सिन्दूर

जय हुमागाईँ,
विन्डसोर, क्यानडा

सिन्दूर राम्रो नारीको धन सबैले सजॉउछन्
शरीर शुद्ध पारेर नित्य निधारमा लगाउँछन्
सिन्दूरको शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ
यसैले मात्र दाम्पत्य शक्ति विश्वमा करोडौँ ।।

सिन्दूर द्वारा दाम्पत्य जीवन विधिले जोडिन्छ
जोडेको नाता जीवनभरि यसैले चिनिन्छ ।
स्त्री जाति सबको पहिचान ठुलो सिन्दूरले जनाँउछ
सिन्दूर सजाई बाटामा हिँडे दुर्दशा भगाउँछ।।

जसरी बाघ पछाडि सर्छ खुकुरी देखेर
त्यसरी दुष्ट पछाडि सर्छ सिन्दूर देखेर।
घरका रानी स्त्री जाती बन्छिन् सिन्दूर लगाई
सिन्दूर बिना हुँदैन कहिल्यै नारीको भलाइ ।।

कारण बिना सिन्दूरको प्रयोग जगतमा आएन
सिन्दूर नलाई सुकर्म गर्न कहिल्यै पाएन
धेरै छन् कारण सिन्दूरको नाता गहिरो छ हामीमा
कसले त्याग्न सक्नेछ आज ? सिन्दूरको महिमा !

लगन मिलाई साइत जुराई सिन्दूर लगाई
त्यै दिन देखि फेरिन्छ थर नारीको भलाइ
ती हिजोसम्म कसैकी छोरी भनेर चिनिन्छिन्
आज नै देखि गृहिणी बनी सन्सारमा गनिन्छिन् ।।

सिउँदोमा सिन्दूर लपक्क पार्दा के राम्रो देखेको !
त्यो रातो टीका निधारमा लाउँदा झन् च्याट्ट परेको।
सिन्दूर सँगै उनीको जीवन दिन रात चल्ने भो
ऐनामा हेरी मसक्क मस्की सिन्दूर लाउने हो।।

स्त्री जातिलाई बिबाह भा’को सिन्दूरले चिनाउँछ
सिन्दूर मात्रै एउटा अस्त्र कुमारी छुट्ट्याउँछ।
स्त्री जातिलाई सिन्दूरको नाता नङ मासु जस्तै हो
एकदिन पनि नहुँदा खेरि भित्री मन रुँदो हो ।।

तरङ्गित हुन्छ मन उनको रुन्छ यो नाता नटुटोस्
कर्म नै खोटो नभएसम्म साथ यसको नछुटोस्।
रातो छ सिन्दूर रातो छ रङ्ग सम्बन्ध उज्ज्वल
नगरोस् आँट कसैले पनि तोड्नलाई सम्बन्ध।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *