हाम्रो जीवनका ऐतिहासिक पानाभित्र
गंगाराम रिजाल
टेनिसी,अमेरिका
१
बस्थ्यौँ हामी मिलीजुली जहाँ गाउँभित्रै घुमेर
खोलानाला शिखर बनका पुष्पगुच्छा चुमेर॥
हुन्थ्यौँ साथै सुख र दुःखमा बुझ्दथ्यौँ पीरमर्का।
चिन्दैनौँ है परपर हुँदै भन्न थाल्यौँ सहरका॥
२
कालो मैलो गगनतिरको मेघ झैँ गर्जिएर !
आँधिबेरी सरीहुनगयो देश सिङ्गो गुमेर॥
आयो ब्याधा पछिपछि सबै बालबच्चा समाई।
लाग्यौँ आफ्नै पशुपति थलो वेदना हामीलाई॥
३
जुट्थ्योमानु मुरि जबत्यहाँ आत्मसन्तुष्टि हुन्थ्यो।
एउटै गाथा सबसित हुँदा गीतमीठो सुनिन्थ्यो ॥
खोलापारी भृकुटी नगरी बौद्ध गुम्बा हिमाल।
आयौँ हामी झुपडीमुनिको बासभो भिन्न चाल॥
४
शिक्षादीक्षा अनवरतले भो भयो उच्चज्ञान !
बढ्ने त्यस्तो अवसर कतै भैदिएन समान।
भिन्ना भिन्नै विषय तिरका पारखी जुर्मुराई !
मिल्थ्यो काहाँ अबसरपनि भाग्यले माथि आई॥
५
काहाँ हुन्थ्यो परिचयसबै खुल्न गाह्रो भएर !
आखिरीमा जसरी तसरी टार्नुथ्यो लौ सहेर॥
भन्छन् सारा हजुरहरूनै बन्नुभो हाइहाइ।
भोग्दैछौँ है नभन दुनियाँ भाग्यको हो कमाई॥
६
हेर्थे भोका पशुपति स्वयं क्षेत्रमा सल्बलाई ।
कस्तो पीडा यसरी बनियो भन्दथे दाजुभाई॥
हुन्थे अग्ला भवन सबका हिँड्दथे दम्भसाथ।
हाम्रो आशा दुईमुठी तिरै बढ्दथे दुःखी हात॥
७
सुन्थ्यौँहामी घृणित सरिका शब्दहाम्रै लिएर !
गर्थ्यौँ भिक्षा अनिपछि सबै गाँस टिप्थ्यौँ दिएर॥
संघर्षैमा दिनहरूबिते त्यो अझै बिर्सिएन !
आफ्नै भूमि कसरी म भनौँ मार्ग हिँड्नै थिएन॥
८
नेपालीहौँ परिचय सबै मिल्दथ्यो गर्वसाथ !
कस्तोहोला धनी र गरिबी भित्र हामी अनाथ॥
बन्दै यौटा विधिबस कतै भाग्यको चक्र भित्र।
घुम्दै आयौँ हजुर सबले भन्दछन् लौ विचित्र ॥
९
बल्झ्यो मेरो हृदय विचको घाउ त्यो संझिएर !
आफ्नै माटोतिर सपनिमा घुम्दछु केहीबेर ॥
केभो हाम्रो बदलिनगयो त्यो इतिहास आज !
माथि उठ्ने अवसर सँगै चम्कियो यो समाज॥
१०
हामी कोहौँ किन र कसरी चट्ट छाड्यौँ हिमाल ?
बुझ्नै गाह्रो भईकन गयो आजको यो छ हाल॥
ढुङ्गा भित्रैपनि कसरी त्यो भेटिने स्वर्ण हुन्छ !
माटोलाई पनिकुँदी दिए दिब्य मूर्ति बनिन्छ ॥
११
बोलीचाली फरक नभई भेष संस्कार यौटै !
ढाका टोपी खुकुरी फरिया चोलिले हुन् सजैकै ॥
दाज्यू भाई दिदी र बहिनी भन्न मिल्थ्यो बुझेर।
काहाँ यस्तो फरक दुनियाँ भित्र घुम्दैछ हेर॥
१२
द्यौसी भैली अरूजति सबै पर्वमा हर्ष मिल्थ्यो !
हाँसी हाँसी सबमिलि बसौँ भन्नलाई सकिन्थ्यो॥
कस्ले गर्ने गरिबी बिचरोलाई संझेर याद !
हाम्रो यात्रा यसरी तयभो लाग्छ कस्तो विषाद !!
छन्दः- मन्दाक्रान्ता