अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२२ सम्पन्न

जुन २७, २०२२ ओहायो, अमेरिका । साहित्य परिषद् भुटानले आयोजना गरेको दुई दिने
अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२२ विभिन्न विधाका १० कृति र एक गीति एल्बमको विमोचन
सहित सम्पन्न भएको छ ।

लामो समयदेखि साहित्य सेवामा समर्पित परिषद्ले यस पटक ७ वटा कृति प्रकाशनमा ल्याएको
छ । परिषद्द्वारा प्रकाशित कृतिमा रमेश गौतमको चिताको साँच्चै तातो हुँदो रहेछ (कविता
सङ्ग्रह), यतिराज अजनबीको केही यक्षप्रश्नहरू (कविता सङ्ग्रह), शिवलाल दाहालको जो स्मृतिमा
मात्र बाँचिदिएका छन् ( कविता सङ्ग्रह), माया भट्टराईको आमाको काख (कविता सङ्ग्रह), गङ्गाराम
लामिटारेको बदलिएको कर्तव्य (कथा सङ्ग्रह), डिल्लीराम शर्मा आचार्यको उच्छेदन उपन्यास र डा.
लक्ष्मीनारायण ढकालको डायस्पोरामा नेपाली भाषा शिक्षण :एक विवेचन रहेका छन् । त्यसतै
परिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी प्रज्ञाप्रतिष्ठानबाट निकालिएको पुनर्वासपछिका
भुटानी नेपाली कविता सङ्कलन कार्यक्रममा विमोचन भएको थियो । अन्य प्रकाशक रहेका
विमोचित कृतिहरूमा तुम्बेहाङ लिम्बूको कथासङ्ग्रह ‘रजुवा,’ खेम खनालको कथासङ्ग्रह ‘क्षितिजपारिको आवाज,’
रामकृष्ण अधिकारीको खण्डकाव्य ‘लगन’ र दिल खड्काको गीति एल्बम ‘दिलाभास–२’ ।

कार्यक्रममा भुटानी नेपाली साहित्यका विभिन्न आयामको परिचर्चा गर्दै डा.गोविन्दराज भट्टराई,
डा.अञ्जना भट्टराई, स्रष्टा शिवलाल दाहाल, रमेश गौतम, डेन्जोम राई र डा. लक्ष्मी नारायण
ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । पुनर्वासमा पुगेका भुटानीहरूमा देखिएका पहिचान,
बसाइँ सराइ र डायस्पोराका सवालहरू माथि घनीभूत छलफल भएको थियो । शिवलाल दाहाल,
रमेश गौतम र भक्त घिमिरेले सम्पादन गरेको पुनर्वासपछिका भुटानी नेपाली कवितामा यी
विषयमा गहन चर्चा गरिएको छ । १३५ भुटानी कविहरूका कविता राखेर प्रकाशन गरिएको उक्ता
कृति तथा डायस्पोरा र बसाइँ सराइका बारेमा प्रा. डा. गोविन्दराज भट्टराईले विशद चर्चा गरेका
थिए भने डा. अञ्जना भट्टराईले भुटानी महिला लेखकहरूको अभिलेखीकरणको आवश्यकतामाथि
धारणा राखेकी थिइन् । साहित्यसँगै केही साङ्गीतिक कोसेली पनि कार्यक्रममा पस्किएको थियो ।
कार्यक्रममा अष्ट्रेलीयाबाट सम्मेलनमा भाग लिन आएका भुटानका अघिल्लो पुस्ता लेखक श्री
अम्बिकाप्रसाद दुलाल तथा नेपाली भाषा पढाउँदै आएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, पारसप्रकाश नेपाल, मञ्जु विमली, तीलारुपा आचार्य, लीला
निशा, गण्डकी पुत्र, मदन दुलाल, कृष्ण रेग्मी, जे.एन.दाहाल, एल.बी रिखाम, कर्ण गुरुङ, डा. कुमार गुरुङ, डा.नारद पोख्रेल,
बुद्धमणि ढकाल लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र ठुलो सङ्ख्यामा जनसाधरणको उपस्थिति थियो । कोलम्बस
स्थित ओहायो हिस्ट्री सेन्टरमा आयोजित कार्यक्रममा भुटानी समाज ओहोयो (बिसीसीओ) र हिष्ट्री सेन्टर सहआयोजक रहेका
थिए भने थुप्रै व्यापार व्यवसायीहरूले आर्थिक सहायता प्रदान गरेका थिए ।

प्रसिद्ध उपन्यासकार तथा समालोचक डा.गोविन्दराज भट्टराई प्रमुख अतिथि रहेको उक्त
कार्यक्रमको सभापतित्व साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गाराम लामिटारेले गरेका थिए भने
सञ्चालन परिषद्का सचिव खेम रिजाल तथा कवि रमेश गौतम र शिवलाल दाहालले गरेका थिए
।

Leave a Reply

Your email address will not be published. Required fields are marked *