साहित्य परिषद भूटान : अबको बाटो

Bhakta Ghimireभक्त घिमिरे
ओहाईयो, अमेरिका

नेपालका शरणार्थी शिविरहरूबाट पुनर्वास सुरु भएको एक दशकपछि आज अमेरिकामा परिषद्को औपचारिक सम्मेलनमा तपाईँहरूलाई सम्बोधन गर्न पाउँदा म अत्यन्तै हर्षित बनिरहेको छु । यस मञ्चमा उभिएर यति बेला म सर्वप्रथम भाषा-साहित्य र सम्पूर्ण न्यायको लागि वकालत गर्दा ज्यान गुमाएका तमाम ज्ञात-अज्ञात शहीदहरूलाई सम्झना गर्न चाहन्छु । त्यसपछि यस सम्मेलनमा अतिथिका रूपमा आमन्त्रित श्री टेकनाथ रिजाल, बलराम पौडेल, डा. भम्पा राई, छत्रपति फुयँल (भूटान), कर्मा डुप्थोप, अमरधोज लामा (रेडियो नेपाल), मधुकर लोहनी, डा. डीएनएस ढकाल, सीबी दाहाल, डा. खेम नेपाल (केनाडा), डा. लक्ष्मी ढकाल (नेदरल्याण्ड), डा. गोविन्द रिजालका साथै साहित्य परिषद्-भूटानका निर्देशक मण्डली , कार्यकारिणी तथा सम्पूर्ण सदस्यहरूलाई पनि सम्झना गर्दछु ।

आदरणीय सज्जनवृन्द, भाषालाई सभ्यताको मूलमन्त्र मान्दै शरणार्थी शिविरको सङ्कटग्रस्त अवस्थामा पनि नेपाली भाषा र साहित्यको उन्नतिको लागि सन् १९९३ मा नेपाली भाषा परिषद्-भूटानको स्थापना भएको थियो । त्यस हिसाबले ‘नेपाली भाषा परिषद्, भूटान’ भाषा, साहित्यको सम्वर्द्धन, विकास र उन्नतिका लागि समर्पित विस्थापित भूटानीहरुको पहिलो साहित्यिक संस्था हो । यो संस्था त्यो समयमा जन्मिएको थियो जहाँ अधिकांश भूटानीहरुमा नेपाली भाषा र साहित्यको खासै ज्ञान थिएन । भाषाको आधारभूत ज्ञान बाँढ्नदेखि विद्यालयमा पढाउने शिक्षकको उत्पादनमा परिषद्ले खेलेको भूमिकाप्रति यहाँहरू सबै जानकार नै हुनुहुन्छ । त्यो समय पनि हाम्रा लागि अनुकूल थिएन न वर्तमान समय नै हाम्रा लागि सहज, अनुकूल छ । तथापि समस्या र असहजता भित्रै सिर्जना र प्रगतिका फाँटहरू पहिल्याउन सकिन्छ, सम्भावनाका व्योमहरु उघार्न सकिन्छ । नेपाली भाषा परिषद्ले शरणार्थी अवस्थामा नेपाली भाषा–साहित्यका कक्षाहरू सञ्चालन गरी झण्डै आठ हजारजति भूटानीहरुलाई सुशिक्षित पारेको कुरामा सबै जानकार हुनुहन्छ । त्यसका अतिरिक्त शरणार्थी शिविरमा सञ्चालित विद्यालयका अधिकांश नेपाली शिक्षक यही परिषद्ले उत्पादन गरेको यर्थाथतालाई बिर्सन सकिन्न । यतिखेर हामी परिषद्को परिकल्पना गर्नु हुने र इतिहास निर्माणमा समर्पित हुनुहुने भाषा–साहित्यप्रेमी ती अग्रजहरूप्रति सम्मान जनाउन चाहन्छौँ । ती संस्थापक धरोहरहरूलाई शब्द सापटीमा भूपीको “उम्रन्न बोट कसैले बीउ छरेर नगए” भन्ने उक्ति  समर्पण गर्दछु ।

पछि सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद्-भूटानमा रूपान्तरण गरियो । कालान्तरमा भूटानीहरुको तेस्रो देश पुनर्स्थापनासँगै संस्थाको क्रियाशीलतामा सुस्तता छायो । यद्यपि यो संस्थाले विगतमा गरेको मूल्यलाई अक्षुण्ण राख्न र भाषिक आन्दोलनको इतिहासलाई रक्षा गर्दै नयाँ परिस्थितिमा काम गर्ने बाटो पहिल्याउन, बदलिएको सन्दर्भमा यसका उद्देश्यहरूलाई पुनपर्रिभाषित गर्न र नवीन सम्भावनाहरूको मूल्यान्वेशषण गर्न यसलाई सन् २०११ मा साहित्य परिषद्-भूटानका रूपमा रुपान्तरित गरियो । संस्था साहित्य परिषद्-भूटानका रूपमा रुपान्तरित भएपछि यस संस्थासँग www.bhutaneseliterature.com आबद्ध भयो र अहिले साहित्य परिषद्-भूटानकै प्रकाशन पृष्ठ भएर यो वेबसाइट सञ्चालित छ । भूटानी समाज विश्वभूगोलमा बाँडिएको वर्तमान अवस्थामा परिषद्ले चाहे अनुरूपको काम गर्न सकिरहेको छैन । यसरी विभिन्न देश-महादेशमा तितरबितर भएको सक्रमणकालीन आवस्थामा साहित्यको संस्थागत विकासमा पहल गर्ने जमर्को गरिए पनि आर्थिक अभाव, भौतिक उपस्थितिको असम्भाव्यता, समयान्तरता र व्यस्त जीवन शैली, प्रविधिगत कठिनाइ आदिले परिषद्लाई अझै पनि गाँजिरहेको छ । यही मौका छोपेर केही व्यक्तिहरू सिर्जनामा भन्दा पनि व्यक्तिविशेषको हैसियत र चरित्रमा आक्रमण गर्दै फोहोरी खेलमा दिनरात लागि परेको यथार्थ तपार्इँ हामीले सामाजिक सञ्जालहरूमा पढ्न पाएकै छौँ । त्यस किसिमको दुरासापूर्ण गतिविधिले अग्रगमन र निकास दिन सक्तैन, त्यसले अन्योल र भ्रमको सिर्जना मात्र गर्दछ । हामी बीचको समझदारी, सद्भाव र सहकार्यले मात्रै हामीलाई समुज्जवल भविष्यतर्फ डोऱ्याउन सक्छ । यस सन्दर्भमा विगतमा कैयौंपटक सामाजिक सञ्जालहरूमा परिषद्को सक्रियता घटेको, समावेशी बन्न नसकेको, जागरुक युवाहरूलाई भूमिका नदिइएको र कहिलेकाहीँ त परिषद् विघटित नै भइसकेको भन्ने जस्ता अनर्गल प्रचारबाजी र फोहोरी खेल समेत खेलिए । तर, म आज यस मञ्चमा उभिएर ती कटु आलोचकहरुलाई पनि धन्यवाद दिन चाहन्छु । किनभने उनीहरू नकारात्मक ऊर्जा लिएर त्यतिको सक्रिय नबनेका भए शायद हामी पनि सकारात्मक पाटोमा यति जागरुक बन्ने थिएनौँ कि !

मान्छे, मानिस वा मानवको जातीय प्रकृति नै यस्तो हो ताकि यसले सदैव सुख, खुसी, शान्ति र आनन्दको खोजी गर्दछ । यिनै भावनात्मक वस्तुप्राप्तिको लक्ष्यमा स्वावलम्बन तथा पहिचानका लागि मान्छेले जीवन बलिदान पनि गर्दछ । भविष्यमा बाँच्नलाई मान्छे वर्तमानमा मर्छ पनि । मानव इतिहासको विवेचना अनुसार पूर्वेलीहरू आजभन्दा लगभग चारहजार वर्षअघि नै ‘स्व’ का लागि सचेत थिए । साँच्चै हाम्रा पूर्वजहरूको विगतले भनेअनुसार  ‘असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतमगमय’, भन्दै सदियौंपूर्व उनीहरू असत्यका विरुद्ध सत्य, अन्धकारका विरुद्ध प्रकाश वा ज्योति र मृत्युका विरुद्ध अमृतको खोजीमा निस्किएका थिए । त्यसपछिका कैयौँ कालखण्डसम्म, आज हामी यस पुस्तासम्म आइपुगेर पनि त्यही खोजाइको गतिमा सार मिलाउँदैछौं । यद्यपि, हाम्रो खोजाइ अमूर्त छैन, निर्दिष्ट छ । पुर्खाहरूले उनीहरूका लागि खोजेको वस्तु के कति पाए, त्यसले हामीलाई पर्याप्त भएन । हामीले आफ्ना लागि आफ्नै पौरख खोज्नुपर्‍यो । यहाँ खोज्नु भन्नुको तात्पर्य सिर्जना/निर्माण गर्नुपर्‍यो । आफ्नो समय र पुस्ताको पौरख निर्माण गर्नलाई स्वत्वसहितको पहिचान जोगाउनु र बँचाउनु जरुरी हुँदोरहेछ । त्यसैले आज हामी जे-जति गर्दैछौं यो सबै समग्र समाजको पहिचान तथा अस्तित्व बचाउका लागि गरिरहेका छौँ । अस्तित्वरक्षा तथा सामाजिक पहिचानको मेरुदण्ड भनेकै भाषा-साहित्यको मूल आधारमा खड़ा भएको हुन्छ । त्यसर्थ हाम्रो निष्कर्ष आज भाषा-साहित्यको संरक्षण तथा प्रवर्द्धनतर्फ एकोहोरिने बिन्दुमा अड़िएको छ । यस सन्दर्भमा हाम्रो परिवर्तित परिवेश चुनौतीपूर्ण बनिरहेको छ । वर्तमान हाम्रो भाषिक-साहित्यिक शक्तिलाई छताछुल्ल हुन नदिएर निर्दिष्ट बाटो प्रदान गर्नु हामी एक एक व्यक्तिको जिम्मेवारी हो । हाम्रो सामाजिक तथा ऐतिहासिक यो जिम्मेवारीलाई हरेक व्यक्तिले मनन गर्नु जरुरी भएको छ । यस कुरालाई मूल्याङ्कन गर्दै विश्वव्यापी रूपमा छरिएर पनि हाम्रो सामाजिक गतिशीलतालाई गोलबद्ध गरी राख्नलाई नै साहित्य परिषद्-भूटान सक्रिय बनिरहेको यहाँहरू सबैलाई जानकारी भएकै विषय हो ।

देशभित्र हुँदाताकाको पृष्ठभूमिलाई छोड़ेर निर्वासनकालमा भाषा-साहित्यको जगेर्ना गर्न धेरै पहलहरू भएका थिए । तीमध्येका अधिकांश प्रयासहरूमार्फत ऐतिहासिक रूपमा तत्कालीन भाषा परिषद् र परिवर्तितरूपमा साहित्य परिषद्-भुटानले नै हाम्रो साहित्यिक माहौललाई धेरै उचाइमा पुर्‍याएको कुरा कसैले नकार्न सक्दैन । तत्कालीन सरकारको कोल्टे नियतका कारण देशबाट विस्थापित भई लामो शरणार्थी जीवनका अत्यास लाग्दा भुट्भुटीहरूकै बाब्जुद पनि परिषद्को माध्यमबाट भाषा-साहित्यमा निहित समाजको नासो बचाउतर्फ हाम्रो समुदायले गरेको योगदानलाई पक्कै पनि इतिहासले भुल्ने छैन भन्ने हामीलाई लागेको छ ।

यद्यपि, लामो समयसम्म शरणार्थी बनेर अन्यौलपूर्ण अवस्था बिताएपछि भएका समस्या समाधानतर्फका पहलहरूले भाषा-साहित्यतर्फको हाम्रो एकीकृत सक्रियतालाई अलपत्र बनाइदिए । यसका साथै साहित्यिक क्षेत्रमा विभिन्न नयाँ समूहहरू पैदा हुने क्रम पनि जारी रह्यो ।

जति जे जे भए पनि हामी सबैले सोच्नुपर्ने कुरो हाम्रो भाषा र साहित्य नै इतिहास र समाजको पहिचान हो । आज हाम्रो समुदाय विश्वव्यापी रूपमा फैलिइसकेको छ । पुनर्वाशपछि आधारभूत व्यवस्थापन भइसकेको छ । अबका दिनहरूमा समाजको पहिचान खातिर सोच्नुपर्ने आवश्यकता महसुस भइरहेको छ एकातिर भने यो परिप्रेक्ष्यमा हामीले विगतमा नेपाल, भारत र भूटानको मात्र परिवेश हेरेर मिलाएको परिबन्दले आजको विश्वव्यापी परिवेश समेट्न केही गाह्रो भएको पनि महसुस गरिएकै छ । यस सन्दर्भमा हामीले भोग्दै आएको पीडा के छ भने औचित्य, लक्ष्य र उद्देश्यहरू सबै मिलेर पनि लगनशील योगदान दिने मानवशक्तिको अभाव ! कोही इच्छा भएर पनि विभिन्न देशमा हुने समयको अन्तरको कारण जुट्नै सक्तैनन् । कोही, भाषा-साहित्यको महत्त्व बुझेर पनि काम गर्नलाई समय दिन सक्तैनन् । कोही लेखन-सिर्जनाभन्दा बढी पद र सङ्गठनलाई प्रमुखता दिएर पद नपाएसम्म जिम्मेवारी लिनै मान्दैनन् । समाजको बहुआयामिक इतिहास बनाउन यस्ता प्रवृत्तिहरूमा परिशोधन हुनु आवश्यक छ । नभए, फेरि पनि कुनै हदमा हामीले सन् १९९० को इतिहासलाई दोहोऱ्याउन सक्छौँ ।

यहाँनेर मैले अलिकति नकारात्मक कुरा गरेँ । तर, हाम्रो स्थिति चिन्तन गर्नुपर्ने भए पनि चिन्ता गर्नेपर्नेचाहिं पक्कै छैन । पुनर्वाश कार्यक्रम सुरु हुँदाताका त्यसकै हाराहारीमा, पुनर्वाश भइसकेपछि सम्बन्धित देशहरूमा पनि हाम्रो समुदायको सक्रियतामा विभिन्न गतिविधि भइरहेकै छन् । साहित्य परिषद-भूटानको पुनर्गठनलगत्तै काठमाडौंमा शिवलाल दाहाल र रमेश गौतमको संयुक्त तत्वावधानमा प्रज्ञाप्रतिष्ठानमा गरिएको कार्यक्रम पनि उल्लेखनीय नै थियो । तर, म  यहाँनेर विशेष रूपमा उल्लेख गर्नचाहन्छु, पुनर्वाशपछि साहित्य परिषद्-भूटानको सक्रियतामा ‘शान्तिका लागि दक्षिण एसियाली कविता महोत्सव’ (South Asian Poetry Festival for Peace) मा भाग लिन हामी सफल भयौँ । सन् २०१३ मा कवि तथा गजलकार याम थुलुङले पहिलोपल्ट साहित्य परिषद्-भूटानको  प्रतिनिधित्व गर्दै सो महोत्सवमा भाग लिएका थिए भने सन् २०१५ मा दोस्रोपटक कवि तुम्बेहाङ लिम्बुले सो महोत्सवमा परिषद्लाई प्रतिनिधित्व गरेका थिए । दुवै महोत्सव नेपालको काठमाडौँमा आयोजित थिए । यसबाहेक GFNL, INLS लगायतका अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्यको खेती गरिरहेका संस्थाहरूले पनि भूटानको भाषिक-साहित्यिक गतिविधिलाई अब बुझेका छन् ।

साहित्य परिषद्-भूटानको स्थापना गरेर अल्पकालीन उद्देश्यमा हामीले नेपाली भाषातर्फ हाम्रो समाजको कार्यगत फाँटलाई फराकिलो पारेका छौँ भने दीर्घकालीन लक्ष्यमा यसभित्र नेपाली भाषाको मात्र उन्नयन नभई भूटान तथा अन्तर्राष्ट्रिय स्तरमा समग्र भूटानीले उपयोग गर्ने अन्य भाषा-साहित्यलाई समेत अँगाल्ने गरी यसको तह उचालेका छौँ । नयाँ देश र नयाँ परिवेशमा हुर्किएका हाम्रा नवसन्ततीले लिएको अङ्ग्रेजी साहित्यको ज्ञान, भूटानभित्र छोडिए हाम्रैहरुहरूले लिएको जोंङ्खा साहित्यको मर्म समेत उनेर समग्रमा नेपाली साहित्यको सेरोफेरोलाई उच्चकोटिको फ्लेबर दिन अघि बढ्ने मूल लक्ष्यका साथ हामीले यो जमर्को गरेका हौँ ।

यस्तो घोषणा भएको लगत्तै पछिदेखि ‘साहित्य परिषद्-भूटान’ सित सुरुमा जोडिएको ‘नेपाली’ शब्द किन हटाइयो भनेर धेरै प्रश्नहरू आइरहेका छन् । अर्को एक किसिमको तर्क पनि सुरु भएको छ; ‘भूटानीहरुले नेपाली भाषामा लेखेको साहित्य नेपाली साहित्य कि भूटानी साहित्य अथवा भूटानी नेपाली साहित्य?’ यो तर्क अहिले पनि ताजै छ । भन्नसकिन्न अझै कति वर्षलाई यो ताजै रहनेछ ।

यहाँनेर जटिल तथा अत्यन्तै गहनताका साथ मनन गर्नुपर्ने कुरो के छ भने, हामी भूटानको पृष्ठभूमि भएका केही मानिसहरू भन्ने गर्दछौँ, ‘नेपाली भाषा मासिन लाग्यो, यसको संरक्षण गर्नुपर्छ ।’ तर, खास कुरो यो संसारबाट नेपाली भाषा मासिन लागेको होइन । नेपाली भाषाको रक्षा गर्नलाई एउटा सिङ्गै देश छ, अनेकौँ विश्वविद्यालयहरू छन् । सरकारी तथा गैर-सरकारी निकायहरू छन् । आधुनिक प्रविधि र सञ्चारका साधनहरू छन् । भएको कुरो त के हो भने, भूटानको सेरोफेरोमा रहेको हाम्रो समाजचाहिँ आफ्नो भाषा, साहित्य र सांस्कृतिक मूल्यहरूबाट विमुख हुनलागेको हो । त्यसर्थ, नेपाली भाषा र साहित्यको रक्षा गरेँ भनेर सम्झिनुको सट्टामा अहिले हामीले आफैँलाई प्रश्न गर्नुपर्ने भएको छ,  ‘नेपाली साहित्यको नाममा समाजको गाथासित असबन्धित शब्दको खेतीमात्र गरेर, आफ्नो वीरताको धरातल र आफ्नो सांस्कृतिक मूल्य-मान्यतालाई बिर्सिएर, आफ्नो इतिहासको विरासतलाई भुलेर, हिँजो-अस्तिका दिन भाषा बोल्ने र लेख्ने अधिकारको रक्षा गर्न समानता र न्यायको माग गर्दा ज्यान गुमाएका शहीदहरुलाई उपेक्षा गरेर, त्यसकै लागि वकालत गर्दा कैदमा परेका आस्थाका बन्दीहरूलाई त्यागेर’ हामी के जित्न सक्छौँ ?

यस अर्थमा हामी समग्र नेपाली साहित्य वाङ्मयको भूटान भङ्गालोमा बगिरहेका छौँ भन्ने कुरालाई सहजै मनन गरी सचेततापूर्वक साहित्यिक इतिहासको संरक्षणतर्फ पनि अलिकति सोच पुऱ्याउनु बुद्धिमता हुनेछ । यसो भनिरहँदा यहाँनेर अर्को तर्क आउन सक्छ; ‘हाम्रा पुर्खा नेपाली थिए । हाम्रो भाषा-साहित्य र संस्कृति सबै नेपाली हो । अब नेपालीमात्र नभनेर के भन्ने त?’ तर, नेपाली नाम पाउनअघि यो भाषाको पहिचान अर्कै थियो, हाम्रा पुर्खाले नेपाली पहिचान ग्रहण गर्नभन्दा पहिले उनीहरू अर्कै वीरताका थिए भन्ने कुरा पनि साहित्य लेख्ने वा पढ्नेहरुले बुझ्नु जरुरी हुन्छ । माले भने पनि झुले भने पनि गोरु आखिर गोरु हो । खैरे, झ्याप्ले, कण्ठे, सुर्के जे भने पनि कुकुर आखिर कुकुरै हो । भूटान भनेर हामीले कित्ताकाट गरेको साहित्यको नयाँ नाम-पहिचान दिनलाई होइन । हामीले भूटान शब्द जोड्नुपरेको इतिहासको संरक्षण गर्नलाई हो । हामी पक्कै पनि डाँफे हाम्रो राष्ट्रिय चरी हो भनेर वकालत गर्दैनौँ । अनि किन आत्तिनुपऱ्यो; उत्कृष्ट सिर्जनशील धार भएको साहित्य लेख्तै जाऊँ; पछि यही भूटान वा भूटानी शब्द पनि हराउँछ; हाम्रो लेखन पनि साहित्यको समुद्रमा, महासागरमा विलीन हुन्छ ।

यस्ता तमाम विचार, लक्ष्य, उद्देश्य र योजनाहरू हुँदाहुँदै पनि निश्चिय नै परिषद्का अझै केही कमी-कमजोरीहरू छन्, मानिसको जीवनसँग सधैँ कमजोरीहरू हुन्छन् भने उसैले खटाएको विवेक र उसैले गरेको काममा कमजोरी नहुने कुरै छैन । ती तमाम त्रुटि कमजोरीहरूको उचित समीक्षा गरी संस्थागत भविष्यको दिशानिर्देश गर्न अब नयाँ पुस्ता पनि अग्रसर हुनुपर्छ । यद्यपि, विगतमा अनेकौँ कठिन परिस्थितिको सामना गर्दै भाषा-साहित्यको सेवा गर्ने जुन समग्र प्रयत्नहरू भएका छन्, जुन उपलब्धिहरू हासिल गरिए, जुन सम्भावनाहरूको खोजी गरिएको छ; तिनको मूल्याङ्कन पनि हुन जरुरी छ ।

यतिखेर तमाम शुभेच्छुक र साहित्यप्रेमीहरुबाट हामी भूटानी समुदायबीच देखा परेका विभिन्न साहित्यिक समूह एकजुट भएर जानुपर्छ भन्ने माग पनि उठिरहेको छ । परिषदमा रहेर काम गर्न चाहने र परिषद्लाई नै परिमार्जन गर्दै नयाँ ढङ्गमा विकास गरेर जानुपर्छ भन्ने माग पनि जोडदार उठेको छ । यस्ता सबै सकारात्मक विचार र चाहनाहरुलाई सम्बोधन गरेर जानसक्ने कुरामा साहित्य परिषद-भूटान आशावादी छ ।

खास गरी, साहित्य परिषद्-भूटानको भविष्य भनेको समाजले आफ्नो भाषाप्रति राख्ने चासो र साहित्यप्रति आकर्षित स्रष्टाहरूको लगनशीलतामा आधारित छ । भूटानको सेरोफेरोमा नेपाली भाषा-साहित्यको रक्षा र उन्नति हुनसकेन भने त्यो उद्देश्यमा लक्षित कुनै पनि संस्था हुनु र नहुनुले अर्थ राख्तैन । आज हाम्रो अगाडि समाजको विलयन भइरहेको छ । विल्कुलै अनजान समाज र संस्कृतिमा हुने सकारात्मक सामाजिक  विलयनले परिवर्तन र उन्नतितर्फ ठुलो फड्को मार्न सक्छ भने त्यो विलयन नकारात्मक भएमा ठूल्ठूला दुर्घटनाहरू पनि हुन्छन् । यस सवालमा समाजका सबै अभियन्ताहरुभन्दा भाषा र साहित्यका स्रष्टाहरू बढी जागरुक हुनु जरुरी छ । त्यस्ता  जटिल परिस्थितिमा उत्पन्न समस्याको समाधान गर्न, सबै लेखक-सर्जक र आम जनजनको भावनालाई सम्मान गर्दै भूटानीहरुबीच साझा, समावेशी र अग्रगमनको माहौल सिर्जन गर्ने दिशामा भइरहेका कामहरूप्रति सबै भुटानी लेखक, सर्जक र आम जनसमुदायले सकारात्मक रूपमा लिनेछन् भन्ने कुरामा साहित्य परिषद्-भूटान विश्वस्त छ  । परिषद्को आजसम्मको इतिहासलाई सुरक्षित राख्तै, विश्वव्यापीरूपमा भूटानी समुदायमा कार्यरत अन्य साहित्यिक समूह-संस्थाहरूसँग एकता गरी अन्तर्राष्ट्रिय स्तरको एउटा साझा संस्था निर्माण गरी जानका लागि सबै भूटानी साहित्यिक सघं-संस्था र सरोकारवाला व्यक्तिहरूसँग हामी प्रस्ताव गर्दछौँ ।  सम्मानजनक, समावेशी सहकार्यले हामीबिच बृहत् साहित्यिक वातावरणको सिर्जना गर्नु मात्रै होइन भूटानीहरुको बेग्लै पहिचान स्थापित गर्न, अहिले देखिएका असमझदारी एवं भ्रमको अन्त्य गर्न र पुनर्वाश भएका विभिन्न स्थानीय सरकारीस्तरबाट प्राप्त हुन सक्ने सुविधाहरूका लागि पहल गर्न उल्लेखनीय भूमिका पनि खेल्न सकिनेछ ।

हामीलाई थाहा छ यतिखेर धेरै युवाहरूमा भाषा–साहित्य र संस्कृतिप्रति रुचि पलाएको छ, सिर्जना गर्ने हुटहुटी जागेको छ । उनीहरूमा अभूतपूर्व उत्साह र जाँगरको सग्बगाहट छ । युवावर्गमा देखिएको जोस, जाँगर र भाषा-साहित्यप्रतिको मोहको कद्दर गर्दै, संस्थालाई नयाँ र बृहत् रूप दिनु वर्तमान समयको आवश्यकता हो, सर्जक र समाजको माग पनि हो भन्ने कुरालाई परिषद्ले गम्भीरताका साथ लिएको छ । युवावर्गमा केही गरौँ गर्ने भन्ने जुन आतुरता र सग्बाहट छ, त्यसलाई साहित्य परिषद्को अब बन्ने परिमार्जित संरचना र कार्यदिशाले सम्बोधन गरेर जाने छ भन्ने कुरामा म विश्वस्त छु । त्यस कारण युवा लेखक-सर्जकहरू यो ऐतिहासिक सम्मेलनको उपयोग गर्दै लेखकीय धर्म, सामाजिक उत्तरदायित्व र साहित्यिक विकासको लागि योगदान दिन किञ्चित पनि पछि पर्ने छैनन् भन्ने कुरामा पनि आशावादी छु ।

आदरणीय शुभेच्छुक तथा शुभचिन्तकहरू; यतिखेर हामी जुन मुलुकहरूमा पुनर्स्थापि भएका छौँ, त्यहाँ हामी सामाजिक, भाषिक तथा सांस्कृतिक रूपमा अल्पसङ्ख्या हुन पुगेका छौँ । हामीलाई हाम्रो भाषा र संस्कृतितर्फ समाजको झुकाव कायम राख्न, नयाँ पुस्ताका सन्तानलाई स्वभाषा, स्वसंस्कृतिविहीन हुनबाट बचाउन निकै ठुलो चुनौतीको सामना गरिरहनु परेको छ । यो अस्तित्व पहिचान र भाषा-संस्कृतिप्रतिको लगावको रक्षा गर्न कसैको एक्लो पहलले सम्भव छैन । यहाँ त सामूहिक पहल, सामूहिक सङ्कल्प, सामूहिक प्रतिबद्धता र संस्थागत पहल आवश्यक छ । इतिहासले हामीलाई जुन मोडमा पुऱ्यायो त्यही मोडबाट हामी उठ्नुको विकल्प छैन । त्यसैले हामीले एउटा समृद्ध संस्थाको कल्पना गऱ्यौं । धेरै कामहरू योजनामा छन् । ती काम सम्पन्न गर्ने दायित्व हामी सबैको हो, आवश्यकता हामी सबैको हो । हामी इतिहास निर्माणको घडीमा छौँ, त्यसकारणले तपार्इं-हामी सबै नेपाली भाषा-साहित्य, नेपाली संस्कृति र सभ्यताको माया गर्नेहरुले साहित्य परिषद्द्वारा आरम्भ गरिएको यो इतिहास-निर्माणको यात्रालाई आफ्ना ठाउँबाट हुनसक्ने सबै किसिमका सहयोग गर्नका लागि हार्दिक अपिल गर्दछु । हामीले संस्थालाई समग्र भूटानीहरुको भाषा-साहित्य, संस्कृति र कलाको एउटा बलियो आधारस्तभका रूपमा विकास गर्ने परिकल्पना गरेका छौँ । यतिखेर विगतमा भएका कमी-कम्जोरीहरुको  खोट्याउनुभन्दा पनि नयाँ सोच, चिन्तन र आवश्यकता अनुसारको रणनीति बनाएर जानु अपरिहार्य छ ।

सबैको राय, सुझाव लिएर सहमतिमा हामी अघि जान चाहन्छौँ । त्यसर्थ साहित्य परिषद्-भूटानमा सदस्यता लिएर निष्क्रिय रहनुभएका सबै साधारण सदस्यहरूलाई पनि म यस मञ्चबाट परिषद्लाई पुनर्ताजगी दिन अब तपाईँहरूको औपचारिक संलग्नताक समय आएको जानकारी गराउन चाहन्छु । परिषद्ले औपचारिक मान्यता पाएर सरकारी खातामा दर्ता भइसकेकोले अबका हरेक गतिविधिहरू निश्चित विधि र नियम बमोजिम हुनु आवश्यक छ । त्यसर्थमा अब उसो प्रत्येक सदस्यले आ-आफ्नो सदस्यता नवीकरण गर्ने-गराउने, हरेक गतिविधिलाई दस्तावेजीकरण गर्ने गराउनेसम्मका कुरामा ध्यान पुऱ्याउनु अनिवार्य भएको छ ।   यसर्थ साहित्य परिषद्-भूटानसित आबद्ध विभिन्न देशमा रहेर भाषा-साहित्यप्रति चासो राख्नुहुने भूटानी पृष्ठभूमिका व्यक्ति र समूहहरूलाई तत्कालै यो औपचारिकता पूरा गरिदिनुहुन अपिल पनि गर्दछु ।

सरकारी खातामा दर्ता भएर औपचारिक मान्यताप्राप्त संस्थाको तहमा साहित्य परिषद्-भूटानका अबका सम्पूर्ण गतिविधिहरू योजनाबद्ध तथा विस्तारित रूपमा अघि बढाउन समग्र भाषा तथा साहित्यप्रेमी महानुभावहरूको सहृदयता हामीलाई आवश्यक छ । जुनसुकै दृष्टिकोणमा होस् प्रथम तहमा हामी समग्र भूटानीहरूबाट सहयोगको हात पाउने कुराप्रति विश्वस्त छौँ भने हाम्रो मूल साहित्यिक कार्यक्षेत्र नेपाली भएकोले नेपाली साहित्यका सबै प्रेमीजनबाट अझ दर्बिलो सहयोग तथा सहकार्यको अपेक्षा पनि राखेकै छौँ । अनि समग्रमा सम्पूर्ण वैश्विक भाषा-साहित्य प्रेमीहरूबाट पूर्ण सहयोग तथा सहृदयताका लागि हामी अभिलाषी छौँ, अनुग्रहित छौँ ।

 हाम्रो साहित्यको धरातल समग्र नेपाली साहित्यको फाँटमा अझै पनि नगन्य नै छ । एउटा देशको कूल जनसंख्यामा २० प्रतिशतले देशनिकालाजस्तो पाशविक सजाय भोगिरहेका छौं भने देशभित्रै रहेका हाम्रा परिवारहरु ‘राष्ट्रिय खुशीयाली’ को नाममा प्रचार गरिएको नश्लीय दम्भभित्र कैद बनेर बाँचिरहेका छन् । त्यहाँ नेपाली भाषामाथि प्रतिबन्ध लागेको करीब ३० वर्ष भइसक्यो । अझै पनि  आम-जनसम्पर्कको माध्यमका रूपमा नेपाली भाषाले नै ग्राह्यता पाइरहेको छ तर, विस्तारै नेपाली भाषाको नेपालीपन हराएर ड्रूक्पाकरणमा ‘रिमिक्स’ हुँदैछ । यता निर्वासनमा रहेका हाम्रा पुस्ता र नवसन्ततीहरु नेपाली भाषामा अंग्रेजीकरणको ‘रिमिक्स’ पैदा गरिहेका छन् । यति हुँदाहुँदै पनि नेपाली भाषाको मर्म हराएको छैन । जागरुक युवा साहित्यकर्मीहरु, संगीतकलाकर्मीहरु दिनरात खटिरहेका छन् । लेखक-पत्रकाहरुको संख्या पनि विस्तारै पुनर्ताजगी लिएर बढिरहेको छ । यसर्थ, हाम्रो समुदायलाई भाषा र साहित्यको उन्नतिमा लगनशील भएर लाग्न उत्प्रेरणा जरुरी छ । हौशला, मनोबलको आवश्यकता छ । तबमात्र हाम्रो सेरोफेरोको नेपाली लेखनले समग्रमा अन्तर्राष्ट्रियस्तरको नेपाली साहित्यमा सहज स्थान पाउँछ भन्ने हाम्रो ठहर छ । यसर्थ, नयाँ लेखकहरुलाई प्रोत्साहित गराउन हामीले निम्न केही विशेष विधाहरुमा पुरस्कारको प्रबन्ध पनि गरेका छौं ।  ती पुरस्कार र तिनको व्यवस्थापनका नियमहरु यसप्रकार छन्ः-

रिषदद्वारा घोषित पुरस्कार : सहमति तथा अनुबन्धन पत्र

भूटानबाट अथवा विश्वमा जतासुकै छरिएको भूटानी भावनाद्वारा अभिप्रेरित नेपाली भाषा-साहित्य र गीतसंगीतको संरक्षण, संवर्द्धन गर्ने उद्देश्यबाट विभिन्न विधाका स्तरीय कृतिलेखन र उच्चस्तरीय गीति एल्वमको विकासका लागि भएका/ हुने साहित्यिक सम्मान र पुरष्कारहरूका लागि साहित्य परिषद-भूटान  सदैव सम्मानका साथ स्वागत गर्न चाहन्छ । यसरी भाषा-साहित्य र गीतसंगीतको  विकास र प्रवर्धनका क्षेत्रमा  ऐतिहासिक पुरष्कारको घोषणा गर्नेहरूका लागि  साहित्य परिषद्-भूटान हार्दिक अभिनन्दन गर्दछ साथै भविष्यमा गर्नचाहनु हुनेहरूका लागि पनि सदैव  स्वागत गर्न चाहन्छ ।

अहिले यहाँ घोषणा भइसकेका चारवटा पुरष्कारका बारेमा चर्चा भइरहेको छ ।

१)  हिमतारा प्रतिभा सम्मान पुरष्कार
भूटानभित्रै अथवा भूटानबाट निर्वासित सर्जकद्वारा नेपाली भाषामा लेखिएको गजल वा कविताको कुनै पनि एक उत्कृष्ट कृतिलाई प्रदान गरिने हिमतारा प्रतिभा सम्मान पुरष्कार आजको मितिदेखि प्रत्येक दुइवर्षमा एकपटक प्रदान गरिनेछ । यस पुरष्कारमा १००१ अष्ट्रेलियन डलरको नगद रहनेछ ।  साहित्य परिषदका वर्तमान उपाक्ष्य प्रकाश धमाला र उनको परिवारबाट यो बहुमूल्य योगदान घोषणा गरिएको हो ।

२)   सुराक संगीतसृजना पुरष्कार

आजकै मितिदेखि प्रत्येक दुइवर्षमा एकपटक प्रदान गरिने सुराक संगीतसृजना पुरष्कार गीत लेखन, गायन र संगीतकलामा एक एकजना गरी जम्मा तीनजनालाई प्रदान गरिने छ । यस पुरष्कारमा १५०३ अमेरिकी डलरको नगद रहेको छ जसलाई तीन सर्जकमा भाग गरी प्रदान गरिनेछ । भूटानी संगीतकर्मी तथा साहित्य परिषदको स्थापनादेखि विभिन्न पदमा रहँदै आउने वर्तमान सांस्कृतिक संयोजक मनोज राई सपरिवार यो बहुमूल्य पुरस्कारका दाता रहेका छन् ।

३)  हिमटीका स्मृति आख्यान पुरष्कार
यसैगरी नेपाली साहित्यमा आख्यान लेखनको विकास गराउने हेतुले हिमटीका स्मृति आख्यान पुरष्कार स्थापना गरिएको छ । १००१ अमेरिकी डलरको नगद रहने यो पुरष्कार आजकै मितिदेखि प्रत्येक तीन वर्षमा एकपटक सो अवधिभित्र प्रकाशित उत्कृष्ट आख्यानको कृति/कृतिकारलाई प्रदान गरिनेछ । निर्वासन अघिदेखि नै भूटानमा नेपालीभाषाको विकास र संरक्षणमा सक्रिय,  साहित्य परिषदको स्थापनादेखि आजसम्म क्रियाशील संस्थापक अध्यक्ष गंगाराम लामिटारे र उनको परिवार यस बहुमूल्य पुरस्कारका दाता रहेका छन् ।

४)  मुना स्मृति कथा पुरष्कार
यसरी नै प्रत्येक पाँच वर्षमा एकजनालाई प्रदान गर्ने गरी मुना स्मृति कथा पुरष्कार रहेको छ । आजको मितिदेखि प्रत्येक पाँचवर्षमा सो अवधिभित्र प्रकाशित कथाकृति वा कृतिकारलाई प्रदान गरिने यो पुरष्कारमा १५०१ अमेरिकी डलरको नगद रहनेछ । साहित्य परिषद-भूटानको वर्तमान कार्यकारी समितिका अध्यक्ष भक्त घिमिरे र उनको परिवार यस पुरस्कारका दाता रहेका छन् ।

साहित्य समाजको दर्पण भएकाले पनि साहित्यको संरक्षण र संवर्द्धन गर्नु नितान्त जरुरी छ । विस्तारै  यस कार्यप्रति भाषा-साहित्यप्रेमी धेरै भूटानीहरूमा उत्साहजनक चासो बढ्दै गएको छ । व्यक्तिगत वा संस्थागतरूपमा पुरष्कारहरूको घोषणा हुने क्रम पनि बढ्दो छ । यसरी घोषाणा गरिएका/ गरिने पुरष्कार वा सम्मानहरूलाई अझ सहज र संस्थागत बनाउनका लागि केही शर्त र नियमहरू हुन त्यतिकै  आवश्यक छ । त्यसैले पुरष्कारलाई सहज तरिकाबाट संकलन, प्रबन्धका लागि स्वयं पुरष्कारदाता र त्यसलाई परिचालन गर्ने साहित्य परिषद्-भूटान दुवैले निम्न बुँदाहरूको अक्षरशः पालना गर्नुपर्नेछ ।

  • पुरष्कारका लागि घोषणा गरिएको आर्थिक रकम दाताहरूले वितरणको मिति भन्दा ६ महिना पहिला साहित्य परिषद्-भूटानको एकाउण्टमा एक मुष्ट जम्मा गरिसक्नु पर्नेछ । यो समयको बारेमा सम्बन्धित दातालाई परिषदको आधिकारिक निकायले जानकारी गराउने छ ।
  • पुरष्कारका प्रकृति र रकम अनि समय पनि भिन्नाभिन्नै छन् । सबै पुरष्कारको लागि छुट्टा छुट्टै समयतालिका रहनेछ । साहित्य परिषद्-भूटानको कार्यसमितिले निश्चित कार्यक्रम तय गरी ती सबै पुरष्कार वितरणको छुट्टा छुट्टै मिति तोक्ने छ । सो समयतालिका परिषदले दाताहरुलाई उपलब्ध गराउने छ । त्यसपछि दाताहरुले आफ्नो दायित्वको रकम परिषदलाई बुझाउने छन् । पुरष्कार वित्तरणको मितिभन्दा ६ महिना पहिले नै तोकिएको रकम जम्मा नगरिए वा दाताबाट आधिकारिक जानकारी नआएमा पुरष्कार स्वतः रद्ध भएको मानिनेछ ।
  • यी घोषित पुरष्कारहरु भूटानभित्र वा मुलुकबाहिर कुनै पनि देशमा रहेका भूटानी भावनाद्वारा अभिप्रेरित सर्जकले नेपाली भाषामा रचेका, सिर्जिएका पुस्तक वा गीति एल्वमलाई मात्र प्रदान गरिनेछ ।
  • पुरष्कारका लागि साहित्य वा गीतसंगीतका कृति र एल्वमको निष्पक्ष मूल्याङ्नका लागि साहित्य परिषद्- भूटानले पाँच दस्यीय मूल्याङ्कन समिति गठन गर्नेछ । ती पाँच सदस्यमा साहित्य परिषदबाट एकजना र सम्बन्धित पुरष्कार दाताका एकजना प्रतिनिधि पनि अनिवार्य रहनेछन् । थप तीनजना सम्बन्धित विधाका ज्ञाताहरू मनोनयन गरिनेछ । ती तीनजना साहित्य परिषद्का सदस्य वा दाता व्यक्तिका नातेदार हुनु हुनेछैन । यदि छनौटमा पाँच सदस्यहरुबीच मतान्तर भएर चुनाव आवश्यक परेमा सम्बन्धित विधाका ज्ञाता ती तीन सदस्यहरुले मात्र गोप्य मतदान गरी छनौटको नतिजा सार्वजनिक गरिनेछ । यस्तो सम्भावित मतदानको प्रबन्ध गर्न र छनौट प्रक्रियामा निष्पक्षताको प्रत्याभूतिबारे जानकारीका लागि मात्र परिषद् र सम्बन्धित दाताका प्रतिनिधिलाई छनौट समितिमा समावेश गरिएको हो ।
  • पुरस्कार वितरणको मितिभन्दा तीन महिना पहिले नै पुरष्कृत हुने कृतिको नतिजा सार्वजनिक भइसक्नुपर्नेछ । यस अघि प्रकाशित कृति/ एल्वमहरु संकलन गरी मूल्याङ्कन समितिलाई उपलब्ध गराउने दायित्व साहित्य परिषद-भूटानले वहन गर्नेछ भने आजको मितिदेखि उता सबै स्रष्टाहरुले आफ्ना कृति/एल्वमहरु प्रकाशित हुनासाथ सम्बन्धित स्रष्टाले नै साहित्य परिषदमा एकप्रति बुझाउनुपर्नेछ ।
  • मूल्याङ्कनको लागि समय १५ दिनको समय रहनेछ । मूल्याङ्कन कार्य गोप्य रहनेछ । मूल्याङ्कनकार्य स्वतन्त्र र निष्पक्ष हुनेछ । मूल्याङ्कन कार्यमा कसैको दवाब, हस्तक्षेप र सिफारिश स्वीकार्य हुने छैन ।
  • कृति र गीतिएल्वमहरूको मूल्याङ्कनका लागि आवश्यक विधि, प्रक्रिया र पूर्वाधारहरू निर्माणको काम पाँच सदस्यीय मूल्याङ्कन समितिले तर्जुमा गरी परीक्षण र मूल्याङ्कन गर्नेछ ।
  • मूल्याङ्कन समितिका सदस्यहरूको मनोनयन कार्य र मूल्याङ्कनको  स्थान साहित्य परिषद्-भूटानले  निर्धारण गर्नेछ ।
  • मूल्याङकनको कार्य समाप्त हुनासाथ मूल्याङ्कन समिति विघटन वा निष्तेज भएको मानिनेछ ।
  • पुरष्कार वितरसम्बन्धी कार्यविधि र प्रक्रियाहरूको संयोजन, व्यवस्थापन  साहित्य परिषद्ले मिलाउनेछ ।
  • पुरष्कार वितरण समारोहमा पुरष्कार दाता/ उनीहरूका प्रतिनिधिहरूको  उपस्थितिलाइ महत्वपूर्ण मानिनेछ ।
  • एकपटक पुरष्कृत भइसकेको कृति वा एल्वमले पुनः सोही पुरष्कार पाउने छैन ।
  • तोकिएको समयसीमाभित्र कुनै कृति प्रकाशित नभएमा वा कुनै कारणवश छनौटमा नपरेको खण्डमा पनि सम्बन्धित पुरष्कारको राशी साहित्य परिषद्-भूटानको कोश-खातामा संकलन हुनेछ । र, यो रकमलाई परिषद्ले ४० प्रतिशत परिषद्कै व्यवस्थापन तथा ६० प्रतिशत पूर्णरूपले भूटानभित्र वा भूटानीहरुको पुनर्वाश गरिएका देशहरुमा सञ्चालित नेपाली भाषा अध्ययन-अध्यापन गराउने संस्थालाई अनुदानको रूपमा दिइनेछ । अथवा सोही कार्यमा संलग्न व्यक्तिलाई पुरष्कार सम्मानस्वरूप प्रदान गरिनेछ । त्यस्तो परिस्थिति आएको खण्डमा यसबारेको सम्पूर्ण निर्णय साहित्य परिषद-भूटानले नै गर्नेछ ।

माथि उल्लिखित यी चारवटा पुरष्कारका अतिरिक्त अब उसो अनुवाद साहित्यमा योगदान गर्ने व्यक्ति र नेपाली भाषाको अध्ययन-अध्यापनमा दीर्घकालीन सेवा पुऱ्याउने व्यक्तिलाई निश्चित अवधिमा नियमित रूपले यस्ता प्रोत्साहन गर्ने खालका पुरष्कार दिइनु हाम्रो साहित्य उन्नति साथै सम्पूर्ण समाजकै लागि श्रेयष्कर विषय हुनेछ । अतः यी दुइ किसिमका सम्मान पुरष्कारका लागि कोही दाता हुनुहुन्छ भने साहित्य परिषद-भूटान हार्दिक स्वागत गर्दछ ।

       छनौटका आधारहरु

  • कृति वा सर्जकको व्यक्तित्वमा नेपाली भाषा र साहित्य तथा संगीतकलाका खातिर बलियो र दीर्घकालीन उन्नतिको लक्ष्यणा रहोस् ।
  • कृतिमा सबै किसिमका विचार, भावना र सिद्धान्तहरुको अध्ययन तथा खुल्ला छलफलका लागि स्वागत योग्य लक्ष्यणा होस् । यसको तात्पर्य के भने, लेखनमा एकल व्यक्ति वा एकल वंशीय सामाजिक, राजनीतिक वर्चस्वको पक्षधरता नरहने किसिमको वैचारिक प्रवाह होस् ।
  • कृतिमा ‘विभिन्नतामा एकता’ भन्ने समाजको बहुआयामिक पक्षलाई मार्गदर्शन ठान्ने पात्रता अपेक्षित रहोस् ।
  • कृति वा सर्जक व्यक्तित्वमा कुनै पनि राष्ट्रविशेष, जातिविशेष, व्यक्तिविशेष, संगठनविशेष वा पदभारको सरोकारमा क्षति हुनेगरी प्रत्यक्ष असमझ्दारी पैदा गराउन संलग्न नभएको सर्जक पात्रता रहोस् ।
  • कृति वा सर्जकमा जुनसुकै परिवेशमा सामूहिकता, सहकार्य, संयोजन र सहमतिलाई खारेज नगर्ने मनोभावनाको प्रतिनिधित्व रहोस् ।

हिमटीका स्मृति आख्यान पुरष्कारः

भूटानबाट नेपाली भाषा-साहित्यको रक्षाका लागि आवाज उठाउँदा हामी लखेटिएका हौं । निर्वासित भएर पनि नेपाली भाषाको रक्षाको सवाललाई हामीले सेलाउन दिएनौं । यसै दिशामा पुनर्वाशपश्चात भूटानबाट लखेटिएकाहरुले आफ्नो मन, इच्छा, बुद्धि र सम्पूर्ण विवेकलाई आख्यानमा उतारुन्, भूटानभित्रै रहेकाहरुमा पनि नेपाली भाषाप्रतिको उदासिनता मेटिएर यस भाषाको अध्ययनतर्फ जाँगर बढोस्, अनि उनीहरुबाट छिनिएको सामाजिक अमन-चैनको अधिकारका लागि वकालती गरियोस्, यस्ता तमाम लक्ष्यमा सबैतर्फबाट नेपाली भाषामा ऐतिहासिक आख्यानहरु लेखिउन् भनेर यसतर्फ प्रोत्साहन दिन यी उल्लिखित पुरष्कारहरुको घोषणा गरिएको हो । त्यसो हुँदा, अंग्रेजीमा लेखिएको आख्यानलाई साहित्य परिषद-भूटानले “हिमटीका स्मृति आख्यान पुरष्कार” प्रदान गर्ने छैन ।

अवश्य पनि, नेपालीमा लेखिएको आख्यानलाई अंग्रेजीमा अथवा अंग्रेजीमा लेखिएको आख्यानलाई नेपाली भाषामा अनुवाद गरिएको खण्डमा छुट्टै “अनुवाद पुरष्कार” अथवा अरु कुनै नाममा यस्तो पुरष्कार स्थापना गर्न सकिनेछ । यसर्थ, अनुवाद साहित्यका लागि पुरष्कार स्थापना गर्न कोही दाता भएमा साहित्य परिषद-भूटानले हार्दिक स्वागत गर्ने कुरा यस अघि नै उल्लेख गरिएको छ । यद्यपि, यहाँनेर पनि त्यस्ता कुनै आख्यान कृति वा कृतिकार भूटानसित कुनै न कुनै आधारमा सम्बन्धित हुनै पर्दछ र सो कृतिले भूटानमा नेपालीभाषीहरुमाथि भएको अन्यायपूर्ण ज्यादतिको कुरा झल्काएको हुनु अनिवार्य हुनेछ । भूटानको भूगोल, इतिहास, राजनीति, अर्थनीति, समाजशास्त्र वा नागरिक समाजसित असम्बन्धित कुनै पनि कृतिलाई यो पुरष्कार प्रदान गरिने छैन ।  अनि सामूहिक वा संकलित कुनै पनि कृतिलाई अथवा कृतिकारको समूहलाई माथि उल्लेख गरिएको पुरष्कार प्रदान गरिने छैन । यो आख्यान पुरष्कार केवल एकल कृतिकारको आख्यान कृतिलाई नै प्रदान गरिनेछ भने सो कृति नेपाली भाषामै हुनु पूर्वशर्त हुनेछ । भविष्यमा जुनसुकै भाषामा लेखिएका त्यस्ता अन्य कृतिहरुलाई पनि पुरष्कारको व्यवस्था गर्न साहित्य परिषद-भूटान सफल बन्ने आशा राखिएको छ । 

मुनास्मृति कथा पुरष्कारः

मुनास्मृति कथा पुरष्कारका लागि  एकल वा युगल कथाकारको कृति हुन सक्नेछ । दुइभन्दा बढी कथाकारहरुको सामूहिक कथा कृतिलाई मुनास्मृति कथा पुरष्कार प्रदान गरिने छैन । एकल वा युगल सर्जकद्वारा भूटान र भूटानको नागरिक समाजसित सम्बन्धित, नेपाली भाषामा लेखिएको, कम्तिमा पाँचवटा कथा समावेश कुनै पनि कृतिलाई यो पुरष्कार प्रदान गरिने छ । पाँचवटाभन्दा कम कथाको कृतिलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।

सुराक संगीतसृजना पुरष्कारः

पुरष्कारका लागि तोकिएको प्रत्येक दुइवर्षको अवधिभित्र प्रकाशित/विमोचित/लोकार्पित एक वा एकभन्दा बढी एल्वममा समेटिएका उत्कृष्ट एक गीतकार, एक गायक र एक संगीतकारलाई यो पुरष्कार प्रदान गरिनेछ । तर, प्रकाशित/विमोचित/लोकार्पित हुनासाथ सर्जक स्वयं वा सम्बन्धित व्यक्तिका कोही प्रतिनिधिद्वारा आफ्नो (वा समूहको) कृति-सिर्जनाको एक प्रति साहित्य परिषद-भूटानलाई बुझाइएको हुनु पर्नेछ ।

 

अन्त्यमा फेरि पनि सबै शुभेच्छुक र शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद, धन्यवाद, धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *