कुचीका मास्टर

अजित रुपाबुङ
अमेरिका

भौतिक रूपमा जे पनि गुमाउन सक्छौँ, कसैले खोसी दिन सक्छन् तर व्यक्तिमा भएको विचार/कला कहिल्यै गुम्दैन र कसैले खोस्न सक्दैन दैव छाडेर। त्यसको ज्वलन्त एक उदाहरण हुन चित्रकार रामकुमार खेसाङ याकुले राई।भुटानको साम्ड्रुप जोङ्खर अन्तर्गत डाईफाम गाउँमा जन्मिएका रामकुमार भुटान सरकारले नेपाली भाषीहरू माथि लादेको निरङ्कुश शासनको सानै उमेरमा सिकार बन्न पुगे।अन्ततः स परिवार नेपालको खुदुनाबारी स्थित भुटानी शरणार्थी शिविरमा शरण लिन बाध्य भए।

चित्रकारः राम कुमार खेसाङ याकुले

सानै उमेर देखि चित्रकलामा खुबै चासो राख्ने राम कुमार नोट बुकको गाता कुनै पनि खाली नछाडी कार्टुन झैँ देखिने चित्रहरू कोर्थे, पात, कोइला, फूल आदिका रङ बनाई रङ्गाउने गर्थे।अलिक ठुलो भए पछि पाँच रुपियाँ तिरेर चार्ट पेपर किनी त्यसमा पेन्सिलले स्केच गरी बलिउड- बलिउडका कलाकारहरूको चित्र दुरुस्त उतार्न थालेका थिए। किरोसिन तेलमा क्रेयोन कलर भिजाएर नरम बनाई सुन्दर रङ भर्न थालेका थिए। क्यानभास पेन्टिङ भने पहिलो पटक उनले किशोर अवस्था देखि सुरु गरेका हुन। बाँसको फ्रेममा पातलो श्वेत कफन लपेटेर त्यसमा सेतो डिस्टेम्पर लेपेर क्यान्भास तयार पार्थे र ईनेमलले रङ्गाउँथे। अहिले भने उनी प्रोफेसनल ओएल कलर प्रयोग गर्छन्। अर्थपूर्ण चित्रहरू सृजना गर्छन्।

चित्रकारः राम कुमार खेसाङ याकुले

राम कुमारको चित्रमा प्राय विगतको परिवेश झल्केको हुन्छ। चित्र प्रदर्शनीहरूमा पनि उनको यस्तै चित्र प्रदर्शन हुने गर्छ। ल्याण्स्केपको चित्र पनि उस्तै सुन्दर कोर्छन्, प्राय सौरकल्पनिकताको उच्चतम बिन्दु प्रस्फुटन गर्छन्। देवनागरी, अङ्ग्रेजी र किराँत लिपिमा पनि ब्यानर लेख्न खप्पिस राम कुमारका चित्रहरू निकै राम्रा भए पनि उनी मूल्य भने न्यून तोक्छन्। हालै ओहायो राज्यको नरउड सहरमा सम्पन्न अन्तर्राष्ट्रिय कला प्रदर्शनी सन् २०२२-२३ मा उत्कृष्ट चित्रकारको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

चित्रकारः राम कुमार खेसाङ याकुले

उनको रुचि चित्रकारितामा निखार ल्याउने र त्यसै मार्फत समाजमा योगदान दिने उनको चाहना भए पनि भुट्निज कम्युनिटी अफ सिन्सिनाटी( उप-अध्यक्ष), किराँत कल्चरल सोसाइटी अफ सिन्सिनाटी( अध्यक्ष) जस्ता पदमा रही समाजसेवा गरी सकेका छन्। आउनुस्,अवलोकन गर्नुस्,अजित रुपाबुङको सङ्कलनमा प्रस्तुत छ तल राम कुमार खेसाङ याकुले राईद्वारा सृजित केही सुन्दर चित्रहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *