सुखी आमा
आचार्य प्रभा,
अमेरिका
उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् । दुवैजनाका एक छोरा र एक छोरी छन् । मध्यम वर्गका दुवैजना जागीरे भएकाले सुखी र खुशी पनि छन् । श्रीमानहरू पनि दुवैका असल छन् । जसोतसो जीवनको गाडी हाँसी–खुशीमा बितिरहेकै बेलामा एक दिन उषाकी छोरी ‘निलु’–ले आफ्नो खुशी विवाह गर्छे शहरकै एक युवकसँग । उषा अति नै मर्माहत बन्न पुग्छिन्, छोरीले बिना सरसल्लाह आफ्नो जीवनको आफैं निर्णय गरेकीले ।
आफ्नी साथी उषाको यस्तो बिह्वल अवस्थामा सुधालाई चोट पुग्छ । ऊ जहिल्यै पनि आफ्नी साथीको आसुँ पुछ्न वाध्य हुन्छिन् । अनेक थरी आश्वाशन् दिएर आफ्नी साथीलाई खुशी राख्ने प्रयत्न गर्छिन् । उषाको त्यस्तो दुरावस्था देखेर उस्लाई यस्तो भान हुन्छ र सोच्नथाल्छिन्–साँच्चै म त कति सुखी आमा रहिछु ! यसरी समय बितिरहेको हुन्छ । ऊषा छोरीको पीर र सम्झनाले मृतसमान हुँदै जान्छिन् भने उता सुधाकी छोरीको धुम्धामका साथ मँगनी विवाह हुन्छ । धनाढ्य र सम्पन्न परिवारमा छोरीलाई सुम्पिन पाएकोमा सुधा भित्र भित्रै गमक्क पर्छिन् र सधैं प्रफुल्ल देखिन्छिन् । यसरी दुई मित्रको जीवन भोगाइमा बेग्ला बेग्लै परिवर्तन आउँछ। स्त्री जाति न हो जेजस्तै भएपनि धन–सम्पत्ति, सुन,चाँदीको रवाफ गर्नैपर्ने बाध्यता । अरूलाई के पर्छ सोच्दै नसोची खाली आफ्नोमात्र प्रशंसा छाँट्नुपर्ने धाक । यस्तै वाध्यताको शिकार भैसकेकी थिइन् सुधा पनि । अब सुधाको नियम नै बनिसकेको थियो आफ्नी साथी उषालाई छोरीको प्रशंसा र बयान सुनाउने अनि साथीकी छोरीलाईचाहिं निरीह र अभागी ठानेर भन्थिन्–‘‘कठैबरी ! तिम्री छोरी पनि सुजुजस्तै भाग्यमानी भए, त्यस्तै धनी परिवार र असल केटोसँग विवाह हुने थियो निः । विचराको भाग्य नै खोटो रहेछ । आफैले रोजेर त्यस्ता गरीबसँग जानु पर्योो ।’’ यस्ता यस्ता वाक्यबाहेक अब सुधाको मुखबाट उषाले केही सुन्न पाउँदैन थिइन् । आफ्नी साथीको परिवर्त व्यवहार र छोरीप्रतिको अहमका शब्दहरूले उषालाई त्यस्तो मिल्ने साथीसँग नै तिरष्कार लाग्न थालिसकेको थियो । छोरीको जीवन के कस्तो होला ? भन्ने सोचाइमा नै उषा बिरक्तिन थालेकी थिइन् । आफ्नै खुशीले विवाह गरेकी कारण उषालाई छोरीप्रती घृणा लागेको थियो र छोरी छुटेको दुई–दुई वर्ष बितिसक्दा पनि उनले छोरीको खोजिनिधी गरेकी थिइनन् । दुई पटक साथीकी छोरी गर-गहनाले सजिएर निजी कारमा माइती आउँदा उषालाई आफ्नी छोरीचाहिं मरेकी बराबर लागेको थियो । उषाले भन्ने नै गर्थिन्–”मेरी छोरी अब मेरो लागि मरी सकी ।’’ यस्तो आलो घाउमा उषालाई साथी सुधाले अझ नून–चुक छर्ने गर्थिन् । यसरी दुई मित्रबिचको सम्बन्धमा परिस्थिति र समयले अर्कै खेल खेलाइरहेको थियो ।
समय बितिरहेको थियो, उषाको घरमा सुधा धेरै कम् आउन थालेकी थिइन् । उनीहरूको भेटघाट्को क्रम पातलिँदै गैरहेको थियो । एकदिन अचानक सुधा र उषाको बाटोमा भेट भयो । सुधाको मुहार केही मलिन् थियो । उनले पहिला झैं छोरीको कुरा पनि अगाडि राखिनन् । सुधाको व्यवहारमा परिवर्तन आए पनि उषाले केही सोध्न चाहिनन् किनकि उषा अर्काको व्यक्तिगत मामिलामा हस्तक्षेप गर्न त्यति रुचाउँदिन थिइन् । साथीको परिवर्तित व्यवहारले उषालाई कता कता मनमा शंका पनि उब्जियो । कतै सुधाकी छोरीलाई केही त भएन ? तर पनि उनी चुप्चाप घर फर्किन् । घरमा पुग्नासाथ उनको आँखा एउटा पत्रिकामाथि पर्यो । पत्रिकाको मुख्य पेजमा ठूलो शीर्षकमा लेखिएको खबर थियो–”श्रीमानको कुलत बानी र खराब व्यवहारले गर्दा श्रीमतीले मृत्यु रोज्न बाध्य भएर जीवन र मृत्युको दोसाँधमा ।” यस्तो समाचार छापिएको थियो जुन समाचार पढिनसक्दै टेलिफोनको घन्टी बज्यो । उषाले हठात फोन उठाइन् । लगभग तीन वर्षपश्चात उषाले फोनमा छोरी नीलुको आवाज सुन्छिन् । नीलु भनिरहेकी हुन्छे, “मम्मी हामी निरज र म एकहप्तापछि अमेरिका उड्दैछौं । हामी दुवैले हाम्रो अफिसबाट दुई दुई वर्षको लागि अमेरिका जाने प्लान पायौं । जे जस्तो भए पनि हामी जान अगाडि हजुरहरुको आशीर्वाद लिन चाहन्छौं । निरजले (ज्वाँई) पनि मम्मीहरूलाई भेट्ने चाहना गरेको छ । अब फेरि अमेरिकाबाट फर्कन समय लाग्छ । त्यसैले यदि हजूरहरुको आज्ञा भए हामी भोलि आउँछौं । उषा किंकर्तव्यबिमुढ हुन्छिन् । कता कता आँखाबाट खुशीको आसुँ झर्छ अनि एकै क्षणमा साथी सुधाकी छोरीको खबरले दु:खको आँसु पनि झर्छ । छोरीलाई केही भन्न नपाई छोरीले फोन राखिसकेकी हुन्छे। उषा विचलित बन्दै सुधाको घरतिर लाग्छिन् । मनमा नानाथरी कुराहरू खेल्न थाल्छन् । उनलाई लाग्छ, ”भाग्यको खेल पनि कस्तो हुँदो रहेछ ?” उनी आफैंलाई धिक्कार्छिन् – ”मैले छोरीलाई किन त्यस्तो व्यवहार गरें ? अनि सुधालाई सम्झेर मनमनै भन्छिन्–‘‘छोरी हुने मान्छेले कहिल्यै पनि अहम गर्नु हुँदैन !’’