‘पुनर्वाशमा जानुहुन्न’

-विनोद शर्मा, झापा

दुई साताअघि भूटान पिपल्स् पार्टीका सभापति बलराम पौड्यालका छोराले काठमाण्डौमा विवाह गरे । । विवाह समारोहमा प्रायः सबै भूटानी नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, सबै उपस्थित हुन सकेनन् । केही पार्टीका शुभचिन्तक र नेपाली पत्रकार पनि निम्तालुको रोस्टरमा परेका थिए । मलाई भने पार्टीले निम्तो गरेन । गरेको भए पनि शिविरबाट विवाह खान भनेर काठमाण्डौ जाने कुरै पनि भएन । तर, त्यस प्रितिभोजमा भूटानी आन्दोलनको विषय उठेको कुराचाहिं अलिक रोचक नै छ ।

संयोग पनि रमाइलो परेको थियो । दुलाहा देवेन्द्रको प्रितिभोजको ठ्याक्कै अघिल्लो दिन मात्र नेपाली संचारमाध्यममा शरणार्थी नेताहरुका विरुद्ध एउटा दरिलो समाचार आएको थियो । त्यो समाचार नै देवेन्द्रको विवाहमा नेताहरुको चर्चाको विषय भएछ, धन्यवाद त्यसका पात्र शरणार्थी पत्रकार विद्यापति मिश्रलाई ।

झापाको दमकमा देवेन्द्रको विवाहको दुई दिनअघि मात्र एउटा सर्वपक्षीय बहस कार्यक्रममा पत्रकार मिश्रले शरणार्थी नेताहरुको विरुद्ध धावा बोलेका थिए । म पनि त्यस कार्यक्रममा एउटा सहभागीको रुपमा उपस्थित भएको थिएँ । त्यस बहसमा सहभागि वा वक्ता भएर आउनेहरुमा माओवादी नेता छवि खरेलदेखि पुनर्वाशमा जानै लागेका थिन्ले पेन्जोर पनि उपस्थित थिए । पत्रकार मिश्रले पुनर्वाशप्रक्रिया राम्रो होइन भनेर जनतामा भ्रम सृजना गर्ने तर आफ्ना छोरा–बुहारीलाई भने क्यानाडा पुनर्वाश गराउने शरणार्थी नेता टेकनाथ रिजालको चर्को विरोध गरेका थिए । नेताहरुको नामै लिएर उनी प्रस्तुत हुँदा उनकै पछाडी बसेका ड्रुक नेशनल कांग्रेस प्रजातान्त्रिकका सभापति पेन्जोर र महासचिव नारद अधिकारी कालो मुख लगाएर मिश्रको मुखतिर टुलुटुलु हेरिरहेका थिए । थाहा भए पनि मिश्रले उनीहरुको नाम लिएनन् । तर, दुवै सपरिवार अमेरिका जान लागेको तथ्यचाहिं सत्य हो । कहिले जान्छन् भनेर थाहा छैन तर, भूटान समाचार सेवाले पक्कै त्यसको समाचार लेख्ला भन्ने पतीक्षामा छु ।

भोलिपल्ट कान्तिपुर र काठमाडौ पोस्टले चर्को समाचार छाप्यो । त्यसले सबै नेताहरुको सातो गयो । अझ रिजालको नामसँगै जोडिएर पत्रकार मिश्रको कोट (उद्धरण) आउँदा त उनीहरु धेरै तातेका हुनुपर्दछ । देवेन्द्रको विवाहमा रिजालले त्यस समाचारको ठाडो शब्दमा खण्डन गरे अरे भन्ने सुनेको थिएँ । त्यो सही नै होला । बलराम पौड्याल पनि “नेताहरुको औचित्य छैन” भन्ने मिश्रको भनाइप्रति रुष्ट भएको बुझियो । तर, ड्रुक नेशनल कांग्रेसका सभापति आरके दोर्जीले भने त्यो समाचारलाई सही तरिकाले बुझेछन् । मैले उनका एक सहयोगीलाई फोन गरेर बुझेको थिएँ । हुन पनि औचित्य नै नभएको कुरामा रिजाल, पौड्याललगायत रिसाउने कामै छैन ।

आफ्ना छोरा–बुहारीलाई पुनर्वाश “राम्रो छैन” भनेर सम्झाउन नसक्ने रिजालको हैसियत सायद पत्रकार मिश्रले राम्ररी नै बुझेको हुनुपर्छ । रिजालको त्यो भनाइमा देशप्रतिको आस्थाभन्दा पनि स्वार्थीपना लुकेको छ – यो सबैले बुझ्नुपर्दछ । थोरै भए पनि सानो संख्याका शरणार्थीलाई भुल्स्याएर शिविरमै राखेर उनीहरुको नाममा आम्दानी गरिरहने पौड्याल र रिजालको मनसाय होला तर, त्यो शरणार्थीले बुझिसकेका छन् । उनीहरुको सपना सपनामा मात्र सीमित रहन्छ । आखिरमा प्रायः सबै शरणार्थी पुनर्वाशमा जाने निश्चित छ । यदि सानो संख्यामा कोही रहन्छन् भने तिनीहरुबाट नेताहरुले केही पनि आशा नगरे हुन्छ ।

बरु, यदि पुनर्वाश प्रक्रिया शरणार्थीको हितमा छैन भने रिजाल र बलरामले उनीहरूका समकक्षी पेन्जोर र अधिकारीलाई अमेरिका जानबाट रोक्न सक्नुपर्छ । नत्र, पुनर्वाश र त्यसका समर्थकहरुको विरोध गर्नुको कुनै औचित्य रहँदैन ।

[स्तम्भकारलाई  binodsharma@gmail.com मा सम्पर्क गर्न सकिने छ — सम्पादक ]

8 Replies to “‘पुनर्वाशमा जानुहुन्न’”

  1. Sushil Pokhrel

    बिनोद जी, तपाइको समाचार पढेपछी केहि प्रतिक्रिया लेख्न मन लग्यो | बलराम पौडेलको छोराको बिहे भयो | जुन हुनु थियो | भुटानीहरु , शिविरदेखि तेश्रो देश पुनर्वाश गए, जाँदै छन् | न त नेताहरुले रोके न जान उत्साही नै गरेका छन् | शिविरको अवस्था कहाली लाग्दो छ भन्ने कुरो कसैदेखी लुकेको छैन | १८ वर्षसम्म सरनार्थी भएर बाँच्नु कम दुखदायी थिएन | अब यो विकल्प बाहेक अरु के थियो र | तेस्रो देश पुनर्वास विषयमा नेताहरुलाई दोष दिनु भन्दा नेपाल सरकारको कुटनीतिक लुलोपना बारे कलम चलाउनु अझ सान्दर्भिक होइन र ? भुटान नेपाल द्विपक्छीय वार्ताको १५ औ चरण नाघी सक्दा पनि कुनै निचोड आयो ? अन्तमा हर भएर शरनार्थीहरुले तेश्रो देश जान स्वीकार गरेका हुन् | यो वाध्यता हो | नेताहरुले विदेश नगएर भुटानको आन्दोलन गर्नुपर्छ भन्ने विचार राख्नु आफ्नै ठाउँमा छ | उनीहरुका छोरा छोरी तेस्रो देश पुनर्वास जाउन यो ता उनीहरुको स्वेच्छाको विषय होइन र ? उनीहरु नेता होईनन | साधारण भुटानी हुन् | उनीहरुको पनि भविष्य छ | अनि भुटानी आन्दोलन गर्न नेताहरुले नेपाल मै बस्नुपर्छा भन्ने दवावपूर्ण विचार राख्नु पनि उचित कुरो पक्कै होइन |
    धेरै देशका नेताहरु संसारको जुनै पनि देशमा रहेर आफ्नो देशको लागी आन्दोलन गर्दै रहेका अनेक उदाहरण छन् | भुटानी नेताहरु नेपाल मात्र नभएर सारको कुनै पनि देशमा शरण लिएर भुटानको आन्दोलन गर्न सक्ने छन् | यो भविष्यले निर्धारण गर्ने कुरो हो |
    धन्यवाद
    सुशील पोखरेल

  2. g. s

    टेकनाथ रिजाललाई र बलरामलाई नेता भन्नु चाहि गलत होइन क्या !!भुटानका उग्र बाम पन्थी लादेन हुन् क्या !लादेन !!जसका कारणले नेपालीहरुलेभुटान छुद्नुपर्यो त्याहाभंदा ठुलो काम कसले गर्नासक्छा त !!

  3. Devendra

    विनोद महाशयजी नमस्ते ।
    धन्यवाद, तपाईलाई सायद म चिन्दिन पनि होला । चिनेर पनि केहि काम लाग्छ जस्तो लाग्दैन । तपाइले मेरो विवाहका बारेमा समाचार राम्रै लेख्नु भएछ । तपाईको विद्धताप्रति म धन्यवाद दिन चाहन्छु । तर एउटा कुरा म के भन्छु भने कुनै पनि कुरा लेख्दा सत्यतथ्य कुरा लेख्नु उचित हुनेछ । मलाई लाख्छ तपाई कुनै सानो तिनो भुइफुट्टा लेखक नै हुनुपर्छ तर तपाई लेखकको धर्म निर्वाह गर्न नसक्ने चाँहि हुनुहुँदो रहेछ । कुनै पनि लेखकले सत्यताभन्दा बाहिर गएर लेख्नु सरस्वतीप्रति अबहेलना गर्नु मात्रै हो । तपाईलाई म यतिमात्र भन्दछु तपाइलाई भोज खानै मन लागेको छ भने खबर गर्नुहोस म एउटा ५ तारे होटलमा लगेर तपाईका भोका परिवार सबैलाई खुवाइ दिन्छु । आगामी दिनमा तपाईलाई सत्यतथ्य लेख मात्र लेख्न माता सरस्वतीले सदबुद्धि र प्रेरणा दिउन यही कामना छ ।

  4. Milan

    होइन यो देवेन्द्रले ५ तारे होटलमा विनोद भन्ने अज्ञात मान्छेका परिवारलाई भोज खुवाउने कुरा गरेको धनको धम्की हो कि बुद्धिस्खलनको प्रमाण हँ ? तिम्रा पिताजी आन्दोलनको मारमा परेर दशकौंदेखि आर्थिक समस्यासित जुझिरहेका छन् । अर्को कुन बाबुले कमाएको छ तिमीलाई दुनियाँदारीलाई भोज चखाउने सम्पत्ति बाँड्न ? अनि अर्को कुरा, यस्ता झिना मसिना कुरामा आत्तिएर-मात्तिएर जथाभावी धताउने मान्छेमा सहनशक्ति र विश्लेषण क्षमता हुँदैन, कुराको विषयवस्तुप्रति धैर्यता हुनुपर्यो बाबू देवेन्द्र है त ! नलेख्नु लेखिसकेपछि त्यो आफूले भनेको सत्यता के हो त्यो पनि झल्काइदिए सबैले बुझ्ने थिए नि त, खोइ त्योचाहिं ! अर्कालाई सत्यता लेखिनस् भन्दामात्र पाठकले सत्यता भेट्छन् त बाबू ? सरस्वतीको कुरा के गरिरा बेकारमा, उनले त विनोद र देवेन्द्र अनि अरुहरू सबैलाई एउटै विद्या दिएकी हुन् । त्यसको प्रयोग धेर-थोर कसरी गर्ने भन्ने सबैमा आफ्नै क्षमता अनुसार भर पर्ने त हो नि । त्यसैले विनोद असत्य हो भने सत्य के हो त्यो पस्किएको लाभ होला देवेन्द्र बाबू !

  5. Devendra

    फटाँईको पनि हुन्छ । साहित्यिक अनलाइनको बर्वादी मात्रै हो ।

  6. Devendra

    सम्पादक महोदय,
    तपाईको यो साइटले साहित्यलाई प्राथमिकतामा लिनु पर्ने हो तर फटाई कुराहर पनि प्रकाशित भएको देख्दा मलाई सारै दुःख लाग्यो ।
    देबेन्द्र पौडेल
    काठमाडौं

    • Admin

      देवेन्द्रजी,
      हामी प्रकाशनमा सेन्सरसिप लागु गर्दैनौं | प्रकाशित सामग्रीहरुमा प्रवाहित विचार लेखकको निजी विचार हो | हामीले स्तम्भकारको इ-मेल ठेगानासमेत प्रकाशित गरेका छौं |
      वर्तमान अवस्थामा समसामयिकता साहित्यको एउटा महत्त्वपूर्ण पाटो हो |

      सम्पादक समिति
      Bhutaneseliterature.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *