‘सिउँडीको फूल’ कवितासंग्रह विमाेचित

साहित्यिक समाचार

भूटानी प्रगतिवादी कवि तलक राईको कविता कृति ‘सिउँडीको फूल’ विमोचन भएको छ । घटस्थापनाको दिन पदमार्ग तथा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको चुलाचुली– १ मा पर्ने कुशे डाँडामा ‘प्रकृतिसँग साहित्य’को नारा राखेर आयोजित मैत्रीपूर्ण सिर्जना वाचन कार्यक्रममा उक्त कृति विमोचन भएको हो।
प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमण)को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रूपमा चुलाचुली गाविस अध्यक्ष प्रदीपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, वरिष्ठ साहित्यकार खेम नेपाल, कृष्ण बराल, काजीमान राई लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि सुन्दर कुरूपले ‘सिउँडीको फुल’ माथि टिप्पणी गर्दै सङ्ग्रहमा समावेश भएको सम्पूर्ण सृजनाहरूको आधार मार्क्सवादी सौन्दर्यचेत रहेको र कविले कविता मार्फत देशमा व्याप्त सम्पूर्ण विषमताहरूको विरुद्ध विद्रोह बोल्दै समतामूलक समाजको परिकल्पना गरेको बताउनु भयो ।
विमोचनको अन्त्यमा कवि तिलक राई आफ्नो कृतिबाट एउटा कविता सुनाउनु भएको थियो । त्यसैसरि कार्यक्रममा मुनाराज सेर्मा, लीला अनमोल, देवान किराती, कृष्ण उदासी, विराट अनुपम, विराट किराती, वीरध्वज शिवा, राजकुमार सुब्बा, मौसम साम्पाङ लगायतले आआफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तिलक राईको ‘सिउँडीको फूल’सँगै हिमाल सुब्बा(गुराँस)को नयाँ कृति ‘सृजनाका फूल’ पनि विमोचन भएको छ । उक्त कृतिको चर्चा कवि तथा समालोचक मुनाराज सेर्माले गर्नु भएको थियो ।
फाल्गुनन्द टोल विकास संस्था, चुलाचुलीको आयोजना तथा सोही वडा कार्यालयको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्ष ध्रुव लावतीले गर्नुभएको थियो भने विवश बलिभद्र कोइरालाले सञ्चालन गर्नु भएको थियो ।
(समाचार सङ्कलन एक्जायल्ड भूट्नीज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *