स्वदेशमा

कुबेर कुईकेल (भुवानेटारे)
मासाचुसेट्स

महीमा क्रान्तिको लक्ष प्रजाको हक खोजमा
बलिदानी मरे धेरै छैन स्वराज देशमा
दृष्टान्तमा प्रजातन्त्र तानाशाही छ देशमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

नीतिमा न्यायमा आफै भए राजन मेदमा
नीति भो पक्षपाती त्यो छ जातिभेद देशमा
प्रशंसा मात्रको हर्ष प्रदर्शनी विभेदमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

आजादी कति पाइन्न त्रासदी अति देशमा
जनता दुःखमा औधी दारिद्रता छ राष्ट्रमा
खाँचो छ जनताको त्यो अदालत स्वदेशमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

विस्थापित भए धेरै हज्जारौँ भित्र कष्टमा
प्रजामा भय थोपर्दै खुसी पर्दा प्रदेशमा
नाका उत्तरको खोस्न छिमेकी रणनीतिमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

खबरी पत्र सप्तामा मात्रै भूपाल काखमा
जनता जान्न सक्दैनन् साँचो झुटो स्वदेशमा
भूपति नै इतिश्रीमा प्रजा गनिन्न देशमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

राम राज्य प्रदर्शीत अर्थनीति विदेशमा
बिजुली देशमा बन्छ बत्ति जल्छ छिमेकमा
परराष्ट्र सुरक्षाको मन्त्रालय विदेशमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

यो सरकार देखेर लम्पसार विदेशमा
रुँदै छ मन यो मेरो खोसियो हक देशमा
तानाशाही पछार्ने त्यो छोरो जन्मेन देशमा
छैनन् आमोदले रैती रमाएका स्वदेशमा

अनुष्टुप छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *