गोठे

Bidhya Sharma
कवि

विद्या शर्मा
काठमाडौ, नेपाल

टुक्रिएका चट्टानमाथि लटरम्म कुहिरो फलेको छ
फुस्रो मुस्कान बोकेका गोठे
टालिएको टेन्ट वरपर धुवाँ फलाउँदै छन्
सायद हावा तताउन !
लखतरान परेका चौरी चिसो भुईँमा असरल्ल छन्
म दर्शक कथा हेरिरहेछु
पात्रका दुःख पढीरहेछु
न्यानो ज्याकेट अनि तातो घाममा काँप्दै छु
ती दृश्यका कथा सँगसँगै…।

पर उभिएर अन्तिम कथा नियाल्दैछ,
एक बूढो चौरी
जसले देखेको थियो आफ्नी वृद्ध आमाको योगदान
यस्तै गोठे-गोठिनीको नाममा प्राप्त गरेको
एक सहादतको छुट्टै कहानी
तर उसलाई याद छ,
यो, त्यो खर्क होइन जहाँ उसकी आमा लीन भई
र उसलाई यो पनि थाहा छ
कि उसलाई समाधस्थल नि आउँदैछ
पर्सिको बिहान उठ्नेछ
तर नअस्ताउने पक्का छ
म आज, उसका आँखामा म व्यग्र भोक देख्दैछु
यी गोठे-गोठिनीको भोक मेटाउने
लेक लागेकी गोठिनी बज्यैको रोग मेटाउने…!

कान्छो गोठे,
भुईँ कुट्दै छ, बज्र लौरीले
अनि आफ्नो कुरुप भोकलाई घृणा गर्दैछ
सोनामकी बुढी चौरीलाई सुम्सुम्याउँदै छ
अनि मौन प्रश्न गरिरहेछ,
यी तमाम भोक आखिर केका लागि
यी अनवरत माया-मोह केका लागि
आँशुसँगै झरेका उत्तरका कण
ती पथ्थरमा यसरी विलिन भईरहेछन्,
मानौं, अब प्रश्न कबै उठ्ने छैन
प्रश्नले आँखालाई सोध्ने छैन…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *