स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु १
(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु)
थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न
मङ्पूमा कुलैन उम्रिन्छ, जो असाध्यै तितो हुन्छ । मङ्पूमा साहित्यकार पनि उम्रन्छन् जो साह्रै मिठा हुन्छन् । कुलैनको बोक्रा कुट्दा निस्कने आवाजमा जीवन जति जोडले बज्छ, मङ्पूका कविहरूले कविता र कथा लेख्दा जीवन उतिनै जोडले पस्छ । मङ्पू भनेको श्रमिकहरूको गाउँ हो । जहाँ सपना पनि कुलैनको बोक्राभित्र लुकेर बस्छ । बोक्रा फुटाउनको निम्ति ठेला फुटाउनै पर्छ । जब ठेला फुट्छ तब सपना बाहिर निस्कन्छ । बाहिर निस्किएको सपनाले कि त मोहन ठकुरीलाई पछ्याउँछ कि त उदय थुलुङलाई । कि त सञ्जय विष्टलाई पछ्याउँछ कि त सुरेन्द्र थिङलाई । उनीहरूलाई पनि पछ्याएनन् भने रेमिका थापालाई त पछ्याउँछ नै । जुन दिन सपनासित यी कविहरूको भेट हुन्छ त्यहीदिनदेखि मङ्पू उचालिन्छ । किनभने सुन्दर हस्ताक्षरले उनीहरू ती सपनालाई सजाउँछन् । त्यसपछि सपनालाई पछ्याउन पाठकहरूको लामलश्कर लाग्छ । यति सुन्दर साहित्य लेखिन्छ मङ्पूमा, जसलाई नपढ्नु नेपाली साहित्यको आधापाटो नै छेलिनुसरह हुन्छ ।
……….
कवि सुधीर छेत्रीले भने-‘यति सुन्दर हस्ताक्षर हुने हो भने प्रिन्टिङ मिशिन किन चाहियो ?’ कथाकार उमेश उपमा भन्छन्-‘सुन्दर हस्ताक्षरहरूको गाउँ हो मङ्पू । यस्तो गाउँका पिता हुन् मोहन ठकुरी ।’ तिनले यसो भन्दा हामी कवि मोहन ठकुरीको सुन्दर हस्ताक्षर हेरिरहेका थियौं । मङ्पूका कोही लेखन्ते यस्ता भेटेका छैनौं जसको हस्ताक्षर असुन्दर होस् । यसकारण हामीले सधैं मङ्पूका साहित्यकारहरूको हस्ताक्षरलाई सलाम मारेका छौं । शालीन कवि मोहन कठुरीको मात्र होइन, जम्मै साहित्यकारका हस्ताक्षर यति सुन्दर छन्, जति उनीहरूका कविता सुन्दर छन् । एकदिन बान्की परेको हस्ताक्षरमा तिनै शालीन कवि मोहन ठकुरीले मलाई चिट्ठी लेखे । चिट्ठीले अचम्मको प्रश्न गरेको छ मलाई-
‘उदय थुलुङको नेपथ्य के हो ?’
सेलिब्रिटी र मस्तिष्कमा रोपिएको बीऊ
संवेदना टिप्न जान्नेलाई धुलाई पनि सुन्दर लाग्छ । त्यसबेला तिनलार्ई घर जाउँ पटक्क लागेन । सन् १९८१ को कुनै एक दिन सरस्वति उच्च विद्यालयमा स्कूल छुट्टिपछि अचानक रौनक छाएको थियो । साँझको कार्यक्रम, बगाने स्टाइल । साङ्गीतिक साँझ सबैतिर हुन्छ, कतै ‘साहित्यिक साँझ’ भएको छ ? मङ्पूमा त्यसबेला नै भएको थियो । कवि मोहन ठकुरीहरूलाई लागेको थियो-साहित्य अकादमी प्रापक साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ ।
त्यो ‘सम्मान साँझ’मा सेलिब्रिटी थिए इन्द्रबहादुर राई, एमएम गुरूङ, ओकियामा ग्वाइन् असित राई, गुमानसिहं चाम्लिङ । पाठ्य पुस्तकमा पढेका यी कतिपय साहित्यकारहरू स्कूलमा आउँदा तिनलार्ई नहेरी जान मन लागेन । आठौं श्रेणीका विद्यार्थी तिनी स्टेज अघि पलेंटी मारेर बसेका थिए । छक्क परेर के हेरे तिनले ? साहित्यकारहरूलाई टोपी लगाएका । माला लगाएका । उपहार थापेका । बोलेका साहित्यका मिहिन कुरा । के बुझे होलान् तिनले ? कुन्नि किन साहित्यकारहरू बोलेको तिनलाई खुब मन पर्थ्यो । किनभने यही श्रेणीमा आइपुग्दा मोहन ठकुरीलाई ‘कवि’ चिनेका थिए । सुनिसकेका थिए कविका सुन्दर कविता । ती सुन्दर कविताहरू तिनको मनको गह्रामा बीऊजस्तो रोपिएको थियो ।
त्यही बीउलाई अलिकति पानी थियो-सम्मान सॉंझ । कार्यक्रम सकिँदा रात बाक्लो थियो । भाइलाई अघि लगाएर तिनी चोर बाटो हान्निए । तिनी चोरबाटैबाटो घर पुग्दा पिता थिएनन् । निदाउन लागेको बेला तिनको फिलामा बजेको थियो पिताको सिर्कुना । मध्यराती तिनी ‘अबदेखि ढिलो गर्दिन पापा’ भन्दै रोइरहेका थिए । तिनै आठौं श्रेणीका फुच्चे केटोले सन् २०१२ को साहित्य अकादमी पुरस्कार पाए । तिनी हुन् उदय थलुङ । कालेबुङको जुबिली उच्चतर माध्यमिक विद्यालयले बोलाएको सम्मान कार्यक्रममा उदय थुलुङले विद्यार्थीहरूलाई भनिरहेका थिए-‘त्यसरी धुलाई खाने विद्यार्थी थिएँ म ।’
सिर्कुनाको माया
सूर्यबहादुर राईको मनमा सॉंझ छिप्पिएपछि अचानक डर पस्यो । त्यतिबेला डरको बीऊ सानो थियो । ‘हन कता गए यी मोराहरू हँ ?’-तिनले स्वास्नी विष्णातिर फर्किएर सोधे । यही प्रश्नको उत्तर पर्खिरहेकी विष्णाले के उत्तर दिन सक्थिन् र ? रात छिप्पिएपछि पुल्ठो बालेर हानिए सूर्यबहादुर राई एक्लै स्कूलतिर । तिनी स्कूल पुग्दा सुनसान मात्र एक्लै आँगनमा गजधम्म बसेको थियो । डरले अलिक ठूलो झ्याङ हाल्यो तिनको मनमा यतिबेला । स्कूल गएका केटाहरू रात छिप्पिसक्दा पनि घर फर्किएनन् । गाउँभरि पुल्ठो बालेर खोजे । कतै भेटेनन् ।
लखतरान भएर तिनी घर आउँदा दुई भाइ सास पनि नफेरी सुतिरहेका थिए ।
सूर्यबहादुरको मनको डरले रिसको रुप लियो । त्यो रिस् एकैछिनमा कोठाभरि चुरिफुरि गर्नथाल्यो । तिनले सुतेका केटाहरूको पाखुरा समाए । रिसले रातो बनेको पिताको अनुहार अघि काँपिरहेका दुई भाइका फिलाभरि बज्न थाल्यो सिर्कुना । ‘अबदेखि यसो गर्छस् ?’-तिनी गर्जिरहेका थिए । दुई भाइ आँखाबाट झरेको आँसु नपुछी जवाफ फर्काइरहेका थिए-‘गर्दिन पापा, गर्दिन । आबोदेखि गर्दिन ।’ उनीहरू रोएको आवाज छिप्पट रातभित्र कतै जाँदै हराउँदै थियो । …..त्यो रात खाएको साप्फी धुलाई सुन्दर प्रेम थियो । अहिले सम्झँदा तर, त्यसबेला दुई भाइको निम्ति थियो असाध्यै ठूलो घृणा । धुलाई खानेहरूमा एक उदय थुलुङ नै थिए । ‘यस्तो थियो पिताको सिर्कुनाको माया’- उदय थुलुङ भन्छन् ।