वतनहीनताको पीडा : समकालीन भूटानी नेपाली कथा

इस्माली
काठमाडौं, नेपाल

 

नेपालको बेलडाङी शरणार्थी शिविरमा सन् १९९३ मा नेपाली भाषा परिषद भूटानका रूपमा जन्म लिई सन् २०११ देखि साहित्य परिषद भूटान हुन पुगेको भूटानी नेपाली शरणार्थीहरूद्वारा स्थापित साहित्यिक संस्थाले समकालीन भूटानी नेपाली कथा (२०१८) प्रकाशमा ल्याएको छ । भूटान सरकारद्वारा बलात् उठिबास लगाइएका लगभग डेढ लाख भूटानीको लर्कोमा केही कथाकारहरू पनि परे । तिनैको कलमबाट निसृतः यी कथाहरूको सङ्ग्रहण र सम्पादन गर्ने अभिभारा कथाकारद्वय यतिराज अजनवी र शिवलाल दाहालले वहन गरेका छन् । यसमा सङ्गृहित १६ कथाकारमध्ये संयुक्त राष्ट्र संघीय शरणार्थी पूनर्वास योजना अन्तर्गत हाल अमेरिकामा ७ जना,अष्ट्रेलियामा ६ जना,नर्वे र नेपालमा एकेक जना तथा एक जनाचाहिँ उठिबासमा परिनहालेकाले भूटानमै रहेका छन् । यी सोह्रभाइमध्ये हामीले भन्ने गरेको जनजाति ३ जना र अन्य १३ जनाचाहिँ खस समुदायका छन् तर भूटानमा यी सबै नेपाली (भूटानी नेपाली) अर्थात् ल्होछाम्पा(ल्होसाम्पा) हुन् । भूटानी सत्ताका नजरमा ल्होछाम्पाहरू ङोलोक्पा (देशद्रोही) हुन् , परचक्री हुन् , किनकि तिनको हृदयमा भूटानप्रति प्रेम उम्लिरहेको छ । तिनीहरूमा आफ्नो भाषा, भूमि, धर्म, संस्कारप्रति उत्कट प्रेम छ र त्यही प्रेम नै भूटानी सत्ताका लागि असह्य भयो र डेढलाख ल्होछाम्पासँगै यी सत्ताको कोपभाजन बन्नपुगे र सन् नब्बेमा भूटानबाट बलात् खेदिए । त्यसैले त्यही निर्वासनको पीडा र परिणति यस सङ्ग्रहको सबैजसो कथामा कुनै न कुनै रूपमा अभिव्यक्त भएको छ तर नब्बेको आन्दोलनले उठाएको समस्यालाई केन्द्रमा राखेर कथिएका कथा यसमा थोरै मात्रै छन् । त्यसैले आन्दोलनकारीले नै आन्दोलनको धर्म बिर्सेका पो हुन् कि भन्ने पनि कतिपय पाठकलाई लाग्न सक्छ । पूनर्वास योजना अन्तर्गत तेस्रो मुलुकमा पुगेपछि त्यहीँको रमझम र व्यस्त जीवनचर्याले तिनलाई आन्दोलनप्रतिको प्रेमबाट विचलित गराएको हो कि भन्ने लाग्न सक्छ तर यथार्थ त्यस्तो नहोला , खुकुरीको चोट अचानोले कहिल्यै बिर्सन सक्ला र !
भूटानमा साहित्यलेखनको इतिहास त्यति पुरानो होइन,त्यसैले कथालेखनको पनि । भूटानको सूचना प्रसारण विभागद्वारा सन् १९७९मा प्रकाशित नेपाली साहित्यिक पत्रिका ड्रुक लोसेलमा सन् १९८२ देखि कथा पनि प्रकाशित हुन थालेको देखिन्छ । हुन त यही पुगनपुग चार दशकको वयमा भूटानी साहित्यसँगै कथा पनि साइबर युगमा समेत उक्लिसकेको छ । निर्वासित भूटानी साहित्यकारहरूले चलाउने गरेको दजगतबलभकभष्तिभचबतगचभ।अयm त्यहाँको पहिलो अनलाइन साहित्यिक पत्रिका हो । यसमा कथा,कविता लगायत विभिन्न साहित्यिक सामग्रीहरू प्रकाशित हुने गर्दछ । तर भूटानमा नेपालीभाषीको उपस्थितिको इतिहास भने पुरानो छ । छैठौँ शताब्दीदेखि नै भूटान तिब्बतेली प्रभाव क्षेत्रभित्र रहेको पाइन्छ । त्यसैले तिब्बती कलासंस्कृति पनि भूटानमा त्यसै बेलादेखि मौलाइरह्यो । तिब्बती सम्राट श्रोङ चङ गम्पोकै पालादेखि त्यहाँ तिब्बती र नेपाली शिल्पकार–कलाकारहरूको आगमन हुन थालेको अनुमान इतिहासकारहरूले गरेका छन् । तिब्बती सम्राट श्रोङचङ गम्पोले त्यस्तै वास्तुको निर्माण गराउन नेपाली शिल्पीहरू पनि त्यहाँ पठाएको हुन सक्ने तथ्यलाई नकार गर्न सकिन्न । यो अस्वभाविक पनि होइन । १३ औँ शताब्दीमा तिब्बती कलामा अरनिको प्रवेशले एउटा बेग्लै लोकप्रियताको लहर चल्यो । त्यो प्रभावले पनि नेपाली कलाप्रति भूटानको मोह बढेको हुनुपर्दछ । पछि सन् १६२० मा शाब्दुङ ङावाङ नामग्यालले पनि काठमाडौँ उपत्यकाबाट नेवार शिल्पीहरू भूटानमा झिकाए र तिनीहरू त्यहीँ बसाइए । त्यसैले भूटानमा नेपालीभाषीहरूको बसोबास भूटान एउटा राज्यको रूपमा अस्तित्वमा आउनु (सन् १६४४) भन्दा धेरै पहिलेदेखिको हो । भोटन्त्य वा भोटको अन्त्य वा पुछारमा रहेकोले वा भू उत्थान (भुइँ उठेको ) जस्ता पदावलीको परिमार्जित रूप मानिने गरेको भूटान सन् १८६५ को एउटा सन्धिपछि तिब्बती आधिनबाट बेलायत अधिनस्थ भयो र १९४७ पछि भारतअधिनस्थ । सन् १९०७ मा बेलायती संरक्षणमै त्यहाँ राजतन्त्रको स्थापना भयो । नेपालीभाषीको आवादी उल्लेख्य र बहूल रहेको भएतापनि तिब्बती प्रभावमा रहेकोले तिब्बती मूलका सामन्त नामग्याल राजा हुन पुगे । आकारमा विश्वको १३५ औँ राज्यमा गणना हुने गरेको भूटानको क्षेत्रफल ३८,३९४ वर्ग किलोमिटर (१४८२४ वर्गमिल) लाई २० वटा जोङ्खाक् वा जिल्लाहरूमा तथा ३ वटा क्षेत्रहरू – पूर्वी (सार्छोप) , पश्चिमी(ङालोप) र दक्षिणी(ल्होछाम्पो) – मा विभाजन गरिएको छ । किरात, तामाङ, मगर, गुरुङ, बाहुन, क्षत्री आदि जातिसम्प्रदायका नेपालीभाषीहरू प्रायशः दक्षिण भूटानमा बसोबास गर्दछन् र कष्टकर कृषि व्यवसायमा लागेका छन् । यिनै नेपालीभाषी ल्होछाम्पो (दक्षिण भूटानी) को श्रम र रगतपसिनामा भूटान पालिएको छ र भूटानी हुनुको फूर्ति लगाइरहेको छ । सन् १९३० मा दक्षिण भूटानमा मात्र ६०,००० नेपालीभाषीहरू बसोबास गर्दथे र कृषि व्यवसायमा सङ्लग्न थिए । तिनताकाको भूटानी जनसङ्ख्या (१,१९,००० प्रक्षेपित अनुमान)मा यो सङ्ख्या आधिभन्दा पनि बढी थियो । अर्थात् सिङ्गो भूटान नेपालीभाषीहरूको पाखुरीको श्रमपसिनामा बाँचेको थियो । उनीहरूको भूटान प्रवेश भूटान राज्यभन्दा पनि जेठो थियो । उनीहरू त्यहाँकाले नै बोलाएर त्यहाँ गएका थिए । त्यहाँका आदिवासी भनाउँदाहरूभन्दा उनीहरू कुनै अर्थमा दोयम थिएनन र पनि कृतघ्न भूटानी राजाले तिनैलाई देखिसहेनन् । ल्होछाम्पाहरूको बहूल आवादीका कारण भविष्यमा सत्ताको केन्द्रबाट च्यूत हुन सकिने भयले शासक वर्गका मनमा पाप पलाउन थाल्यो । यिनलाई त हामीले सँधैभरि दबाएर , दलाएर आफ्नो अधिनमा राख्नुपर्छ भन्ने सामन्ती सोचले फणा उठाउन थाल्यो । आफ्नो कथित आदिवासी वर्चस्व कायम राख्न सत्ताधारी गालोप(ङालोप) षडयन्त्रको तानाबाना बुन्न थाल्यो ।(हुन त खास आदिबासी त डोया र ब्रोकपाहरू हुन् र तिनीहरू पनि षडयन्त्रपूर्वक वास्ता नगरिने समुदायमा पारिएका छन् , त्यसैले लोपोन्मुख हुँदै गरेको अवस्था छ)। सन् १९८० देखि त नेपालीभाषीलाई दुःख दिन सरकारले नागरिकता, राष्ट्रियता, पहिचान, धर्म र संस्कृति सम्बन्धी विभिन्न घाती र निरङ्कुश कदमहरू चाल्न थाल्यो । सन् १९५८मा दिइएको नागरिकताको निस्सा पनि छलपूर्वक खोस्ने र तिनलाई निस्साहीन बनाउने, जनगणनामा तिनको अभिलेखन नै नगर्ने जस्ता छलप्रपञ्च गर्न थाल्यो । यस्तो छल गर्दा पनि सन् १९८८को जनगणनामा नेपालीभाषीहरू ४५प्रतिशत अर्थात् २,४१,००० देखियो । भोटेको पोशाक बक्खु राष्ट्रिय पोशाक अनिवार्यतः लगाउने पर्ने,जोङ्खा बोल्नै पर्ने जस्ता नियम निर्धारण गरेर विभेदकारी किसिमले ल्होछाम्पाका लागि मात्र लागु ग¥यो । र ल्होछाम्पाहरू आफ्नो अस्तित्वको रक्षाको लागि मानवअधिकार र प्रजातान्त्रिक अधिकारका लागि आवाज गुञ्जायमान गर्दै जुर्मुराउन वाध्य बन्न थाले । राज्यसत्ताको अत्याचार सहन नसकी सीता मोथेजस्ता कतिपयले आत्महत्या गरे । मनबहादुर जस्ता कति त झुण््डयाइए । गोम्छेन कर्मालामा जस्ताहरू सडकमा मारिए । अधिकार खोज्नेहरूलाई आतङ्ककारी र देशद्रोहीको बिल्ला भिराइयो । अनि त जनविद्रोह उठ्यो । तर त्यो विद्रोह भारतसमेतको सहयोगमा दबाइयो र विद्रोहपक्षधरलाई देशबाट बलपूर्वक निकालियो ।

यस सङ्ग्रहमा सङ्कलित कथाहरूमा भूटानमा भोगिएको यस्तै कष्टकर जनजीवनदेखि त्यहाँ उठेको जनविद्रोह, उठिबास लगाएर खेदिँदाको कहर, नेपालका विभिन्न शरणार्थी शिविरहरूमा बस्दाका संघर्षमय तथा उपेक्षित दिनहरू अनि तेस्रो मुलुकहरूमा पूनस्र्थापित भएपछि झेल्नुपरेको कष्ट तथा हात लागेको सुखको चित्रणका विविध प्रसङ्गहरूसँग हाम्रो जम्काभेट हुन्छ र लाग्छ हामी पाठक पनि त्यहीँ तीसँगै त्यही यात्रामा हेलिएका छौँ ।
यस सङ्ग्रहभित्रका कथाहरूलाई तलका विभिन्न वर्गमा विभाजन गर्नु उपयुक्त ठहर्दछ ।

(क) भूटानभित्रका कथा : सत्ताको निरङ्कुशताका विरुद्ध ल्होछाम्पाद्वारा आफ्नो अस्तित्व रक्षाका लागि सन् नब्बेमा भूटानमा गरिएको विद्रोह र उठिबास तथा निर्वासन छलेर त्यहीँ बस्दाको द्वन्द्वमय र उपेक्षित जीवनको गाथाको चित्रणमा कतिपय कथाकारहरूको रुची अभिव्यक्त भएको छ । एडलेड अस्टे«लियामा रहेका अम्बिका प्रसाद दुलालको वसन्तहीन पखेरो,नेपालमा रहेका तुम्बेहाङ लिम्बुको एस.एल.आर.–थ्री,ओहायो अमेरिकामा रहेका भक्त घिमिरेको राजाको किदु ,पिट्सबर्ग अमेरिकामा रहेका रुप पोखरेलको निलो किताब ,नर्थ क्यारोलिना अमेरिकामा रहेका टि.पी.मिश्रको क्रसफायर जस्ता कथाहरूले भूटानी नेपालीको विद्रोहको विविध चित्र प्रस्तुत गरेको छ । तुम्बेहाङको कथाले विद्रोहपछिको भूटानमा ल्होछाम्पाको आन्दोलनप्रति युवाको समर्थन जुटाउने प्रयास गरेको छ भने अन्य कथाहरूले सन् नब्बेको विद्रोह वा आन्दोलनमा सत्ताको निरङ्कुश र बर्बर दमन र छलछामपूर्ण विभेदी व्यवहारको चित्र उतारेको छ । सत्यकथा भनिएको वसन्तहीन पखेरोकी नारी पात्र आन्दोलनमा लागेको लोग्ने थुनामा परेपछि सत्ताका सिपाहीजत्थाबाट पटकपटक बलात्कृत त भइन् नै, गर्भवती पनि भइन तर पनि उनले आफ्नो आन्दोलनकारी लोग्नेलाई सम्झेर ती यातनामय दिनका दुःखहरू महादेवले कालकुट विष पिएझैँ पिएर शिविरमा बसेर कुरिरहिन् उसलाई तर जेलबाट छुटेर आएको लोग्नेले उल्टै बैगुनी बनेर उनलाई बात लगायो र स्वीकारेन तर पनि बलात्कारी सेनाबाट जन्मेको छोरोको मुख हेरेर वसन्तहीन जिन्दगीमा कोई दिन त वसन्त झुल्केला भन्ने आशमा करुण र कष्टप्रद जिन्दगी बाँचिरहेकी नारीको मुखबाट नेपालीभाषीप्रति भूटानी सत्ताको अत्याचारको कथा कहेकी छिन् । एक प्रसङ्गमा उनी भन्छिन् –डोको र थुन्सेमा मरिकुच्चै भारी बोकेका,मसिना लालाबालाले पनि सकेजति पोकोपुन्तरो बोकेर बाटामा हिँडेका मानिसको धुइरो ताँती देख्दा मनै कँुडिन्थ्यो..कस्तो मन पोल्ने दृश्य..थातथलो त्यागेर हिँडनु पर्ने कस्तो बाध्यता ! ..यसरी मानिसहरू पलायन हुन थालेपछि…ओहो ! साराका सारा गाउँमा कुकुरहरूको विरहको अद्भूत रुवाइको कोकोहोलो सुन्न थालियो..त्यस्तो मार्मिक रुवाइ अढाईतीन महिनाजति चल्यो । त्यसपछि आर्मीहरू गाउँ पसेर सबै कुकुरहरूको निर्मम हत्या गरे..मान्छेलाई त भाको नभाको आरोप लाउँदा चलेकै थियो । कथङ् ती निर्दोष कुकुरहरूले राजाको मुकुट खोस्ने त थिएनन्..।
भूटानी सत्ताको खेदाइ छलपूर्ण ,निर्मम र बर्बर रह्यो । कतिसम्मभने विगतमा राम्रो काम गरेको भनेर राजाबाट फुल्टिन र झोला बकस पाएका ल्होछाम्पाहरू, भूटान स्टेट सरकारबाट १९५८मा खजाना तिरेको प्रमाणस्वरुपको निलो किताब भएकाहरूपनि परे यो खेदाइमा । राजाले चारोटीसँग बिहे गर्दा बिहे खर्च वापत चन्दा दिनेहरूपनि परे खेदाइमा । तिनीहरूसँग भएको यावत् वैधानिक प्रमाणहरू खोसेर सेना–पुलिसले लिए र नाङ्गेझार पारेर भूटानी सीमा कटाइए ती । कथाकार रुप पोखरेलले निलो किताब कथामा आफ्नै भक्तभक्तिनीप्रति निर्दयी र बैगुनी बनेको भूटानी राजाको यो निर्दयताको जीवन्त चित्र अमेरिकामा निस्सासिँदो शरणार्थी जीवन बिताइरहेकी कमलकी राजावादी ८० वर्षे बुढीआमामार्फत् अभिव्यक्त गरेका छन् । त्यसरी खेदिएकाहरूमध्ये लाखभन्दा बढी नेपालको बेलडाँगी,शनिश्चरे,खुदुनाबारी ,तिमाल,गोलधाप शिविरहरूमा तथा तिस हजार जति भारतीय प्रहरीको आँखा छल्दै आसाम र बङ्गालमा शरणागत बने । शरणागत हुने क्रम पछिसम्मै पनि जारी रह्यो ।
मेलवर्न अष्टेलियामा रहेका विशु निछाको गाउँ र केही दृश्यहरू कथाले गाउँमा किशोरी युवतीहरूको असुरक्षाप्रतिको चिन्ताका बीच त्यस्ता केटाहरूलाई तह लगााउने लडाकु केटीको चित्र प्रस्तुत गरेका छन् भने भूटानमै रहेका छत्रपति फूएलको अतृप्त पर्खाइ कथामा निर्वासनमा रहेको घरमुलीको पर्खाइमा भूटानमा रहेका परिवारको मनोदशाको चित्र उतारिएको छ । यसको कथानक त्यति पत्यारिलो किन पनि छैन भने ङोलोक्पाको बात लागेको मान्छेको घरपरिवारले त्यति आनन्दले त्यहाँ बस्नबाँच्न सक्ने वातावरण त्यहाँ छँदैछैन । हुन त आफू भुटानमै रहेकाले हुनसक्छ फूएलले मध्यमार्गी बाटो अख्तियार गरेका होऊन । नेपालको त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका दोरोखा टारीगाउँका छत्रपति राज्यद्वारा तिरस्कार गरिएको र भूटानभित्र लेख्य रूप हराउँदै गएको भूटानी नेपाली भाषाको नेपाली भाषा शिक्षक पुस्तक लेखेर भाषाको सेवामा पनि जुटेका छन् । स्मरण रहोस् सन् असीको दशकदेखिनै सरकारी प्रतिबन्धका कारण भूटानमा नेपाली भाषा भूमिगत छ । भाषामाथिको यस्तो प्रतिबन्ध जगतमा विरलै सुनिन्छ तर भूटानमा आधिभन्दा बढी जनसङ्ख्याले बोल्ने नेपाली भाषा प्रतिबन्धित छ ।

(ख) शिविरमा शरणार्थी जीवन : नेपालका विभिन्न शिविरमा शरणार्थी जीवन बिताइरहेका भूटानी नेपालीको चित्र उतार्ने कथाहरूमा केण्टकी अमेरिकामा रहेका बुद्धमणि ढकालको मास्टरी पेशा–भोगान्तर,नर्वेमा रहेका रमेश गौतमको भूगोलहीन ः एउटा अमूर्त प्रेम आदि कथाहरूमा अभिव्यक्त भएको पाइन्छ । दुबै कथा बोर्डिङमा मास्टरी गरेर स्कुलले मात्र नधानिने भएर आफ्नो शरणार्थी जीवन गाडा धान्न सास समेत फेर्न बिर्सेर ट्युसन समेत पढाउन बाध्य भएका शिक्षकहरूको हो । दुबै कथामा निर्वासनको कथा पनि बीबीचमा आउँछ । एउटा शिक्षक भूगोलहीन भएकोले समर्पित प्रेमबाट पनि जीवन रातो गुलाफ होइन भन्दै भागीहिँडछ ,उता उसको खोसिएको भूगोल भूटानचाहिँ भारतीय इसाराको आडमा आफ्नै भूमि नङ्ग्याइरहेको देख्छ । र पनि ऊ आफ्नै मुटु छोएर कामना गरिरहन्छ –‘भूटान दोश्रो सिक्किम नहोस ।’ अर्को मास्टर शहरको महँगी र व्यस्त जीवनबाट आजित भएर गाउँ पस्ने योजना बुन्छ ,शिविरमै रहने सोच सँगाल्दछ ताकि भोलिका दिनमा तेश्रो मुलुकको पूनर्वासमा जान पाइयोस । प्रा.डा.भट्टराईको यी शब्दहरू –‘..तेश्रो मुलुक पठाउने निर्णय भएपछि हिजोका आन्दोलनकारी अघि लागेर ती सिट ओगट्न अज्ञात भूमितिर कुदेपछि मैले लेखेँ अब तिनीहरू क्लिक,डिलिट र ओके हुनेछन् – निरर्थक लेखिएका होइन रहेछन् भन्ने जोसुकैलाई पनि लाग्न सक्छ ।’
यी दुई कथाबाहेक (ग)वर्गमा उल्लेख गरिएका केही कथामा पनि पूर्वस्मृतिका रूपमा नेपालप्रसङ्ग ठाउँठाउँमा पाइन्छ । यात्राको नायकपात्र नेपाली भाषा भनेपछि हुरुक्कै हुन्छ ,उसलाई नेपाल र भूटान उस्तै लाग्छ । आमाबाबुले रुँदै डोकोमाथि बाकस अनि बाकसमाथि उसलाई बोकेर कालिखोला बजारहँुदै भूटानभारतको सीमासम्म ल्याउँदा पनि ऊ हाँसिरहेको थियो तर त्यो हाँसोमा जीवनभरको कालो दिन लुटपुटिएको कहिल्यै सोचिनछु भनी पछुतो मान्दछ । देशमा हँुदाभन्दा देशबाहिर रहँदा भाषाको महत्व बढी हँुदोरहेछ , त्यसले मानिसको अस्तित्व र पहिचान जोगाइराख्दछ भन्ने उसको ठहर छ । तर इच्छापत्र कथामा मैदाली बा भन्दछन् – ‘भाषा, संस्कृति,जाति केही नमिल्ने भूटानी शासकले गरेको ज्यादतीभन्दा आफ्नै नेपाली दाजुभाइ र रगतको नातेदारले गरेको शोषणले कैयौँ गुणा बढता दुख्छ । अर्काले घोचेकोमा भन्दा आफ्नाले पराइ सोचेकोमा धेर दुख्दो रहेछ मान्छे ।’

(ग) तेश्रो मुलुकमा शरणार्थी जीवनः संयुक्त राष्ट्र संघीय शरणार्थी पूनस्र्थापन केन्द्रद्वारा विश्वका विभिन्न मुलुकमा सन् २००८ देखि पूनस्र्थापित भएपछिको जीवनको चित्र उतार्ने कथाहरूमा कोलम्बस अमेरिकामा रहेका गङ्गाराम लामिटारेको पछुतो,अल्बरी अष्टे«लियामा रहेका दुर्गा रिमालको यात्रा,एडलेड अष्टे«लियामा रहेका देवी पोखरेलको फूलमाया र यतिराज अजनबीको इच्छापत्र, ओहायो अमेरिकामा रहेका प्रतिमान सिवाको फेरि उनले कहिल्यै आत्महत्या गरेनन् , पिट्सबर्ग अमेरिकामा रहेका रुप पोखरेलको निलो किताब रहेको छ । यी कथाहरूमा वतन नहुनुको पीडा, शरणार्थी भनिएर दयाको पात्र बनाइनुको पीडा, भाषा नजानेर अभिव्यक्त हुन सकस हुनुको पीडा,विकसित प्रविधिसँग अनजान हुनुले भोग्नु परेको पीडाआदिले मनमा निराशा,कुण्ठा,अवसाद पालेर मृत्यु पर्खिरहनु पर्ने वा आत्महत्या गर्नुपर्ने विवशतामा रहेको तिनको जीवनको विविध चित्र प्रस्तुत भएको पाइन्छ । पछुतो, फूलमाया र फेरि उनले कहिल्यै आत्महत्या गरेनन् कथाहरूमा जीवनबाट निस्सासिएर ,अप्ठ्यारा परिस्थितिले जेलेर निस्कने बाटो नदेखेपछि निराश भएर वा ग्लानी भएर आत्महत्या गरेको सन्दर्भहरू नै छन् । शरणार्थी जीवनको यो विचारणीय पक्ष हो । दुनियाँले देख्दा, एउटा कोणबाट हेर्दा, ती अमेरिका,बेलायत,क्यानाडा आदिजस्ता समृद्ध सुविधासम्पन्न देशमा छन् , ऐशोआराममा छन् भन्ने हुन्छ तर त्यहाँ गएकाहरूको हविगत बयान गरी साद्दे छैन । तिनको ज्यान परदेशमा छ , मनभने भूटानमा छ । देश अब देख्न नपाइने भयो,माटो अब टेक्न नपाइने भयो,घरमुनिको कान्लाको बुटासँग सम्बाद गर्न नपाइने भयो,घरमा पालेका घरपालुवाले आफ्नो सम्झनामा कतिञ्जेल आँसु बगाए , के भए ती ? घाँस पराल कसले दियो बरा..ड्वाँ ड्वाँ गर्दै कतिञ्जेल रोइकराइ गरे होलान ..घरगाउँका पहरेदार कुकुरहरूलाई कसले खान दियो होला..बरा ती अन्जान पशुहरूको रोदन क्रन्दन…त्यस्तो चिन्ता बेग्लै छ ..मन घरिघरि तिनै गाउँपाखामा चहार्न थाल्छ..अनि समृद्ध मुलुकमा आएर अल्लारे अज्ञानी अबुझ छोराछोरीहरू बेरोजगार भएर कुसङ्गतमा परेर कुलतमा लागेकोले मन पोलेको पीडा, बृद्ध आमाबालाई अलपत्र पारेर आफ्नो बन्दोबस्तमा लागेको पीडा, धर्म छोडनुको वेदना आदि बेग्लै छ । धार्मिक सांस्कृतिक विचलनका कुरा पनि छन् । कोही कोही खुसी पनि छन् । सन्तानहरूले पनि राम्रै इलम पाएका छन् त्यसैले ती खुसी पनि छन् । त्यस्ताले हिजो बिर्सेका पनि छन् ..। अर्को कोणबाट हेर्दा विश्वको सम्पन्न साम्राज्यवादले उनीहरूलाई आफ्नो हकअधिकार दिलाएर आफ्नै माटोमा पूनस्र्थापन गर्नुको साटो निरङ्कुश सामन्ती शासकको दुर्भावनालाई मलजल गर्दै कत्ति न सहानुभूति सद्भाव देखाएजस्तो गरी शरणार्थीका रूपमा अर्को देशमा पूनस्र्थापन गरेको छ र उनीहरूको आन्दोलनलाई तुहाइदिएको छ । समस्याको यो पाटोमा कथा श्रष्टाहरूको ध्यान पुगेको छैन ।

(घ) एडलेड अष्टेलियामा रहेका आइ.पि.अधिकारीको कथा भोलि मा अत्याधुनिक मुलुकका मानिस यान्त्रिक र आधुनिक प्रविधिमैत्री बन्दै गएको तथा मानिसको जीवन यन्त्राधारित हुँदै गएको चित्र उतारेका छन् । उक्त कथामा भूटान कतै बोलेको छैन , न त भूटानी नै छन् ।

(ङ) एटलाण्टा अमेरिकामा रहेका डेन्जोङ साम्पाङले काँचुली कथामार्फत् शरणार्थीको नयाँ र प्रेरक परिभाषाबाट आत्म सन्तुष्टि प्राप्त गर्ने प्रयास गरेका छन् । एक प्रसङ्गमा त्यसका एक पात्र गुरु भन्दछन् –‘आइन्स्टाइनको प्रसङ्ग..शरणार्थी भनेका शरण लिएर बाँच्नेमात्र होइनन् ,विश्वलाई परिवर्तन र नयाँ आविष्कार दिनसक्ने मान्छे पनि हुन् । दरिद्र सोच बोक्नेहरूले मात्र शरणार्थीलाई अपहेलित नजरले हेर्छन्..।’ कति सटीक र मार्मिक भनाइ छ !
यी कुराहरूबाहेक कथाहरूमा अन्य मर्मस्पर्शी प्रसङ्गहरू पनि यथास्थान आएका छन् ।
तर विशु निछाको गाउँ र केही दृश्यहरू र आइ.पि.अधिकारीको कथा भोलि भूटानको शरणार्थी नेपालीसँग,ल्होछाम्पाको आन्दोलनसँग जोडिन सकेको छैन । शरणार्थीले लेखेको कथामा शरणार्थीको पीडाको उद्बोधन छैनभने शरणार्थीले आफू शरणार्थी हँु भन्ने यथार्थ बिर्सिसकेको भनी पाठकले ठानिदिन सक्छन् ।
अहिले भूटानी शरणार्थीहरू १ लाख ९ हजार जति तेश्रो मुलुकमा र १२,००० नेपालमा र सम्भवतः केही हजार भारतको आसाम,बङ्गालमा रहेको आकलित अनुमान गरिन्छ । ती शरणार्थीहरूको अबको बाटो के हो भन्ने कुरो समकालीन भूटानी नेपाली साहित्यले पहिल्याउनु आवश्यक छ ।
शरणार्थी समस्याको आरम्भ सन् १९९० देखि भयो । तर यसको थालनीमा सरकार सन् ८० देखि नै लाग्यो । विद्यालयहरूमा नेपाली भाषाको पठनपाठनमा रोक लगाइयो, भूटानी पहिरन बलात् थोपरेर अनिवार्य गराइयो,नेपाली बोल्न नपाइने जोङ्खा अनिवार्य बोल्नु पर्ने उर्दी जारी गरियो ..र यस्ता नियमहरू ल्होछाम्पाका लागिमात्र लागु गरियो । यी कुराका विरुद्ध आवाज उठाउनेलाई देशद्रोही ,आतङ्ककारी घोषित गरियो । कतिपयलाई गिरफ्तार गरी जेलमा कोचियो । कतिपय मारिए ,कतिपय बेपत्ता पारिए । बाँकीलाई देशनिकाला गरियो । यसरी देशनिकाला हुनेको सङ्ख्या आरम्भमा १,५०,००० रह्यो । सन् ९० को जनगणनामा नेपालीभाषीहरू ४५ प्रतिशत अर्थात् लगभग २,४०,००० थिए । आन्दोलन विफल भएपछि तिनको सङ्ख्या १ लाख भन्दा पनि थोरै हुन गयो । यसरी एक चौथाईलाई खेदेर अचेल भूटान बढत राष्ट्रिय खुसी (नचयकक लबतष्यलब िजबउउष्लभकक) भएको मुलुकमा दरिएको ढ्याङ्ग्रो बजाइरहेको छ । आफ्ना वृद्ध मातापितालाई घरबाट लछारपछार गर्दै परदेशी सडकमा लडाएर आनन्दले निदाउने बैगुनी कृतघ्न सन्तानलाई दुच्छर जोरीपारीले ठिक गरिस् कान्छा भनेर धाप मारेझैँ भारत र विश्वका साम्राज्यवादी मुलुकहरू अनि तिनको जुठोपूरोमा बाँचेको संयुक्त राष्ट्र संघ नेपालीभाषी भूटानीहरूलाई ससम्मान स्वदेश फिर्ति गराउन र खोसिएको भूमि तिन्लाई सुम्पनुको साटो ग्ल्ज्ऋच् को पहलमा सन् २००८ देखि विश्वका अन्य देशहरू–अमेरिका, अष्टेलिया, क्यानाडा,डेनमार्क,नेदरल्याण्ड,न्यूजील्याण्ड,नर्वे,बेलायत आदि – मा शरणार्थीका रूपमा पठाउने काम ग¥यो । अहिले त्यसरी पूनर्वासमा गएकाहरूको सङ्ख्या लाख नाघिसकेको होला । अहिले ती शरणार्थीहरू देश नभएका नागरिकका रूपमा आफ्नो दुःखपूर्ण जीवन धानिरहेका छन् । अफगानिस्तान, ईराक जस्ता देशहरूमा मानवअधिकारको उल्लङ्घन भएको देख्नेहरूले भूटानमा भएको मानव अधिकारको उल्लङ्घनप्रति पटक्कै लाजशरम नमानी आँखा चिम्लने गरेका छन् । भूटानी नेपालीको निर्वासनको भूटानी सरकारको कपटपूर्ण कृतघ्नताको यो कुकृत्यमा सघाउने भारत शकुनी बनेको छ । संसारको महानतम लोकतन्त्रको दमाहा बजाउने भारतीय सरकारले भूटानमा मानव अधिकार र लोकतन्त्र वहाल गराउन आवश्यक ठानेन । नेपालका तराइबासीलाई छुट्टै राज्य बनाउनका लागि उकास्ने भारतीय लोकतन्त्रले भूटानी नेपालीको आफ्नो भूमिमा बस्न पाउनुपर्ने नैसर्गिक अधिकारबारे चुँ..सम्म पनि बोलेन ,बरु भूटानबाट खेदिएर भारतीय भूमिमा टेक्न पुगेका तिनलाई भूटान फिर्ता पठाउनुको साटो ट्रकमा हालेर मेची कटाएर नेपालमा भित्र्याइदियो । भारतको खलनायकी भूमिकाको उल्लेखन कथाकार रमेश गौतमको कथा भूगोलहीन : एउटा अमूर्त प्रेम कथामा यसरी गरेका छन् – भारतीय इसाराको आडमा भूटान आफ्नै भूमि नङ्ग्याउँदै रह्यो ..भूटान दोश्रो सिक्किम नहोस्..।

प्रा.डा.गोविन्दराज भट्टराईले कथासङ्ग्रहको भूमिकामा लेखेका पनि छन् –‘भूटानले निष्कासित ग¥यो,भारतले बाटैबाटा धपायो ,नेपालले नीरिह भएर रुवावासी ग¥यो र अरू पश्चिमी दलालहरूले रोटीपापा केन्द्रमा पु¥याएर त्यो पीडा बिर्साउन खोजे ।’ तर यथार्थ के हो भने तिनले ती शरणार्थीलाई सदाका लागि देशविहीन बनाउन खोजे ।
भूटानी शरणार्थी समस्या ज्युँदै छ । झण्डै २ लाख शरणार्थी देशबाहिर रहेका भएतापनि देशभित्र भूटानी नेपालीको अवस्था के छ भन्नेमा कसैको ध्यान गएको छैन । २०१८ को तथ्याङ्क अनुसार भूटानको जनसङ्ख्या ८ लाख छ जसमध्ये २५ प्रतिशत हिन्दू छन् , त्यसैले कम्तिमा पनि त्यहाँ २ लाख नेपालीभाषीहरू छन् । भूटान सरकारको बर्बरता र निरङ्कुशताका कारण त्यहाँ रहेका नेपालीभाषीहरू पनि अमनचैनमा छैनन् ,नारकीय जीवन बिताइरहेका होलान् भनी सहजै अनुमान गर्न सकिन्छ । तर त्यसबारेमा कुनै मानवाधिकार संस्थाहरू बोलिरहेको सुनिन्न । आफ्नो निरङ्कुश ,बर्बर र कसाई अनुहार छोपछाप पार्न भूटानी सरकारले बहुदलीय प्रजातन्त्र स्थापना गरेको र संवैधानिक राजतन्त्रात्मक व्यवस्था बहाल गरेको प्रायोजित भ्रमको खेति गरिरहेको छ ।
भूटानी नेपालीको समस्या मध्यपूर्वको प्यालेस्टिनी समस्याजस्तै समस्या बन्नपुगेको छ । प्यालेस्टिनीहरू धनाढ्य यहुदीहरूबाट अपदस्थ गरिएभने भूटानी नेपालीहरू ङालोप र सार्छोपहरूको वर्चस्व रहेको भूटानी सत्ताबाट । प्यालेस्टिनीहरूले अरब जगतबाट सहयोगसहानुभूति पाए , ती अझै पनि आफ्नो भूमिमा फिर्तिका लागि लडिरहेका छन् तर भूटानी नेपालीहरूलाई सहयोग गर्ने कुनै उत्प्रेरक शक्ति अगाडि सरेन । नेपाली मूलका भएकाले ती नेपाल आउन बाध्य त पारिए ,वंश गोत्र सम्झेर ती नेपाल त भित्रिए तर नेपाल आफैँ निम्छरो पाए ,सरकार जोइटिङ्ग्रे । अनि मानवाधिकार र विश्वशान्ति र लोकतन्त्रका ठेक्का लिएर राजालाई सघाउँदै शरणार्थीलाई निकै माया गरेझैँ गरी तिनको पूनव्र्यवस्थापनमा लागे । इराक,अफगानिस्तान,लिबिया आदि देशमा मानव अधिकारको बहालीका लागि सैनिक हस्तक्षेप गर्दै आक्रमण गर्नेले भूटानमा त्यसो गर्नु आवश्यक देखेनन् । बिचरा प्रजातन्त्रवादी टेकप्रसाद रिजाल विश्व समुदायसँग मानव अधिकारको गुहार माग्दै रहे तर तिनको गुहार अरण्यरोदनभन्दा बढी केही हुन सकेन । भूटानी शरणार्थीको तेश्रो मुलुकमा पूनस्र्थापन रुपमा देख्दा आडिलो भएतापनि सारमा त्यो समस्यालाई विलय गर्ने षडयन्त्र नै हो ।
अब डर के छ भने विदेशमा शरणार्थीका रूपमा गएकाहरूमध्ये अग्रज पुस्ता बुढाबुढी तथा अबला,अशिक्षितहरू कुण्ठा,निराशा,अवसादवश आत्महत्या गर्ने वा अवसादमा मृत्यु कुर्ने र ऊर्जाशील नयाँ पुस्ता पौरख गर्ने पुस्ता अत्याधुनिक रमझममा भुलिएर देश बिर्सने ,माटो बिर्सने र निर्वासन बिर्सने र तिनका सन्तान भोलिका दिनमा गैरआवासीय भूटानी बनेर ग्रस नेशनल ह्याप्पिनेस भएको ड्रैगन कण्ट्री हेर्न पर्यटक बनेर थिम्पु घुम्न आउने पुस्तामा रुपान्तरित हुनेछन् । र , भूटानमा अधिकारका लागि ,पहिचानका लागि ल्होछाम्पाहरूले गरेको संघर्ष एकादेशको कथा बन्ने छ , त्यहीँ रहन गएको ल्होछाम्पाहरू शनैःशनैः ङालोप र सार्छोपमा रुपान्तरित हुँदै जानेछन् । यसतर्फ भूटानी नेपाली साहित्यकारहरूको सजगता सचेतता वाञ्छित छ । त्यसैले सन् ९० को आन्दोलनको चेतनालाई अब जातीय मात्र हैन वर्गीयताको बर्को ओढाउनु पनि आवश्यक छ । भूटानमा हुनेखाने गालोप र सार्छोपहरूबाट हुँदाखाने गालोप र सार्छोपहरू पनि पीडित छन्, शोषित छन् । भूटानी जनताको आङ तताउन तिनको पीडालाई पनि सम्बोधन गरिनु पर्दछ । वर्गीय चेतयुक्त साहित्यको प्रचारप्रसार भूटानमा बोलिने जोङ्खा,छाङला लगायत अन्य भाषाहरूमा पनि लेखिनु वाञ्छनीय छ ।
यो सङ्ग्रहमा थोरै विचार पु¥याएर मेहनत गरिदिएको भए एउटा कालजयी कृति बन्न सक्थ्यो , शरणार्थी समस्याका विविध पाटाहरूमा भागवण्डा गरेर कथाहरू लेखिएको भए यो सङ्ग्रह निकै महत्वपूर्ण साहित्यिक कृति बन्ने थियो तर त्यसो हुन सकेन । जसले जेजस्तो लेख्यो बटुलबाटुल पारेर सङ्ग्रहको रूप दिइयो । हुन त लेखकसम्पादकहरूका पनि आआफ्ना समस्या र सीमा हुने नै भयो ।
सङ्ग्रहका कथाहरूमा कतिपय त्रुटीहरू छन् ,कथानकको कमजोर बुनोट, कथाको अनावश्यक विस्तृति , गैरनेपाली शब्दहरूको प्राचूर्यता आदितिर रचनाकारहरूको ध्यान जानु आवश्यक छ । डायोस्पोरा साहित्यमा हाम्रो समृद्धि भयो भनी मक्ख परेर बस्ने हो वा साहित्यमार्फत् विश्व जनमत तयार पार्ने हो ?
भूटानी शरणार्थी समस्याको हल के हो ? पीडित शरणार्थीहरूका लागि अबको बाटो के हो ? अहिले लाखभन्दा बढी भूटानी शरणार्थीहरू तेश्रो मुलुकमा छन् । उनीहरूले आफ्ना कुरा विश्वसँग भन्ने अवसर पाएका छन् । भूटानभित्र पनि ल्होछाम्पाहरू छन् । उनीहरूको भूमिका के छ , के हुनु पर्ने हो ? भुइँचालो,बाढी पहिरोआदिजस्तो प्राकृतिक विपत्तिको कुरो होइन यो । आज ल्होछाम्पालाई खाने बाघले भोलि सार्छोप , डोया,ब्रोकपालाई पनि खान सक्छ । देश फिर्तिका लागि भूटानभित्रकै अन्य समुदायहरूको सद्भाव सहानुभूति कसरी जुटाउन सकिन्छ ? नेपालीभाषीहरू नेपाल फर्कनु पर्ने हो भने ङालोपहरू तिब्बत वा चीन किन नफर्कने ? अन्तर्राष्ट्रिय समुदायले शरणार्थी समस्याको समाधानमा ध्यान दिनुको साटो किन तेश्रो मुलुकहरूमा तिनलाई पूनस्र्थापन गरेर यसलाई तुहाउन खोजिरहेका छन् ? यो समस्यामा चीन र भारतको सकारात्मक पहल आवश्यक छ । भूटानी नेपाली साहित्यले यस्ता कुराहरूको पनि सम्बोधन गर्नु वाञ्छनीय छ ।
कथा सङ्ग्रहमा सानातिना कमजोरी रहेको भएतापनि यसले भूटानी समस्याको धेरै कुराहरू बोलेको छ । मानसभरि देशहीनताको आघात बोकेर पनि यतिसम्म लेख्न सक्नु धन्य हो ! साभार: इच्छुक पत्रिकाबाट
(यस लेखमा प्रयुक्त तथ्य र तथ्याङ्क चर्चेय कथासङ्ग्रह र विकिमा उपलब्ध सामग्रीमा आधारित छ ।)

(अनलाइन पत्रिका कालीगण्डकी खबर डटकम  www.kaligandakikhabar.com मा आइतबार माघ २० गते २०७५ को अङ्कमा “वतनहीनताको पीडा: समकालीन भूटानी नेपाली कथा” शीर्षकमा प्रकाशित । लेखकको अनुमतिमा साभार गरिएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *