हजुरबाको हिजो र वर्तमान

Devi Subedi
कथाकार

देवी सुवेदी 
पेन्सिलभेनिया,अमेरिका

[हाल अमेरिकामा पुनर्वाश भएका ९० वर्षीय एक हजूरबाको कथा हो यो । उनले यो कथा अन्तर्राष्ट्रिय शरणार्थी दिवसमा मलाई दोभाषे राखी उनी पुनर्वास भएका महानगरका मेयरलाई सुनाएका थिए-उनको आत्मकथा । ती हजुर बाको कथालाई उनको अनुमति पाएपछि मैले समय निकालेर जस्ताको तस्तै लेख्ने प्रयास गरेको हुँ – लेखक]

हामीहरू दश दाजु-भाइ, हाम्रा बाबु सारै कडा स्वभावका- आगो खाएर कोइला निकाल्ने, सारै हकिला थिए बुढा-जोर नाडी, लामा अनि फराकिला कान भएका बुढालाई लामकाने बुढा भनेपछि गाउँले नै चिन्थ्यो । जमीनदार थिए बुढा-सोह्रजनाको जहानलाई गोठ, बगान, खेतीपाती सम्हाल्न निकै धौ-धौ पर्थ्यो । मर्ने बेलामा प्रत्येक छोरालाई प्रशस्त जमिन, गाई-वस्तु र बगान अंशमा पुऱ्याएकाले बुढा सोझै आफू स्वर्ग पुग्ने दाबी गर्थे ।

हामीहरू दशै भाइ औंठाछाप-गोठ र खेतीमै रमाएका थियौँ । बाका डरको कारण स्कूलको ‘स्क’ पनि निकाल्न सकिएन । स्कूल जाने सपना पनि देख्न पाइएन र देखिएन पनि । बाको मृत्युपछि गेलेफू बसाइँ सरियो; गेलेफूमा रहँदा मेरो भागमा सानो गोठ, दश ऐकर जमिन, सुपारी बगान अनि चिराङमा सुन्तोला बगान थियो । मैले पनि हर्केलाई गोठालो, बिर्खेलाई हली अनि गीता र सितालाई घाँस-बारी, चुल्हा-चौका र मेला-पातमै रमाउन बाध्य बनाएको थिएँ । एकप्रकारले खुसी पनि थिए उनीहरू । मधेसमा आएपछि वातावरण नै अर्कै, त्यहाँ गाउँमा स्कूल रहेछ । छिमेकीका छोराहरु स्कूल जाँदा मलाई पनि धनेलाई चाहिँ स्कूल पठाउने रहर जाग्यो । हुन त तीनवर्षको छँदादेखि नै धने पनि मेरो इच्छा बुझेझैं स्कूल जाने भनी मेरा घरको बाटो आउने ड्रूक्पा जेठाका छोराहरुलाई पछ्याउँथ्यो ।

धने पाँचवर्षको लागेको थियो; एकदिन पल्लो घरको सोनामलाई पछ्याएर स्कूलमै पुगेछ । घरमा आमालाई दिनभरि खोजाएको थियो । छ वर्षको भएपछि स्कूल जालास भन्दा भन्दा बल्ल घिडघिडो बन्द गरेको थियो । तर पनि बिहान जुरुक्क उठेर ‘म कहिले छ-वर्षको पुग्छु?’ भन्दै दिनैजसो आमाली पिरल्थ्यो । सन् १९८४, डिसेम्बर एक तारिख धने छ वर्ष पुग्यो, ठिक्क पचासी सालको स्कूल भर्ना खुलेको थियो ।  मैले धनेलाई भर्नाकोलागि स्कूल लाँदा ऊ बाख्राको पाठोझैं उफ्रिँदै स्कूल पुगेको थियो ; करिब पाँच किलोमिटर पैदल हिँडेर स्कूल पुग्दा धनेमा कुनै थकान थिएन; उकालोमा पनि उ पछि परेको थिएन । धनेको स्कूल जाने रहर देखेर मेरो मन पनि खुसी थियो । मैले त धनेका बारेमा सपनासमेत देख्न थालेको थिएँ ।

गेलेफूमा नेपाली बस्ती थियो । भोटेका घरहरू औंलामै गन्न सकिने । स्कूल नेपाली शिक्षक र नेपाली छात्र-छात्राकै बाहुल्यता थियो तापनि सरकारले प्रिन्सिपल चाहिँ भोटे नै खटाउँथ्यो । डिग्लामनाम्जा ठोकिसकेपछि बल्ल प्रिन्सिपलले उनको अफिसमा बोलाए । किन किन प्रिन्सिपलले धनेलाई तलदेखि माथिसम्म नियाले र आफ्नो देब्रे हात टाउको माथि लगेर दाहिने कान छुन अह्राए । मेरो धने होचो कद अनि टाउको अलि ठुलो गरेको थियो । उसले आफ्नो हातले कान छुनसकेन । प्रिन्सिपलले धनेलाई स्कूलमा भर्ना गर्न नसकिने बताए । मैले उसको उमेर बताएँ तर जवाफमा प्रिन्सिपलले अर्को साल आउनु भने । अर्को ड्रूक्पा शिक्षकसँग कुन्नि के कुरा गरी प्रिन्सिपल बाहिर गए । धनेको हँसिलो अनुहार एकाएक कालो बादल छाएझैं भयो; ऊ सुँक्सुँक गर्न थाल्यो । त्यो ड्रूक्पा शिक्षकले बाहिर जाऊ भन्यो । सपना बुन्न नपाई भताभुङ्ग भयो । धने बाहिर जानै मानेको थिएन, मैले उसलाई तानेर प्रिन्सिपलको अफिसबाट बाहिर निकालें । स्कूल जाँदा उकालीमा अघि-अघि पाठो नाचेझैं नाच्दै हिँडेको धने ओरालीमा पछि छोडियो; मैले उसलाई बारम्बार पर्खनुपरेको थियो ।

त्यो रात धनेले खाना खान मानेन, जोरो आएझैं भएर उसको टाउको तातेको थियो । बारम्बार ‘म अब कहिले स्कूल जान पाउँदिन है’ भनी सोध्ने गर्थ्यो ।

जाडोको बिदा सकिएर स्कुल लाग्दा धनेले आफ्ना साथीहरू स्कुल गएको देखेर अफ्सोस लिन्छ भन्ने सोचले मैले धनेलाई आफूसँग गोठमा पुऱ्याउने निर्णय गरेँ । गोठ जान मान्दे थिएन-मैले गोठ गएर दाजुलाई राम्ररी काम सघाएको खण्डमा अर्को साल भर्ना गरिदिने अश्वासन दिएपछि ऊ खुसी भएको थियो । बाटोमा उसले स्कुलमा र पढाइका बारेमा अनेकौँ प्रश्नहरू सोधीरह्यो । मैले उसलाई कहिल्यै निरुत्साहित पार्ने उत्तर दिइनँ र फर्किने बेला म अर्को साल लिन आउँछु अनि स्कुल जालास भनेर छोडें । धने सिपालु थियो । जे पनि छिट्टै टिपिहाल्ने-सिकिहाल्ने । छ-महिनापछि गोठमा जाँदा धनेले घुम, डोको, मला, दाम्लो, नाम्लो सबैथोक बुन्न सिकिसकेको रहेछ । म पुग्दा ऊ दाजुसँग थुन्चे बुन्न सिक्दैथ्यो । म पुग्नेबित्तिकै ऊ गोठभित्र पसी आफूले बुनेका सामान एकाएक गरी मलाई देखाएको थियो । भोलिपल्ट बिहान घर फर्कँदा घर जाने भनी झगडा गर्ला भन्ने ठुलो डरलागेको थियो तर; धने दिन गन्ती गरेर बसेको रहेछ; “अब छ-महिनामा मलाई लिन आउनु है बा, अनि म स्कुल जाने, दाजुलाई म राम्ररी काम सघाउँछु” भनेर बिदा पो दियो मलाई । घरफिर्तीको छ-घण्टा पैदनयात्रामा मेरो मनमा एउटै कुरा खेलेको थियो-अब आउने साल पनि प्रिन्सिपलले धनेलाई भर्ना लिएनन् भने के गर्ने-पढेर ठुलो मान्छे बन्ने उसको रहर कसरी पूरा गरिदिने होला ! घरमा आएर धनेकी आमालाई धनेले गरेको चमत्कारका बारेमा सुनाएँ, ऊ पनि खुसीले गद-गद भई; धनेको प्रशंसा गर्न थाली, “स्कुल हालिदिन पाए हाम्रो धने डाक्टर हुन्थ्यो होला ।”

छयासी सालको स्कुल भर्ना खुलेपछि मैले धनेलाई त्यहाँ फेरि लगें, म पुग्दा भोटे कान्छो पनि आफ्नो माइलो छोरालाई स्कुल लाउन भनी प्रिन्सिपलको आपिसमा बसिरहेको थियो । नयाँ प्रिन्सिपल आएका रहेछन्; म जाँदा भोटे कान्छाको छोरोको भर्ना फारम भर्दैथिए । फारम भरिसकेपछि भोटे कान्छातिर हेर्दै जोङ्खा भाषामा कुन्नि के भने, त्यसपछि भोटे कान्छो उठेर बाहिर गयो । प्रिन्सिपलले धनेलाई केही शैक्षिक प्रश्नहरू सोधे-धनेले एकाएक जवाफ दियो-धने साँच्चि नै चतुर थियो । सबै प्रश्नहरूको उत्तर सुनिसकेपछि प्रिन्सिपलले स्याबासी दिएझैं टाउको हल्लाए । धनेको अनुहारमा चमक थियो, मतिर हेरेर मुसुक्क हाँस्यो, मैले हातको इसाराले स्यावासी दिएँ । प्रिन्सिपलले उमेर सोधे, धनेले अङ्ग्रेजीमै जवाफ दियो । प्रिन्सिपलले मतिर फर्किएर सोधे, पोहोर साल धनेको भर्ना के कारण भएन ? मैले सही जवाफ दिएँ । “अँ साँच्ची” भन्दै उनले धनेलाई देब्रे हातले दाहिने कान छुन अह्राए । धनेले बारम्बार प्रयास गऱ्यो तर उसको उचाइ तथा टाउकोको आकार-विकासमा सन्तुलन नभएका कारण टाउको माथि हात लगेर अर्कोपटिको कान छुनुपर्ने भूटानको तत्कालीन शैक्षिक नियम पास गर्नसकेन ।

फेरि त्यही निराशामा ओरालोमा झर्ने बाध्यता-न कुनै जिज्ञासाको सुनुवाइ हुन्थ्यो, न त कसैको भावना नै बुझिन्थ्यो त्यो कालो शासनको एकलौती राज्यमा । धने प्रिन्सिपलको आपिसमा डाको छाडेर रुन थाल्यो; मेरो पनि उसलाई चुप लाग भन्ने सामर्थ्य थिएन । एकक्षणपछि पाले आएर उसलाई बाहिर लिएर गयो र आखिर जति रोए-कराए हाम्रो केही नलाग्ने सम्झी धनेलाई फकाइ-फुल्याई घर हिड्डौं । बाटोमा भोटे कान्छालाई भेटियो । पाँचवर्ष मात्रै पुगेको उसको छोरालाई स्कुल भर्ना दिएकोमा ऊ प्रिन्सिपलको गुनगान गाउँदै थियो, मैले पनि हँ मा हँ जोडें तर, धनेले प्रिन्सिपललाई नानाथरी नाम दिँदै थियो-कता कता विद्रोहको स्वर पनि बोल्दै थियो मेरो सातवर्षको धने । धनेले घरमा आमासँग र गाउँमा भेटेकाहरुसँग झगड़ा गर्ला भन्ने डरले, मैले उसलाई भोलिपल्टै गोठमा पुऱ्याएँ । धनेलाई गोठमा छोडेर आएको दिन मलाई रातभरि निद्रा लागेन । मनमा कता-कता आफूमा अन्याय भएको महसुस भइरह्यो र महिनौसम्म विद्ध्यालय –सड़क र अस्पतालमा गरेको बेगारको र खजानास्वरूप  वर्षेनी तिरेको नगद, बाली आदि आदि कुराको मूल्याङ्कन नभएको महसुस भइरह्यो । हुन त मैले मात्र अफसोच मान्नुपर्ने कुनै कुरा थिएन, गाउँका प्रायः केटा-केटीहरू कोही भर्ना-आवश्यक मौखिक टेस्ट फेल भएर, केही दिनले उमेरमा कम भएर, कोही उमेर बढी भएर र कोही कोही हातले कान छुन नसकेकाले त्यसपालि विद्ध्यालय भर्ना हुन नसकेका रहेछन् । बल्ल बल्ल कारबारी जेठा, मण्डल माइला र बैदार साइँलाले चाहिँ आफ्ना छोराहरु भर्ना गराएका रहेछन् । पहिला पनि यस्ता जातीय भेदभाव थिए होलान्, औंठाछाप पहाडमा बसेको घर, खेती, बगान र गोठ भन्दाभन्दै घरबाहिरको व्यवहार कहिल्यै गरिएको थिएन । किन हो कुन्नि नब्बे ताका भूटान सरकारले जातिबीच अनेकौँ क्षेत्रमा गरेको भेदभावले सीमा नाघ्न लागेको जस्तो लाग्थ्यो । हुँदा-हुँदै नब्बे सालमा त ठुलो आन्दोलन नै भयो । भूटान सरकार हिंस्रक पशुझैं निमुखा आफ्ना नेपालीभाषी जनतामाथि एकाएक जाइलाग्न थाल्यो; नेपालीभाषीका कैयौँ छोराहरु जेल चलान भएका, कैयौँ बेपत्ता पारिएका, कैयौँले ज्यान जोगाउन घरछाडीं जङ्गल पसेका खबरहरु सुन्न थालियो । कैयौँ आमा र छोरीहरुलाई भूटान सरकारका भरौटेहरुद्वारा सामूहिक बलात्कार तथा हत्यासमेत भएको खबरहरु बाहिर आइरहेका थिए । फट्याक-फुटुक मानिसहरू आसाम र बंगालका सीमा कटाउँदै नेपाल पुऱ्याइएका खबर पनि सुन्नथालिएको थियो । एका नब्बे सालको भदौ महिनामाको पहिलो शनिवार थियो क्यार, हर्के र धने रुँदै घर आए, सेनाहरुले गोठमा आगो लगाई सबै गाई-वस्तु गाडीमा उठाएर लगेपछि लुकेर ज्यान जोगाई घर आएका रहेछन् दुई केटाहरु । मनमा हामी गोठालाहरुले सरकारको के बिराएका थियौँ र सरकारबाट यस्तो कठोर अन्याय भएको होला भन्ने लाग्यो । गाउँ पातलिँदै गएका थिए, दिनैपिच्छे एक न एक परिवारले गाउँ छोडेको खबर सुनिन्थ्यो । मैले भने जस्तो परे पनि गाउँ नछाड्ने निर्णय गरेको थिएँ ।   भोलिपल्ट आइतबारको दिन लगभग रातको बाह्र बजेतिर एक्कासि दैलोमा ठुलो आवाज आयो, के भएछ भनेर उठी हेर्दा अघि सेनाको एक हुल दैलोदेखि घरभित्र पसिसकेको रहेछ !

घरका सबै कोठाहरुमा छापछाप्ती गरेर लामबद्ध भई एक  ठाउँमा उभिन भने, अनि प्रत्येकलाई एउटा कुन्नि केको कागजमा दश औंलाको छाप हान्न लगाएर भोलि नै नेपाल नगएको खण्डमा सबैलाई एकै खाल्टोमा हाली पुरिदिने धम्कीसमेत दिए । घरको झिटिमिटि हामीलाई नै गाडीमा लोड गर्न भने । मैले विन्तिमात्र के बिसाएको थिएँ धनेकी आमा र मेरा बाह्र-चौध वर्षका छोरीहरुलाई बलात्कार गर्ने धम्की दिए । श्रीमती र छोरीहरुको इज्जत र ज्यान जोगाउन घरको झिटिमिटि गाडीमा हामी बाबु-छोराले लोड गरिदियौं र जिम्मा लगायौं । जाने बेलामा बाध्यात्मक हाँसो हाँस्न लगाई सपरिवारको फोटो पनि खिचेका थिए ।

आफ्नो सर्वस्व-जग्गा जमिन, घर-गोठ, अन्नबाली, भाँडा-कुँडा, लत्ता-कपडा आदि, आफू र आफ्ना जिजुबाजेले आर्जेको सम्पूर्ण भौतिक सम्पत्ति बाध्यात्मक हाँसोका साथ भूटान सरकारलाई जिम्मा लगाएर मेरो सातजनाको परिवार भारत सरकारका सीआरपीहरुद्वारा १९९१ को जुलाई महिनामा माइधार आइपुगेको थियो, जहाँ मेरै जस्ता कथा बोकेका अरू सयौँ परिवारहरू मर्नु कि बाँच्नुको अवस्थामा माइखोलाको बगरमा अलपत्र थिए । अनि बाठा, केही सम्पत्ति जोगाई ल्याएका र पढे-लेखेकाहरु आसाम र नेपालका बस्तीहरुमा बिलाए-खाली औंठाछापहरु जमातमात्र थियो त्यो माइधारको शिविर । आफूले पनि दुई-चार क्लास पढेको भए त नेता बनी ढाँटी खाने थिएँ होला वा हर्के र बिर्खेलाई अक्षरमात्र चिनाएको भए पनि कर्मचारी बनी केही राहत मिल्ने थियो होला  तर, अपशोच ! परिवार नै औंठाछाप, सहुलियत र सहयोग जति नै आए पनि रहलमात्र पाइन्थ्यो । पछि यूएनएचसीआर आई प्रशस्त सहुलियत दिन थालेपछि भोकमरीको स्थिति सुल्झियो । र, केही जागरुक युवाहरूको जमात पनि थपियो । जसका कारण बगरमै भए पनि स्कुल लाग्ने सपना पूरा भएको थियो । पछि शिविर सरेर बेल्डाँगी आएपछि स्कुल अलि व्यवस्थित भयो र औपचारिक रूपमा भूटानी शिविरहरुमा शिक्षाको सुरुवात भएको थियो ।

धने 14 वर्षको अमेरमा नर्सरीमा भर्ना भयो । ढिलै भए पनि स्कुल जान पाउँदा ऊ सारै खुसी थियो । शिविरमा बस्ता धेरै चुनौतीहरू थिए । खाद्ध्यान्नको अभाव, स्वास्थ्य समस्या, लत्ता-कपडाको अभाव आदि…का कारण धनेकी आमा र म रतुवा बगरमा गिटी  कुट्थ्यौं, ग्राभल र ढुङ्गा  थुपार्थ्यौं, हर्के र बिर्खे दमकमा मजदुरी गर्न जान्थे ।  गिता र सिता घरको काम गरी प्रौढशिक्षा पढ्न जान्थे र धनेचाहिं स्कुल जान्थ्यो । दुई छाक खानका निम्ति कडा परिश्रम गर्नु पर्थ्यो। त्यसो त एक-दई पैसा जोहो गरी चार-टारवटा बिहे पनि छिनियो । बिहेपछि हर्के र बिर्खे आ-आफ्नो घर-गृहस्थी सम्हाल्न थाले, पछि उनीहरूकै बच्चाहरुलाई अपुग हुन्थ्यो उनीहरूले कमाएको दुई पैसा । गिता र सिता आ-आफ्नै ससुरालीका चुल्हा-चौकामै व्यस्त हुन्थे । दुई बुढा-बुढीले गिटी कुटेर चलाउँथ्यौं हामी तीन जनाको परिवार । त्यसो त छुट्टीमा धने पनि आफ्ना साथीहरूसँग काम गर्न जान्थ्यो र आफूलाई लगाउने कपडा आफैँले किन्थ्यो ।  एक्कासि मेरो परिवारमा फेरि अर्को बज्रपात आइलाग्यो-घाममा कडा परिश्रम गरेर होला उनलाई क्यान्सर भएछ । र उनी हामीलाई छोडेर यस संसारबाट सदा सदाका लागि बिदा भइन् । एक प्रकारले दुःख नै लुकाइन् । पछि मलाई पनि रोग लाग्यो र काम गर्न सक्नै छोडें । दिन दिनै धनेलाई पनि पारिवारिक दायित्व र उत्तिकै शैक्षिक बोझ थपिँदै गएको देख्न थालेँ । म ओछ्यान परेर बाध्यात्मक भई धनेले मेरो हेर्चाहको निम्ति बिहे गऱ्यो, एउटा असल छोराको कर्तव्य निभायो । नपढेकै भए पनि अर्काको मर्म सारै बुझ्छे मेरी बुहारी, मलाई पनि बचाई र लोग्नेको पढ्नेको सपना पनि पूरा गरेकै भन्नुपर्छ । धनेले विसं २०५६ को एसएलसी परीक्षा प्रथम श्रेणीमा पास गरेको थियो ।

भूटानी शरणार्थीहरुमा ठुलो आर्थिक विविधता थियो, कोही भूटानबाट आउँदा ल्याएको अथाह सम्पत्तिका धनी, कोही शरणार्थीका नाममा नेतागिरी गरी आएका सम्पत्तिका धनी, कोही शिविरभित्रै सोझा मानिसहरूलाई हप्काउँदै कमाएको सम्पत्तिका धनी, कोही भने भरे सब्जी के खाने होला भन्ने मानसिक तनावका धनी । भरे सब्जी के खाने भन्ने मानसिक तनावको धनी मेरो परिवारमा धनेलाई उच्चशिक्षाको निम्ति शिविरबाहिर लगी पढाउने पैसा जुटाउन सामर्थ्यो थिएन । दुई सन्तानको बाबु धनेमै पनि आफ्नै पारिवारिक दायित्व थियो, त्यसैले उसँग नेपालको बोर्डिङ स्कुलको शिक्षक हुनुशिवाय अरू कुनै विकल्प थिएन । गरिबीको कारण धनेले उच्च शिक्षा नपाई पश्चिमी बोर्डिङको शिक्षण पेसा रोज्नुपरेको थियो ।  आफ्नो भाग्य र कर्ममा एसएलसी मात्र लेखिएको रहेछ, अब सन्तानलाई पढाउँछु भन्दै धनेले घरबाट बिदा लिएको थियो । प्रत्येक वर्ष दसैँदेखि तिहारसम्मको छुट्टी मिलाएर धने घर आउने गर्थ्यो र सधैँ घर आउँदा आफ्ना छोरा-छोरीलाई उपहारस्वरूप शिक्षा सामग्री नै ल्याउने गर्थ्यो । बाबु घर आउँदा मासु खान र नयाँ लुगा लाउन पाइन्छ भन्दै शेरे र मिना रमाउने गर्थे । महिना दिन घर बस्ता धने छोरा-छोरीको पढाइमा चिन्तित देखिन्थ्यो । स्कुलमा राम्रो परिणाम ल्याए अर्को साल घर आउँदा दुई जोडी लुगा ल्याइदिने भनी घरबाट बिदा लिन्थ्यो । सानो छँदा शेरे र मिना बाबुजस्तै मिहेनती थिए । बाबुको सपना अधुरो रहे पनि शेरे र मिनाले उसको सपना साकार पार्ने कुरामा म रमाउँथें । प्रत्येक साल परीक्षा फल सुनाउने दिन शेरेले पुरस्कार लिएर घर आउँथ्यो । शिविरमा बस्ता धेरै कुरामा अभाव र दुःख थियो । त्यसका बाब्जुद म नाति र नातिनीको पढाइ र मिहेनत देखेर चित्त बुझाउँथें । उसका बाबुको नाम लिनासाथ डराउँथ्यो शेरे, केही बखत उरण्ठेउला केटाहरुसँग हिँडेको पाएँ भने बाबुलाई सुनाइदिन्छु भन्दा किताब लिएर पढ्न बस्थ्यो र मेरो मन जित्ने गर्थ्यो । पढाइका अलावा खेलकुद र नाचगानमा पनि सारै मसूर थियो । हामीले उसको रुचिअनुसार नै चल्न दिएका थियौँ । राम्रा काममा सदा हौसला प्रदान गर्थ्यौं र नराम्रो काममा यसो हैन भन्दा भईहाल्थ्यो उसलाई । तिनै नाति-नातिनीको चिन्ता लागिरह्न्थ्यो मेरो मनमा, धनेले जस्तै बाध्यतामा परी पढाइ छोड्नु नपरोस् भन्ने चिन्ताले सदाबहार सताउने गर्थ्यो शिविरमा रहँदा ।

