गजल-३३५
टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया
सिङ्गो इतिहास बोकेर बसाई सर्दाको त्यो पल
बिदाइको घुम्टो ओढेर तराई.झर्दाको त्यो पल।
अब त भुल्यौ होला गाउँ घर छोडी मध्यरातमा
डराउँदै दुई हात जोडेर मेची तर्दाको त्यो पल।
थोरै फर्किएर त हेर नेपाली माटोमा घुँडा टेक्दै
बालुवामा भाग्य कोरेर शरण पर्दाको त्यो पल।
एकैछिन त सोच कमिलाझैँ..लामा लस्करमा
बगडाको बोरा खोलेर अन्न..भर्दाको त्यो पल।
जाडै मिठो हिउँदको भाटाका पारदर्शी झुप्रामा
लौ उठाई… शीर सोचेर रात टर्दाको त्यो पल।
कहिले भोक प्यास त कहिले हैँजा लाग्दाखेरी
झाडीको ढिस्को रोजेर दिशा गर्दाको त्यो पल।
कसरी भुल्न सक्छौँ यस्तो महा इतिहास आफ्नै
पीडाले मुटु जोखेर आफन्त मर्दाको त्यो पल।