हार्दिक शुभकामना

नेपालीहरू बिदेसिए सँगै चाड पर्वहरू पनि बिदेसिएका छन् । देशको जस्तो रमाइलो परदेश वा विदेशमा हुँदैन । त्यसमा पनि अमेरिका जस्तो व्यस्त जीवनशैली भएको देशमा उताको जस्तो रमाइलो र उमङ्ग नहुनु स्वाभाविक नै हो । उतातिर नेपाली पञ्चाङ्गलाई आधार मानेर दशैं मान्ने परम्परा थियो र पुनर्वासमा पनि त्यही परम्परा चलाउनुपर्छ भन्ने एक पक्षको भनाई छ भने अर्को पक्ष हरेक चाड पर्वहरू नेपालभन्दा एकदिन अघि मनाउनु पर्छ भन्ने विवाद यस वर्ष पनि कायमै रह्यो । यद्यपि अमेरिका र क्यानडाका ज्योतिषी र अधिकांश नेपालीहरू नेपालभन्दा एक दिन अगावै दशैं र तिहार मान्न सहमत भएका छन् । तर केही मानिसहरू भने नेपालकै अनुसरण गर्ने भनेर हुँया मच्चाइरहेका छन् । हाम्रा दशैं तिहार जस्ता पर्वहरू पुनर्वासमा विवादित बनाउनु आफैँमा मूर्खता भएको ठान्छन्, विश्वनाथ शर्मा । “ सबै ज्योतिषी बन्न खोज्दा यो विवाद आएको हो । ५ दिनको दशैं छ, आफूलाई कुन दिन ठिक लाग्छ, त्यही दिन मनाए भइगो नि के को विवाद ?”  शर्माले प्रतिप्रश्न गरे । तर नेपाली पञ्चाङग प्रयोग कर्ता मनिष तिवारी भने अमेरिकामा नेपालको भन्दा एक दिन पछि विजयादशमी पर्व मान्नुपर्ने बताउँछन् । उनी भन्छन्, “नेपालमा कोही मर्‍यो वा जन्मियो भने के अमेरिकामा नेपालभन्दा एक दिन अघि नै मर्‍यो वा जन्मियो भनेर गफ चुट्न मिल्छ ? तर जसले जे भने पनि अन्तर्राष्ट्रिय ज्योतिष महासङ्घले पनि अमेरिका र क्यानडा निवासीहरूका लागि अक्टोबर ७, सोमवार नै विजय दशमीको उत्तम साइत रहेको बताइसकेकोले यसमा विवाद गर्नुको कुनै कारणै छैन ।

दशैं विशेष गरी हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो । असोज कृष्णपक्षको अमावश्य तिथिबाट सुरु भएर शुक्ल पक्षको कोजाग्रत पूर्णिमाका दिन विशेष पूजा अर्चना गरेर दशैंलाई बिदा गर्ने परम्परा युगौँदेखि चलिआएको हो । भारत, भूटान, नेपाललगायतका देशहरूमा राष्ट्रिय पर्वका रूपमादशैं तिहार मनाइन्छ । अहिले विश्वभरि छरिए बसेका हिन्दुहरूले ती देशहरूमा समेत हर्षोल्लासका साथ दशैं तिहार मनाउने गरेका छन् । जन जीविका र अवसरको खोजीमा पुगेका हिन्दुहरूले सांस्कृतिक र जातीय एकताको रूपमा पनि दशैं र तिहार मनाउने गरेका छन् । असोज महिनाको अमावश्यका दिन घटस्थापनाका साथै जमरा रोप्ने गरिन्छ । विशेष गरी अमावश्यका दिनबाट शक्तिकी अधिष्ठात्री देवी दुर्गा भवानीको प्रतिमा स्थापना गरेर विधिवत् पूजा अर्चना गरिन्छ । दुश्प्रवृत्तिको नाश र शक्ति र ज्ञान प्राप्तिको कामना गरिन्छ एकातिर भने अर्कातिर अँध्यारोबाट उज्यालो तर्फको कामना गर्दै विजय दशमी मनाउने प्रचलन छ । अमावश्यदेखि नवमी ९ दिनसम्म आदि देवी दुर्गाको पूजा अर्चना गरे नै रामले अंकाररूपी रावणमाथि विजय हासिल गरेको दिनलाई नै विजय दशमीको रूपमा मनाउने प्रचलन रहेको इतिहास र धर्म शास्त्रहरूमा उल्लेख छ । विजयादशमीका दिन दुर्गाको प्रसाद स्वरूप मान्यजनहरूका हातबाट निधारमा रातो अक्षताको टिका लगाउने र जमरा शिरमा राखी आशीर्वाद थाप्ने पचलन नेपाली समाजमा युगौँदेखि चलिई आएको हो ।

कोलम्बसका नेपाली हिन्दुले पनि वैदिक मन्दिरमा अमावश्यका दिनदेखि दशमीसम्म भजन कीर्तनका साथ दुर्गापूजा गरिने दुर्गा पूजा समितिले जनाएको छ । प्रवासमा दशैं र तिहार जस्ता पर्वहरूलाई एकता दिवसका रूपमा मनाउनु पर्नै समाज शास्त्रीहरू बताउँछन् । उनीहरू भन्छन्, “दशैं तिहार जस्ता राष्ट्रिय पर्वहरूलाई कसैको एउटा धर्म र संस्कृतिसँग जोड्न हुँदैन । दशैं र तिहार दुर्गा पूजा नगर्नेहरूले पनि सांस्कृतिक पर्वका रूपमा मान्दै आएका छन् । अझ नेपालबाहिर बसोबास गर्ने नेपालीहरूले जातीय एकताका साथै सांस्कृतिक सद्भावना अभिवृद्धि गर्ने उद्देश्यले दशैं र तिहारलाई एकता दिवसका रूपमा मनाउनुको विकल्प छैन ।”  विभिन्न जात, जाति र भाषा भाषीहरू रहेको समाजमा दशैं तिहार जस्ता राष्ट्रिय पर्वहरूलाई प्रवासमा एकता दिवसका रूपमा मनाउन पर्ने समाज शास्त्रहरूको सुझाव छ । वास्तवमा व्यक्तिगत र धर्मभन्दा माथि उठेर चाडपर्वहरू मनाउन सके केही हदसम्म सांस्कृतिक संरक्षणमा टेवा नपुग्ने कुरै छैन । २०७६ सालको दशैं र तिहार सबै नेपालीहरूको एकता र सद्भावनाको पर्व बनोस् ।

“दशैं र तिहारको उपलक्ष्यमा शान्ति, समृद्धि र सुस्वाथ्यको हार्दिक शुभकामना छ, सबैलाई !!”

गङ्गा लामिटारे 
अदक्ष्य
साहित्य परिषाद भूटान 

Leave a Reply

Your email address will not be published. Required fields are marked *