सुख, खुशी र आमचेतना
- भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका
-एउटा सन्यासी आएर ‘सबैथोक त्यागे’ मात्र खुशी प्राप्त हुने दाबी गर्छ भने कुनै पण्डित आउँछ र सकेसम्म अप्नाउनुपर्छ, लिनुपर्छ, ग्रहण गर्नुपर्छ अनिमात्र खुशी मिल्छ भनेर मक्खै पार्दिन्छ । यस्ता द्विविधाग्रस्त चिन्तनबाट निर्देशित समाज अन्योलमा नपरे के हुन्छ त? तपाईंले पनि कुनै पण्डित आएर फलानो पुराण सुन्नुपर्छ, फलानो ‘धर्म’ लिनुपर्छ अनि पार तरिन्छ, बैकुण्ठ प्राप्ति हुन्छ भनेको सुन्नुभएकै होला ! हो त्यो ‘पार तर्नु’ वा ‘बैकुण्ठप्राप्ति’ भनेको पनि त्यही खुशी र आनन्द हो जसको खोजी मानिसले युगौंदेखि गर्दै आएको छ ।-
⇒संसारका सबै मान्छे खुशी हुन चाहन्छन् । सबै मान्छेहरु खुशी हुनभन्दा पहिले सुखी बन्ने होड गर्छन् । ‘सुख’ र ‘खुशी’ शब्दबाट तपाईं के अर्थ लगाउनुहुन्छ ? सुखी हुनु र खुशी हुनुमा के अन्तर छ? सबै चाहना र मनोरथ प्राप्ति (?)
यस्ता कुरा सोच्ने फुर्सद न तपाईंलाई छ न त मलाई नै ! तर, अब यो कुरा तपाईं हामी सबै मिलेर विश्लेषण गर्नुपर्ने भएको छ । मान्छेले खुशी हुने लालसामा सुखको लागि दौडिएर चेतनाको सन्तुलन गुमाइसक्यो ! सुखको लोभमा संसारका अधिकांश मान्छे मानसिकरूपमा विक्षिप्त भएका छन् । तिनै आम-मानिसभित्र हामी पनि छौं । त्यसर्थमा, अब यो विषय चर्चा गर्नु सम्पूर्ण मानवजगतको हितका लागि गरिएको प्रयास हो भनेर बुझ्नुपर्दछ ।
आफू सुखी हुनकै लागि मानिसले प्रकृतिका तमाम पशु-प्राणीलाई आफ्नो हितमा प्रयोग गऱ्यो । गधा प्रकृतिमा मान्छेकै लागि भारी बोक्न भनेर पक्कै आएको थिएन । राँगा-गोरु मान्छेको लागि बारी जोतीदिन आएका थिएनन् । खसी-बाख्रा मान्छेको चुह्लोमा तरकारी बन्न संसारमा आएका थिएनन् । भैंसी-गाईहरु मान्छेलाई दूध पिलाउनै भनेर आएका होइनन् ! तर, मान्छेले आफू सुखी बन्न विभिन्न किंवदन्ती र दन्तेकथा जोड्दै सबै प्राणी र प्राकृतिक सम्पदाको दोहन गरिरह्यो । मितव्ययी बनेर उपयोगमात्र गरे त ठिक थियो । तर, ज्यादति गरिरहेको छ । दुरुपयोग गरिरहेको छ, विनाश गरिरहेको छ !
हो ! यसरी नै सजिलै आफ्नो खुशी प्राप्त गर्न केही मान्छेले अधिकांश मान्छेलाई पनि गधालाई झैं हेमान्यको वैचारिक भारी बोकाएका छन् । राँगा-गोरुलाई झैं मत-सिद्धान्तको हलोले जोतिरहेका छन् । वास्तवमा आममानिसहरु सरल चेतनप्रकृतिका हुन्छन् । यही कारण उनीहरुलाई खुशी दिन तम्सिने अगुवाहरुले यसरी अल्मल्याएर आफ्नो खुशी बटुलिरहेका छन् । अल्मल यहाँसम्म छ कि साधारण मान्छेप्राणीहरु खुशी प्राप्त गर्ने तृष्णामा कहिलेकाहीं यातनासितै प्रेम गर्न थाल्दछन् ।
राजदरबारका ढोके, बैठके, सुसारे, दास-दासीहरु दरबारिया बन्देजबाट मुक्त भई खुशी हुन् भनेर वि.सं.१९८२ बैसाख १ गते फिस्टे महाराज (श्री ३ चन्द्रशमशेर)-ले दासप्रथाको उन्मुलन आदेश जारी गरेका थिए । तर, त्यो घोषित उन्मुक्तिमा धेरै दासहरु खुशी भएनन् ! उन्मुक्त दासहरु फर्किएर फेरि आफ्नै पुराना मालिककहाँ कमारा बन्न पुगे । यसै गरी विसं २०६२ मा कमलरी प्रथाको उन्मूलन हुँदा पनि सयौं कमलरीहरु फर्किएर संभ्रान्त जमिन्दारहरुकहाँ हलिया बन्न पुगेका थिए । पुस्तौं पुस्ताले उन्मुक्ति र स्वतन्त्रताको लागि संघर्ष गरेपछि उनीहरुले यान्त्रिक दासताबाट मुक्ति पाए तर, खुशी पाएनन् । र, उनीहरु ‘खुशी’ खोज्न फर्केर मालिकको ढोका कुर्न पुगे । यो खुशी भन्ने चीज कसरी पाइन्छ, केबाट पाइन्छ; कसैलाई पनि थाहा छैन ।
एउटा सन्यासी आएर ‘सबैथोक त्यागे’ मात्र खुशी प्राप्त हुने दाबी गर्छ भने कुनै पण्डित आउँछ र सकेसम्म अप्नाउनुपर्छ, लिनुपर्छ, ग्रहण गर्नुपर्छ अनिमात्र खुशी मिल्छ भनेर मक्खै पार्दिन्छ । यस्ता द्विविधाग्रस्त चिन्तनबाट निर्देशित समाज अन्योलमा नपरे के हुन्छ त? तपाईंले पनि कुनै पण्डित आएर फलानो पुराण सुन्नुपर्छ, फलानो ‘धर्म’ लिनुपर्छ अनि पार तरिन्छ, बैकुण्ठ प्राप्ति हुन्छ भनेको सुन्नुभएकै होला ! हो त्यो ‘पार तर्नु’ वा ‘बैकुण्ठप्राप्ति’ भनेको पनि त्यही खुशी र आनन्द हो जसको खोजी मानिसले युगौंदेखि गर्दै आएको छ ।
ती सन्यासी र पण्डितजस्तै गरी एउटा प्राध्यापक आएर ज्ञानबिना कोही खुशी हुन सक्तैन, फलानो किताब पढ्यो भने सजिलै ज्ञान पाएर खुशी भइन्छ भन्दिन्छ ! लगत्तैपछि एउटा राजनीतिज्ञ आउँछ र ‘मेरो दलको सिद्धान्तले मात्रै सारा संसारलाई दुःखबाट मुक्ति दिन्छ’ भन्दै उसैको सत्तालोलुप पक्षधरतालाई खुशी हुने सिँढी बताउँछ । एउटा कवि आउँछ र कवितामात्रै खुशी हुने एउटा साधन हो भन्दिन्छ । अनि अन्त्यमा एउटा व्यापारी आउँछ र धन भएमात्र मानिस खुशी हुन सक्छ भनेर इन्सुरेन्स कम्पनीको विज्ञापनकर्ताझैं बर्बराउँछ । अनि सबैभन्दा अचम्मको कुरोचाहिं के हुन्छ भने बैकुण्ठप्राप्तिको उपदेश दिने पण्डित र सन्यास धारणतर्फ अभिप्रेरित गर्ने सन्त-महात्माहरु पनि धनको विज्ञापन सुनेर लट्ठै परिरहेका हुन्छन् । यसो हुनाले ‘अन्तिम खुशी दिने मूल बाटो त धन प्राप्ति पो रहेछ’ भनेर आममानिसहरु त्यतातिरै दौडिन्छन् !
अहिले सञ्चारको प्रभावमा विश्व एउटा सानो गाउँझैं भएको छ । यसका थुप्रै सकारात्मक पक्ष होलान् । तर, विनाशकारी नकारात्मक पक्ष भनेको सञ्चारकै सुविधाको प्रयोग गरी पूँजीका विज्ञापनकर्ताहरुले संसारलाई उपभोक्तावादको सनाशोमा चेपेका छन् । धनको आशक्ति बढेर अधिकांश मानिसहरु आज द्रव्यपिशाच बनिरहेका छन् । मानवीयमूल्यहरु दिनदिनै समाप्त हुँदैछन् । आफू खुशी बन्नकै लागि मान्छेहरुले यसो गरेका हुन् । तर, कुनै दिन मान्छे धनको भँडारमै पुग्यो भने पनि खुशी नभेटेर फेरि शून्यविन्दूमा आइपुग्नेछ । खुशी बन्ने अनवरत कथाको प्रस्थानविन्दू फेरि शून्य सत्रबाटै शुरु हुनेछ । यति कुरा गरिसकेपछि हामीले बुझ्नुपर्छ; माथि भनिएका जस्ता उपदेश दिनेहरु स्वयं खुशी हुन सकेका छैनन् ! अथवा मानिस खुशी बन्नका लागि कुनै एउटा निश्चित माध्यम तोकिएको पनि छैन !
मान्छे कहिल्यै सादा मान्छे भएर सन्तुष्टिमा बाँच्नै सक्तैन । सारा मानव जगत, भुगोलभरिको प्राकृतिक-सम्पदाले नपुगेर मान्छेले आफ्नै खुशीका लागि आफूजस्तै रंगीन ईश्वर खडा गऱ्यो । त्यही प्रतिविम्बप्रतिको विश्वास बढाउन विभिन्न मत र वादहरु निर्माण गऱ्यो । अनि आफूले बनाएको सिद्धान्तलाई जसले सजिलै विश्वास गरिदिन्छ, ऊ नै यस धर्तीको सर्वश्रेष्ठ मान्छे भनेर सार्वजनिक घोषणा नै गऱ्यो । परिबन्दमा पारेर अरुमाथि आफ्नो सोच लाद्नेहरु कहिल्यै खुशी हुन सक्तैनन् । सुखलाई धर्म र दुःखलाई पापको परिणतिका रूपमा बुझ्ने मान्छे विवेकशील प्राणी हो । तर, विश्वब्रह्माण्डमा सबैभन्दा ठूलो स्वार्थ र पापको घैंटो पनि मान्छे नै हो । त्यसर्थ, ऊ कहिल्यै खुशी हुन सक्तैन । किनभने मान्छे नै हो जसले आफ्नोमात्र, केवल आफ्नो विश्वासरक्षाको निम्ति निर्दोष प्राणीहरुको निर्मम हत्या गऱ्यो ! आफूजस्तै अर्को मान्छेविरुद्ध युद्ध गऱ्यो, आफूजस्तै अर्को मान्छेलाई माऱ्यो र निमेषभरको लागि खुशी हुन खोज्यो !
खुशी भनेको एकप्रकारको दृष्टिकोणमात्र हो । सुखलाई त्यो खुशीसम्म पुग्ने बाटोको रूपमा आम मानिसहरुले बुझिरहेका छन् । तर, सुख पाउँदैमा कोही खुशी भएको देखिएको छैन । सुख भौतिक स्रोतसाधनको उपभोगबाट आउने विलासिता हो भने खुशीचाहिं आफ्नै अन्तरनिहित विस्फुरण, स्पन्दन वा उच्छवासको अनुभूतिबाट मात्र प्राप्त हुन्छ भनेर कसैले बुझ्दैन, बुझ्न खोज्दैन, बुझ्न चाहँदैन पनि ! किनभने मान्छेसित यो मनन् गर्ने समय छैन । सोच्ने फुर्सदै छैन ।
एउटा बेघर व्यक्तिले खुशी हुनलाई घर बनाउँछ । ठूलो घर बनाएपछि उसले क्षणिक सुखको अनुभूति पनि लिन्छ । तर, तत्कालै अर्को उद्देश्यका लागि लम्किहाल्छ । अतः त्यस्तो भौतिक सुविधाबाट मान्छेले खुशीसम्म पुग्ने गन्तव्य पूरा गर्नै सक्तैन । हुन त पूर्वीय दर्शनले पनि सुख पाएपछि नै मानिस खुशी हुन्छ भनिदिएको छ । पूर्वीय दर्शन भन्छः
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
(सबै सुखी बनून् –सबै निरोगी हुन् । सबै कुशल र योग्य बनून् जसमा कसैले पनि कुनै दुःखको अनुभूति लिन नपरोस् ।)
यसरी सबैलाई सुख होस् भनेर कामना गरे पनि शास्त्रमा सुख के हो भन्नेचाहिं किटान गरिएको छैन । त्यसर्थ यो भावनात्मक आदर्शमात्र हो भनेर बुझ्नुपर्ने हुन्छ । आदर्शमा अडिएर कोही बाँच्न सक्तैन । मानिस सधैं व्यावहारिक अभ्यासको आधारमा बाँच्छ । त्यसैले मान्छेले दिएरभन्दा लिएर बढी खुशी हुनसकिन्छ भन्ने भ्रम पालिरहेको छ । दिनैपऱ्यो भने ऊ अर्कालाई यातना र पीडा दिन्छ अनि सुख र आनन्दजति आफू लिन खोज्छ ।
भोक लागेर रोइरहेको एउटा बालकलाई चुप लगाएर आफू खुशी रहने आशामा उसको रुँगालोले उसैलाई टपक्क टिपेर अग्लो आल्मारीमाथि राखिदिन्छ । त्यसपछि बालकले भोक बिर्सिन्छ र आफूलाई तल ओराल्दिन विन्ति गर्छ ! ओराल्दिएपछि ऊ केही क्षणलाई खुशी भएर मौन रहन्छ । मानिसले दीर्घकालीन रूपमा आफू खुशी रहने अन्तिम कडी नचिनेसम्म संसारका आम मानिसहरुले खोजिरहेको खुशी पनि त्यही बालकको क्षणित मौनता जस्तै हो ! आल्मारीबाट ओर्लिएको केहीबेरमा उसले फेरि भोक सम्झिन्छ र रुनथाल्छ !
म कस्तो बन्न चाहन्छु, म के गर्न चाहन्छु वा म कस्तो देखिन चाहन्छु भन्ने कुराको आधारमा हरेक मान्छेको खुशीको अर्थ निर्देशित हुन्छ । जसले गर्दा मानिसले आफूलाई सन्तुष्टि दिने कुराहरु खोज्दै आफ्नो जिन्दगी भोगिरहन्छ । त्यसकारण मानिसले सुख पाउनु र दुःख पाउनुमा उसकै दृष्टिकोण कारक हो भनेर बुझ्नुपर्दछ । दृष्टिकोणबाटै चाहना र इच्छाहरु पैदा हुन्छन् । चाहना र इच्छा भनेका उद्देश्य र लक्ष्यमार्फत हासिल गरिने मानसिक गन्तव्य हुन् । उद्देश्य र लक्ष्यप्राप्तिमा पुग्ने बाटो पनि दृष्टिकोण नै हो । आफ्नो पहुँचभन्दा ठूला उद्देश्य र लक्ष्यहरु तय गरियो भने त्यहाँसम्म पुग्न नसकेपछि दुःखी भइन्छ । वास्तवमा दुःखी हुनु भनेको पीडित, व्यथित, क्लान्त, विह्वल, अशान्त हुनु हो । सधैं दुःखको सम्झना गरिरह्यो भने भविष्यमा प्राप्त हुने सुख पनि गुमाउनु पर्दछ ।
बुल्गेरियाका एक मनोचिकित्सक खुशी खोजेर कहिल्यै नभेटिने चीज बताउँछन् । बुल्गेरियाको राजधानी सोफियास्थित मेडिकल यूनिभर्सिटीमा कार्यरत वोतान बोरिसोभ भन्छन्,“मैले मानिसभित्र हुने ‘ह्याप्पी केमिकल्स’को रसायन विज्ञानबारे अध्ययन गरेको छु । मानिस खुशी भएको बेला डोपामाइन, नोराड्रेनलाइन्, सेरोटोनिन, एण्डोर्फिन, अक्सीटोसिन आदि नाम गरेका रसायनहरु सक्रिय हुन्छन् । तर, यो सक्रियता दीर्घकालसम्म रहँदैन । त्यसैले मानिसको खुशी पनि अल्पकालीन नै हुन्छ ।”
यसैगरी एक भारतीय मनोचिकित्सक अर्जुन सचदेव भन्छन्,“मानिसले दुःखदेखि डराएर आफूलाई चाहिएको खुशी खोजिरहन्छ । यसरी खुशी खोज्नै छोड्यो भनेमात्र सधैंका लागि मानिस खुशी बन्नसक्छ । खुशीको असम्भव गन्तव्य निर्धारण गरेर त्यहाँसम्म पुग्न नसकेपछि नै मान्छे दुःखी हुने हो । तर, कुनै सुरतले मानिस आफैंद्वारा निर्धारित खुशीको गन्तव्यमा पुगिहाल्यो भने पनि त्यो खुशी क्षणिक हुन्छ; दीर्घकालीन हुँदैन । त्यसर्थ, दुःखसँग लडेर खुशी खोज्ने प्रक्रियासितै मान्छे रमाउन जान्यो भने ऊ सधैंलाई खुशी रहनसक्छ ।”
यहाँसम्म आइपुग्दा पाठकहरुले सुख र खुशीबीचको पार्थक्य बुझेको अनुमान मैले गरिरहेको छु । सुखी हुनु भनेको भौतिकरूपमा साधन-सुविधासम्मन हुनु हो अनि खुशी हुनु भनेकोचाहिं मानसिक रूपमा आनन्दित हुनु हो ! मान्छे खुशी हुनका लागि भौतिक स्रोत-साधन वा वस्तुसुखको कुनै हद् तोकिएको छैन । एउटा मान्छे आफू जिन्दगी बाँच्न पाएकैमा खुशी भइरहेको हुनसक्छ तर, मन शान्त र सन्तुष्ट छैन भने आँगनमा हवाइजहाज राखेर पनि कोही दुःखी भइरहन सक्छ । आलिशान दरबाबरको मालिक हजार सुसारेहरुको सेवा पाएर पनि असन्तुष्ट रहनसक्छ । असन्तुष्टि नै उसको दुःखको मूल कारण हो । त्यसो भए सन्तुष्टि वा सुखको स्रोतचाहिं के हो त ? यहाँनेर हामीले बुझ्नुपर्ने जटिल कुरो के हो भने सन्तुष्टि र असन्तुष्टिबीचको पृथकता ! पहिले यी दुइको भेद छुट्याउनुपऱ्यो ! यिनलाई चिन्ने आधार के हो त ? यस प्रश्नको समाधान पनि हामीले नै गर्नुपर्छ !
असन्तुष्ट भए दुःख पाइन्छ अनि सन्तुष्ट भएर चुपचाप बस्यो भने पनि सृजना र उन्नतिको बाटो रोकिन्छ । त्यसो भए सन्तुष्ट रहनु भनेको के हो ? सन्तुष्टि भनेको अचल बस्नु, निष्क्रिय रहनु होइन । दुःख बिसाउने उद्देश्यमा असन्तुष्टि बोकेर छट्पटाउन छोड्नु राम्रो कुरा हो । तर, सन्तुष्टि हासिल गर्ने लालसामा अचल मुर्दाझैं बनी सुस्केरा लिनुचाहिं मूर्खता हो । कुनै लालसारहित, अभिप्रायरहित, निरुद्देश्य, उत्प्रेरणबिना जीवनको अर्थ रहँदैन । यो त आलस्यमात्र हो । जस्तै दुःख, असफलता वा सुखमा पनि सधैं मनलाई प्रफुल्ल राखेर थप सकारात्मक उन्नतिका लागि थप उत्साहित हुनु, क्रियाशील रहनुचाहिं असल सन्तुष्टि हो । अप्राप्य खुशी प्राप्त गर्ने लक्ष्यको सक्रियताले हामीलाई सिर्जनशील बनाएको छ । संसारमा भएको भौतिक उन्नति यस्तै सक्रियता र सिर्जनशीलताले सिद्ध गरेको हो । अतः आफूसहितै अरुको पनि हित हुनेगरी आफूभित्र विद्यमान ल्याकतलाई जोखेर लक्ष्य बनाउने, त्यसैमा ध्यान एकाग्र गर्ने, त्यो पूरा भएपछि फेरि आफूलाई पुनः मूल्यांकन गर्ने र अर्को नयाँ लक्ष्य निर्धारण गरी पुनः क्रियाशील बन्ने; यो क्रम नै सन्तुष्टि र सिर्जनाको सुयोग्य यात्रा हो !
कथंकाल आफूले निर्धारण गरेको लक्ष्यमा असफल भए अनेकौं आलाप-विलाप गरी पश्चाताप लिने, भएभरका दोषहरु आफू वरपरिका मानिसहरुलाई थुपार्ने र आफूचाहिं हीनताबोध बोकेर रुनथाल्नु भनेको असन्तुष्टि हो । एउटा अल्पकालिक लक्ष्यमा असफल भए त्यो असफलताको कारण पत्तो लगाउने र त्यसको उपयुक्त निदानसहित अर्को लक्ष्यमा अग्रसर हुनुपर्छ । यो नै सन्तुष्टि हो र खुशीसम्म पुग्ने महायात्रा पनि हो ।
आफू दुःखी बनेर कसैले अर्कालाई सुख दिन सक्तैन । अनि अर्कालाई दुःख दिएर आफू कहिल्यै सुखी वा खुशी बन्न सम्भव छैन । आफू खुशी भएरमात्र अरुलाई पनि खुशी दिन सकिन्छ । त्यसर्थ, सज्जन मानिसहरु अर्कोलाई सुखी देख्ता आफू पनि खुशी हुन्छन् । आनन्द लिन्छन् । तर, दुर्जन मूर्खहरु अर्काको सुख र खुशी देखेर डाहमा तड्पिन्छन् । धेरै मान्छेले आफ्नो ल्याकतलाई हेरेर जीवनचर्याको निर्धारण गर्नुभन्दा अरुलाई हेरेर आफ्नो हैसियतको नाप-तौल गर्दछन् । यही कारण समाजका धेरै मान्छेहरु आफूलाई दुःखी ठानिरहेका छन् ।
अहिले समाज शिक्षित त भएको छ तर, ज्ञानी हुन सकेको छैन कि जस्तो देखिन्छ । ज्ञानी बन्नलाई पहिले मानिस खुशी हुनुपर्छ । खुशी हुनलाई कस्तो दृष्टिकोण उपयुक्त होला भनेर सबैले सोच्नुपर्छ । पहिले आफू के चीज वा कस्तो विषयवस्तुमा खुशी हुनसकिन्छ भनेर थाहा पाउनु पर्दछ । धेरै मानिसहरु आफू खुशी हुने कुराको पहिचान गर्न नसकेरै दुःखी भएका छन् । मानिस आफूले कस्तो विषयवस्तु वा परिस्थितिमा खुशी हुनसक्छु भन्ने कुरा बुझ्यो भने उसले दुःखका कारणहरु सजिलै चिन्दछ । त्यहीँबाट खुशी पनि शुरु हुन्छ । मानिस आफूभित्रै खुशी छ भन्ने थाहा नपाएर बाहिर बाहिर खोज्दै हिँड्छ; अरुलाई हेरेर आफ्नो खुशी निर्धारण गर्दछ । अरुले जे भन्यो, त्यही कुरामा खुशी भएझैं गर्नथाल्छ । यद्यपि, अरुबाट लिएको कुराले मानिस कहिल्यै खुशी बन्न सक्तैन । अरुलाई खुशी दिएर, अरुको खुशीमा रमाउनेले मात्र असल खुशी प्राप्त गर्नसक्छ ।
हरेक मानिसले खुशी सकारात्मक कुरामा मात्र छ कि नकारात्मक कुरामा पनि ? भनेर आफैंलाई बेलाबेला खार्दै गर्नु जरुरी छ । अल्पकालिक सुख नकारात्मक कुरामा पनि होला । तर, दीर्घकालीन खुशी र आनन्द छैन ।
उसोभए नकारात्मक भनेको कस्तो हो? नकारात्मक शब्दको परिभाषा पनि एकदमै अचम्मको छ । सकारात्मक वा नकारात्म शब्दका आशय पनि सापेक्षित छन् । तपाईंको लागि सकारात्मक भएको कुरा अर्को कसैका लागि नकारात्मक हुनसक्छ । अथवा कसैको नकारात्मक कुरा आफ्नो लागि लाभकारी ठानेर तपाईंले सकारात्मक बुझ्न सक्नुहुनेछ । अतः मानिसलाई नकारात्मक कुराले पनि कहिलेकाहीँ खुशी दिनसक्छ । यो निश्चित परिस्थिति र वस्तुस्थितिमा आधारित छ । परिवेश अनुसार अरुबाट अतिरिक्त लाभ लिएर अथवा अरुलाई यातना दिएर पनि कोही क्षणिक सुखी हुनसक्ला । यद्यपि, उसले जीवनभरि त्यही घटना वा दृष्टिकोणलाई खुशी हुनुको आधार ठानिरह्यो भने त्यो बहुलट्ठीपन हुनेछ ।
माथि नै भनिएको छ खुशी मानसिक स्थिति हो । यसको कुनै भौतिक प्रतिविम्बन गर्न सकिँदैन । खुशी खोज्दा खोज्दै कोलम्बसले अमेरिका पत्ता लगाए । सगरमाथामा मानिस खुशी भेट्टाउनैलाई चढेको छ । चन्द्रमा माथि टेकेर मान्छे खुशी समात्नकै लागि मंगलग्रहतिर हामफाल्छ । मानौं चन्द्र र सूर्य आकाशमा नभएर धर्तीमै हुन्थे भने मानिसले आफू खुशी हुनकै लागि तिनलाई पनि भाग गरेर टुक्रा टुक्रा बनाइसक्थ्यो ! मानिसको लालच सधैं अघि बढेको छ तर, चेतनाशक्तिचाहिं बढ्नै सकेको छैन । मान्छेले आफ्नो जीवनको अन्तरालमा आफू कहिले कुन कारण खुशी भइयो होला भनेर कहिल्यै पुनरावलोकन गर्दैन । वीगत खोजेर केलाउँदै गयो भने इतिहासमा डायनासोर भेटिएला र आफ्नो भविष्य त्यही डायनासोरले खाइदेला भन्ने भ्रमको त्रासदी मानिसले पालेको छ । त्यसैले ऊ कहिल्यै पछाडि नफर्किएर अगाडि बढिरह्यो । तर, वीगतलाई चटक्क काटेर अलग वर्तमानको निर्माण कसरी सम्भव छ र ? हिँजोबिनाको ‘लिँढे आज’ अथवा आजबिनाको ‘डुँडे भोलि’ कसले सिद्ध गर्नसक्ला र ? हिँजो, आज र भोलि जोडिएर नै समय बनेको छ, जीवन बनेको छ भने कहिलेकाहीं आफैंलाई चिन्न हामी हिँजोतिर पनि फर्किनैपर्छ ।
कुरो जे होस्, खुशी भनेको मूलतः एउटा दृष्टिकोण हो । दृष्टिकोण भन्नेबित्तिकै त्यो विषय मानसिकतासँग सम्बन्धित हुन्छ । भौतिक कुराले खासै फरक पार्दैन ।
आफ्नो मानसिक बागमा जतासुकै फलिरहेको खुशीको फल नटिपेर मानिसले पहिले दुःख टिपी मिल्काउन चाहन्छ । पहिले दुःखलाई उखेलेर खुशीको खेती गोड्न चाहन्छ मान्छे । तर, दुःखको झार उखेल्दा उखेल्दै उसको कायाभरि दुःखकै रंग पोतिन्छ । दुःखकै जराको माटो लाग्छ । दुःखसँगै उसको साक्षात्कार भइरहन्छ । त्यसर्थ दुःखलाई देख्नेबित्तिक्कै मानिसले चिन्दछ र त्यसैसित उसको निकटता बढिरहन्छ । सुखलाई मानिसले कहिल्यै चिन्न नसकेकै कारण ऊ सधैं सुख खोजिरहन्छ, भेट्तैन ! त्यही कुरालाई उजागर गर्न गीताले भनेको छः
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥”
(कर्म गर्ने तिम्रो अधिकार हो तर, फलको आशा गर्ने होइन ! यसर्थ तिमी कुनै परिणामको आशा वा अठोटमा कर्म नगर अनि कर्मबिना निश्क्रिय रहने आलस्य पनि नबोक !)
हाम्रा लागि खुशी हुने प्रशस्तै सांस्कृतिक आधारहरु छन् ! पूर्वीय दर्शन-चेतना बोकेको अर्थात् नेपाली पृष्ठभूमिको हाम्रो समाजमा पारिवारिक संरचना निक्कै ठूलो खालको हुन्छ । तीनपुस्तासम्म नेपाली परिवारहरुले आफूलाई एउटै गोलटोलमा व्यवस्थित गर्दै आएका हुन्छन् । अझै पनि हरेक घरमा बाजेपुस्ता र नाति पुस्ताको अन्तरघुलन चलिरहेकै छ । अमेरिकामा नाति-नातिनी जन्मिँदा नेपालबाट बाजे-बज्यैहरु ‘तेलभिसा’ मा अमेरिका आइपुग्छन् । तरुण पुस्ता श्रम र आर्जनमा खटेका छन् भने हरेक घरमा बाजे पुस्ता र नाति पुस्ताकै अन्तरक्रिया चलेको छ । बाजे पुस्तासित अन्तरक्रिया गर्न पाएका नाति-नातिनीहरु त्यस्तो सुविधा नपाउनेहरुको तुलनामा बढी चतुर हुन्छन् । घरमा नाति-नातिनी भएका बुढापाकाहरु पनि नहुनेको तुलनामा खुशी देखिन्छन् । यो कुरा मैले दाबी गरेको होइन । धेरैवटा अनुसन्धानले देखाएको कुरा हो । अतःनाता-सम्बन्धको विस्तारित अवस्थानलाई समाजको आधारभूत इकाई ठान्ने हाम्रो संस्कृति छ । यो सामाजिक-सांस्कृति ढाँचा हाम्रो साझा गौरव हो ।
यद्यपि, आफ्नो वंश र नाता-सम्बन्ध बिग्रिँदा पनि दुःखी हुनैपर्ने हाम्रो परम्परा छैन । किनकि गृहस्थाश्रमको कर्म गरिसकेपछि परमार्थका खातिर सामाजिक सौजन्यको कर्म गर्दै विस्तारै तपस्या गर्न वनतिर पस्ने हाम्रो ऐतिहासिक आदर्श पनि उतिकै बलियो छ; जसलाई वाणप्रस्थ र सन्यासाश्रम भनिन्छ ! यही आदर्शका कारण घरमा औंलामा गनेरै नसकिने छोरा-छोरी, नाति-पनाति हुँदाहुँदै कुटी र आश्रमतिर बढी रमाउने बुढो पुस्ता पनि हाम्रै आँखा अघि बाँचिरहेकै छ । आफ्नै घरमा खुशी हुन पाउने भए बुढापाका किन कुटीमा पुग्थे, किन आश्रममा ज्यान बिसाउँथे भन्ने प्रश्न गर्नेहरु पनि भेटिएला ! तर, सबै वृद्ध-वृद्धाहरु आश्रय नपाएकै कारणमात्र काँशीवास गएका होइनन् । उहिले काँशीवास जान्थे अहिले छेउछाउका वृद्धाश्रमतिर जान्छन् !
यद्यपि, विडम्बनाचाहिं के रहन्छ भने सहज बाँच्न वा खुशी खोज्न वृद्धाश्रमतिर गएकाहरुको आशाको झोला पनि सधैं रित्तै हुन्छ । यो सबै खुशी हुने तरिका नबुझेर, माध्यम नपाएर, वस्तुस्थिति नचिनेर अथवा आफूले राखेको अधिक आशा पूरा नभएर आएको सामाजिक परिणति हो ।
यति सबै कुरा भइरहँदा पनि हामी सबैलाई खुशी दिने एउटा अनौठो कुरा छ । त्यो के भने नेपालीजतिको साना साना कुरामा खुशी हुनसक्ने, झट्टै रमाइलो मान्नसक्ने संसारमा शायदै अर्को कुनै मानव समुदाय होला । नेपालीहरुलाई खुशी हुन ठूलो उपलब्धि चाहिँदैन । त्यसकारण दैनिक जीवनमा सामान्य दृष्टिकोणमात्र फेरबदल गऱ्यो भने नेपालीभन्दा खुशी यो धर्तीमा अरु कोही भेटिने छैन ।
अतः अब हाम्रो लागि खुशी भेट्टाउन अब दृष्टिकोणमै फेरबदल आवश्यक भएको छ । दृष्टिकोणमा फेरबदल किन आवश्यक छ भने हामीले भेटिएको खुशीमा ध्यान केन्द्रित गर्न जानेनौं । खुशीको मूल प्रस्थानविन्दू नचिनेर हामी सुखका साधनमात्र खोज्दैछौं । हाम्रो शास्त्रीय मनोविज्ञानले हामीलाई असफलताबाट सफलता मिल्छ भनेर गलत कुरा सिकाइदियो । तर, खासगरी असफलताबाट सफलता नमिलेर असफलता नै मिल्छ । त्यसर्थ आफैंलाई पीडा दिएर खुशी खोज्ने रुढिवादी मनोविज्ञानमार्फत अब खुशी भेटिँदैन । संसार आफूले चाहेजस्तो भइदिए खुशी हुने नभए रोइरहने विचार अब थोत्रो भइसक्यो । त्यसर्थ, सकेसम्म संसारलाई सत्यं शिवं सुन्दरंको मार्गमा लैजान प्रयास गरिरहने तर, खुशी हुनका लागि नतिजा नपर्खिने । बरु सोही प्रक्रियासित रमाउँदै जीवनमार्गमा अघि बढ्ने हाम्रो अबको चिन्तन रह्यो भने हामी सबै एकसाथ खुशी हुन सक्नेछौं । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”- को सन्देश पनि यसैमा सार्थकसिद्ध हुनेछ ।