सन् २००७ को मध्यतिर शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वाश गराउने गानगुन हल्ला चल्न थाल्यो ।  धनेको रायसमेत नलिई बुहारी र म भएर रु. ४० तिरेर एउटा फारम भरी सीएल सरलाई बुझायौं । हल्लामात्र हैन रहेछ, साँच्चै नै प्रक्रिया सुरु भएकोमा विभिन्न सात मुलुकका लागि टोली बस्न थाल्यो । हामीले अमेरिका जाने मञ्जूरी गरी पहिलो छाप हान्यौ । तेस्रो मुलुक पुनर्वाशमा जाने भन्दा अनेक धम्की र त्रास झेल्नुपरेको थियो । क्रान्तिकारी भनाउँदा आफ्नै साथी-भाइहरुलाईहरुले ज्यान लिने धम्की पनि दिएका थिए । त्यसो त आफ्नो भाषा, संस्कृति, देश र भविष्यप्रति चिन्तित भएर देश नै जानुपर्छ भन्ने निस्स्वार्थ भाव भएका युवा भाइहरु पनि थिए । तर, नेतृत्व पंक्तिको भने कमाउने धन्दा, शिविर उठे आफ्नो कमाई खाने भाँडो रित्तिने डरले बोक्रे भाषण दिँदै खोक्रे नेताहरू सोझा-सिधालाई तर्साउन व्यस्त देखिन्थे । तेस्रो मुलुकको समर्थकहरुलाई कालो सूचिमा राखी शिविर छोड्न बाध्य बनाएका धेरैजसो बोक्रे देशभक्तहरु भित्रभित्रै पुनर्वाशको प्रक्रिया चलाउने व्यस्त पनि देखिन्थे । र, कोही कोही आस्ते आस्ते आफ्नो पनि त्यही बाटो हो, राम्ररी जानु र कस्तो हुँदोरहेछ फोन गर्नु है भन्ने पनि थिए । पुरै दोधारको त्रासको माहौल थियो शिविरहरुमा तर, मेरो परिवारले भने अमेरिका आए नाति-नातिनाले राम्ररी गुणस्तरीय शिक्षा लिन पाउने एउटै लक्ष लिएको थियो ।  भित्रैदेखि त कसलाई पो मन थियो होला र ! बाध्यता र विवशताले कहिलेकाहीँ मनलाई जित्तोरहेछ, फेरि अर्को चुनौतीसँगै 17 वर्षको शरणार्थी जीवनको अन्त्य सम्झी नयाँ सपना बोकेर २००८ को मई १० का दिन अमेरिकाको लागि हिँडियो  ।

अनेकौँ चुनौतीहरुसँग जुझ्न प्रखर भइसकेको धने अमेरिकन जिन्दगीका चुनौतीहरुसँग निडर देखिन्थ्यो, चिन्ता गर्थ्यो त सिर्फ शेरे र मिनाको – उसले बुनेका सपनाहरुको । अमेरिकामा गर्मी बिदा भएको रहेछ, शेरे र मिनाले स्कुल भर्नाका निम्ति लगभग तीन महिना कुर्नुपरेको थियो । हामी आएको सीटीमा नेपाली पहिलो परिवार भएकाले होला, थुप्रै भोलेन्टरबाट सहयोग पनि मिल्यो, कत्ति सहयोगी यहाँका मानिसहरू, निस्स्वार्थ अर्काको निम्ति आफ्नो व्यस्तताका बाब्जुद समय दिएका; कति मिठो बोली अनि सबैलाई सम्मान व्यवहार…कहिले कहिले शिविरमा बस्ता नेपाली दाजु-भाइहरुले शरणार्थीप्रति देखाएको घृणित व्यवहार सम्झँदा आँसु   आउँछ । हामी आएका ठाउँमा नेपाली बोल्ने मानिसहरू थपिँदै गए, नयाँ आउने परिवारहरुलाई सहयोग गरेको देखेर होला, धनेलाई केश वर्करको जागिर मिल्यो । जागिर पाउना साथ फुर्सदको बेलामा शेरे र मिनाले कम्प्युटर सिक्छन् भन्ने हेतुले घरमा कम्प्युटर पनि ल्यायो ।  आफूले जानेजति छोरा-छोरीलाई पनि सिकायो र थप सिकाउनका निम्ति उसले भोलेन्टियरको व्यवस्था पनि गरिदियो । कलिलो दिमागमा फेरि चौबिसै घण्टा फुर्सदै फुर्सद भएकाले होला, दुई तीन हप्तामा शेरेले उल्टै बाबुलाई सिकाउन थालेको देखेर मेरो मन सारै खुसी थियो । कहिलेकाहीँ दाजु-बहिनीको झगडा नै पर्न खोज्थ्यो । मैले वा धनेले यसको पालोभन्दा थपक्क एकले अर्कालाई छाडिदिन्थे । गएको पहिलो हप्तादेखि शेरे र मिना दुवै स्कुल जान थालेका थिए; छोरा-छोरीलाई स्कुल भर्ना गरेर आएका दिन धनेले ठुलो सास फेरेको थियो । शेरे १० र मिना ९ कक्षामा भर्ना भएको कुरा सुनाउँदा मेरो पनि खुसीले आङ फुलेको थियो । दिनभरि छोरा-बुहारी काममा, नाति-नातिनी स्कुल…न बोल्ने साथी छन्, हिँड्नु-कता जानु-न भाषा नै छ, न वरिपरि साथी-भाइ छन् , न त बाटो नै चिनिन्छ, दिनभरि एक्लै घरमा बस्ने बाध्यता थियो । दिनभर टिभीमा रामायण र महाभारतको कथा अनि एकोहोरो सपनामा टोलाइरहनु शिवाय मेरो लागि केही थिएन र पनि मेरो मन खुसी नै थियो । त्यो अन्धकार मुलुकमा अभाव र अज्ञानताको जीवनबाट मुक्त भएजस्ता देखिन्थे मेरा छोरा-बुहारी र नाति-नातिनीहरु, यसमै चित्त बुझाउँथें ।

वर्ष दिन नबित्तै शेरे र मिनामा पश्चिमी शैली पसिसकेको थियो, पुरै पश्चिमी ढाँचामा हराउने थालेको देखेर मेरो मन भित्रभित्रै चिन्तित हुन थालिसकेको थियो । आउँदो पुस्ताको भविष्य, भाषा र संस्कृतिको चिन्ता; शिविरमा रहँदाको चिन्ताभन्दा अनौठो थियो यो मनको खल्बली । दिनभरि एक्लै घरमा बस्ता खाली आउने पीढीले अपनाउने संस्कारको चिन्तामा हराउँथें । भण्डारी जेठाको पाँचवर्षको नातिसँग भेटेदेखि त मेरो चिन्ताले सीमा नाघेको अनुभव भयो र कताकता आफैँलाई सम्हाल्न नसकेको अनुभव हुन्थ्यो । पाँच वर्षको अष्टिनले नमस्कार नभई ‘हाई’ भन्दा मेरो ढुक्ढुकी एक्कासि बढेको थियो ।  उसले –हाई ग्राण्ड पा-अंकल भनेकोसम्म पनि मेरो चित्त बुझ्थ्यो होला तर, उसले मसँगको भेटमा हाईबाहेक बोलेन, सायद मलाई दोब्बर हेरेन पनि होला। आफ्नै हजुर बाको उमेरको मानिस देख्ता नमस्कार हजुर बा-भन्ने हाम्रो सभ्यता, संस्कृति अब हाई-मा सीमित भएको देख्ता मन बिरोलिएको थियो । कहिलेकाहीँ साथी-भाइकोमा जाँदा टिभीमा रामायण, महाभारत, सन्तोषी माँ, कृष्ण चरित्र, पुराऩ या कुनै धार्मिक वा नेपाली कार्यक्रम लगाउँदा छोरा-छोरी, नाति-नातिनीले रिमोर्ट नै खोसेका देख्ता भित्रभित्रै मन रुन्थ्यो । बिस्तारै आफ्नो पहिचान इतिहास हुने निष्कर्षमा पुग्थें । मेरो पोलेको मन चुप रहन सकेन, केही युवाहरुमा कुरा चलाएँ, उनीहरूले केही गर्न पनि खोज्थे तर, आफूमा रहेको अहङ्कारी मपाईंत्वले उनीहरूले केही खालो सार्लान भन्ने आशा पनि मरिसक्यो । उनीहरूमा भएको “मै खाउँ मै लाऊँ, सुख सयल सबै मोज म गरुँ” भन्ने भावनाले उनीहरूलाई स्वार्थी र बडप्पनको आभास हुनथालेको छ; जसले गर्दा समाजलाई पछि पारिराखेको छ । काम हैन, नाम र दामको खोजीमा हराएका देखिन्छन् भूटानी युवाहरू । अनगिन्ती भूटानी उपनामका संस्थाहरू दर्ता गराएका छन्, खाली नामका प्रेसिडेण्ट र सेक्रेटरी बनेका छन्, उचाल्ने र पछार्ने खेलमै व्यस्त छन्, नाचगानलाई नै उनीहरू आफ्नो पूर्णसंस्कृति मान्छन् । भाषा, साहित्य अनि जातीय पहिचान बिर्सेका छन् ।

मेरो विवेकी धने पनि बिस्तारै आफूलाई पैसा र बढप्पनको नशामा हराएको देख्नथालें । धनेले पनि बोक्रे भलाद्मीको खोल ओडेको पाउन थालेँ । सामाजिक र पारिवारिक दायित्वबाट टाढा हुँदैगरेको पाउँथें । कुनै दिन शेरे घरमा नआउँदा धनेले १८ वर्ष पुगेको मानिस उसकै खुसी भन्ने गर्थ्यो । तर म भने उसलाई पनि सानै देख्ने गर्थें, छोरै देख्ने गर्थें । हुँदा हुँदा नाति-नातिनीलाई न परिवार सदस्यको वास्ता हुनथाल्यो न त घरमा को आयो-गयो, को आफन्त-पराई, उनीहरूमा यो सबथोक याद गर्ने फुर्सद हुनै छोडिसकेको थियो । भाषा-संस्कृतिको त कुरै सुन्न मान्दैनथे, उल्टै- किन चाहियो त्यो यतिको भाषा र जंगली संस्कृति-भन्ने नै थालिसेका थिए ।

एक्कासि स्कुलबाट शेरेका नाममा एउटा चिट्ठी आयो, उसलाई स्कुलबाट सस्पेण्ड दिएको चिट्ठी आएको रहेछ । भोलिपल्ट बुझ्न भनी स्कुल गएको, धनेको आँखामा घर फर्कँदा आँसु देखेपछि मैले उसलाई सोधेँ, पहिले त मलाई सुनाउन उचित मान्दै थिएन, फेरि मैले कर गरे दुई-तीनपटक सोधेपछि भने सुनायो । शेरेले स्कुलको कम्प्युटरमा कुन्नि के हेर्दै गरेको प्रिन्सिपलले भेटेका रहेछन् र उसलाई सोध्न खोज्दा ऊ आफ्नो सबथोक छोडी भागेर घर आएको रहेछ । प्रिन्सिपलले शेरेले स्कुलको कम्प्युटरमा छाडा पिक्चर हेरेको र उसले आफ्नो कम्प्युटर त दिनरात हेर्ने गरेको कुरा सुनाएका रहेछन् । “उसको पढाइ पहिले धेरै राम्रो पछि खच्किँदै गएको र, तत्काल धेरै नराम्रो भएको रहेछ , र उसले मादकपदार्थ पनि सेवन गर्नथालेको प्रिन्सिपलले शङ्का काटेका छन् रे…।”  यति भनेर धनेले अगाडि बढन् सकेन, उसमा यो सुनिसकेपछि शेरेप्रतिको आक्रोशित भावले सीमा नाघिसकेको मैले अड्कल गरेँ । मेरो पनि वाक्य बसेको   थियो ।  त्यो रात छ महिनापछि बल्ल धनेलाई मेरो कोठामा पस्ने फुर्सद मिलेको थियो, ऊ भन्दैथ्यो, मिनाको कम्प्युटरमा पनि उसले उस्तै पायो रे ! हप्काएर फेसबुक र याहु खोल्न लगाउँदा उसले रातभर केटाहरुसँग च्याट गरेको पाएपछि निराश भएर मकहाँ आएको रहेछ । ऊ छोरा-छोरीसँग सारै रिसाएको थियो । उसले तिनीहरूको खुट्टा भाँच्ने र कम्प्युटर फुटाइदिने कुरा गऱ्यो । उसका आँखामा आँसु र बोलीमा गालीको वर्षा थियो । उसको स्वयम् कता कता आफू कर्तव्यविमुख भएको आवाज पनि सुनिन्थ्यो । त्यो दिन मेरो धनेमा हाकिमको प्यारो कामदार भएर पैसा कमाउन व्यस्त हुँदा छोरा-छोरी र आफ्नो वृद्ध बाबुलाई बिर्सेको, उनीहरुप्रति दिनुपर्ने प्यार र निभाउनेपर्ने कर्तव्यबाट चुकेको आभास भएझैं लाग्यो । हुन पनि ऊ पुरै पैसाको नशामा भिजेको थियो, उसले भौतिक सुविधा र साधनको बाबजुद आफ्ना छोराछोरीलाई त्यसको उचित प्रयोग गर्ने मार्गनिर्देशन कहिल्यै गरेको थिएन । उनीहरूलाई समय दिई कर्तव्य र उपदेशका पाठहरु कहिल्यै सिकाएको थिएन । आफ्नो जीवनकथा र उनीहरुप्रति देखेको सपना कहिल्यै बाँडेको थिएन, न त बेला बेलामा उसले छोराछोरीको पारिवारिक, शैक्षिक र सामाजिक गतिविधि नै निरीक्षण नै गरेको थियो । उसमा त अमेरिकामा छोराछोरी आफ् से आफ् ज्ञानी भई डाक्टर वा इञ्जिनियर हुने भ्रम थियो । गल्ती महसुस गरिसकेकाले मैले उसलाई थप निरुत्साहित पार्ने कुरा गरिनँ ।  अझै आफूहरुसँग समय भएको तर, ढिला गर्न नहुने कुराको आभास गराएँ ।

शेरे त्यो दिनपछि पनि सधैंझै ढिलो घर आयो । बाबुले आफ्नो बारेमा सम्पूर्ण कुरा थाहा पाइसकेको उसलाई पत्तो थिएन । ऊ घर आउँदा आमा-बाबु र म नसुती बसिराखेका देख्ता अचम्बित भई मुख छोपेर बाथरूमतिर लागेको थियो । धनेले उसलाई ठुलो स्वरमा आफू नजिक आउन भन्दा ऊ नसुनेझैं गरी सरासर बाथरुम पसेर ढोका लक गरेको थियो । धने ढोकामा गएर अझै ठुलो स्वरमा कराउन थाल्यो र उसलाई बाहिर आउन भन्दैथ्यो-जवाफमा शेरेले 911 कल गर्ने धम्की दियो । त्यसपछि धनेले हार खाएझैं गरी कोठामा गयो । मैले सानो र मीठो स्वरमा शेरेलाई बोलाएँ, ऊ बाथरुमबाट निस्केर आफ्नो कोठातिर लाग्यो । म उसकै कोठामा गएँ र उसलाई घटनाको विस्तार बताउँदै सम्झाउन थालेँ । कतिबेला मेरा आँखाबाट आँसु आएछन्, मेरो आँसु देखेर होला ऊ अलिक गम्भीर र भावुक भएको देखेँ । ऊ सुनेको नसुनेझैं हुँदे सुत्न लाग्दैथ्यो, जब उसले सिटिङ रूममा बसेकी आमाको घुंक घुँक सुन्यो, जुरुक्क उठ्यो र सिटिङ रुममा गयो । ऊ आमालाई सरी भन्दैथ्यो; अबदेखि त्यस्तो नगर्ने कसम खाँदैथ्यो, बुहारी झन् डाको छोडेर रुन थाली । ऊ रुँदै केही बोल्दै पनि थिई, उसको सपनाको कथा थियो उसको आवाजमा । धने कोठाबाट निस्केर श्रीमतीलाई चुप लाग्न भन्दैथ्यो, मैले धनेलाई रोकें- कहिलेकाहीँ सपना बाँड्नुपर्छ, लक्षहीन हिँडेको सन्तानलाई आमाको सपनाले उनीहरूको कर्तव्यको आभास गराउँछ, हामीहरूको सपना खाली हामीभित्रै रहेकाले आफूलाई कर्तव्यहीन ठानेर नै आज हाम्रा सन्तानले यो बाटो लिएका हुन् । मैले यति भनेपछि धने चुप लागेर सोफानजिकै कुर्सीमा बस्यो । बुहारी पनि चुप लागी र सुँक सुँक गर्न थाली, शेरेले अबदेखि गल्ती नगर्ने बाचा गर्दैथ्यो । म छेउमा गएर आमालाई सम्झाइदिन आग्रह पनि गर्दैथ्यो ।

कोही बोलेका थिएनन्, सिर्फ बुहारीको चुक्चुक आवाजमा…मैले रात धेरै बितिसकेकाले छोरा-बुहारी कोठामा गई सुत्न आग्रह गरेँ र भोलिपल्ट शनिवार कोही काहीं नगई समस्याको समाधान गर्नुपर्ने बताएपछि उनीहरू कोठातिर गएका थिए । म मिनाको कोठामा गएँ, ऊ पनि सुतेकी रैन छे, घोप्टो परेर सुँक्सुँक गर्दै रै’छ । उसलाई उठाएर सोफामा बसाएँ र त्यो रातभर उनीहरूसँग गन्थन् गरी बिताएँ । उनीहरूलाई मेरो कहानी सुनाएँ ; आफ्नो पालामा स्कुलको नाम नसुनेको धनेलाई पढाउन खोजेको तर, भूटान सरकारले उसलाई भर्ना नलिएको, खाली हात र खाली दिमागले गन्तव्यहीन भएर भूटान छोड्नुपरेको, शिविरमा घर चलाउन र धनेलाई पढाएर डाक्टर बनाउने सपनामा पैसा कमाउँदा कमाउँदै हजूरआमाको क्यान्सरका कारण मृत्यु भएको अनि धनेको पढेर ठुलो मान्छे हुने सपना अन्त्य भएको कहानी …। अमेरिका आएपछि आफू जेलस्वरूप एउटा कोठामा सीमित हुनुपर्ने बाध्यता फारम भर्नुभन्दा अगाडि नै अन्दाज गरेको र अमेरिका आउनको कारण खुलाएपछि मिनाको मन भक्कानिएछ क्यारे, ऊ रुन थाली । मेरो पनि आँखाबाट आँसु आएछ; हुन पनि छोरा-बुहारी कामम, नाति-नातिनी स्कुल; न बाटो चिन्नु न त भाषा नै जान्नु आखिर मेरो सपना देख्दै कोठामा बस्नुशिवाय अरू के नै छ र..! सिर्फ सपनामा रमाउँदै भावुक भएर अब मैले सपनामा पनि रमाउन नसक्ने र, सिर्फ सन्तानको सपनामा पनि आनन्द लिन नसक्ने म अभागीले भाषा, साहित्य र संस्कृतिको संरक्षकको सपना देख्नु त धिक्कार नै थियो भनी आफैँलाई गाली-गलौज गरेको सुनेर शेरेले बल्ल मुख खोलेको थियो । कहिलेकाहीँ युवा अवस्थामा, युवा जोसमा अन्धा भएका युवाहरूलाई भावुकताको कथा सुनाउँदा उनीहरूको मन पग्लिएँदो रहेछ । उनीहरूको गल्ती औँल्याउनु भन्दा आफ्नो गल्ती निकालेर उनीहरूको कर्तव्यको आभास गराउँदा उनीहरूमा सकारात्मक विचारको विकास हुने रहेछ । बाबुलाई 911 कल गर्ने धम्की दिएको शेरेले एकाएक हात जोडी अब उसो आफूले यस्ता गल्तीहरु कहिल्यै नदोहोऱ्याउने र आमा-बाबुलाई भोलि नै माफ मागी आफू उनीहरूको सपना पूरा गरिदिने र मेरो भाषा-साहित्य अनि संसकृतिको संरक्षण गर्ने सपना पूरा गर्न लाग्ने कसम खाएको छ । उनीहरू दुवैले आफ्नो कर्तव्य नछोड्ने बाचा बाँधेका छन्, उचित हौसला र सहयोग पाएमा हराउनलागेको संस्कृति र भाषाको रक्षामा पनि मेरो नाति-नातिनीहरु लागेजस्तै हजारौँ भूटानी नाति-नातिनीहरु लाग्ने थिए होलान् भन्ने ठुलो आशा छ । हजुर त यस सिटीको मेयर, कृपया उनीहरूको यो जोस र जाँगरको मूल्याङ्कन गरिदिनुहुन्छ होला भन्ने ठुलो आशा लिई आएको छु । भूटानी टाठा-बाठा भनाउँदाको काम हेर्दा उनीहरूले जोस-जाँगर बोकेका भाइ-बहिनीहरुलाई अल्मल्याउनुशिवाय केही नजानेको पाएँ…कृपया मेरा शेरे र मिनाजस्ता हजाँरौं भूटानी बालबालिकाको सपना र जोस-जाँगरमा तपाईँहरूले साथ दिनुपऱ्यो…। म जस्ता हजारौँ भूटाना पिता-माताले देखेको सपना पूरा गरिदिन बिन्ती बिसाउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *