मैले, आज चाबी बुझाएँ!
दुर्गा आचार्य
टेक्सस, अमेरिका
जीवनको बागडोर थियो कि
भविष्य खुलाउने त्यो चाबी
उकासेर परिपूर्णतामा पुर्याउने
वा
जीवनको अन्त्य बनाउने
लछारेर पछारेर
सबै सामु नङ्ग्याउने !
हो, त्यही चाबी
त्यही चाबी मैले बुझाइदिएँ
आजै मात्र बुझाएँ
म नाङ्गिएको थिएँ
मैले लुटाएको थिएँ आफैँलाई
म कुटिएको थिएँ कता कता
जसलाई म खुलाउँथेँ
फूलाउने थिएँ , बँडाउने थिएँ भन्थेँ
कटुतालाई सत्यतामा
सत्यतालाई यथार्थतामा
र, त्यही यथार्थतालाई
प्रयोगात्मक परीक्षणमा ढाल्दै थिएँ
अभाग्यवश,
त्यो चाबी मेरो रहेन अब
जिम्मा दिएँ- जसको थियो उसैलाई ।
चिप्लो बाटोमा
चिप्लिएर “छत्तिस” पल्ट लडे पनि
चाबी साथै थियो
हराइनँ त्यसलाई
“सात अन्तरिक्ष यात्रा” मा
घामको तापले नगलेको
त्यो चाबी
विश्वास गर्दथेँ
जसले मेरो अतीत
मेरो तिक्तता
मेरो रिक्ततालाई
ओझेलमा पारी, नौलो यथार्थता
सपना र,
सानो चाहाना पुरा गर्ने थियो होला ।
त्यो फलामे चाबीको
धेरै ठुलो अनिवार्यता
आवश्यकता
पटक्कै थिएन मलाई
बाङ्गिएकै भए नि, थोत्रो
मैलो चाबीमा सन्तुष्ट त थिएँ
उदाउँदै गरेका ताराहरू
स-साना जुनहरू
खसाल्नु थिएन
न कि मैले
“मिल्किवे”मा
समुन्द्र खडा हुन खोजेको नै थिएँ ।
मेरो चाबी के ठुलो थियो र !
भोटे ताल्चा
फलामको लाहाले बनेका
ती
ती वास्तविक बलिया ताल्चाहरू
मेरो सानो चाबीले
के, खुल्ने थियो त !
–असम्भव ।
एउटै ताल्चा बनाउने त भन्दथे
मलाई सुईको नै थिएन
ताल्चाको उपयोगिता
र, त्यसको प्रयोग
थाहा थिएन वास्तवमै
अनि
“दश” चाबीहरू एक्कठ्ठ गरी
सिङ्गो
धेरै ठुलो र बलियो
एकीकृत गर्ने इच्छा थियो
अन्तत:
ओझेल परेको छाया
अझ शीतल खोज्दै जाँदा
ठूला रुखमुनि
बादलले धमिलो भएको बखत
त्यो छाया बिलायो
अनि, सोचेर
मैले आज चाबी बुझाएँ ।