‘प्यासभित्रको विद्रोह’ मा एक दृष्टि

लेखक

रमेशमोहन अधिकारी
हेटौँडा, नेपाल

‘प्यासभित्रको विद्रोह’ प्रसिध्द बङ्गलादेशी लेखिका तसलिमा नसरिनद्वारा लेखिएको नारीवादी उपन्यास हो । यसमा अभिभावकले जबर्जस्ती थोपरेको सम्बन्धलाई स्विकार्नु पर्ने बङ्गलादेशी विवशताको चित्रण छ । पति नपुंसक, निरङ्कुश, स्वेच्छाचारी जस्तोसुकै भए तापनि बेहोर्नुपर्ने र बेहोरिरहनुपर्ने बङ्लादेश तथा हाम्रो जस्ता पितृसत्तात्मक देशका नारीहरूको निरीहताको व्यक्तीकरण छ ।

अत्याचार सहेर बस्न नसक्ने आजका नारीको चेतना प्रस्तुत भएको यस उपन्यासमा शङ्कैशङ्कामा अर्काको चरित्रहत्या गर्न सिपालु समाजको पर्दाफास गरिएको पाइन्छ ।

यो उपन्यास विद्रोह नै विद्रोहको दस्तावेज जस्तो लाग्छ । यसमा अत्याचारी पति तथा परिवारप्रति विद्रोह पाइन्छ । यस उपन्यासमा प्रतिष्ठाको मोह, पुरुषसत्तात्मक प्रवृत्ति तथा दासताका विरुध्द विद्रोह पाइन्छ । यौनको पृष्ठभूमिमा बङ्गलादेशी समाजको क्रूर यथार्थ प्रस्तुत गरिएको यो उपन्यास स्वाभिमानको लडाइँ हो भने नमाजको विरुध्द पनि विद्रोह हो ।

प्रतिष्ठाको मोहमा आफ्नै आमाबाबु पनि क्रूर हुन सक्ने यथार्थता प्रस्तुत गरिएको यस उपन्यासमा एकातिर एक्ली नारी पनि बाँच्न सक्छे भन्ने विश्वास स्थापना गर्न खोजिएको छ भने मनको अगाडि सामाजिक कानुन निरीह बन्न सक्ने अवस्था प्रस्तुत गरेर विद्रोहको चेतना भर्न खोजिएको छ । यस कृतिमा विवाहको मामलामा समेत छोरीको निर्णय पटक्कै नस्विकार्ने हाम्रो समाजको यथार्थ चित्र प्रस्तुत छ भने अन्तरसांस्कृतिक यौनसम्बन्ध र प्रेमबीचको भेद पाउन गाह्रो पर्छ ।

अनुवाद राम्रो नहुँदा कृति राम्रो भए पनि पढ्ने इच्छा मरेर जान्छ । सुन्दर अनुवादकै कारणले ‘लोलिता’ जस्तो नोबेल पुरस्कारप्राप्त कृति पनि अनुवादकको मौलिक कृतिजस्तो लाग्छ । उपन्यासको भूमिकाबाट अनुवादक महेन्द्र महक अनुवादको मामलामा सजग रहेको देखिए पनि र सजग रहँदा रहँदै पनि अनुवादमा कसरमसर देखिन्छन् । लिङ्गगत, आदरगत, वचनगत तथा क्रियापदगत त्रुटिका साथै ‘अकृतज्ञ’, ‘नाइँ’, ‘शोक’-‘सोख’, ‘जुगाड’, ‘हाँ’ जस्ता अनेपाली तथा ‘निढाल’, ‘सेक्सक्रेजी’ जस्ता अप्रसिध्द शब्द प्रयोगमा आएका पाइन्छन् ।

बङ्गलादेशी साहित्य त्यसमा पनि तसलिमा नसरिनको कृति अनुवाद गरी नेपाली पाठकसामु प्रस्तुत गर्नुभएकामा अनुवादक महेन्द्र महक तथा विवेक सृजनशील प्रकाशन प्रालि धन्यवादका पात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *