होसियार !

गंगा उप्रेती/कोलोराडो-अमेरिका

कुलागांग्रीको काख ,
जोमोल्हारीको सौन्दर्य र शितलता
सुनकोश, मानस र तुर्साको उन्मुक्तता
अनि
चौतर्फी चराचुरुंगीको मधुर संगीतभित्र
घोलित भएका यी मान्छेहरु ,
विज्ञानले स्पर्श गर्न भ्याएको सिलिगुडी हुँदै
अवैज्ञानिक काँकडभिट्टा,
आश्चर्य! सात केन्द्रमा विभाजित यी मान्छेहरु
भौगोलिक हराभरा अनि
प्राकृतिक सौन्दर्यता तर
राजनीतिक अस्थिरताबीच
अर्धघोलित संज्ञा, बेइमानी पन्जा,
नेपालीत्वको विचित्रता
अनि
मानवताको संकीर्णताभित्र
धमिलो पोखरिसरह
यदा कदा शान्तिक्षेत्रको निरर्थक संज्ञाभित्र
पौडिन बाध्य यी मान्छेहरु
सम्मानहीनाताको शिकार बन्न पुगेका
अनि
अपरिमित पीडा स्वीकार्न ,
पर्वत शृंखलासरह अडिक यी मान्छेहरु
अन्ततः
प्रफुल्लताको असन्तुलित बेगले भनूँ वा
विवशताको एकतर्फी तुफानले भनूँ ,
विवेकहिनताको चक्करले भनूँ वा
विवेकशीलताको उचाइले भनूँ,
वर्तमानमा यी मन्न्छेहरु
पश्चिमी महासागरको गहिराइमा
हराइरहेका छन्|

भन्छन् यी मान्छेहरु
स्फुरण भयो मानव चोला,
कहिले पौडिन खोज्दै उद्गार दिन्छन्
अस्तित्व नै लोप हुने भयो,
पहिचान त यस समुद्री गहिराइमा
निमिट्यान्न हुने नै भयो|
भन्छन् कोही मुटु मिची
‘वेल’ सामु बुदुनाको के मतलब,
मात्र कम्पन सरह यता उति झुल्दैछ जिन्दगी|
मात्र भत्किन लागेको झोलुंगे सरह
ढलपल ढलपल हुँदैछ जिन्दगी |
त्यसैले त ए बुज्रुक हो !
आओ पहिचानको एक विरुवा रोपौं
अस्तित्वको एक विगुल फुकौं
अनि
स्वाभिमानको र सद्भावको
एक मृदु अभियान चालौं |
तबमात्र बाँच्नेछ सदाबार यो भुटानी
हराउनेछ चारैतिर फैलिएको सैंतानी
नत्र,
भुटानी बनिसकेकोछ पूर्ण ‘नेपाली’
अन्ततः विलकुल अमेरिकी बनी
भन्नु पर्नेछ ‘ओम नमःस्वाहा ‘
गाउनु पर्नेछ ‘वाह वाह’
हुनेछ मात्र टपरीमा प्वाहा
अनि
विलाउनेछ उम्रिन नपाउंदै
त्यो विरुवा|

त्यसैले त ए ! मान्छेहरु हो !
खोलौं अब यी चिम्लिएका आँखाहरुलाई
प्रस्न गरौँ यी खुम्चिएका आत्माहरुलाई
पवित्रता दिऔं यी निमोठिएका ओठहरुलाई |
निर्मलता भरौं यी बाक्लिएका जिब्रोहरुमा
स्फुर्तता भरौं यी आलस्यले थिचिएका हातहरुमा
रक्त संचार गरौँ यी पक्ष्यघातमा परेका पाउहरुमा
अन्ततः
द्विग्भ्रमित यी मगजहरुमा
पवित्र पवनको स्पर्श दिऔं ,
ढप्काइएका ढोकाहरु खोलौं ,
असंख्य पीडाहरुले चिरिएका यी छातीहरु
रोदन, क्रन्दनले ढाकिएका यी मन र मुटुहरु,
दुर्वलताले लखेटिएका यी सोचहरु
सबैमा
जागरुकताको विज रोपौं ,
कलाकृतिको अवलोकन गराउँ,
अनि मात्र
सुनकोशको चिसो पानीले माफी दिनेछ,
कुलागांग्री हाँस्नेछ,
माने भन्ज्याङ्गले सुसेली हाल्नेछ,
दक्षिणले पनि शीतलता महसुस गर्नेछ|
नत्र ए ! मान्छेहरु हो!
मात्र मानवरुपी लाचारिताको अमिट छाप
बोक्दै अनि डोर्याउँदै
जिउँदो लासको अकाट्य संज्ञा भिरेर
मिल्नु पर्नेछ माटोमा
अनि
झुल्नु पर्नेछ चैरासीमा|
त्यसैले त ए! मान्छेहरु हो !
फुकौं आफैंले आफैंप्रति लक्षित गर्दै
होसियार! होसियार! होसियारको विगुल |||

(जय आफ्नो पन )

One Reply to “होसियार !”

  1. BB Poudyel

    Gangaji,its really a good poem,its touch the heart of 80% of Bhutanese people, Specally I and my family love /like your literatery work,it refresh us ,Thank you for your hard work towards literature.Keep it up.

Leave a Reply

Your email address will not be published. Required fields are marked *