‘हेल्लो’ शब्दको सेरोफेरो
भक्त घिमिरे
पेन्सिल्भिन्या, अमेरिका
‘हेल्लो’ भन्ने शब्द सुन्नेबित्तिकै मेरो वा तपाईंको दिमागको टेलिफोनको चित्र सल्बलाउँछ । तपाईंले पनि आजसम्म अनेकौंपटक हेल्लो शब्दको प्रयोग गरिसक्नुभएको हुनसक्छ । तर, टेलिफोनसित यस शब्दको सम्बन्ध कसरी स्थापित भयो भनेर शायदै कसैले खोजतलास गरेको होला ।
केहीले खोजतलास पनि गरेका छन् तर, कम अनुसन्धानका कारण तथ्यपरक भएनन् । ती तथ्यहीन दाबी अनुसार अलेक्जेन्डर ग्राहम बेलले सन् १८७६ मार्च १० को दिन टेलिफोनको आविष्कार गरिसकेपछि आफ्नी प्रेमिका (श्रीमती) को नाम युगयुगान्तरसम्म कायम राख्ने उद्देश्यमा सर्वप्रथम ‘हेल्लो’ शब्दको प्रयोग गरेका थिए । दाबी अनुसार ग्राहम बेलकी श्रीमतीको नाम मार्गरेट हेल्लो थियो र उनको नाम प्रयोग गर्दै फोनमा ग्राहम बेलले सर्वप्रथम ‘हेल्लो’ भनेका थिए । तर, यथार्थ यस्तो थिएन !
टेलिफोनका आविष्कारपछि ग्राहम बेलले सबैभन्दा पहिले श्रीमतीलाई नभएर आफ्ना मित्र वाट्सनलाई फोनमार्फत बोलाएका थिए । उनको बोलाहटमा पहिलो शब्द ‘हेल्लो’ नभएर ‘ए-होई’ (A-Hoy) थियो । विभिन्न तथ्यहरुले जनाएबमोजिम उनले वाट्सनलाई बोलाउँदाको वाक्य, “ए-होई; मिस्टर वाट्सन; यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्यो ।” वास्तवमा म्याबेल हब्बार्डले सानैदेखि श्रवणशक्ति गुमाए कारण ग्राहम बेलले टोलिफोनमा उनलाई बोलाउन सक्ने कुरै थिएन ।
फोनको आविष्कारपछि विस्तारै आम मानिसहरुले प्रयोग गर्नथाले । फोनको आम प्रयोगमा शुरुमा बोल्ने शव्द हुन्थ्यो : Are you There ? अर्थात् तपाईं त्यहाँ हुनुहुन्छ ? अथवा यो वाक्यमा -मलाई सुनेका छौ ? भन्ने अर्थ पनि लगाइन्थ्यो ! यद्यपि, ग्राहम बेलको विचारमा ‘ए-होई’ नै फोनमा बोल्ने प्रथम शब्द हुनु उपयुक्त छ भन्ने थियो । ग्राहम बेलकी प्रेमिका वा श्रीमतीको नाम पनि मार्गरेट हेल्लो थिएन । उनको नाम त म्याबेल हब्बार्ड (Mabel Hubbard) थियो । यसर्थ फोनमा हेल्लो भन्ने शब्द ग्राहम बेलले उनकी श्रीमतीको नाम राख्न शुरु गरेका भन्ने कुरा तथ्यरहित भइगयो । तर, फोनमा हेल्लो शब्दको प्रयोगचाहिं कसरी शुरु भयो त? भन्ने जिज्ञासाको समाधान अझै भएन !
यसको प्रसंग यस्तो छ । फोनको आविष्कार भएको लगत्तै अर्को वर्ष ग्राहमबेलका प्रतिद्वन्दी वैज्ञानिक थोमस एल्बा एडिसनले फोनको प्रयोगमा शुरुको शब्द हेल्लो (Hello) हुनुपर्छ भन्ने प्रस्ताव गरे । उक्त प्रस्तावलाई पारित गर्न अनुरोध गर्दै थोमस एडिसनले पिट्सबर्गको केन्द्रीय जिल्ला मुद्रण टेलिग्राफ कम्पनीका अध्यक्ष डेभिडलाई निवेदन पत्र लेखे । उनको सो प्रस्तावले स्वीकृति प्राप्त गरेकै दिन उनी आफैं (एल्बा एडिसन)-ले टेलिफोनमा हेल्लो शब्दको शुरुवात पनि गरे । जुन पछि सबैले प्रयोग गर्न थाले र अहिलेसम्म चली आएको छ ।
अझै एउटा जिज्ञासा बाँकी रह्यो-हेल्लो भनेको चाहिं के होला त ?
