनि नआवस् । सबै सरोकारवालाहरु यस विषयमा विचारशील भएर समाजमा देखाहा पर्दै गरेको यो समस्याको उचित समाधानतर्फ उन्मुख हुनु जरुरी भएको छ ।