साहित्य परिषद भुटानद्वारा नेपाल प्रज्ञा-प्रतिष्ठानमा विशेष समारोह सम्पन्न

साहित्य परिषद् भुटानले नेपाल प्रज्ञाप्रतिष्ठानमा विशेष समारोह गरेर नेपाली भाषा साहित्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने चार जना विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कार अर्पण गर्नुका साथै ९ वटा कृति एकै साथ लोकार्पण गरेको छ ।

नेपाली भाषा साहित्यको गरिमामय संस्था प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कृत हुनेहरूमा प्रसिद्ध साहित्यकार डा गोविन्दराज भट्टराई, भारतकी पूर्व सांसद श्रीमती दिलकुमारी भण्डारी, महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक डा रामजी तिमल्सिना र दमकका युवा साहित्यकार प्रकाश आङ्देम्बे रहेका छन् । डा. गोविन्दराज भट्टराईलाई नेपाल बाहिर लेखिएको साहित्यको खोज अनुसन्धान गर्दै नेपाली साहित्यको मूल प्रवाहमा ल्याउन खेलेको भूमिका लागि परिषद् साहित्य सेवा पुरस्कार–२०२२ (एक लाख नेपाली रूपयाँ), दिलकुमारी भण्डारीलाई भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिलाउन अग्रणी भूमिका निर्वाह गरे बापत परिषद् भाषा सेवा पुरस्कार–२०२२ (एक लाख भारतीय रूपयाँ), डा. रामजी तिमल्सिनाला भुटानी डायस्पोराको साहित्यको अध्ययन अनुसन्धान गरेबापत परिषद् अनुसन्धान पुरस्कार–२०२२ (पचास हजार नेपाली रूपयाँ), र युवा साहित्यका प्रकाश आङ्दम्बेलाई भुटानीहरूलाई लेखनमा उत्प्रेरणा भर्दै नेपाली साहित्यका सर्जकहरूसँग जोड्न खेलेको भूमिकाकालागि परिषद् साहित्य प्रोत्साहन पुरस्कार–२०२२ (पचास हजार नेपाली रूपयाँ) प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानबाट निस्किएको पुनर्वासपछिका भुटानी नेपाली कविता र साहित्य परिषद्ले निकालेका ८ वटा कृतिहरू लोकार्पण गरिएको थियो । कार्यक्रममा लोकार्पण भएका परिषद्ले निकालेका कृतिहरूमा गङ्गा लामिटारेको बदलिएको कर्तृत्व, रमेश गौतमको चिताको आगो साँच्चै तातोहुँदोरहेछ, शिवलाल दाहालको जो स्मृतिमा मात्र बाँचिएका छन्, यतिराज अजनबीको केही यक्षप्रश्नहरु, डिल्लीराम शर्माको उच्छेदन, माया भट्टराईको आमाको काख, खेम रिजालको ऊर्जा, र डा लक्ष्मीनारायण ढकालको डायस्पोरामा नेपाली भाषा शिक्षण: एक विवेचन रहेका छन् । कार्यक्रमका बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेतीले साहित्य परिषद्ले नेपाली भाषा र संस्कृतिको संरक्षण र विकाशमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा यसले अझ गति दिने विश्वास व्यक्त गरे । काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले नेपालका विश्व विद्यालयहरूमा डायस्पोरा साहित्यको अध्ययन हुनुपर्नेमा जोड दिए । प्रज्ञा डा देवी नेपालले प्रज्ञाप्रतिष्ठान नेपालको मात्रै नभएर नेपाल बाहिरका नेपाली स्रष्टाहरूको पनि साझा संस्था भएको बताए । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगत्प्रसाद उपाध्यायले प्रज्ञाप्रतिष्ठानले नेपाल बाहिरका स्रष्टाहरूलाई उत्तिकै सम्मान गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै नेपाली बाहिरका स्रष्टाहरूकै लागि भनेर भानु प्रज्ञा पुरस्कार स्थापना भएको जनकारी गराए ।

मन्तव्यका क्रममा पुरस्कृत स्रष्टा डा गोविन्दराज भट्टराईले भुटानीहरूले अप्ठ्यारो परिस्थितिमा पनि नेपाली भाषा साहित्यको सेवा गरिरहेका हुँदा उनीहरूलाई सम्मान गर्नु पर्नेमा आफूलाई सम्मान गरिँदा सर्मिन्दा महसुस गरेको उल्लेख गरेका थिए । पुनर्वासपछिका भुटानी नेपाली कविताका बारेमा चर्चा गर्दै डा.गीता त्रिपाठीले भुटानीहरूका यी कविताहरू अहिले विगतमा जस्तो अभिघात चेतना, प्रतिशोधात्मक भावना बोकेका नभएर पहिचानमा बढी केन्द्रित रहेको टिप्पणी गरेकी थिइन् । डा. गोविन्द रिजालले भुटानी नेपालीहरूको ऐतिहासिक पाटाका बारेमा विमर्श गरेका थिए ।

कार्यक्रममा भुटानी कविहरू तिलक राई, विरेन मगर, दिल भुटानीले कविता सुनाएका थिए भने सिक्किमबाट आएका पत्रकार अर्जुन पीयूष र आसाबाट आएका साहित्यकार ज्ञान बहादुर क्षेत्रीले संक्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रममा भारत र नेपालका विभिन्न स्थानबाट विशिष्ट साहित्यकार, सङ्गीतकर्मी, गायक र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता साहित्य परिषद् भुटानका सचिव खेम रिजालले गरेका थिए भने कार्यक्रमको सञ्चालन परिषद्का प्रकाशन विभाग प्रमुख रमेश गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *