आलुको झोल

भानु ढुङ्गाना
विन्सर, क्यानाडा

आलुको झोल

बाल्यकालको जीवन, स्वाद र सम्झना कहिल्यै हराउँदैनन् । समयको गतिलाई कसैले रोक्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ । तर जीवनमा यस्ता केही स्वाद, सम्झना र सुगन्ध हुन्छन् जसले समयलाई समेत छिचोलेर हाम्रो अन्तर्मनमा गहिरो छाप छोडेका हुन्छन् । तीमध्ये एउटा हो—आलुको झोल । त्यसमा श्रम र स्वाभिमानको मोह मिसिएको हुन्छ । दसऔँली लगाएर, हत्केलाका रेखा घोटेर आर्जिएको माटोमा किसानले उमारेको आलु, अनि त्यसैको बनेको झोल कति प्यारो लाग्छ! आज साढे तीन दशक बितिसक्दा पनि बाल्यकालको त्यो आलुको झोलको स्वाद, त्यसको मोह-मिठास र त्यससँग गाँसिएका भावना अझै पनि मनमा जिवित छन् ।
हुन त जीवनमा अरू पनि अनेक अविस्मरणीय स्वाद र मिठास छन् । तर आलुको झोलसँग गाँसिएको सम्झना भने विशेष छ । हामी भूटानको साम्ची जिल्लाको दोरोखा देन्छुखा जस्ता एकान्त र शान्त गाउँहरूमा जन्मियौँ र हुर्कियौँ । त्यहाँ न प्रविधिको प्रभाव थियो, न शहरको धूलो । जीवन सरल, आत्मनिर्भर र श्रमशील थियो । खेतका गरामा खेल्दै, पसिनासँगै श्रम गास्दै बाल्यकाल बित्यो । किताबका पानाभन्दा बढी, खेतका गरा, रुखका डाली, पखेराका विरुवा, फूलफल, गोठका चौपाया र खोरका बाख्रासँग लेखिन्थ्यो । त्यही जीवनकथाको सबैभन्दा रसिलो अध्याय थियो—आलुको झोल ।
गाउँ-घरको बिहान, चौतारीका गफ, उकाली-ओरालीका बाटाहरू, असारे झरी र मङ्सिरको सिलाम चामलसँग मिसिएको आलुको झोलमा केवल आलु मात्र थिएन, त्यहाँ माया, श्रम र स्वाभिमान पनि थियो । हाम्रा लागि बजार जानु केवल किनबेचको काम मात्र थिएन—त्यो त जीवन बुझ्ने यात्रा थियो । कैयौं खोला, भञ्ज्याङ र पाखा पार गर्दै सुन्तला र अलैंचीका भारी बोकेर साम्ची बजार पुगिन्थ्यो । बाटैमा खोल्साको चिसो पानी मानेको पातमा अञ्जुली थापेर पिउनु, पखेराको समीर र डाँडाको तुषारो सबैले स्वादको पृष्ठभूमि बनाउँथे । बिहानको खानासँग आलुको झोल, असलेको बास, सुके टिम्बुरे—यी सबै भोक मात्र होइन, थकान र चिन्ता पनि मेटाउँथे ।
समय फेरिएको छ । गाउँमा सडक पुगेको छ, इन्टरनेट छिरेको छ, कार गुडेका छन् । जीवनले स्वरूप बदलेको छ, प्रविधिको चमत्कार फैलिएको छ । तर भान्सामा अझै पनि उस्तै मिठासले उम्लिरहेको छ—आलुको झोल । नाम फरक हुन सक्छ, मसलाहरू थपिएका होलान्, तर त्यो मौलिक स्वाद र आत्मीयता अझै हराएको छैन । चिसो मौसममा कसिएको मनलाई आज पनि त्यो झोलले न्यानोपन दिन्छ ।
भूटानको देन्छुखाबाट नेपालको झापासम्म, खुदुनाबारी शिविरदेखि क्यानाडाको विन्सरसम्म आलुको झोल सँगसँगै आयो । शिक्षक, विद्यार्थी वा श्रमिक—सबैको भान्सामा यो झोल अनिवार्य जस्तै बन्यो ।सिराहा–सप्तरीदेखि इलाम, पाँचथर, प्युठानसम्म, भूटानका चिराङ, गेलेफुङ, थिम्पु, पुनाखा, वाङ्दिफोडाङसम्म—जहाँ पनि आलुको झोल प्रिय रह्यो । अझै पर, नेपाल, भारत हुँदै अमेरिका, अस्ट्रेलिया, क्यानडा, लन्डन, युरोपसम्म जहाँ-जहाँ नेपाली पुगे, त्यहाँ-त्यहाँ आलुको झोल पनि पुगेको छ ।
आलुको झोल केवल स्वाद मात्र होइन—यो हाम्रो संघर्षको स्वाद हो, सांस्कृतिक आत्माको झल्को हो । सस्तो, सादा तर आत्मीय र समर्पित—यो जीवनको प्रतीक हो । जब-जब म त्यो झोलको स्वाद लिन्छु, मलाई लाग्छ जीवन अझै बाँकी छ, मिठास अझै हराएको छैन ।
भर्दैन भाँडो तर भर्छु भन्छ,
भर्दै नभर्ने सँग दास बन्छ ।
यो चित्तलाई किन बुद्ध छैन,
पायो, कमायो, रहने हुँदैन ।
आलुको स्वादमा बाँधिएको जीवन भूगोल र समयको सीमाभन्दा माथि उठेर बाँचिरहेछ । जसरी भोक लाग्दा खानाको मूल्य बुझिन्छ, त्यसरी नै जीवनमा सरल स्वादको महत्व समयले मात्र सिकाउँछ । आलुको झोल केवल परिकार होइन—यो हाम्रो स्मृति, स्वाद र संस्कृतिको झलक पनि हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *