होशियार यात्रीहरु
हरि पराजुली-झापा; नेपाल
होशियार यात्राका यात्रीहरु !
यत्रतत्र जिन्दगीहरु
संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु
पल -पलको हरक्षणको होशियार !
गन्तव्ययात्रा बाटैमा टुंगिएला
हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला
मात्तिएका साँढेहरु डुक्रँदै आउलान्
भोका गिद्धहरु झँम्टदै आउलान्
गोरेंटोहरुमा काँडा होला
भीरबाट एक्काशी पहिरो जाला
त्यसैले होशियार ! यात्रीहरु
दोबाटोमा बाटो बिर्सिएला
बिचैमा हराउला
यो अमूल्य जिन्दगी बिचैमा नहराओश,
छिन छिनमा निद आउला
निदबाट सदा सतर्क रहनुपर्छ
अघि बड्न साहस बटुल्नु पर्छ
तिम्रो यात्रामा तुवाँलो लाग्ला
तिम्रो हाँसोमा रोदन छुट्ला
सावधान !
घोडा चढ्नेहरु धुरी चढ्लान
मै हुँ भन्नेहरु घर फोर्लान
मान्छे ‘कु’ मान्छे भाको बेला
चौबाटोमा बलात्कृत हुनसक्छौ
सोच त,
वर्तमानका जंगबहादुरहरु
सोमरसले नुहाएर
पुन:
कोतपर्व मच्चाइरहेछन्
तिमी पनि जंगेको खुकुरीमा पर्न सक्छौ
आधा जीवनमै मर्न सक्छौ
त्यसैले होशियार !
असफल ‘क्यारेक्टर’ हरुको भीडमा
शरम नभाका नांगा नृत्यहरुका
अप्राकृत आशनहरुका उत्सब महलहरुमा
तिमी चेहरा मात्रै देखायौ भने पनि
तिमी प्लास्टिक सर्जरी हुनेछौ र
अट्नेछौ भब्य सैतानी दरबारभित्र
त्यसैले-
मित्र तिमी हर चौरस्ताहरुमा सचेत रहनुपर्छ
पानी पँधेराहरु बन्द हुनसक्छन्
जीवनमा सुनामी ओइरिन सक्छ
समय बिस्फोटन हुनसक्छ
त्यसैले पनि अब होशियार ! यात्राका यात्रीहरु यात्राका जिन्दगीहरु
सावधान !
अमृतको फलबाट बिष झर्ला
साँढेको जुधाईमा बाच्छो मर्ला
त्यसैले पनि अब-
हरपल हरक्षण होशियार अनि सावधान ll