सेतो झोला

युटा अमेरिका
एउटा सेतो झोलामा
खोइ कसरी कहाँबाट
सिङ्गै अमेरिका हालिदियो हाल्दिनेले…
र आकाश औल्याएर
जहाज देखाईदियो…..
ओइलाएका मेरा सपनाहरू
अचानक मौलाएर
बादल छुन हौसिए…।
चुहि रहने झुपडीको
छानो देखाएर
आहा! महल भन्दियो
म महल महल भएर बाफिए।
पुराना सपनाका थैलाहरु
अलि अलि खोलेर
चिल्लो सडक हालिदियो
चिल्ला गाडी हालिदियो
डलरको रङ्ग हालिदियो
अलिकति सन्तानको सुख
अलिकति भविष्यको चिन्ता
थुप्रै थुप्रै
आशा भरोसा हालिदियो
र बिस्तारै बिस्तारै…
मेरा सपनाका तिजोरीहरुबाट
देशको झण्डा हरायो
माटोको सुगन्ध हरायो
स्वदेशको सपना हरायो
स्वाभिमानको धरहरा हरायो
र म हराउँदै हराउँदै गएँ
एउटा सेतो झोलामा
खोइ कसरी कहाँबाट
सिङ्गै अमेरिका हालिदियो
हाल्दिनेले…..
र म हराउँदै गएँ।
मेरा पाखुरा छामेर
मभित्रको पौरख चिमट्यो
मिहेनत सहिनसक्नु दुख्यो
हृदयको एउटा कुनामा
परिश्रमको पानी र
पसिनाको आगोले
एक मानो चामल उमाल्यो
र स्वनिर्भर टुस्स टुसायो…
मैले मेरै पाखुरीमा
मुस्कुराउनु छ
अगेनो जोर्नु छ
पाइला चाल्नु छ
बेपत्ता दौडिनु छ जिन्दगीमा
फैलिदै आकाश माथिसम्म
त्यसैले त होला
सम्भावनाहरुको देश
एउटा सेतो झोलामा
खोइ कसरी कहाँबाट
सिङ्गै अमेरिका हालिदियो
हाल्दिनेले…
र स्वनिर्भरता टुसायो।
आफ्नै सम्भावनाहरू सित अपरिचित
रित्तो स्वाभिमान बोकेर
व्यापारी राष्ट्रियता च्यापेर
बेखबर देशको आरति उतार्दै
यात्राको प्रत्येक ट्रन्जिटहरुमा
शरणार्थीदै शरणार्थीदै
मेरो जिन्दगी
एउटा सेतो झोलामा
खोइ कसरी कहाँबाट
सिङ्गै अमेरिका हालिदियो
हाल्दिनेले
र म फेरि शरणार्थीएँ….!!