हराएको बर्तमान मान्छे

विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल
चञ्चल मन फरफराउँछ अहम् उन्माद चढेपछि ।
मान्छे गर्जिन्छ मेघ जसरी मनमा लालस बढेपछि ।।
असङ्ख्य अचेतन तहमा दुष्कर्मका खात छन् ।
पथमा हिँड्छन् षोड्शी झन् शरावका मात छन् ।।
तिम्रै अगाडि सब दृश्य छन् बाँध्छौ कसोरी मन?
थाहा हुँदैन खतिमति अर्तीउपदेशले झन ।।
सुकिला कलेबरभित्र दानवीपनको मगमग अत्तर छरी ।
डरलाग्छ हराउँदै छ मानवता सुधार्ने हो कसो गरी ?
फूलले छर्छ सुवास जसरी जवानीको भेलमा ।
समृद्ध सक्छौ बन्न हामी आपस–आपसको मेलमा ।।
धनका पछि लोक दौडिरहेछ सर्पले भ्यागुतो खेदेसरी ।
लोकसुधार गरेनौ भने भन्दैनन् हामीलाई कठैबरी ।।