हेल्लो भनेको अंग्रेजी भाषामा अभिवादन जनाउने शब्द हो । सबैभन्दा पहिले सन् १८२६ मा यो शब्दको लिखत रूप पाइएको छ । Norwich Courier of Norwich– Connecticut को सन् १८२६, अक्टोबर १८ तारिखका दिन प्रकाशित संस्करणमा यो शब्द सर्वप्रथम प्रयोग भएको अक्सफोर्ड अंग्रेजी शब्दकोशका केही भागहरुमा उल्लेख छ । त्यसपछि सन् १८३३ मा अमेरिकाकै टेन्नेसीबाट प्रकाशित एउटा पुस्तकमा यो शब्दको प्रयोग भएको छ । सो पुस्तककाबारे सोहीवर्ष The London Literary Gazette मा पनि चर्चा गरिएको थियो । यसै क्रममा सन् १८६० पछिको अंग्रेजी साहित्यमा यो शब्दको प्रयोगले व्यापकता पाएको विभिन्न तथ्यांकहरु पाइन्छ ।
हेल्लो शब्दको उत्पतिबारे विभिन्न मतहरु प्रस्तुत भएका छन् । फ्रेञ्च भाषाको होला-Hola देखि लिएर जर्मनभाषाका हाला, हुला आदि शब्दहरु पनि हेल्लो शब्दसित साइनो गास्न आइपुगेका छन् । यसबाहेक Merriam Webster Online का अनुसार हेल्लो शब्द सामान्यतः होल्लो-Hollo शब्दबाट अपभ्रंशित हुँदै पैदा भएको हो जुन शब्द शिकार खेल्ने शिकारीहरुले उच्चारण गर्दथे । अझै केही ठाउँमा त शिकारी कुकुरलाई शिकार भेटिएको सन्देश दिँदै बोलाउने संकेतका रूपमा पनि यो शब्दलाई व्याख्या गरिएको छ । तर, मेरियम ह्वेब्स्टर अनलाइनले नै अर्को एक ठाउँमा के उल्लेख गरेको छ भने “विशेष शतर्कता वा विष्मय जनाउन प्रयोग हुने यो शब्द हुल्लो-Hullo शब्दबाट आएको हो ।” यो दाबीलाई अलि बढी तथ्यको नजिक भनेर विश्वास गर्ने आधारहरु छन् । त्यो आधार के हो भने अहिले प्रयोग गरिने हेल्लो शब्दकै अर्थमा ‘हुल्लो’-Hullo शब्द प्रयोग गरिएको दस्तावेजी तथ्यांक पाइएको छ । त्यो हो, सन् १८०३ मा लण्डनबाट प्रकाशित पत्रिका ‘द स्पोर्टिङ’ (The Sporting Magazine. London, 1803- Volume 23, p. 12.) । यस अतिरिक्त 23 April 2008 मा BBC को ‘राइटर्सरुम’ भन्ने ब्लगमा प्रकाशित Piers Beckley को लेखले पनि यो दाबीलाई पुष्टि गरेको छ । यसर्थ कसैको ध्यान केन्द्रित गराउने सूचकका रूपमा दुइसय १८ वर्ष पहिलेदेखि स्थापित हेल्लो शब्दलाई वैज्ञानिक ग्राहम बेलले आफ्नी श्रीमतीको नामबाट शुरु गराएका भन्न मिल्दैन !
सन्दर्भ स्रोतहरुः
–https://www.bbc.co.uk/blogs/writersroom/piers_beckley
–http://www.biographi.ca/en/bio/hubbard_mabel_gardiner_15E.html
–https://www.nytimes.com/1992/03/05/garden/great-hello-mystery-is-solved.html
–https://news.google.com/newspapers?id=7W41AAAAIBAJ&sjid=gEADAAAAIBAJ&pg=6891,6255145&
–https://www.loc.gov/collections/alexander-graham-bell-papers/articles-and-essays/collection-highlights/
–http://capitalcriticscircle.com/silence-mabel-and-alexander-graham-bell-is-a-great-story-that-suffers-from-overproduction/
–https://www.pc.gc.ca/en/lhn-nhs/ns/grahambell/activ/experiences-experiments