होलीपर्वबारे केही सन्दर्भहरु
भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका
[एउटा वर्ग छ जसले पुराना मूल्य-मान्यताका यावत जडहरुलाई दैविक, अजम्बरी, साश्वत, अलौकिक, निर्विकल्प सम्झिन्छ र न्यायिक परिवर्तन र समानताका कुरा गर्नेहरुलाई आफ्नो विरोधी दलको रूपमा हेर्दछ । अर्को वर्ग छः जो सामाजिक तथा शास्त्रीय परम्पराबाट आएका सबै मूल्य-मान्यता सबै जंगली युगका चलन हुन् भनेर बुझ्छ । यही कारण हाम्रा पुराना चलन-चल्तीमा के के महत्वपूर्ण कुरा थिए भनेर अनुसन्धान गर्न कोही पनि अघि सर्दैन । बरु अमेरिकी र बेलायतीहरुले त्यो काम गरिरहेका छन् ।]
होली अथवा बोलीचालीमा ‘फागु’, ‘फगुवा’ भनेर चिनिने पर्व भक्खरै सिद्धिएको छ । यसबारे केही परिचर्चा गर्न हामी लागिरहेका छौं । होली शब्दलाई यतिबेला केटाकेटीहरुले एकार्कामा अनेक रंग पोती-रंगकै नाममा हिलो-मोसो मिसिएको लेदो छ्यापी छिल्लिने एउटा अपूर्व अवसरका रुपमा बुझ्ने गरिएको छ । योभन्दा अलि बढी बुझेकाहरुले पौराणिक पात्र हिरण्यकश्यपुकी बहिनी होलिका र छोरो प्रह्लादको कथा प्रसंग जोडेर यो पर्वलाई अझ दुर्बोध्य बनाइदिन्छन् ।
पुराणका कथा जोड्नेहरुले होलिका र प्रह्लादको कथाबाहेक यो पर्वलाई पौराणिक पात्र ढुण्डी, राधा- कृष्णको रासलीला, कामदेवको पुनर्जन्मसित पनि गाँस्ने गरेका छन् । भारतका केही क्षेत्रमा मानिसहरु होलीमा रंग लगाएर, नाच्तै, गाउँदै शिवगणको भेषधारण गरी शिवको विवाहमा जन्ती गएको अभिनय पनि गर्दछन् ।
यसरी नै मध्य भारततिर यो दिन श्रीकृष्णले राक्षसी पूतनाको बध गरेको खुशीका रूपमा मान्ने चलन पनि छ । यसै खुशीमा गोकुलमा ग्वाला र गोपीहरु मिलेर रंगीन होली आयोजन गरेका थिए भन्ने वर्णन ब्रज साहित्यमा उल्लेख छ । कथाले जनाए अनुसार राजा कंशको आदेशमा जब राक्षसी पुतनाले कृष्णलाई मार्न भनेर विषयुक्त स्तनपान गराउन थालिन्, विस्तारै दूध चुस्ता चुस्तै पुतनाको आकृति घट्तै गयो र उनी नष्ट भइन् । भनिन्छ त्यसपछि गोकुलबासीले पुतनाको पुतला बनाएर दहन गरिदिए र कृष्ण सकुशल रहेकोमा खूब खुशी मनाए । त्यसपछि मथुरामा यो उत्सव शुरु भएको हो ।
“होली नाम गरेको वसन्तोत्सव पर्व होलिका मरेको खुशीमा मनाइएको भन्ने तथ्यगत आधारहरु छैनन् ! यो त पछि थपिएको बहानाबाजी मात्र हो ! खासमा यो जीवनका विभिन्न अवयवको प्रतीक हो ! इन्द्रेणीका रंगजस्तै जीवनमा पनि अनेकता हुन्छन् भन्ने संकेत हो । सूर्यको किरणमा पनि विभिन्न रंगहरु समाहित हुन्छन्…तिनको उपभोग गरेर जीवनलाई सुखमय, खुशीमय राख भन्ने शुभसन्देश हो होली ! पौराणिक कहानीहरु प्रतिकात्मक, विम्बात्मक कथामात्र हुन् । कथाले पनि अन्यथा भनेको छैन । प्रह्लादको विम्बमा दृढता, भरोसा र आत्मबलमा अडिनुपर्छ भन्ने बुझिन्छ भने होलिकाको विम्बमा इर्ष्या, कप्टीपन, दुर्भावना जलेर खरानी हुन्छ भन्ने सन्देश छ । होलिका जलेको वा मरेको कुरा त कुनै आश्चर्य भएन । होलिका जस्ता लाखौं, करोडौं नारीलाई सतीको नाममा जिउँदै पोलिएको छ । खैर, यसको परिभाषा दिनेहरुमा विभिन्न मतान्तर होलान् तर, हाम्रो सामाजिक इतिहासमा नारीहरुलाई पोल्ने परम्परा धार्मिक आदर्शको एउटा लामो शृंखला हो ।”
भविष्यपुराण उत्तरपर्व- अध्याय १३२ मा एउटा कथाप्रसंग यस्तो छः युधिष्ठिरले कृष्णलाई सोधे- फागुपूर्णिमाको दिन प्रत्येक गाउँमा किन उत्सव हुन्छ- हेरक घरमा बालबालिका र तरुण-तरुणीहरु उल्लासित किन हुन्छन् ? किन ‘होलाका’ जलाइन्छ? त्यसबेला कुन देवताको पूजा गरिन्छ? यो उत्सव मनाइरहँदा जप गरिने ‘अडाडा’ मन्त्रको महत्व के होला ? यो उत्सवको प्रचार सबैभन्दा पहिले कसले गरेको होला कन्हैया ?
युधिष्ठिरलाई उत्तर दिँदै कृष्णले राजा रघुको विषयमा एउटा किंवदन्ती सुनाए ! भविष्यपुराणमा उल्लेख भएको यो प्रसंग अनुसार सत्ययुगमा राजा रघुको राज्यमा माली नामक एकजना दैंत्यकी ढुण्डी नामकी छोरी थिइन् । ढुण्डीले शिवको आराधना गरी कठोर तपस्या गरिन् ! शिव प्रकट भएर वर माग्न भने । उनले वर माग्दै भनिन्-प्रभू ! दैंत्य, देवता, मनुष्य कसैले पनि मलाई मार्न असमर्थ होस् । अस्त्र-शस्त्र केहीले मलाई असर नगरोस् । यसका साथै दिन, रात, शीतकाल, उष्णकाल वा वर्षाकाल, भित्र-बाहिर कतै पनि मलाई कुनै कुराको डर नरहोस् । एउटा चमत्कारी बालकदेखि भने ढुण्डीले डराउनुपर्ने शर्त राखेर शिवले ‘तथास्तु’ भन्दिए ।
त्यसपछि बालबालिकाहरुलाई शुत्र ठानेर ढुण्डीले प्रजाका बालबच्चालाई सताउन थालिन् । तान्त्रिक विधिबाट ‘अडाडा’ मन्त्र जपेपछि केही समय ढुण्डी शान्त हुन्थिन् । यसैकारण उनलाई ‘अडाडा’ नाम पनि दिइएको थियो । शिवबाट त्यति दर्बिलो वरदान पाएर पनि बालकहरुदेखि उनलाई डर लागिरहन्थ्यो । बालबालिकाले हाँसखेलमा रमाइलो गर्दा पनि ढुण्डीलाई क्रोध जागिरहन्थ्यो ।
राजा रघुको दरवारमा मानिसहरु खासखुस गर्दै भन्नथालेः ढुण्डी वा ‘ढोण्ढा’ नाम गरेकी एक राक्षसीलाई शिवले देवता, मनुष्य कसैले पनि मार्न नसक्ने वरदान दिएर पठाएका छन् । उसलाई कुनै अस्त्र-शस्त्रले पनि चोट पुऱ्याउँदैन । सर्दी, गर्मी, वर्षा केही कुराले उसलाई भगाउन सक्तैन । तर, बालकहरुदेखि उसलाई खूब डर लाग्छ रे !
यो कुरा सुनेपछि राजाले शास्त्रीहरुलाई यसको लक्षणा बुझ्ने आदेश दिए । विद्वान शास्त्रीहरुले ध्यानदृष्टिले हेर्दा बालबालिको क्रीडा र गालीगलौजले ढुण्डीलाई नष्ट गर्न सकिने देखियो । त्यसपछि राजा रघुको सक्रियतामा फाल्गुन पूर्णिमाको दिन राज्यभरिका बालबालिका भेला गराएर हाँसखेल आयोजन गरे । बालबालिकालाई समूह समूहमा बाहिर गएर आगो बाल्न लगाए । ताली बजाउँदै आगोको वरिपरि परिक्रमा गरी रक्षोध्न मन्त्रसहित ढुण्डीलाई गाली गर्न लगाए । यसो गरिएपछि ढुण्डीको सर्वनाश भयो । उनी बिलाएर सकिइन् ।
त्यसबेला जपिएको रक्षोघ्न मन्त्रलाई तन्त्रसिद्धान्तमा ‘अडाडा’ भनिएको छ । यही कारण ढुण्डीलाई अडाडा नामले पनि चिनिन्छ । यो कथाको मुख्य सार के हो भने धेरै मिलेर एकचित्तले जे जस्तो काम गरे पनि सफलता मिल्छ । रघुराज्यका बालबालिका मिलेर आफूबिरुद्ध उग्र बनेकी ढुण्डीलाई समाप्त गर्न सफल भए । तर, त्यस्तो एकता न्यायपूर्ण, सत्य र आत्मबलको आधारमा हुनुपर्छ । अन्यायपूर्ण लक्ष्य राखेमा, कसैको अहित गर्ने लक्ष्य राखेमा जोकोही जतिसुकै शक्तिशाली भए पनि, जतिसुकै बलियो एकता गरे पनि त्यसले आफैंलाई नष्ट गर्नेछ ।
नारद पुराणमा फेरि यसबारे छुट्टै वर्णन छ । नारद पुराणको अध्याय १२४ मा आंशिक उल्लेख हेर्न सक्नुहुनेछ । नारद पुराणकै अन्य अध्यायका प्रसंग अनुसार हिमालय पुत्री पार्वती शङ्करसित विवाह गर्न चाहन्थिन् । तर, शङ्कर तपस्यामा लीन रहेका कारण पार्वतीले कामदेवसित शङ्करलाई जगाउने सहयोग मागिन् । झट्ट एकचोटि त कामदेव आफैं पार्वतीमा लोभिएर शङ्कर आफैं भएको अभिनय पो गरौं कि भन्ने पनि सोचे । तर, मर्यादा थाम्दै कामदेवले पार्वतीलाई सहयोग गर्न प्रेमवाण चलाएर शङ्करको तपस्या भङ्ग गराइदिए । आफ्नो तपस्या भङ्ग गराइदिएको आक्रोशमा शङ्करले आफ्नो तेस्रो नेत्र खोलिदिए । पार्वतीप्रति दुर्भावना मनमा लिएको प्राश्चितस्वरु तेस्रो नेत्रको अग्निज्वालामा जलेर कामदेव नष्ट भए । कामदेवसित क्रोधित भए पनि पार्वतीसित प्रशन्न बनेर शङ्करले उनलाई स्वीकार गरे । यसरी तेस्रो नेत्रको अग्निले इर्ष्या, लोभ, कप्टीपना आदिको विनाश गरेको र शङ्करप्रति पार्वतीको सच्चा प्रेम विजय भएको प्रतीकस्वरूप परम्परागत रूपमा होलीपर्व शुरु भएको बताइएको छ ।
मनुस्मृतिमा यो दिनलाई आदि मनु अर्थात प्रथ्वीको प्रथम मनुष्यको जन्मदिवसका रूपमा उल्लेख गरिएको छ । यसै दिन नर-नारायणको जन्म भएको पनि बताइन्छ । ब्रह्माजीका पुत्र धर्म-ऋषिका सन्तानका रूपमा जन्मिएका नर-नारायण दाजु-भाइलाई विष्णुकै अवतार मानिन्छ ।
भविष्य पुराणकै एउटा अंशमा समेटिएको मिथक अनुसार सत्ययुगमा कुनै बेला भविष्योत्तरपुर नामक स्थानमा साना बालबालिकादेखि वृद्ध-वृद्धासम्मलाई संक्रामक रोगले ग्रस्त बनायो । त्यहाँका मानिसहरुले धुँदा नामकी राक्षसीको प्रभावले यस्तो रोग लागेको विश्वास गरे । तातोले रोग मत्थर हुने बुझेर ती मानिसहरु संक्रमणबाट जोगिन आगो तापेर बस्थे । मिथक छोडेर यथार्थमा जाने हो भनेचाहिं अहिले पनि जोसुकैलाई मौसम परिवर्तनको बेला सर्दी-खोकीको बिमार लाग्छ र आगोको तातोले त्यस्ता मार्गीमा राहत पुऱ्याउँछ । फेरि एकक्षण मिथकमै फर्कौं, पौराणिककालको कुनै समय ‘शामी’ नामक एक विशेष प्रजातिको रुखमा रोग निवारक शक्ति भएको विश्वास गरिन्थ्यो । त्यसर्थ भविष्योत्तरपुरका मानिसहरुले ‘शामी’को रुख ढालेर आगो बाले । त्यो आगोमा विशेष पूजा-अर्चनाका साथ होम गरियो र त्यसैलाई रोग-निवारक उत्सव भनियो । त्यसको अर्को वर्षदेखि लगातार त्यहाँका राजा रघुले सो उत्सव मनाउने चलन बसाए ।
तथ्यगत अनुसन्धानमा जाने हो भने खासगरी यो पर्वको ऐतिहासिक नाम होली थिएन । प्राचीन साहित्यमा पुगेर खोजी गर्दा भेटिएका संकेतहरुले गंगाकिनार र त्यस वरपरि बस्ने मानिसहरुले यसको शुरुवात गरेका थिए भन्ने देखिन्छ ! शिशिर ऋतुको रुग्नता सकिएर वसन्त लागेपछि धर्तीको उर्बराशक्ति पुनस्थापित भएको खुशीमा उल्लास गर्दै मनाइने भएकोले यसको नाम शुरुमा ‘वसन्तोत्सव’ थियो ।
यसलाई शिव-शक्ति र कामदेवको कथासित जोडेर ‘काम-महोत्सव’ भनिएको कुरा माथिका मिथकहरुमा पनि उल्लेख भइसकेकै छ । प्राचीनकालमा यो पर्व वसन्तऋतु शुरु भएपछि पालुवा पह्लाउने वनस्पतिझैं परिवारको सुख-समृद्धिका लागि विवाहित नारीहरूले मात्र पूर्णचन्द्रको पूजा गर्दै परम्परा बसालेका थिए ।
वैदिककालीन साहित्यमा आइपुगेपछि यस पर्वलाई ‘नवात्रैष्टि यज्ञ’ भनिएको पाइन्छ । त्योबेला आफ्नो परिश्रमले आर्जेको खेतको अन्न यज्ञमा चढाएर त्यसलाई प्रासदको रूपमा ग्रहण गर्ने चलनलाई नै नवात्रैष्टिक यज्ञ भनिएको थियो । त्यो समयको गंगाक्षेत्रको ग्रामीण बोलीमा अन्नलाई ‘होला’ भनिने हुँदा यसैबाट पछिल्लो समयमा यो पर्वको नाम होली बनेको अनुमान केही विद्वानहरुले गरेका छन् । अहिले पनि बुद्ध र होलीको सम्बन्धबारे इतिहास पढियो भने त्यहाँ अन्नलाई ‘होला’ र अन्नको पूजनलाई ‘होली’ भनिने ऐतिहासिक दाबीहरु पाइन्छ । यहाँहरुले बौद्धसंस्कृतिका ग्रन्थहरु खोजेर पढ्न सक्नुहुनेछ, जातक कथाहरुबारे अध्ययन गर्न सक्नुहुनेछ ।
नयाँ समयमा यसलाई होली भनिए पनि यो पर्व मान्ने तरिकामा सबैतिर एकरुपता छैन । हरियाणामा होली भनेको भाउजुहरुले आफ्ना देवरहरुलाई एकवर्षभरिको सजाय दिने, सताउने दिन हो । त्यो दिन भाउजुहरुले गाइजात्राझैं मनपरी गरेर सताउँदा पनि देवरहरु बोल्न नपाउने चलन छ । दिनभरि छिल्लिएर भाउजुहरुले जे जे गरे, जसरी सताए पनि बेलुकी देवरले राम्रा उपहारहरु दिएर रमाउँदै यो ‘भाउजु पर्व’को समापन गरिने यस्तो परम्परा हरियाणाभन्दा अन्ततिर पाइँदैन ।
वास्तवमा यो स्वास्थ्य, दीर्घायु र आनन्दको पर्व हो । विभिन्नतामा एकता अथवा जीवनको बहुलता दर्शाउने उत्सव हो । धेरैवटा रंग मिसिएर मात्र इन्द्रेणीको महिमा गाइएको हो । जीवनमा यस्तै विभिन्न रंगहरु छन्, ती सबैलाई एकमुष्ट जीवनको रूपमा बुझ्नुपर्छ भन्ने संकेत ‘वसन्तोत्सव’ ले दिएको छ ।
होली नाम गरेको वसन्तोत्सव पर्व होलिका मरेको खुशीमा मनाइएको भन्ने तथ्यगत आधारहरु छैनन् ! यो त पछि थपिएको बहानाबाजी मात्र हो ! खासमा यो जीवनका विभिन्न अवयवको प्रतीक हो ! इन्द्रेणीका रंगजस्तै जीवनमा पनि अनेकता हुन्छन् भन्ने संकेत हो । सूर्यको किरणमा पनि विभिन्न रंगहरु समाहित हुन्छन्…तिनको उपभोग गरेर जीवनलाई सुखमय, खुशीमय राख भन्ने शुभसन्देश हो होली ! पौराणिक कहानीहरु प्रतिकात्मक, विम्बात्मक कथामात्र हुन् । कथाले पनि अन्यथा भनेको छैन । प्रह्लादको विम्बमा दृढता, भरोसा र आत्मबलमा अडिनुपर्छ भन्ने बुझिन्छ भने होलिकाको विम्बमा इर्ष्या, कप्टीपन, दुर्भावना जलेर खरानी हुन्छ भन्ने सन्देश छ । होलिका जलेको वा मरेको कुरा त कुनै आश्चर्य भएन । होलिका जस्ता लाखौं, करोडौं नारीलाई सतीको नाममा जिउँदै पोलिएको छ । खैर, यसको परिभाषा दिनेहरुमा विभिन्न मतान्तर होलान् तर, हाम्रो सामाजिक इतिहासमा नारीहरुलाई पोल्ने परम्परा धार्मिक आदर्शको एउटा लामो शृंखला हो ।
संस्कृत साहित्यमा होलीको बारे धेरैवटा रोचक प्रंसगहरु छन् । श्रीमद्भागवत महापुराणमा रसहरूको समूह रासको वर्णन छ । श्रीहर्षको प्रियदर्शिका र रत्नावली, कालिदासको कुमारसम्भवं, मालविकाग्निमित्रं र ऋतुसंहारं जस्ता ग्रन्थहरु वसन्त वर्णनमै केन्द्रित छन् । भारवी र माघहरूले पनि वसन्तकै वर्णन गरेका छन् । हिन्दीका कविहरुदेखि भक्तिकालीन सूरदास, रहीम, पद्माकर, जायसी, मीराबाई, कबीर तथा रीतिकालीन बिहारी, केशव, घनानन्द सबैले होलीलाई गजबको विषय बनाएका छन् ।
महाकवि सूरदासले वसन्त र रंगमयी होलीबारे ७८ पद लेखेका छन् । पद्माकरले पनि होलीको विषयमा धेरै रचना गरेका छन् ।
यस विषयको माध्यमबाट कविहरुले एकतिर नितान्त लौकिक नायक-नायिकाबीच हुने प्रीति-अनुरागका रूपमा होलीको वर्णन गरेका छन् भने अर्कोतिर राधा-कृष्ण बीचको प्रेमानुरागपूर्ण होलीको माध्यमबाट सगुण/ साकार भक्तिमय प्रेम र निर्गुण निराकार भक्तिमय प्रेमको निष्पादन पनि गरेका छन् ।
होली हिन्दूहरुको मात्र पर्व होइन । सूफी सन्त हजरत निजामुद्दीन औलिया, अमीर खुसरो, बहादुर शाह जफरजस्ता इस्लाम सम्प्रदायका अनुयायीहरुले पनि होलीको बारेमा प्रशस्तै रचना गरेका छन् जो आजसम्म नै लोकप्रिय छन् । आधुनिक हिन्दी कथाहरुमा प्रेमचन्दको ‘राजा हरदोल’, प्रभू जोशीको ‘अलग अलग तीलियाँ’, तेजेञ्द्रे शर्माको ‘एकबार फिर होली’, ओमप्रकाश अवस्थीको ‘होली मंगलमय हो’ लगायत स्वदेश राणाको ‘होली में होली’ आदिले होली पर्वलाई अलग अलग रुपमा प्रस्तुत गरेका छन् । यसबाहेक अनेकौं भारतीय चलचित्रमा पनि होलीका दृश्यहरु गीत-संगीतका साथमा सौन्दर्यपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । जस्तैः शशि कपुरको ‘उत्सव’, यश चोपडाको ‘सिलसिला’, वी शान्तारामको ‘झनक झनक पायल बाजे’ र ‘नवरंग’ आदि होलीको बारेमा वर्णन गर्ने उल्लेखनीय चलचित्र हुन् ।
यस पर्वको वर्णन गर्ने पुराना ग्रन्थहरुमा प्रमुख छन् जैमिनीका ‘पूर्व मीमांसा-सूत्र’ र ‘गार्ह्य-सूत्र’ । नारद पुराण र भविष्य पुराणजस्ता प्राचीन पौराणिक हस्तलिपि ग्रन्थतिर पनि यस पर्वको उल्लेख पाइन्छ । उनीहरूले विन्ध्याचल क्षेत्रको रामगढ़ नामको ठाउँमा ईसाभन्दा तीन सयवर्ष पुरानो एउटा अभिलेखमा वसन्तोत्सवबारे वर्णन भएको दाबी गरेका छन् । वसन्तऋतुलाई इंगित गर्ने यो उत्सवबारे प्राचीन संस्कृत साहित्यमै यति धेरै वर्णन हुँदाहुँदै मध्यकालीन समयको मुगल साम्राज्यमा यो पर्वलाई हिरण्यकशिपुकी बहिनी होलिका र उनकै छोरो प्रह्लादको कथामा ल्याएर मिलाइयो । यो पौराणिक कथामा होलिका जलेकी तर प्रह्लाद नजलेको उल्लेख ।
सन् ९७३ मा जन्मिएर १०४८ सम्म बाँचेका प्रसिद्ध इस्लामी पर्यटक अलबरुनीले पनि आफ्नो ऐतिहासिक यात्रास्मरणमा होलिकोत्सवको वर्णन गरेका छन् । इतिहासमा उल्लेख भएअनुसार अलबरुनीले इरानमा प्राचीन पारसी संस्कृति मासेर इस्लामीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । अलबरुनीले पारसीलाई इस्लामीकरण गरिसकेपछि भारत र श्रीलंकाको भ्रमण गरेको उनको जीवनीमा उल्लेख छ । भनिन्छ उनी आफ्नो भाषा फारसीबाहेक रुसी, सिरियाली, संस्कृत र यूनानी पनि राम्ररी लेख्न, पढ्न सक्थे ।
कुरो जे होस्, मूल विषयको चर्चामै जाउँ । मध्यकालकीन भारतका थुप्रै मुसलमान कविहरूले आफ्ना कृतिहरुमा होली पर्व हिन्दूहरुको मात्र नभएर मुसलमानहरूका लागि पनि महत्त्वपूर्ण भएको देखाएका थिए । मुगलकालमा अकबरले जोधाबाईसित रंग दलेर होली मनाएका थिए, जहाँगीरले नूरजहाँसित होली खेलेका थिए । भारतको राजस्थानस्थित अलवर सङ्ग्रहालयमा टाँगिएको एउटा तस्वीरमा जहाँगीरलाई होली खेलिरहेको देखाएको छ ।
काँशीको हिन्दू विश्वविद्यालय अन्तर्गत भारतीय भाषाविभागीय प्रभारी डा. दिवाकर प्रधानका अनुसार आजसम्म प्राचीन संस्कृतिलाई झंकृत गरिरहेको नेवार समुदायको एउटा अंशले होली पुन्हे मनाउँदछ । होली पुन्हे (पुन्हे-पुर्णे वा पुर्णिमा) को दिन उनीहरु भीमसेनको लिंगको रूपमा काठमाडौंको दत्तात्रेय मन्दिर अगाडि एउटा खाँबो गाडेर यौनपूजा गर्दछन् । यौनपूजा सकिसकेपछि उनीहरु जात्रा निकालेर त्यो जात्रालाई ‘प्रेमपर्व’ भन्दछन् । नेवारहरुकै अर्को समूह छ जो कृष्णभक्तिमा लीन हुन्छन् र रासलीलाको पौराणिक वर्णन अनुसार रंग दलेर वा छ्यापेर होली खेल्दछन् ! नेवारहरुकै अर्को एउटा शाखा छ जो बौद्धावलम्बी छन् र उनीहरु होलीलाई ‘गुहुरू न्यायकेगू’ भन्दछन् । यस दिन उनीहरु मञ्जुश्रीले रचना गरेको भनेर विश्वास गरिएका चारवटा पवित्र ‘प्रज्ञापारमिता’ ग्रन्थ बोकेर जात्रा निकाल्दछन् अनि ठमेलस्थित विक्रमशीला महाविहार पुगेर विसर्जन गर्दछन् । (हिमालय दर्पण, शिलगढी, फागु पूर्णे, २८ मार्च २०२१, पृष्ठ ७)
होली पर्वको नामले चिनिएको वसन्तोत्सवबारे चर्चाबाट केही पर हटेर हामी सम्पूर्ण संस्कृतिको सामाजिक अवधारणाबारे पनि चर्चा गरौं । संस्कृतिमा बाह्य प्रभाव हाबी हुँदै जाँदा धेरै भ्रमहरु जन्मिन्छन् । त्यसपछि संस्कृतिको आवरणमा विकृति फैलिन शुरु हुन्छ । हाम्रो संस्कृतिमा पनि यस्तै यस्तै भएको देखिन्छ ।
डा. प्रधान यो सन्दर्भमा लेख्नुहुन्छ, “ १३औँ शताब्दीदेखि भारतमा बिस्तारै मुसलमान शासन स्थापना हुनथालेपछि इस्लामले अप्नाएको अरबेली पहिरनको हुनथाल्यो । शरीर ढाक्नैपर्छ भन्ने बाध्यता नभएको, अङ्ग प्रदर्शन गर्दा अशिष्ट र अभद्र नमानिएको ठाउँ भारतमा जिउ ढाक्नैपर्ने झाम्लाङ-झुम्लुङ लुगा र तार्लाङ-तुर्लुङ गहना लाउनु मुसलमानले सिकाए । कान मात्र छेँड़्न जानेका भारतीयले नाक छेँड़ेर ढुङ्री-मुन्द्री लाउन सिके । हिन्दू देवीहरूलाई पनि लगाइदिए । नारीवादी विचारकहरू नरले नारीलाई पशुलाई झैँ तह लाएर अधीनमा राख्नुपर्दछ भन्ने मानसिकताको प्रतीक नत्था, ढुङ्ग्री, कल्ली हुन् भन्ने मान्दछन् । नारीलाई पशुजस्तै साङ्लीमा राख्नुपर्छ भन्ने प्रतीकात्मक फेशन बसाए । गह्रुङ्गा कल्ली लाउन लगाए । तब नरका लागि नारी सहधर्मी हुनको साटो दासीझैँ बने । त्यत्ति बेलैतिर तुलसीदासले ‘ढोल, गवार, पशु, शूद्र, नारी ये सब है ताड़न के अधिकारी’ लेखे । अतृप्त काम-वासना मध्यकालीन गजल र कवितामा बक्ने भए । तरुण-तरुणी सजिलो गरी भेट्न र बोल्न लजाउनुपर्ने भयो । केटीलाई योग्य सम्झनुको सट्टा भोग्य मात्र सम्झनथाले । केटीबारे दुराग्रहका पूर्वाग्रह टाउकोमा हाले । सजिलो सेक्स साह्रो ठाने । केटीमाथि झम्टिहाल्नुपर्छ भन्ने स्वैरकल्पना (फेन्टासी)-मा मक्ख हुनथाले । वर्षमा दुइ दिन होलीले केही सन्चो पार्दथ्यो । यसरी मध्यकालदेखि दल्ने होलीको महत्त्व बढ्यो ।”
होली पर्वको पौराणिक वा सामाजिक इतिहासका प्रसंगहरु केलाउँदै गर्दा नेपाली समाजमा चाहिं यो परम्परा कसरी आइपुग्यो होला, जिज्ञासा हुनसक्छ !
यस सरोकारमा हामीले नेपालको अथवा नेपाली समाजको प्रतिनिधित्व गर्ने इतिहासका घटनाक्रमहरुको अध्ययन गर्नुपर्ने हुन्छ । सर्वप्रथम प्राचीन नेपालमा लिच्छवि राजाले होली पर्व मनाएको इतिहास छ । सन् ४०० देखि ७५० सम्म (३५०) प्राचीन नेपालको शासकवर्ग रहेको लिच्छवि वंशका राजाले आफ्नो कार्यकालमा यो उत्सव अहिलेको काठमाडौंमा भित्र्याएको थिए । केही शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरमा रहेका अभिलेखहरुले लिच्छवि वंशका प्रथम राजा मानदेव थिए भनेर देखाएका छन् । तथापि, कुन राजाले शुरु गराए भनेर ठ्याक्क यकिन गर्ने तथ्य भने पाइएको छैन ।
लिच्छवि दरवार र होलीको सम्बन्ध जनाउने एउटा कथा यस्तो छ । करिब करिब सन् ६६० तिर श्रीहर्षको कृति ‘रत्नावली’लाई नाटकमा रुपान्तरण गरी लिच्छवि राजाको राजप्रासादमा प्रदर्शन गरिएको थियो ।
श्रीहर्ष संस्कृतका एक विचारक तथा प्रसिद्ध शृंगारिक कवि थिए । ‘खण्डन-खण्ड-खाद्य’ नामक उनको ग्रन्थ अद्वैत भक्ति मतको स्तम्भ मानिन्छ । यस ग्रन्थमा त्यस अघिको मान्यता अनुसार स्थापित न्यायसिद्धान्तको खण्डन समेत गरिएको छ ।
श्रीहर्ष काँशी र कान्यकुब्जका शासकद्वय-विजयचन्त्र तथा जयचन्त्रका राजसभालाई मनोरञ्जन दिलाउने एकजना रसिक कवि थिए । यस्तै प्रयोजनका लागि उनले ‘नैषधीयचरित’ महाकाव्य पनि रचेका थिए जसमा प्राचीन देश निषधका शासक नल र विदर्भराज भीमकी छोरी दमयन्तीको प्रणयगाथा र विवाहबारे वर्णन गरिएको छ ।
‘रत्नावली’मा चाहिं इतिहासकी एक पात्र जसले सन्त तुलसीदाससित विवाह गरेकी थिइन् । रत्नावलीको कथाप्रसंग कस्तो छ भने तुलसीदास र रत्नावलीको विवाह सम्पन्न भयो । तर रत्नावलीलाई घर लगिएको थिएन । उनी माइतमै थिइन् । विवाहपछि रत्नावलीलाई माइतमै छोडी राखेर तुलसीदास काँशीमा शेषसनातन नामका गुरुबाट वेद-वेदांगको अध्ययनमा लागेका थिए । तर, एकदिन अकस्मात तुलसीदास रत्नावलीको यादमा विचलित भएर नदीमा हामफाल्दै उनको ससुरालीतिर दौडिए । उर्लिँदो यमुना नदी तरेर आधा रातमा आफ्नै शयनकक्षमा आइपुगेका तुलसीलाई देखेर रत्नावली आश्चर्यमा परिन् । माइतबाट आफ्नो घर नगएकी विवाहित छोरी आधा-रातमा एउटा युवकसित देखेर भोलि बिहान समाजले के भन्ला भन्ने डर रत्नावलीमा थियो । तुलसीदासलाई फिर्ता जान अनुरोध गर्दा उनले अप्रत्याशित रूपमा जिद्धि गर्दै रत्नावलीलाई पनि राती नै आफ्नो साथ बाटो लाग्न भने । त्यसपछि रत्नावलीले एउटा श्लोक गाइन्-
अस्थि चर्म मय देह यह, ता सों ऐसी प्रीति !
नेकु जो होती राम से, तो काहे भव-भीत ?
-तुलसीदासकृत रामचरित मानस
अर्थः तुलसीदासलाई सम्झाउने आशयमा रत्नावलीको वाक्यः
“मेरो शरीर चर्म र अस्थिपिञ्जरले बनेको छ । यसैसित हो तिम्रो प्रेम? यस्तै प्रेम यदि तिमीमा प्रभू रामप्रति हुन्थ्यो भने तिम्रो पुरै जीवन उद्धार हुने’थ्यो । प्रभूको कृपा हुने’थ्यो ।”
रत्नावलीको यति कुरा सुनिसकेपछि थपक्कै उनलाई त्यहीँ छोडेर हिँडेका तुलसीदास कहिल्यै फर्केर उनलाई भेट्न/हेर्न गएनन् । उनीहरु दुवैको एक्ला एक्लै अवस्थामा जीवन बित्यो । अतः उनीहरुले वियोगान्त जीवन भोगे । यिनै कुराहरु श्रीहर्षको कृति रत्नावलीमा लेखिएका छन् । तत्कालीन नेपालको लिच्छवी राजप्रासादमा दिनैजस्तो कविता, नाटक, गजलमुशायरा हुन्थे । यसैक्रममा एकदिन नयाँ खुराकको रूपमा रत्नावली पनि आइपुगेको थियो ।
तर त्यतिबेला भनिने नेपाल अहिलेको नेपाल थिएन । उसबेलाको नेपाल थियो काठमाडौँ उपत्यकामा सीमित । त्यसपछिका मल्लकाल, राणाकालसम्म पनि होली पर्व मानिएको देखिँदैन । तर, सात सालमा भएको परिवर्तनपछि मधेशी र पहाडी नेपालीहरुमा आदान-प्रदान खुकुलो हुँदै गयो । मिथिला देश (तराई क्षेत्रलाई मिथिला देश भनिन्थ्यो) का पहलवान यादव र पण्डित झाहरुले पहिलेदेखि नै होली मनाइरहेका थिए । पहाडतिर व्यापार गर्न उनीहरु पसे र उनीहरुले नै यो पर्वलाई पहाडतिर छिराए । तर, मधेशमै भएका थारु, राजवंशी, सन्थाल आदिले यो पर्वमा मानेका थिएनन् अझै पनि मान्दैनन् ।
वसन्त भनेको ऋतुकाल भएकाले यसबेला वनस्पतिले पनि रङ्ग फेर्छ । प्रकृति नै रंगीन हुने कुराको विम्बका रूपमा शुरुमा होलीलाई सबैले मानेका थिए । तर, मध्यकालीन भारत (मुगलकाल) को सांस्कृतिक बन्देजका कारण वर्षभरिको उद्वेग पोख्न तरुण-तन्देरीहरुले होलीको दिन छिल्लिएर एक-अर्कालाई स्पर्श गर्ने अवसरका रुपमा लिनथाले । इस्लाम संस्कृति र कुरानिक विश्वास अनुसार स्त्री-पुरुषहरु आपसमा विरोधी तत्व हुन्, एकार्कालाई छुनै हुँदैन, छोए पाप लाग्छ वा अशुद्ध हुन्छ भनिएपछि मान्छेमा त्यही कुरामाथि अतिरञ्जित उत्सुकता बढाइदियो । युवाहरुले एकार्कालाई वर्षको एक दिन छुनपाउने छुट होलीमै पाउँथे ।
यद्यपि, पहाड़तिर त्यस्तो समस्या थिएन । तुलनात्मक रूपमा पहाडे समुदायलाई मुगलप्रभावित भारतीय हिन्दूजस्तो खुम्चिनु परेन । पुरुष र स्त्रीको संसर्गका लागि होलीकै दिन पर्खेर बस्नु परेन । पहाडेहरुले मेलापात, गोठाला-खेताला, पँधेरा जहाँ पनि सम्पर्क गर्न पाउँथे । पहाडी परम्परामा रोदी थियो, जुवारी थियो । गाउँ-घरमा बालन, संगिनी, खैंजडी नाच थिए । विवाहमा खाँडो जगाउने, श्लोक गाउने परम्परा थियो ! त्यतिमात्र नभएर नारीहरुले ‘रत्यौली’ खेलेर आफ्नो यौनअभिप्सा मेटाउँथे । पहाडमा मुगल राजाहरु आउँदै आएनन्, पहाडीयाहरु सितिमिति मधेश पनि झरेनन् । केही दशक अघिसम्म पहाडको थुम्काबाट मधेशतिर औंलाले देखाइयो भने पनि औलो लागेर त्यो देखाउने औंलै झर्छ भन्थे बुढापाकाहरु !
तर मुगलहरुको प्रभावमा चलेको त्यसबेलाको भारतीय संस्कृतिले पुरुषहरुको एकपक्षीय दबदबा सृष्टि गर्दै लग्यो । विचार गर्नुहोस्, शास्त्रीय परम्परा अनुसार इन्द्रको स्वर्गमा समेत उर्वशीजस्ता अप्सराहरुले नृत्य गर्थे भनिएको छ । तर, परम्परादेखि शुरु भएका शास्त्रीय नाटकहरू मुगलकालमा वर्जित भए । त्यसपछि निस्किएका लोक नाटकहरूमा केटी पात्रको भूमिका पनि केटाहरुले नै खेल्नुपर्ने भयो । जस्तैःमारुनी, बालुन, रामलीला आदि आजसम्म उसरी नै चलेका छन् ।
मुगलपछि भारतमा अंग्रेजहरुको वर्चस्व रह्यो । तर, सांस्कृतिक रूपमा केही गोलमटोल भ्रमसिर्जना भन्दा अरु कुरा हुन सकेनन् । यसरी भारतीय अंग्रेजहरुको प्रभाव उत्तरतिर बढ्दै जाँदा विस्तारै खबर कागज, रेडियोहरु पहाडतिर चढे । मिथिला देशका बेपारीहरु पनि पहाड चढे । त्यसपछि पहाडेले सिङ्गडालाई समोसा भन्नथाले, नून र नुनिलोलाई नमक र नम्किन भने । चटनीलाई चाट, सौभाग्य र तिलहरीहरु रातारात मंगलसूत्र भए । तिहारमा भाइटिकामात्र थियो पहाडमा, पछि रक्षाबन्धन थपियो तर, त्यो पनि असली रक्षाबन्धन नभई ‘राखी’को नाम लिएर !
निचोडको कुराचाहिं के हो भने होली पनि नेपाली परम्पराको लागि आयातीत पर्व थियो । साहित्यको गजलविधाजस्तै होली पनि मुगल राजदरवारभित्र कुँजिएको समाजबाट विकसित भएका परम्परा थियो । व्यापक मानवीय वितृष्णा बढेको समयमा एकले अर्कोलाई छोएर स्पर्शमार्फत अनुराग साट्ने अवसरको रूपमा होली र, बुर्कामा छोपिएकी केटीको कल्पना गर्दै त्यसको रूमानी बयान गर्न पुरुषवर्गले गजल शुरु गरेका थिए । यी सबै कुरा उहिले इरानतिर, अनि आधुनिककालको पूर्वार्धतिर दिल्लीको सुल्तानियतबाट फैलिएका हुन् । पुरानो बुझाइमा नेपाली भनेका सबै पहाडे हुन् । पहाडेहरुमा अत्यधिक नारी दमनको संस्कृति थिएन । जति थिए ती सबै कुनै न कुनै रुपमा इस्लामिक अतिरञ्जनाबाट पैदा भएका थिएः जसमा एउटा उदाहरण सतीप्रथालाई लिन सकिन्छ ।
अहिले जतासुकै आफ्नो संस्कृतिदेखि लज्जित हुने, अरुका सारा कुरा सभ्य लाग्ने लहर चलेको छ । सबै मिलेर यसको मूल कारण खोज्नु अनिवार्य भएको छ । मेरो विचारमा यी सबै कुरा विश्व-अर्थतन्त्रले निर्माण गरेका परिपाटी हुन् । के कुरामा धेरै मस्ती गर्न पाइन्छ अनि के उपायले धेरै कमाइ हुन्छ; मान्छेले त्यही कुरामा आफ्नो अभ्यास बढाउँछ । अंग्रेजीलगायतका विश्वव्यापी स्तर पाएका भाषा नपढी यतिबेला कमाइ हुँदैन । चिकित्सक, प्राविधिक, वैज्ञानिक बन्नका लागि सबैले अंग्रेजी जान्नैपर्ने रडाको चलेको छ । यो त खासमा ३ सय वर्षदेखि सक्रिय मानसिकता हो । यसले अहिले चरम सीमा टेकेको छ ।
यस्तो किन भएको हो भने हाम्रो समाजमा सबैभन्दा पहिले भाषाको उपयोगिता सीमित वर्गमा केन्द्रित गरियो । पाठकहरुलाई स्मरण गराउन चाहन्छु, हिन्दी र नेपाली साहित्यमा केही दशक अघिसम्म काव्यको नायकपात्र राजकुलको हुनुपर्छ भनेर अड्को थापिन्थ्यो ! अतः भाषा, साहित्य र सारा शिक्षामा शासकवर्गको हाबी थियो । रसिक मनोरञ्जन दरवारियाहरुले मात्र गर्नुपर्छ भन्ने मान्यता थियो । हाम्रो संस्कृतिमा श्रम र श्रमिकप्रति हेयभाव राखिन्थ्यो । आफ्नोपन झल्काउने श्रम, सिर्जना र सीपलाई मान्यता गरिएन । मौखिक व्याख्यानलाई मात्र शिक्षा र ज्ञानको परिभाषामा राखियो । परिश्रम गर्नेहरु निम्छरा जात र बसीखाने, गफ छाँटेर खानेहरु मालिक जात बन्ने चलन थियो । यो जात भन्ने कुरा पनि उहिले कर्मकै रूप थियो । तर, अनेक भ्रान्ति मिसिँदै पछि यो जन्मकुलको आधारमा मान्छेसित टाँसिएर रह्यो । त्यसपछि त हाम्रा पुराना सांस्कृतिक मान्यताहरु केवल वंशसत्ता टिकाउने कडीका रूपमा, चुक्ली र चाकरीको साधनका रूपमा घृणित हुँदै समाप्त भए ।
हाम्रो समाजको आम-बुझाइ अहिले दुइवटा भागमा चोइटिएको छ । एउटा वर्ग छ जसले पुराना मूल्य-मान्यताका यावत जडहरुलाई दैविक, अजम्बरी, साश्वत, अलौकिक, निर्विकल्प सम्झिन्छ र न्यायिक परिवर्तन र समानताका कुरा गर्नेहरुलाई आफ्नो विरोधी दलको रूपमा हेर्दछ । अर्को वर्ग छः जो सामाजिक तथा शास्त्रीय परम्पराबाट आएका सबै मूल्य-मान्यता सबै जंगली युगका चलन हुन् भनेर बुझ्छ । यही कारण हाम्रा पुराना चलन-चल्तीमा के के महत्वपूर्ण कुरा थिए भनेर अनुसन्धान गर्न कोही पनि अघि सर्दैन । बरु अमेरिकी र बेलायतीहरुले त्यो काम गरिरहेका छन् । हाम्रा आफ्ना भनिएकाहरु चाहिं संसारी पूजा, उँधौली-उँभौली, धाननाच गर्नेहरुलाई पाखे भन्नतिर लाग्छन् । सदियौं पहिले खोला, साप, पशु, पंक्षी, आकाश, पर्यावरणको पूजा गर्नेहरुलाई महामूर्ख साबित गराउन पाउँदा रमाउनेहरु हाम्रै देखिन्छन् । हाम्रो समाजको चिन्तनमा यो पुस्तागत दूरी हुनुको एउटा मुख्य कारण पुरानाहरुद्वारा यी जीवनोपयोगी कुराहरुलाई अतिशयोक्ति रूपमा ईश्वरीयकरण गर्नु पनि हो कि ?
कुरो जे होस्, अरुले मान्ने सबै संस्कृति र परम्परालाई सत्कार गरौं, सम्मान गरौं । तर, झलक्क हेर्दा राम्रो लाग्यो भन्दैमा तुरुन्तै अपनाउनचाहिं नलागौं । विचारौं, ऐतिहासिक अनुसन्धान गरौं । तिनले गर्ने हानि-क्षतिको लेखाजोखा गरौं । त्यसपछि साँच्चै समाजको साझा उन्नतिमा टेवा पुग्छ भन्ने निर्धारित भएमात्र तिनको सदुपयोग गरौं !