सामाजिक स्तरमा दिलकुमारी भण्डारीका सब्ल्याँटा पक्षहरू
अर्जुन पीयूष
सिक्किम
संसारमा जन्म ग्रहण गरेका प्रत्येक व्यक्तिमा आ-आफ्नै प्रकारका विशेष गुण र विशेषता हुन्छन्। यिनै गुण एवं विशेषताका कारण प्रत्येकको व्यक्तित्व अन्य व्यक्तित्वभन्दा भिन्न हुनु प्रकृतिजन्य विधि हो। व्यक्ति-व्यक्तिमा रहेका यी समग्र गुणहरूको सङ्गठनलाई सायद व्यक्तित्वको परिभाषाभित्र समाविष्ट गर्न मिल्छ कि!
यसै त व्यक्तित्वको अङ्ग्रेजी रूपान्तरण पर्सनालिटी (झशीीेपरश्रळीूं) हो, जुन शब्द ल्याटिन भाषाको ‘पर्सोना’ (झशीीेपर) शब्दबाट विकसित हुँदै आएको मानिन्छ। त्यसरी नै रोमनमा विशेष गुणयुक्त पात्रलाई पर्सोना भन्ने गरिन्छ।
आम धारणाअनुसार व्यक्तित्वको अर्थ व्यक्तिको बाह्य रूप एवं पहिरन हो परन्तु, मनोविज्ञानमा व्यक्तित्वको अर्थ व्यक्तिको रूप गुणहरूको समष्टि हो। दर्शनमा व्यक्तित्वको आन्तरिक तत्त्वलाई नै ‘जीव’ मानिएको छ। व्यक्तित्व एक स्थिर अवस्था नभएर एक गद्यात्मक समष्टि हो, जसमाथि परिवेशको प्रभाव पर्दछ, त्यसै कारण ऊभित्र पनि परिवर्तन आउन सक्छ। व्यक्तित्व विशेष लक्षणहरूको योग नभएर व्यक्तिको समग्र व्यावहारिक गुण (ढेींरश्र र्र्िींरश्रळीूं) पनि हो। त्यसै कारण व्यक्तित्वको मापन विशेष तीन प्रकार रहेको मानिन्छ: (क) आत्मनिष्ट विधि (ख) वस्तुनिष्ठ विधि र (ग) प्रक्षेपण विधि।
यस आलेखमा व्यक्तित्व सन्दर्भलाई यति व्याख्या गर्नुको औचित्य के हो भने नेपाली भाषा माग आन्दोलनकी एक अग्रज नेतृत्व, अनेक अर्थहरूमा परिभाषित गर्न सकिने व्यक्तित्व, जाति र भाषा सेवाकै निम्ति यो धरामा पाइला टेकेकी दिलकुमारी भण्डारी (डी. के. भण्डारी) पनि माथि उल्लिखित परिभाषाभित्र पर्छिन् भन्ने बोध जो-कसैले गर्न सक्छ। भारतको संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई मान्यता दिनका खातिर भएका सङ्घर्षहरूमा अग्रज नेतृत्वहरूमा आनन्दसिंह थापा र उनको दलबल, डा. पारसमणि प्रधान देखिलिएर शिवकुमार राई, दान खालिङ, डा. कुमार प्रधान, तारापति उपाध्याय, छविलाल उपाध्याय, बुद्धिमान प्रधान (बमप), डा. इन्द्रबहादुर राई, डा. शान्ति छेत्री, लक्खीदेवी सुन्दास, चन्द्रकला नेवार, रेणुलीला सुब्बा, टी. आर. शर्मा, आर. बी. राई (रत्न बान्तवा), सानु लामा, सी. के. श्रेष्ठ, आनन्द पाठक, नरबहादुर दाहाल, रामकृष्ण शर्मा लगायत यस्ता हजारौँ-लाखौँ भाषा सङ्ग्रामीको नाम उच्चारण नगरी भाषा-मागको दस्ताबेज पूर्ण हुनै सक्दैन। दिलकुमारी भण्डारीलाई एक भाषा सङ्ग्रामी, जातिकी नेतृ, एक सफल संसद् सदस्यको रूपमा परिभाषित गर्दै सयौँ सर्जक, चिन्तकहरूले अनगन्ती लेखहरू लेखेका छन्। अझ धेरै लेखिन बाँकी होला। तर यस आलेखमा श्रीमती भण्डारीले भाषा आन्दोलनको नेतृत्वबाहेक सामाजिक क्षेत्रमा अथक परिश्रमका साथ कार्य निष्पादन गरेका केही प्रमुख कार्यहरूको उल्लेख गर्ने प्रयास हो यो। धेरै अर्थहरू र चौकोणिक दृष्टिकोणबाट अध्ययन गर्दै जाँदा श्रीमती भण्डारीको जीवनको अर्को पाटोको उल्लेख साह्रै भए झैँ लाग्दैन। उनले भाषा आन्दोलनमा जति सक्रिय भएर जातीय अस्मिता जगेराका लागि कार्य गरिन्, त्यतिकै सक्रियता उनको सामाजिक कार्यक्षेत्रमा पनि देखिन्छ। म भन्न सक्दिन, उनको जीवनको यो पाटोलाई कतिले उजागर गरे वा गरेनन् तर उनको सामाजिक कार्यकलाप र उनको पहलमा पूर्ण भएका कार्यहरूको उचित मूल्याङ्कन हुनुपर्छ भन्ने ध्येयका साथ यो लेख लेख्ने प्रयास हो।
नेपाली भाषा मान्यता आन्दोलनकी कर्मठ सेनानी, पूर्व लोकसभा संसद् सदस्य, सिक्किम सेवा रत्नद्वारा सम्मानित, भारतीय गोर्खा परिसङ्घकी पूर्व अध्यक्ष, अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित, सिक्किमकै श्रेष्ठ पुरस्कार भानु पुरस्कारद्वारा पुरस्कृत, अन्तर्राष्ट्रिय स्तरमा साहित्य परिषद् भुटानद्वारा भाषा-सेवा पुरस्कारद्वारा पुरस्कृत श्रीमती दिलकुमारी भण्डारीको जन्म पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लाको बडा पत्ताबुङ चिया कमानमा स्व. पिता एन. बी. राई एवं माता स्व. मैमति राईको कोखबाट 14 मई, 1949-मा भएको हो। श्रीमती भण्डारीले आफ्नो जीवनकालमा दुई प्रमुख कार्यहरू लगायत अन्य कार्यहरू गरेर नेपाली समाजमा मात्र होइन राष्ट्रिय स्तरमै आफूलाई स्थापित गराइसकेकी छन्। नेपाली भाषा मान्यता आन्दोलनमा प्रमुख भूमिका निभाउँदै भाषालाई संवैधानिक मान्यता दिलाउनु उनको पहिलो ऐतिहासिक कदम थियो भने भारतीय गोर्खा परिसङ्घलाई नेतृत्व दिँदै अध्यक्ष पदमा रहेर भारतजस्तो विशाल गणराज्यको संसद् परिसरमा शहीद दुर्गा मल्लको शालीग स्थापना गर्नु चानचुने कुरा थिएन। यी दुवै कार्यले उनलाई एक जातिनिष्ठ, भाषा प्रेमी एक प्रतिबद्ध व्यक्तित्वका रूपमा परिचित गराएको छ।
धेरैले जानेको र सबैले सुन्दै आएका कुराहरूलाई ध्यानमा राख्नु हो भने श्रीमती भण्डारी राजनीतिमा आएदेखि अनि उनी संसद् सदस्य रहँदा नेपाली भाषाले मान्यता पाएको कुराको बखान खुब गरिन्छ। तर मलाई लाग्छ, यसभन्दा पहिले उनको सामाजिक स्तरमा कस्तो भूमिका थियो अथवा उनले आफू उभिएको स्थानलाई कसरी हेरेकी थिइन् वा समाजले उनलाई कुन स्तरमा स्वीकार गर्दै आएको थियो जस्ता यावत कुराहरूको पृष्ठभूमि हेर्नुपर्ने हुन्छ।
दिलकुमारी भण्डारीको प्राथमिक शिक्षा आफ्नै आँगनको सुवास प्राथमिक पाठशालाबाट प्रारम्भ भएको थियो भने उनले पाँचौँ र छैटौँ श्रेणीको शिक्षा वेटन जुनियर हाई स्कुल, तकभर कमान, दार्जिलिङबाट पूरा गरेकी हुन्। त्यसपछि सातौँदेखि दशौँ कक्षासम्म नेपाली गर्ल्स हाई स्कुल, (तिनताका उक्त स्कुल बोर्डिङ स्कुल नामले प्रचलित थियो) दार्जिलिङमा अनि पी. यु. सी. सरकारी कलेज दार्जिलिङबाट पूरा गरेको थाहा लाग्दछ। एक निजी वार्तालापमा श्रीमती भण्डारीको भनाइअनुसार उनी घरकी जेठी छोरी भएका नातामा घरको सम्पूर्ण अभिभारा उनीमाथि आइपर्नु स्वाभाविक थियो। त्यस्तो अवस्थामा पनि गाउँकै पुस्तकालयबाट पुस्तकहरू ल्याएर पढ्ने अनि अन्यहरूले लगेका पुस्तकहरूको लेखाजोखा आदि राख्ने कामसमेत गर्दै आएको अनि त्यो समयमा अखिल भारतीय गोर्खा लीग (स्व. डम्बरसिंह गुरुङको नेतृत्वमा)-ले आफ्नै घरमाथि ‘भाषा हाम्रो प्राण हो’, ‘ज्यान दिन्छौँ प्राण दिन्छौँ, भाषा हाम्रो लिन्छौँ लिन्छौँ’ जस्ता उत्तेजित नाराहरू आफूले सुनेको बताउँदै अनि त्यो समयमा बाजे (श्रीमती भण्डारीका बाजे)-ले समय समयको कुराकानीमा अभागोलीलाई मन पराएको जस्तो आफूलाई लागेको बताउँछिन्। यसरी त्यो समयदेखि भाषा र जातिप्रति आफू केही प्रभावित भएको अनि पछि सौभाग्यवश त्यही भाषालाई उच्चता प्रदान गर्ने आन्दोलनको नेतृत्व पङ्क्तिमा आफू रहन पाउँदा अग्घोरै खुसी लागेको श्रीमती भण्डारी कहिलेकाहीँ बताउने गर्छिन्। यसर्थ, दिलकुमारी भण्डारीभित्र भाषाप्रतिको मोह, इज्जत, यो भाषाको मर्यादा केवल 1968-मा नरबहादुर भण्डारीसित विवाह भएर आएपछि उब्जेको होइन रहेछ भन्ने कुरा बुझिन्छ। बाल्यकालदेखि नै एक सभ्य संस्कारको रूपमा उब्जेको त्यो भाषाप्रतिको मोह अहिले पनि उनमा जिउँका तिउँ पाउन सकिन्छ।
राजनीतिमा प्रवेश गर्नभन्दा पहिले श्रीमती भण्डारी के गर्थिन् होला भन्ने स्वाभाविक जिज्ञासा सायद सबैमा हुनुपर्ने हो। कुनै पनि व्यक्तिको आफ्नै प्रकारको पृष्ठभूमि स्वतः बनिँदै जान्छ, त्यसरी नै श्रीमती भण्डारीको पनि पृष्ठभूमि स्वतः बनिँदै गयो।
श्रीमती दिलकुमारी भण्डारीको उनका श्रीमान् नरबहादुर भण्डारी राजनीतिमा मुख्यमन्त्रीको पदभार सम्हाल्दाताका सिक्किम भ्रमण स्वाभाविक थियो। यसै क्रममा जनताको पिर-कष्ट, गाउँ-घरको विदीर्ण दशाले श्रीमती भण्डारीलाई विचलित बनाउँथ्यो। त्यो समयमा पनि उनले उच्च अधिकारीका घर-आमाहरूलाई सम्झाई बुझाई गरेर सिक्किम वुमेन्स् काउन्सिल गठन गरी जनसेवामा समर्पित भएको पाउँछौँ। बातचितकै क्रममा श्रीमती थ्रीटी तलियार खान (होमी जे. एच. तलियार (खाँ) खान त्यो समय सिक्किमका राज्यपाल थिए, थ्रीटी तलियार खान उनकै श्रीमती हुन्)-बाट पनि समय-समयमा सामाजिक कार्य निष्पादन कसरी गर्न सकिन्छ त्यसबारे सर-सल्लाह प्राप्त हुँदा काम गर्न सहज भएको पनि बताउँछिन् श्रीमती भण्डारी। यसरी नै सिक्किमवासीको सेवामा आफूलाई होम्दै सिक्किमका कुना-काप्चातिर डाक्टरहरूको टिम लिएर स्वास्थ्य शिविरहरूको आयोजन गर्न उनी कहिल्यै पछि हटिनन्। यसरी नै 1985-सम्म सेन्ट्रल सोसिएल वेलफेयर बोर्ड-को चेयरमेन पदमा (अवैतनिक) सेवा गरेको इतिहास साक्षी छ। यसै क्रममा श्रीमती भण्डारीले सिक्किमका विभिन्न क्षेत्रमा खटिखाने आमाहरूको सुविधाका लागि क्रेसहरू खोलेको, बोर्डर एरिया प्रोजेक्ट अन्तर्गत धेरै महिलाहरूलाई ट्रेडिशनल क्राफ्टस्मा सिपालु बनाउन तालिम दिनमा प्रोत्साहित गर्दै धेरैलाई रोजगार दिइएका यस्ता धेरै उदाहरणहरू छन्।
उनकै प्रयासमा अनाथालयहरू खोलिए तर छुटपुट रूपमा ‘ओल्ड एज होम’ खोल्नुपर्ने कतिपयका सुझाउहरूलाई उनले त्यति ध्यान दिइनन्। यसो गर्नुका पछाडि कतिपय कारणहरू थिए। श्रीमती भण्डारीको भनाइ अनुसार नेपाली जाति आफ्ना आमा-बाबु तथा मान्यजनलाई सम्मान र आदर गर्ने जाति हो। त्यसमा पनि कुनै कसैबाट कथन कदाचित वृद्ध आमा-बाबाहरूलाई घर बाहिर निकालिएको थाहा पाए वा अन्य कारणवश यस्तो घटना घट्न गए छिमेकबाटै ‘हाम्रै छिमेकका बुढा-बुढीहरू के कारणले अलन्तरमा परेछन्, ती बुढा- बुढीहरूलाई हाम्रै घरमा राखौँ बरु, वृद्ध-वृद्धा भएको घरमा सह बस्छ भन्छन्, पुण्यै कमाइन्छ’ भन्ने धनाढ्य संस्कृतिले ओतप्रोत भएको नेपाली जातिभित्र यस्ता झिना मसिना समस्याहरू त्यसै मेटाउन सकिन्छ जस्तो सोच राख्ने श्रीमती भण्डारीले पश्चिमी संस्कृतिलाई सिक्किमभित्र पसाउन चाहिनन् भन्ने कुरा स्पष्ट झल्किन्छ।
यसरी नै सुरुमा पाँच जना नेत्रविहीन नानीहरूबाट सुरु गरेर पछि नेशनल एसोसिएसन फर द ब्लाइण्ड-को अध्यक्ष पद सम्हाल्दै उनीहरूलाई शिक्षा दिने काममा अघि बढ्दै मूक-बधिरहरूका निम्ति तालिम केन्द्र सुरु गरेका उदाहरणहरू लछेप्रै छन्। उनको आफ्नो भनाइअनुसार जनतामाझ गएर जनताकै काम गर्न पाउँदा आफैलाई आत्मसन्तुष्टि मिल्दथ्यो। यसरी नेपाली जातिभित्रका दृष्टिविहीनका लागि नेपाली भाषामा ब्रेलका सामग्रीहरू तयार गरिएको सायद पहिलो कार्य हुनसक्छ। यस्ता कैयौँ सामाजिक कार्यहरू गरिरहेकै समयमा 1985-मा श्रीमती भण्डारी सिक्किमे जनताको प्रतिनिधित्व गर्दै सांसद भएर दिल्ली गएपछि भने उनले उक्त चेयरमेनको पदबाट राजीनामा दिएकी थिइन्। यहाँ एउटा प्रमुख कुराको उठान गर्नुपर्ने हुन्छ। 1984-मा नरबहादुर भण्डारी सिक्किमे जनताको प्रतिनिधित्व गर्दै संसद् सदस्य चुनिएर दिल्ली गएका थिए तर मार्च, 1985-मा सिक्किम विधान सभाको चुनाउ घोषणा हुने बित्तिकै संसद् सदस्य चुनिएर गएका श्रीमान् भण्डारीलाई आम सिक्किमे जनताले आफ्नो मुख्यमन्त्रीको रूपमा हेर्न चाहेको मनसायलाई ध्यानमा राख्दै श्रीमान् भण्डारीले संसद् सदस्यबाट राजीनामा दिएर उनी विधान सभामा आए भने श्रीमती भण्डारी त्यो स्थान पूर्ति गर्न सिक्किमको पक्षबाट भारतको संसद्मा पुगेकी हुन्। त्यसरी नै दोस्रो पटक पनि श्रीमती भण्डारी संसद् सदस्य बन्दा लगभग उनले 10 वर्ष संसद् सदस्यको रूपमा कार्य गरिन्। एक निजी भेटघाटमा उनले भारतजस्तो प्रजातान्त्रिक देशको एक गरिमामय र मर्यादित संसद्मा सिक्किमको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि जतिको हर्षको वर्षा थियो त्यति नै हर्षालु रूपमा आज पनि सिक्किमे जनताले आफूलाई त्यो स्थानमा पुग्नमा विश्वास मत दिएकामा हार्दिक आभार व्यक्त गर्नुपर्ने बताउँदै श्रीमती भण्डारीले त्यो ठाउँमा पुगेर धेरै कुरा गम्ने अनि अन्य राजनीतिक दलहरूका प्रखर अभिव्यक्तिहरू श्रवण गर्ने मौका पाएको कुरा उनी नहिचकिचाई बताउँछिन्। ‘सिक्किम जस्तो सानो राज्यबाट आफू प्रतिनिधिको रूपमा संसद्मा उभिँदा त्यहाँ आफूले जान्न र बुझ्नुपर्ने कुराहरू धेरै थिए।’ भन्दै ‘संसद् सदस्य बनेर गएपछि विभिन्न मन्त्रालयहरूमा परामर्श समिति लगायत स्ट्याण्डिङ कमिटीहरूमा रहेर कार्य गर्दाका सुखद अनुभूतिहरू जे-जति छन् ती अनुभवहरूको आज मूल्याङ्कन गर्न सम्भव देख्दिन।’
संसद् सदस्यको रूपमा संसद् भवनमा पुगेपछि साना-साना राज्यहरूबाट प्रतिनिधिका रूपमा गएका व्यक्तिहरूका निम्ति त्यो अलग्गै संसार जस्तो हुनु स्वाभाविक हो अनि सिक्किम पनि त्यसै परिधिभित्र पर्दछ। जनताले राखेका मागहरू कतिपय सामाजिक हुन्छन् भने कतिपय राजनीतिक हुने गर्छन्। ती राजनीतिक मागहरूलाई सम्बोधन गर्दै संसद्ले पारित गरे मात्र त्यसलाई लागू गर्न सकिन्छ। श्रीमती भण्डारीको भनाइअनुसार संसद् समितिले प्रकाशित गरेका दस्ताबेजहरूको अध्ययन र मनन गर्दै कतिपय मागलाई संसद्को पटलमा राख्ने काम गरियो अनि कतिपय मागहरू पूरा भएका पनि छन्। उदाहरणका रूपमा भन्नुपर्दा टिस्टाको झोलुङ्गे पुललाई लिन सकिन्छ। त्यो पुलको स्थानमा पक्की पुल बनाउनुपर्ने माग पूरा हुनका साथै राष्ट्रिय राजमार्गलाई ‘डबल लेन’ बनाउनुपर्ने लगायत यूपीएससीको परीक्षा केन्द्र सिक्किममा बनाउनु (त्यति खेरसम्म यूपीएससी परीक्षा केन्द्र सिक्किम बाहिर मात्र हुने गर्थ्यो), सिक्किममा नवोदय विद्यालयहरूको स्थापना गर्नु, वनारस विश्वविद्यालयमा नेपाली भाषालाई एक प्रमुख विषयका रूपमा मान्यता प्रदान गर्नुका साथै त्यहाँ रिडरको पद स्थापना गर्नुजस्ता धेरै राजनीतिक मागहरू पूरा गर्नसकेकोमा आफूलाई सन्तोक लागेको छ।’
यहाँ उल्लेखयोग्य कुरा के छ भने वनारस विश्वविद्यालयमा यसभन्दा पहिले नेपाली भाषालाई एक विदेशी भाषाको रूपमा अध्ययन गराइन्थ्यो भने त्यसको सट्टामा नेपाली भाषालाई आधुनिक भारतीय भाषाको रूपमा मान्यता दिलाउनका साथै त्यहाँ रिडरको पद सिर्जना गर्नु पनि थियो र यसैमा लागिपर्दै श्रीमती भण्डारीले मानव संसाधन मन्त्रालयसँग पत्राचार गरिन्। दैव संयोग त्यो समयमा भारतका भूतपूर्व प्रधानमन्त्री नरसिम्हा राव मानव संसाधान विकास मन्त्री थिए। पछि त्यही पत्राचारको माध्यमबाट वनारस विश्वविद्यालयमा नेपाली भाषालाई भारतीय आधुनिक नेपाली भाषाको रूपमा राख्नका साथै पद निर्माण गर्न पनि सम्भव भएको कुरा श्रीमती भण्डारी बताउँछिन्।
यसै गरी सिक्किमको सन्दर्भमा पर्यावरण एवं विन विभागका लागि अलग कोषको माग गर्ने पनि दिलकुमारी भण्डारी नै हुन्। यस कोष अन्तर्गत कतिपय स्थानहरूमा बाँस रोपण गर्ने कार्य, बहुमुखी प्रशिक्षण, हतकर्घा आदिबाट ग्रामीण स्तरमा आर्थिक उन्नतिका आधारहरू निर्माण गर्ने व्यक्तिका रूपमा पनि श्रीमती भण्डारीलाई चिन्नुपर्ने हुन्छ।
उनले आफ्नो 10 वर्षे संसद्कालीन अवस्थामा धेरै कार्यहरू गरेकी छन्। त्यसमा पनि डळज्ञज्ञळा लळींळूशपीहळि ेीवशी 1976 प्रमुख मानिन्छ। यसमाथि श्रीमती भण्डारीले आफूलाई जसरी समर्पित गराएर कार्य अघि बढाइन्, त्यसैअन्तर्गत सिक्किमका लगभग 73 हजार नागरिकताविहीन मानिसहरूले नागरिकता प्राप्त गर्नका साथै पूर्ण न्याय पाएको मान्न सकिन्छ।
यस पक्षलाई विस्तृत रूपमा व्याख्या गर्नुपर्दा यसको परिभाषा यस्तो छ-सिक्किम सिटिजनशिप आदेश 1976 एक कानुनी दस्ताबेज हो, जो सिक्किम राज्यको नागरिकता अधिकार र नियमावलीसँग सम्बन्धित छ। यो आदेश 1976-मा पारित भएको हो र यसको मुख्य उद्देश्य सिक्किममा नागरिकता प्राप्त गर्ने र प्रमाणित गर्ने मापदण्ड अनि प्रक्रियाहरूलाई ढाँचाबद्ध गर्नु हो। यो आदेश अन्तर्गत नागरिकता प्राप्त गर्ने योग्यता, नागरिकता प्राप्त गर्ने प्रक्रिया, र सिक्किमका नागरिकहरूलाई नागरिकता प्रदान गरिने अधिकार र सुविधाहरू जस्ता कुरालाई समावेश गर्दछ। यो दस्ताबेज अन्तर्गत सिक्किम राज्यका ऐतिहासिक र सांस्कृतिक सन्दर्भका लागि विशेषता भएका विधानहरू पनि पर्दछन्।
त्यसै गरी अहिले जुन आईएलपीको माग गरिँदै छ, यस विषयमा श्रीमती भण्डारीले आफ्नो समयमै सिक्किममा घुम्न आउने विदेशीका निम्ति भित्री पञ्जीकरण परमिट हुनुपर्ने भन्दै आवाज उठाएर पर्यटनलाई प्रोत्साहन गराउने कार्य गरेको इतिहास पनि मेटाएर मेटिन्न।
दिलकुमारी भण्डारी संसद् भवन पुगेर गरेका धेरै सङ्घर्षहरूमध्ये सिक्किमको संविधानका 371 (एफ)-को उल्लङ्घनसँगै सिक्किममा सीधा कर अधिनियमहरू लागू गर्ने सन्दर्भ उल्लेखित रहेको छ, जसको विरोधमा श्रीमती भण्डारीले आवाज नउठाएकी भए आज सम्पूर्ण सिक्किमहरूले कर तिर्नुपर्ने अवस्था सिर्जना हुने थियो कि? यस्ता अझ कतिपय तथ्याङ्कित विषयहरू छन्, जसलाई श्रीमती भण्डारीले संसद्मा उठाइन् तर पूरा हुन सकेनन्। भविष्यमा दिलकुमारी भण्डारीले उठाएका सन्दर्भहरूको टेकोमा उभिएर सिक्किमका अन्य जनप्रतिनिधिहरूले उठान गर्नेछन् भन्ने आशा राखौँ।
जहाँसम्म लिम्बू-तामाङ सीट आरक्षणको मुद्दालाई लिएर विभिन्न राजनीतिक पार्टीहरूले श्रेय लिने होडबाजी चलिरहेको छ, यसलगायत नेपाली सिटको आरक्षणबारे पनि श्रीमती भण्डारीले आफ्नो संसद्कालीन समयमै एक निजी सदस्य विधेयक ल्याएर उठान गरेकी हुन्। जुन मुद्दा अहिले पनि थाँतीमै छ। यसबाहेक सिक्किमलाई नर्थ इस्टमा गाभ्नुपर्ने सन्दर्भको उठान गर्दै त्यो समयमा सिक्किम सङ्ग्राम पार्टीले केन्द्रसमक्ष प्रतिवेदन प्रेषित गरेको थियो। सिक्किम सङ्ग्राम पार्टीको अडानलाई आधार बनाउँदै तिनताकाकी संसद् सदस्य श्रीमती भण्डारीले यसबारेमा संसद्मा आवाज उठाएकी थिइन्। यद्यपि, उनको समयमा त्यो माग पूरा नभए पनि पछि भारत सरकारले उक्त मागलाई पूरा गर्यो, त्यसका निम्ति श्रीमती भण्डारीले एक निजी बातचितका क्रममा भारत सरकारप्रति आभार व्यक्त गरेकी छन्।
सिक्किम लगायत भारतका विभिन्न प्रान्तका एकल पार्टीहरूका पक्षबाट चुनिएका प्रतिनिधिहरूले संसद् भवनमा झेल्नुपर्ने धेरै समस्याहरू हुन्छन्। उनीहरूलाई बुझ्न, जान्न र सिक्न नै धेरै समय लाग्ने गर्छ। यति हुँदाहुँदै पनि श्रीमती भण्डारीले संसद् भवनभित्र रहेर कतिपय राजनीतिक मागहरू पूरा गरिन् भने कतिपय मागहरू उठाउनका निम्ति दह्रिलो पृष्ठभूमि तयार पारिदिएको कुरालाई नकार्न सकिन्न।
बातचितकै क्रममा श्रीमती भनाइअनुसार कतिपय आञ्जलिक वा क्षेत्रीय पार्टीहरूबाट संसद् भवनमा पुगेका प्रतिनिधिहरू त्यो पार्टीका लिडर हुनु स्वाभाविक हो किनभने त्यहाँ आफ्नै पार्टीका अन्य जनप्रतिनिधि रहेका हुँदैनन्। यही परिस्थितिबाट लाभ उठाउँदै धेरै वटा कार्य निष्पादन गर्न सम्भव भयो। लोकसभा अध्यक्षले धेरै वटा कार्यावधिमा पार्टीको लिडरको हिसाबमा पनि त्यही पार्टीको नेतालाई बोलाउने गर्छन्। यो प्रजातन्त्रको एउटा सुन्दर पाटो पनि हो किनभने यसो गर्नाले सबैले समानाधिकरण प्राप्त गर्छन् भन्ने मलाई लाग्दछ, भन्ने कुरा बताइन्।
नेपाली जनसमुदायमाझ एउटा जिज्ञासा आज पनि छ कि दिलकुमारी भण्डारी संसद् सदस्य नरहँदा पनि शहीद दुर्गा मल्लको शालीग संसद् परिसरमा राख्न कसरी सम्भव भयो होला भन्ने। यसको पृष्ठभूमि यस्तो छ।
दिलकुमारी भण्डारी 1985-मा सांसद भएर जाँदा संसद् परिसरलाई कसरी सुन्दर बनाउने वा मर्यादित कसरी बनाउन सकिन्छ जस्ता विचारहरूमाथि मन्थन हुने गर्थे। तर दुर्भाग्यवश संसद् बर्खास्त हुनका साथै सबै कुरा गुमनाम जत्तिकै भए। सोही विषय पुनः 12 मार्च, 1996-मा निस्कियो। त्यो समयमा उड़ीसा जनजातिकी सांसद श्रीमती फरिदा टोप्पोले आफ्नो सुझाउ राख्दै जनजातिका शहीद बिर्सा मुण्डाको मूर्ति राख्ने सुझाउ श्रीमती भण्डारीको कानमा पर्दा आफ्नै जाति भित्रकाहरू पनि धेरै राष्ट्रिय सुरक्षाका निम्ति शहीद भएका छन् भन्ने सम्झना आउँदा किन हाम्रा शहीदको पनि मूर्ति नराख्ने भन्ने विचार स्वतः प्रस्फुटन भएको हो। यसै क्रममा दुर्गा मल्लको नामको प्रस्ताव राखिएको हो। तर संसद्मा मुखले मात्र प्रस्ताव राखेर नहुनुहुँदा प्रपोजल राखियो अनि त्यही दिनको प्रपोजललाई स्वीकृति दिएको पत्र श्रीमती भण्डारीले सन् 2000 सालमा पाएकी हुन्। पछि 17 डिसेम्बर, 2004-मा केन्द्रमा डा. मनमोहन सिंहको पालामा शहीद दुर्गा मल्लको शालीग संसद् भवनको परिसरमा स्थापना भयो। यस कार्यमा डा. महेन्द्र पी. लामा, बुद्धिमान प्रधान ‘बमप’, स्व. सुखमान मोक्तान लगायत धेरैको अथक प्रयासमा यो कार्य सम्पन्न हुन सकेको श्रीमती भण्डारी बताउँछिन्।
अर्को एउटा पक्षलाई यहाँ उठान गर्नुपर्ने हुन्छ कि कुनै पनि व्यक्तिको सम्पत्तिको सुरक्षा कसरी गर्ने अथवा कुनै सर्जकले सिर्जना गरेको कुरालाई कसरी संरक्षित गर्ने भन्ने अहम् प्रश्न उठ्नु स्वाभाविक हो। यस सन्दर्भलाई श्रीमती भण्डारीले आफ्नो समयमै उठान गरेकी थिइन्। कम्प्युटर प्रोग्रामिङलाई 1984-मा कानुनको रूपमा थपिएको थियो अनि आजको डिजिटलीय युगमा यसबारे धेरै सुरक्षाका उपायहरू अप्नाइएकोमा श्रीमती भण्डारी खुसी छन्। यसलाई विभिन्न समयमा आफ्नो पक्षमा हुने गरी परिभाषित गरियो होला तर कापी राइट ऐन हुनुपर्छ भन्दै आवाज उठाउने व्यक्तिका रूपमा उनी परिचित छन्।
यसै क्रममा समाजमा घटेका अकल्पनीय समाचारहरू पनि प्रकाशमा आइरहन्थे। त्यसमा पनि प्रमुख रूपमा गर्भमा रहेको भ्रूण अवस्थामा लिङ्ग चिन्हित गरी छोरी भएमा उसलाई गर्भमै हत्या गर्ने प्रवृत्ति निकै हाबी भइरहेको अवस्थालाई अध्ययनको क्रममा राख्दै मानिसहरूको मानसिकतामा परिवर्तन ल्याउन खातिर महिला हत्या रोक्नका लागि एक ऐतिहासिक कानुन पूर्व-संवैधानिक एवं गर्भवती पूर्व-प्रेरणात्मक विज्ञान तक्निक ऐन, 1994 भारतीय कोड लागू हुनमा श्रीमती भण्डारीको पनि सहभागिता रहेको थियो भने सिक्किमको सन्दर्भमा महिला वर्गलाई कानुनी रूपमा सुरक्षा प्रदानका लागि विवाहलाई कानुनी वैधानिक नियमभित्र ल्याउने पहिलो व्यक्तिको रूपमा पनि श्रीमती भण्डारीलाई जान्न सकिन्छ। यसभन्दा पहिले सिक्किममा विवाह ऐन लागू थिएन।
यसका साथै सिक्किममा पञ्चायती व्यवस्थामा सुदृढीकरण ल्याउनका लागि डिसेम्बर, 1993-मा एक विधेयक पेस गरिएको थियो। सो विधेयकले गाउँको व्यवस्थालाई बलियो बनाउनमा अनि आर्थिक रूपमा विकेन्द्रीकरणको पक्षबाट कार्य सम्पादन गर्न सम्भव थियो र यस कार्यमा पनि श्रीमती दिलकुमारी भण्डारीको हात मजबुतीका साथ अघि बढेको मान्न सकिन्छ।
श्रीमती भण्डारीको संसद्कालीन अवस्थामा भारतको दूरदर्शनले नेपाली भाषालाई विदेशी नामकरण गर्दै नेपाली कार्यक्रमहरू प्रसारण नगरेकोमा कडा आपत्ति जनाउँदै श्रीमती भण्डारीले प्रभावशाली ढङ्गमा आवाज बुलन्द गरेपछि दूरदर्शन झुक्न बाध्य भएको कुरालाई पनि हामी भुल्न सक्दैनौँ।
आम रूपमा एउटा प्रश्न निकै गहिराइका साथ गर्ने गरिन्छ कि भारतीय नेपाली राष्ट्रिय परिषद्लाई किन भाषा मान्यतापछि विघटन गरियो होला? किनभने आज पनि भारतीय स्तरमा एक दह्रिलो नेपाली भाषीहरूको सङ्गठन आवश्यक रहेको बोध सबैले गर्दै आएका छन्। यसै सन्दर्भलाई अघि राख्दै श्रीमती भण्डारीसँग जान्न चाहँदा उनको सोझो र खरो जवाफ यस्तो छ-मिस्टर भण्डारीलाई यसमा म निकै महान् देख्छु किनभने भानेराप केवल भाषा मान्यतासम्मका लागि गठन भएको थियो र भाषाले मान्यता पाएपछि त्यो सङ्गठनलाई विघटन गर्नु नैतिकताभित्र पर्दछ। तर भारतीय स्तरमा एक गतिलो सङ्गठन हुनुपर्ने बोध गर्नेहरूले अखिल भारतीय नेपाली भाषा समितिलाई बलियो बनाउनका निम्ति हातमाला किन बनाउँदैनन्? पिर मान्नेहरूले त्यसको समाधान पनि खोज्नुपर्छ। सधैँभरि एकै व्यक्तिबाट कार्य अघि बढ्न सम्भव छैन, त्यस प्रक्रियालाई अघि बढाउनका लागि अन्य महानुभावहरू पनि अघि आउनुपर्छ।
दिलकुमारी भण्डारी नेपाली जाति र भाषाका समालोचक, आलोचकहरू सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको पहलमा नेपाली भाषाले भारतको संविधानको आठौँ अनुसूचीमा गाभिन सफल भएको बताउँछन्, उनीहरूका कुरालाई बेठीक मान्न सकिँदैन तर विचारणीय अर्को पक्ष पनि हामीले हेर्नुपर्ने हुन्छ। नेपाली भाषाले यसरी संवैधानिक मान्यता प्राप्त गर्नमा केवल नरबहादुर भण्डारी र आफू स्वयं (दिलकुमारी भण्डारी)-को मात्र भूमिका नरहेको अन्य लाखौँ नेपाली समुदाय लगायत भारतका विभिन्न प्रान्तलाई प्रतिनिधित्व गर्दै आएका संसद् सदस्यहरू (अनेपाली) समेतको भूमिका अतुलनीय रहेको बताउँछिन् श्रीमती भण्डारी। यस्ता धेरै परिघटनाहरू छन्, जुन घटनाहरूलाई श्रीमती भण्डारीले नजिकबाट अवलोकन गरेकी छन्। 2 अक्टोबर, 1983-को दिन देहरादून देखि दिल्लीसम्मको 12 दिने पदयात्राको आयोजन हुँदा सिक्किमको राजधानी गान्तोकमा तत्कालीन मुख्यमन्त्री एन. बी. भण्डारी र समाजसेवी दिलकुमारी भण्डारी अनसनमा बसेका समयहरू इतिहासमा अङ्कित भएर बसेका छन्। यस्ता सयौँ संस्मरणहरू होलान् श्रीमती भण्डारीसँग तर यहाँ सबै कुरा आफूलाई जानकारी नहुँदा राख्न सकिएन यद्यपि, भविष्यमा एक सामाजिक स्रष्टा दिलकुमारी भण्डारी स्वयंका कलमबाट नेपाली समाज र भाषा-साहित्यका उत्थानकर्ताहरूका लागि कुनै पुस्तकको रूपमा एक दिन अवश्यै आउने कुरामा हामी सबै आशावादी बनौँ।
अहिलेको वर्तमान स्थितिमा राज्य र समग्र देशभरि अब सम्पूर्ण देश, राज्यको भार युवाहरूको काँधमा आउनुपर्छ भन्ने भाव जन्मिरहेको स्थितिलाई ध्यानमा राख्दै केही जिज्ञासा श्रीमती भण्डारीसामु राखियो, जसमा उनी यसो भन्छिन्-कुनै पनि कुरा कथनी र करनीमा सामानजन्य हुन जरुरी छ अनि दिगो राजनीति गर्नलाई निडर, आत्मनिर्भर र आत्मसम्मानले भरिपूर्ण भएको हुनुपर्दछ। अनि जनताअघि वचन राख्दा सधैँ इमानदार रहनुहोस्। हाम्रा मानिसहरू साधारण छन् र उनीहरूको सामान्यतालाई विशेष ध्यानमा राखेर अटल अभियानतर्फ अग्रसर बन्नुहोस्। आजको सन्दर्भमा भन्नुपर्दा आत्मनिर्भरता र आत्मसम्मानसहित उच्च गुणस्तरको युवा पीढीले हाम्रो आँगनको राजनीतिक गुणस्तरलाई उच्चता प्रदान गराउन सक्छन्। तथापि, मेरो आकाङ्क्षा भनेको नयाँ पीढीले शिक्षित भएर, राष्ट्रभित्र राष्ट्रिय स्तरको राजनीति र शासनलाई अझै उत्कृष्ट बनाउन सक्छ।
सन्दर्भ सूचि:
1. सी. के. श्रेष्ठद्वारा सम्पादित एवं भानेरापको पक्षमा प्रकाशित ‘आधार’ पत्रिकाका सम्पूर्ण अङ्कहरू।
2. राज के. श्रेष्ठद्वारा लिखित एवं अखिल भारतीय नेपाली भाषा समितिद्वारा प्रकाशित ‘नेपाली भाषा-मागको कथा व्यथा’।
3. अर्जुन पीयूषद्वारा सम्पादित एवं प्रेमफूल प्रकाशन, साङ्मा, पोख्रेबुङ, दार्जिलिङद्वारा प्रकाशित ‘नारी-आभा’।
4. के. बी. नेपालीद्वारा सम्पादित ‘बिन्दू’ सामयिक पत्रिका।
5. विभिन्न समयमा दिलकुमारी भण्डारीले दिएका सम्भाषणहरूका आधार।
6. कतिपय क्षणहरूमा निजी रूपमा लेखकद्वारा जान्न खोजिएका प्रश्नहरूको उत्तरका आधारहरू।