तिन प्रश्न

राधा काफ्ले कविता लेखनमा परिचित नाम हो । उहाँ बिचगाउँ सर्वाङ भुटानमा जन्मनु भएको हो । पुर्नवास पछि अहिले टोरन्टो क्यानडामा बसोबास गर्नुहुन्छ । भुट्नीज क्यानेडियन एसोसिएसनकी निवर्तमान भाइस प्रेसिडेन्ट राधा काफ्लेको कविता कर्ममाथि जे एन दाहालका तिन प्रश्न:

१. साहित्यका विविध विधा मध्ये कविता नै किन लेख्नुहुन्छ ? तपाईँका लागी काव्य के हो ? कविता लेख्दा कस्तो अनुभूत हुन्छ ?

कविता यस्तो विधा हो जहाँ बिम्ब र प्रतीकको स्वाद हुन्छ । अरूको पढ्न र सुन्न रमाइलो त छदै छ, लेख्नको रमाइलो अलगै तरिकाको हुन्छ । मेरो लागी सांसारिक माया, प्रेम र परम आनन्दका उपदेशहरूको ढुकुटी हो कविता। जीवनयापनका हजारौँ तरिका, राम्रा नराम्रा दुवै पक्ष हेरेर आफूले आफूलाई सुधार्ने साधन लाग्छ कविता ।

कहिले मनोरञ्जनको लागि या कहिले फुर्सदको समयको सदुपयोग गर्नको लागि कविताहरू लेखिन्छ। कहिले काँहि एक्लै बस्दा समय लामो हुन्छ। यसै पनि मनमा विभिन्न कुराहरू खेलिरहन्छन्, आफूले आफैलाई एकलोपनबाट बचाउन केही लेखहरू या फुट्करहरु कविताहरू लेख्न मन लाग्छ ।

२.भुटानी समाजमा महिलाहरूको लेखन कुन अवस्थामा देख्नुहुन्छ ? कविताको बाटोले उनीहरूसँग भेटघाट गराउने वातावरण छ या छैन?

अरू समुदायको तुलनामा भुटानी समाजका नारीहरू कविता वा साहित्य लेखनमा कम वा पछाडि हुनुहुन्छ । कारण: पारिवारिक हौसलाको कमी,आफैँमा एक किसिमको कम्जोरि ,मलाई आउँदैन वा जान्दिन भन्ने हीन भावनाले पनि हुनसक्छ ।

केही नारीहरू जो लेखन क्षेत्रमा कोसिस गर्दै हुनुहुन्छ, उहाँहरूलाई कुनै अवसर दिएर अझै रुचि बढाउन सहयोग गर्न सकिन्छ । कम्तीमा वर्षको दुई-तिन पटक साहित्यिक कार्यक्रमहरू गरी हौसला प्रदान गर्न सकेमा अरूको साहित्य लेखनमा मनोबल बढाउनका सकिन्छ। कतिलाई लेख्न मन लाग्छ तर कसरी सुरु गर्ने थाहा नभएको हुन सक्छ । यद्यपि धेरैलाई पारिवारिक हौसला र सहयोगको खाँचो हुन्छ।

३. काव्यबाहिर – आख्यानतिर पनि आउने आफ्नो सोच छ छैन ? छ तपाईँलाई कति समयमा देख्न मिल्छ? छैन भने कविता प्रतिको माया/सम्मान या अरू नै केही कारण हुन सक्ला ?

अहिलेको परिवेशमा काव्यलाई नै महत्त्व दिएको हो। कारण: छोटो, छरितो र मिठो भएकाले । कम शब्दमा, थोरै लेखमा धेरै कुराहरू समेट्न सकिने भएकाले नै हो । घर व्यवहार बिचको थोरै समयमा पनि लेख्न सहज भएकाले काव्यमा रमाई रहेकी छु।

आख्यानतिर आउन चैँ मन लागेको छ, समयको अभाव र यस विषयको अलि अपरिपक्वताले पनि हो । तर पनि कोसिस गर्ने बिचार छ ।कहिले र कति समय पछि आउने छु, त्यही बेलाको वातावरणले निर्धारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *