हुँदा नहुँदाको अवस्था
बिन्दु दहाल मूकदर्शक
दमक, नेपाल
हाँस्दा हाँस्छन् वरपर सबै हर्षका नादसाथ
नाच्दा नाच्छन् छमछम सबै गर्व गर्दै प्रमाद
रोए आफैँ धुरुधुरु यहाँ साथ कोही दिँदैन
आफ्ना पीडा कहर जति छन् बाँड कोही लिँदैन ।
ला ला भन्दा खुरुखुरु सबै थाल थाप्छन् समाई
खा खा भन्दा खुपुखुपु सबै खान थाल्छन् रमाई
ले ले भन्दा परपर सबै भाग्न थाल्छन् डराई
रातीगेडी प्रचुर नहुँदा हुन्छ आफ्नै पराई ।
पैसा नै यो सब चिज भयो प्रेमको वीज रोप्ने
पैसा नै हो मनुज जनको छातिमा बज्र तोप्ने
साथी सङ्गी सब नजिकमा गाँठले पार्छ बुझ्दा
हुन्छन् सारा पछिपछि त्यसै माल चेपेर कुद्दा ।
बाङ्गा हुन्छन् रकम नहुँदा श्रीमती दाजु भाइ
हेप्छन् ठेल्छन् परिजनहरू गर्दछन् बाइ बाइ
के हो यस्तो अपचलनको रीतको मार चर्को
पैसाले नै जनक जननी बन्दछन् ती चुबुर्को ।
पैसाले नै युवकयुवती हिँड्दछन् देश छोडी
पैसाले नै सहज झगडा पार्छ सम्बन्ध तोडी
हुन्छन् थोरै गरिब जनका प्राय जन्ती मलामी
मर्दा कोही अमिर जन यी दिन्छ सेना सलामी ।
मन्दाक्रान्ता छन्द