गजल-४४६

तिला अधिकारी
तासमनिया, अस्ट्रेलिया

मन बुझाउने ठाउँ खोजी दौडिरहेछु यो सहरमा
छातीमाथि चट्टान राखी हाँसिरहेछु यो सहरमा ।

यता हेर्छु उता हेर्छु जताततै कोलाहल छ
सम्झनाकै भर गरी बाँचिरहेछु यो सहरमा ।

मन लोभ्याउने समुन्द्रका छालहरू फिका लाग्ने
खै कुन्नि कस्तो सजाय भोगिरहेछु यो सहरमा ।

थाहा छैन के भो जिन्दगी ठिङ्ग उभिएको रुख झैँ
सम्झनाहरू मनमा लिई तड्पिरहेछु यो सहरमा ।

अनजान ठाउँ अनजान गाउँ अन्जानै छन् मान्छेहरू
अनजान ठाउँमा मेरो “दिल” खोजिरहेछु यो सहरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *