स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु २

(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु)

मनोज बोगटी
मनोज बोगटी

राती घॉंस काट्‌ने मान्छे

कवि भूपेन्द्र सुब्बा, निमा शेर्पा र म उदय थुलुङको नयॉं घरमा थियौं र उदय थुलुङलाई नै कोट्याइरहेका थियौं-‘त्यसरी कुट्‌थे र तपाईँका पापाले?’

…….
अचार खाने प्लेटको माइक बनाएर सुता डोरीको तार सिकुवामा जोडेर झुण्डाएपछि तिनलाई नेता भएँ भन्ने लाग्थ्यो । तर खान्थे माटोको भात । वास्तवमा खाएको नाटक गर्थे । यो नाटकमा तिनी भाइको पार्टमा थिए । दिदी देवकी (बढाबाबुकी छोरी)-ले ढुङ्गाको जॉंतो बनाएर माटो पिस्थिन्‌ । फाटेको हाफ्पेन्ट लगाउने तिनी दिदीलाई सघाएको नाटक गर्थे । केटाहरू थुप्रिएपछि भॉंडाकुटी बिर्सिएर पानी कागजको गोलीलाई तारले कसिरहेका हुन्थे ।

एकछिनमा तिनी सेकेन्ड सर हुन्थे। सेकेन्ड सर मङ्‌पूका फेमस फुटबलर । यतिबेला तिनी तिनै फुटबलरको नाटक गर्न भ्याउँथे । ढुङ्गेघारी आँगनको मैदानमा पानी कागजको फुटबल ढुङ्गाको पोष्टबाट छिराउँदा निधार र गालामा मैलो पसिनाको दाग बस्थ्यो । देब्रे पाखुराले सिङ्गान पुछ्‌दा पुछ्‌दै खुस्काइ पठाउँथे बुढी औंलाको नङ ।

‘एइ बजिया, हन खेली बस्छस्‌, घॉंस काट्‌दैनस्‌?’ पिता सूर्यबहादुर राई कराएपछि डोको-नाम्लो टिपेर हान्निन्थे रियाङ खोलातिर घॉंस काट्‌न । एकदिन रियाङ खोलाको छङ्छङ पानीले अनुहार धोए । गएको घॉंस काट्‌न, खेले खोला । स्यानु खोलामा पौड़िन जान्नु परेन । पानी भए भइगो । कतिबेला रात पर्‍यो कुनै केटाहरूले पत्तो पाएनन्‌ । झमक्क सॉंझपर्दा गाईले नखाने सिन्दुरेको रुखको टुप्पोमा थिए तिनी । सिन्दुरेको स्याउलाको भारी बोकेर घर पस्दा गाई कराएर हैरान पारिसकेको थियो गाउँलाई । तिनले त्यही सिन्दुरेको घॉंस हालिदिए । तर गाई कराउन छोडेन । हत्तुहैरान परेर भर्खर घर पसेको सूर्यबहादुर राईको कन्सिरी तात्तियो । सूर्यबहादुरले गाईको टाट्‌नोको गॉंस निकाले र निकाले हँसिया, डोको र नाम्लो र कराए-‘घॉंस काट्‌छस्‌ कि गॉंस खाएर घर बास गर्छस्‌ ?’

राती हुँदो अहिलेका कवि-कथाकार उदय थुलुङ त्यसबेला घॉंस काटिरहेका थिए ।

……..
‘कुट्‌नै परेन नी, म रुनको निम्ति यही दण्ड काफ्फी थियो’-उदय थुलुङले भूपेन्द्र, निमा र मलाई भने जवाफमा ।
……..
नबिर्सने प्रेम र छट्‌पटी

 हामीलाई सोध्न मन लाग्यो- ‘प्रेम गर्नु भो केटीहरूसित ?’ थुलुङको ओंठमा मुक्सान उदायो । अहिले प्रेम गरिरहेका भूपेन्द्र र निमाको चाखको विषय त थियो नै । तर प्रेम भन्नासाथ उदय थुलुङभित्र एउटा छट्‌पटी तिखो भएछ । ‘तिखोले घोंच्दा पनि मज्जा आउने कुरा त प्रेममा नै त हुन्छ नि’- तिनले भने ।

……..

आठौं श्रेणीमा हुँदा एउटी केटी मनमा बसिन् । पटक्कै मनबाट निस्किए पो । स्कूलको झरापको दुलोबाट उदय थुलुङ उसलाई चिहाउँथे । थाहा छ तपाईँहरूलाई ? आठौंदेखि दशौं श्रेणीसम्म उदय थुलुङ हत्तपत्त नागा  बसेनन्‌ । कारण थिइन् उनै केटी । ‘तर उनलाई थाहा नै भएन मैले उनलाई प्रेम गरेको ।’ तिनले हामीलाई खल्लो बनाए । केटीले थाहा पाइनन्‌ त के भो गाउँको एउटा केटोले थाहा पाएछन्‌ । जो ती केटीलाई मन पराउँथे ।

त्यो केटोले उदय थुलुङलाई पिट्‌न चहान्थे र भन्न चहान्थे-‘त्यो केटी मेरो हो बुझिस्‌, आँखा मात्र लगा त फोरिदिन्छु ।’ उदय थुलुङ तिनको सामुन्ने कहिल्यै परेनन्‌ । लुकेरै बॉंचे । एक दिन तर केटी हराइन्‌ जतिबेला तिनी दशौं श्रेणीमा थिए । जीवन यति अँध्यारो पनि हुँदोरहेछ भन्ने कुरा पहिलोपल्ट त्यतिबेला उदय थुलुङले थाहा पाएछन्‌ ।

……
सुबास घिसिङ नालीडॉंडामा भाषण गर्न आएका थिए । सुन्न मन लाग्यो उदय थुलुङलाई   पनि । तिनी हेर्दैथिए सुबास घिसिङलाई । माला लगाउने लहरमा उही केटी उभिएकी थिइन्‌ । लुङ्गी र पानी जुत्ता लगाएकी बगाने कॉंटकी ती केटी देखेर उदय थुलुङ दिनभरि उदास बनी बसे । सर्कसमा एउटी केटीले खेला देखाउँथिन्‌ । सर्कस तीनपल्ट हेर्दा आफू झुक्किएको तिनले थाहा पाए । ‘त्यही केटी होला भनेर धाएको त होइन रहेछ’-उदय थुलुङले भने ।

‘अहिले कहॉं छिन्‌ त तिनी’-मैले सोधेँ । ‘खै कुन्नी त हौ कहॉं छिन्‌’-ढॉंटेकै जस्तो भान हुने तिनको उत्तर थियो । तर भने-‘के गर्दै होली, लागिबस्छ नी अहिलेसम्म ।’ तिनको पहिलो प्रेमको छट्पटी देखेर हामीलाई पो मज्जा लाग्यो ।

…….
अस्पतालमा निरोगी माया    

 उदय थुलुङ
उदय थुलुङ

दार्जीलिङ सदर अस्पतालमा अर्चना रोगी स्याहार्न आएकी थिइन्‌ । थुलुङ पनि रोगी हेर्न   पुगेका । तर देखे अर्चनालाई । ‘दुख्दो त यहॉं जिन्दगी नै छ’ भनी बस्ने थुलुङको दुःख सदर अस्पतालमा नै निको भयो । एकैपल्ट अस्पतालमा भेटिएकी अर्चनाले पनि थुलुङको आँखा पढिछन्‌ । कवि परे प्रेममा । त्यसपछि लामालामा प्रेमपत्रबिना थुलुङ जिउँदो बस्न सकेनन्‌ । किनभने यसपल्ट अर्चनाले चिनेकी थिइन्‌ कवि प्रेमको उज्यालो अनुहार । ढुक्क थिए थुलुङ । अघिको केटीले पो थाहा नै पाइनन्‌ त ! एकदिन युनिक बस पक्रेर हानिए सिक्किम । नाम्चीबाट हिँडेको स्टेट बसबाट सालघारीमा ओर्लेपछि पैदलै हिँडिरहे एक्लै मनमा अर्चना बोकेर । घर पुग्न सकेनन्‌ । राजु होटलमा बसे बास । फेरि बिहानै हिँड्‌न शुरु गरेर भेट्टाए बोजुको घर । बोजुले ज्वाइँनारायण चिन्न अबेर गरिनछन्‌ । फर्किँदा तिनको साथमा अर्चना थिइन् । ‘त्यसपछि अझ साथै छिन्‌ । सन् २०१४ मा त बिहेको सिल्बर जुब्ली मनाइरहेका छौं-थुलुङले लामो सास तानेर भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *