साहित्य संग्रालयको परिपूरक
दागाने काइँलो
आजभन्दा डेढ-दुई वर्षअघिको कुरा हो । रमेशसित मेरो पहिलो भेट विराटनगरमा नै भएको थियो । वर्षमा दुईतीन चोटी विराटनगर जाने गरेको थिएँ तर लामो समयदेखि त्यसताका त्यहीँ बस्दै आएका गौतमका बारेमा सुनेको थिएँ तर देखाभेट भएको थिएन ।
उनका बारेमा मैले जति सुनेको थिएँ, त्यो त अलिक कम जस्तो लाग्यो जब मैले उनलाई प्रत्यक्ष भेट्ने अवसर पाएँ । एक रातसँगै बस्यौँ । पुनर्वासदेखि साहित्यको उत्थान र विकाशसम्मका विषयमा रातभरी कुरा ग-यौँ। कलिलै उमेर उनको साहित्यप्रतिको त्यस्तो दरिलो आस्था र प्रतिबद्धता देखेर म दङ्ग परें । साहित्यका नाममा एउटा खुराक पुगेको कविता पनि लेख्न नसक्ने म जस्ताका लागि त्यस्तो अचम्म लाग्नु अस्वभाविक थिएन् ।
नेपालमै बसेर यूरोपको एक देशमा पुगेका गौतमसित सहकार्य गर्ने मौका मैले धेरै पटक पाएको छु । एउटा साधारण निःशूल्क ब्लगबाट सुरु भएको उनको र उनका साहित्यिक सृजनाहरुको यात्राको सुरुका दिन कष्टकर नै थिए । व्लगमा देखिने अमिल्दा कुरा हटाएर परिमार्जन गर्न मैँले पनि केही सहयोग गर्ने कोसिस गरें । त्यसपछि अलिक राम्रो मुहारमा प्रस्तुत भयो । त्यतिमात्र नभएर त्यसलाई डटकममा परिणत गर्ने सुझाव पनि दिनमा पछि परिनँ । केही महिना पछि एउटा नियमित स्तम्भ पनि सुरु गरें तर कार्य व्यस्तताका कारण त्यसलाई निरन्तरता दिन भने सकिएन ।
अहिले आएर यो इन्टरनेटको साहित्ययात्रामा नयाँ मुहारका साथ पशुपति तिमसिनादेखि पुरानाघरेसम्मका साहित्यका पारखीहरुको सामूहिक मञ्च बनेको छ । पुनर्वासका लागि संसारैभरि छरिएर बसेका भूटानी स्रष्टाहरुलाई यस वेवसाइटले एकजुट मात्र गरेको छैन, कलिलै देखिने भूटानी—नेपाली साहित्यको विकाश र उत्थानमा सबै प्रकारका सामाग्री बटुलेर एउटा पुस्तकालय भएको छ । वर्षौदेखि कलम चलाएका स्रष्टाहरुलाई भने त्यसरी समेटेको पाइँदैन तर त्यो काम पनि पक्कै पूरा हुनेछ । पौरखशाली डा. हरिप्रसाद अधिकारी देखिसाइबर सेक्सको बखान गर्ने युवाप्रतिभा जितेन मुस्कान आदिसम्मले यहाँ स्थान पाउने छन् ।
हिजो जस्तो लाग्छ यो वेवसाइटको सुरुवात भएको । वार्षिकोत्सव मनाउँदैछ भनेर लेख रचनाको आह्वान गरेको इमेल मेरो इन्बक्समा पनि आइपुग्दा म झसङ्ग भएँ । इमेल पढें । लेखकको परिचय राम्ररी खुलाएर लेख्ने साहित्यिक बन्देज लगाइएको रहेछ । म आफैंलाई कसैले साहित्यकार भनेर लज्जित बन्न नचहाने मानिस भएकाले केही पनि नलेख्ने निधो गरेको थिएँ । तर फेरि रमेशजीको इमेलले मागेको माग पूरागर्नु कर्तव्य ठानेर केही लेख्नै पर्ने भयो । मेरो विचारमा कवि, कथाकार वा साहित्यका अन्य कुनै पारखीलाई परिचय खुलाउने बन्देज सेन्सर सरह हुन्छ । संसारमा हजारौं लेखक जन्मिएका थिए जसले आफ्नो नाम र तस्विर कहिल्यै प्रयोग गरेनन् । म पनि सोही दर्जा चहाने मानिस त अवश्यै होइनँ तर समसामयिक विषयमा तिखो प्रहार गरेका स्तम्भ लेख्न मलाई मन पर्ने भएकाले धेरैलाई मेरो सही परिचय अपाच्य हुनसक्छ ।
सञ्चालन, व्यावस्थापन र सम्पादन कक्षका सबै साहित्यप्रेमीमा पहिलो वर्षको शुभकामना स्वरुप हृदयी भावना टक्रयाउँदै, यो यात्रा साहित्य संग्रालयको रुपमा भोलिका दिनमा खडा होस् भन्ने सुभेच्छा पनि ।