एक अद्भुत यात्रा

गीतु गैह्रे
चितवन नेपाल

सुरु गर्न अलि डराई रहेकी छु। अनुभवलाई बाँड्न पनि मन छ। दोधार मै भए पनि मलाई केही सुनाउनु छ। एक यात्रा जसले जीवनभरिलाई पुग्ने मिठो अनुभूति दिएको छ। भन्न त भन्ने गर्छन्, जीवन कायापलट हुन केही दिन, घण्टा या मिनेट होइन पल नै काफी हुन्छ। यसो सुन्दा पत्यार लाग्दैन तर तपाई कतै हिमाल र हिमालनजिकको पद यात्रा गर्नुभएको छ भने पक्कै महसुस गर्नुभएको होला।

पोखरा बसाइले मलाई हिमालसँग मितेरी नै लगाइदियो। एक किसिमको अद्भुत आनन्द। हरेक बिहानी हिमालसँग साक्षात्कार पछि मात्रै दिनको सुरुवात हुने गर्दथ्यो। लाग्थ्यो हिमालसँग हरचिज छ , मानवलाई तरहवरले सिकाउन सक्छ । हरबखत सिकाई रहेछ पनि जस्तै दुःखमा पनि अडिग र अटल रहनु भनेर । हिमाल नजिकै जान चाहने मान्छेमा पनि एउटा आँट, साहस,आत्मविश्वास र धैर्यता नभ‌ई सुखै छैन। लाग्छ म पनि स्वतन्त्र र स्वछन्द भएर बाँच्न यिनै हिमालहरूलाई रुँग्दा रुँग्दै सिकेकी हुँ। हरेकपल्ट हिमालको नजिक पुग्दा लाग्थ्यो अझै नजिकबाटै स्पर्श गर्न पाए! हिमालको सौन्दर्य देखेर म धेरै पटक छक्क परेकी छु।यति धेरै चाँदीझैँ टल्कने हिमशृङ्खला हाम्रै तगदिरमा छ। यसर्थमा हामी भाग्यमानी नै हौ।
कुनै पनि यात्रा सहज हुँदैन। न जीवनको यात्रा हुन्छ न हिमालको। तर आँट गर्‍यो भने असहजतामा मन रम्छ। नसकिने भन्ने त सायदै यो संसारमा केही पनि हुँदैन। मैले पनि आँट गरे अनि निस्किए झोला बोकेर पुन हिल यात्राको लागी एकल यात्री बनेर एक्लै । मलाई यो ऊर्जाशील समयलाई यत्तिकै ओइलाउन दिन मन लागेन।

हुन त व्यक्तिको निजी जीवनमा कयौँ जटिल उल्झन र अनावश्यक समस्याहरू हुन्छन्। यी सबैलाई व्यवस्थित गरेर र गर्दै हामीले जीवनका बाटोहरू तय गर्नुपर्ने हुन्छ। यो समयलाई सदुपयोग नगरे सायद म कहिल्यै एक्लै यात्रा गर्न पाउँदिन की जस्तो लाग्यो र त व्यग्र भएर यात्रा सुरु गरेँ।
बेलुकी आवश्यक लत्ताकपडा, चकलेट, केही औषधी सहित झोलालाई कसेँ। मनलाई दरो बनाएर यात्राको पूर्वानुमान र योजनासहित निन्द्रादेवीको काखमा पल्टिएँ। । बिहानै चार बजे उठेर तयार भएर बाग्लुड बसपार्क तिर लागेँ। यही नै मेरो यात्राको पहिलो उद्गम स्थल बन्यो। केही उत्सुकता,केही चञ्चलता,केही साहस, केही डरसहित मैले यात्रालाई अगाडी बढाए। त्यहाँबाट नयाँ पुलसम्म बसको यात्रा गरिसकेपछि मेरो हिँडाई सुरु भयो। आजकै दिन मलाई विरेठाटी, हिले, तिखे ढुङ्गा , उल्लेरी हुँदै घोडे पानी सम्म पुग्नु थियो। एक कप चिया खाएर बिरेठाटी देखि बाटो तताएँ।

एक्लै पो जाने ? साथीहरूसँग आउनु पर्छ नि ? सक्नुहुन्छ हिँड्न ? लगायतका वाणीहरू मेरो कानमा गुन्जिमान हुन थाले। तर मेरा लागी यी सब निरर्थक थिए। मलाई न संवाद गर्नु थियो, न त वादविवाद। लामो बाटो हिँड्ने मान्छे सानोतिनो उल्झनमा कहाँ अल्झिन सक्छ र ! डर र त्रासभन्दा कयौँ गुणा बलियो मेरो आत्मविश्वास थियो। तनलाई भन्दा बढी मनलाई दरिलो बनाएँ । मैले बाटो तताईहालेँ। म हिँडेको केही बेरमै अन्नपूर्ण बेस क्याम्प सम्म हिँडेका दुई जना विदेशी पर्यटक देखेँ। एक जना सायद मेरै उमेरकी हुँदी हुन, अर्की त निकै सानी नानी थिइन चौध ,पन्ध्र वर्षकी। उनीहरूलाई देखेर फेरी मलाई साहस पलायो। जिन्दगी बाँच्न त हामीले भर्खर सिक्दै छौँ।विदेशीहरूले त उहिल्यै देखी जानेका हुन नि। शुभकामना आदानप्रदान गरेर हामी आ-आफ्नो बाटो ततायौँ।

बाटोमा हिँड्दै गर्दा मेरो यात्राको सहारा भेट्टाएँ। प्राकृतिक लट्ठी । लट्टीले खुब मद्दत गर्‍यो । एक्लो यात्री बनेर हिँडेको पहिलो पटक थियो। परिवारलाई जानकारी गराएर हिँड्दा स्वीकृति र अनुमति नहुने निश्चित थियो । जीवनमा सधैँ ज्ञानी हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ अराजक पनि बन्नुपर्छ। अरूकै सुन्नुपर्छ भन्ने छैन, आफ्नो मनतिर पनि नजर लगाउनुपर्छ। सधैँ सप्रिरहनु भन्दा थोरै बिग्रेको ,भत्केको पनि कम सुन्दर हुँदैन। भन्छन् नि टम्म मिलेका दाँत भन्दा केही बिग्रिएका, छुट्टिएका दाँत आकर्षक देखिन्छन्। अनुमतिबिना हिँड्ने बानी थिएन त्यसैले जानकारी बिना नै यात्रा तय गरेकी थिएँ। सपनाहरूले भरिएका आँखाहरू साँच्चिकै सुन्दर हुन्छन्। सुन्दर आँखाहरूलाई निराश बनाउन मन थिएन। बरु यही यात्रा नै पहिलो र अन्तिम एकल यात्रा होस् ,आँट गरेँ। बुद्दिसागरको चर्चित पुस्तक ‘ एक्लो’ मा समीरा नामक पात्र ले भनेकी थिई- आफूले रोजेको बाटो अप्ठ्यारो भए पनि एडभेन्चर जस्तै हुन्छ। म त साँच्चिकै नै एडभेन्चर गर्न गएकी थिएँ।

केही समय अघि काठमान्डु जाँदा भेट भएको थियो। छयालिस वर्षीय अस्ट्रियाकी पर्यटक जसले १२दिने मनास्लुको यात्रा एक्लै गरी फर्किएकी थिइन। मेरो त उमेर पनि जवान, जाँगर पनि जवान। उनलाई पनि सम्झिँदै धन्यवाद दिएँ। मलाई अदृश्यरुपमा साहस भरिदिएकोमा।
घरमा खबर नगरी हिँडेर होला बाटो भरी बाबा आमा ,दिपु र परिवारको याद भने आइरह्यो। आफन्त र साथीभाइलाई पनि सम्झिएँ तर पाइला रोकिएनन्। कता कता असहज पनि भएको थियो तर मेरो आफ्नै निर्णय थियो। मसँग यात्रा भरी हरेक किसिमका संवेदनाको पोकाहरू हृदयमा सुसज्जित थिए। केही उत्सुकता, केही डर, केही थकान,केही आश्चर्यता,केही दुख,,केही खुसी सबै सबैको थुप्रो मिलेर म हिँडेकी थिएँ र हिँडिरहेकी थिएँ। यस्तो अनुभूति जीवनमा सायद पहिलो पटक भएको हुनुपर्छ। भावनात्मक रूपमा कमजोर भएँ भने यात्रा पनि रोकिने थियो। मलाई रोक्नु थिएन त्यसैले बलियो हुँदै पाइला अगाडी बढाई रहेँ। वरिपरि देखिएका खोलानाला, जङ्गल, चराहरूको चिरबिर, गाउँ बस्तीमा भेटिने मानिसलाई कति समय लाग्छ भन्दै सोध्दै बोल्दै हिँडिरहे। हिँडिरहे वर्षाको हरियाली प्रकृतिसँग सिँगौरी खेल्दाखेल्दै , कहिले आफैसँग बोल्दै ,त कहिले ‌ बाटोमा भेटिएका बटुवासँग।
आफैसँग बोल्दा म झन् आफूनजिक पुगेको अनुभव गर्छु। आफैलाई धेरै बुझेजस्तो‌ । त्यसै त्यसै बिछट्टै खुसी महसुस हुन्छ। यो भाग दौडको जिन्दगीमा कति बोल्नुभएको छ आफैसँग, कति नियाल्नुभएको आफैँलाई? एक पटक बोलेर विचार गर्नुस् ल ।

करिब दुई घण्टा हिँडेपछि म उल्लेरीको उकालीमा पुगेँ। उकाली चढ्दाचढ्दै बीचबाटोमा भैँसी खोज्न हिँड्नुभएको बुबा भेटे। बुबासँग गफ गर्दै उल्लेरीको ठाडो उकाली ठ्याक्कै ‌दुई घण्टामा पार भयो। उल्लेरीमा पुगेपछि बुबा र मैले चिया खायौँ। बुबासँग बिदाबारी भएर म घोर पानीको यात्राको लागी उक्लिएँ।
करिब चार घण्टाको उकाली चढे सकेकी थिएँ ‌। शरीरको ऊर्जा, यात्राको उत्सुकता थकानले घटाई सकेको थियो।‌ तैपनि मेरो पाइलाको गति चुस्त-दुरुस्त नै थियो कारण म जङ्गलमा थिएँ, एक्लै थिएँ। घटना- दुर्घटनाहरूसँग लुकामारी खेल्दै बाँच्नु त जीवन हो। मेरो संयमको बाध फुट्न खोज्थ्यो तर आफैँभित्रबाट शक्ति सिञ्चित गर्थेँ। पाइला अघि सार्थेँ। त्यही बखत कहिले आफैँले आफैँलाई छेकेर त कहिले आफैँलाई ठगेर त्यही असहज पर्यावरणमा म रम्न खोजे। लाग्यो, जीवनमा कहिलेकाहीँ आफैलाई ठग्नुपर्ने रहेछ। ढाँट्नुपर्ने रहेछ। अभिनय गर्नुपर्न रहेछ। त्यसबगत मेरो अनुहारको भावभंगीमाहरु पनि परिवर्तित भएको हुनुपर्छ। पर्यटक साँच्चिकै घटेका रहेछन्‌ । त्यस्तो पर्यटकीय स्थल भएर पनि मैले कसैलाई भेटेकी थिइन। न आन्तरिक पर्यटक न बाह्य ।एक्लो यात्रा साँच्चिकै एक्लो भएको थियो। । तलपट्टि पानी सुसाई रहेको थियो, वरपर जङ्गल । सानो पदयात्राको बाटो थियो। आँखाले नियालेर हेर्दा केही पर थोरै आकाश देखिएको थियो।त्यहीबाट केही उज्यालो प्रकाश आइरहेको थियो। आशाको सानो त्यान्द्रो बोकेर म गतिमान भई रहे। आखिर जीवन आशा र भरोसाबिचको गन्जागोल न हो। तन गले पनि मनलाई कमजोर बनाउन दिइन। चलायमान भइरहे । साँच्चिकै लाग्यो, जीवन एक यात्रा रहेछ। यात्रा हर पल असहज हुन्छ भन्ने हुँदैन । कुनै कुनै समय हो, चुनौती र असहज बाटोमा कुद्न पर्ने ठ्याक्कै हाम्रो जीवन जस्तै ‌। यात्रा र जीवन एक अर्काका पर्यायवाची।

निकै बेर हिँडेपछि मैले साथी भेटेँ। पोल्यानड देखी आएकी पर्यटक ‌ । मलाई एकाएक लामो खडेरीपछि वर्षा हुँदा किसानलाई जति खुसी लाग्छ,त्यस्तै भयो। पटपट फुटेका खेतका गह्राले सिचाई पाएर टुसा पलाउँदा खेत जति खुसी हुन्छन्। त्यस्तै भयो। पछि कुरा गर्दा थाहा पाए उनलाई पनि त्यस्तै भएको रहेछ। ( नाम भुसुक्कै बिर्से) एक्लै एक्लै मिलेर हामी दुक्लै भयौँ। अनि गफ गर्दै गर्दै यात्रा अघि बढायौँ। एक्लै हिँडिरहेका हामीले साथी भेट्दा अकस्मात् दु खबाट सुख पाएजस्तो, आशुबाट हाँसो पाएजस्तो। हामी एक अर्कालाई भेट्दा वर्षों हराएर भेटिएका दौँतरीजस्तै खुसी भएका थियौँ। हिँड्दा हिँड्दै हामीलाई झरीले भेट्टायो। भेट्टाएन मात्रै मज्जाले रुझायो । ओत लाग्न ठाउँ थिएन।जङ्गल मात्रै थियो। बस्ती आउन लागेजस्तो हुन्थ्यो तर आउँदैनथ्यो। हामी निथ्रुक्क भिज्यौ। हाम्रो आत भिज्यो। भिज्दै हिँड्यौ। हामीसँग अरू कुनै विकल्प पनि थिएन ।त्यसैले हिँडिराख्यौ ,यात्रालाई रोकेनौँ।

हिँड्दा हिँड्दै हामी घोडे पानी पुग्यौ। होटेल फिसटेलको दिदिले मिठो चिया खुवाउनुभयो। माथि उचाइमा जाडो नै थियो, त्यसमाथि भिजेको शरीर। चियाले आतलाई केही तातो बनायो।केही राहत मिल्यो। होटेलमा एक जना ईजिष्टबाट आएकी पर्यटकसहित दुई जना गाइड हुनुहुन्थ्यो। भोलिपल्ट बिहानैको सूर्योदय हेर्ने सल्लाह सहित खानपिन सकेर हामी थाकेको शरीरलाई आराम गर्न लाग्यौँ। बिहानै चार बजे पुनहिलको लागी हिँड्यौ। यात्रा सुरु गर्दा म एक्लै थिएँ,अहिले हाम्रो टोली पाँच जनाको पुग्यो। करिब एक घण्टाको उकालो हिँडेपछि हामीले लामो यात्राको भारी बिसायौ। म हिमाल देखेर फेरी एक पटक मक्ख परे। ३२१० मिटर उचाइबाट अन्नपूर्ण, धवलागिरि,माछापुच्छ्रे लाई निहालेँ। हिमालबाट देखिने सुन्दर सूर्योदय निकै मनमोहक थियो। पहाड र हिमाललाई छेड्दै सुनौलो प्रकाशका धर्साहरूले हामीलाई चुम्बन गर्‍यो। म यसै यसै मन्त्रमुग्ध भए। बिहानीको सूर्योदय सुन्तला रङबाट फैलिँदै फैलिँदै पहेँलो किरण बनेर न्यानो झर्‍यो। बतास पनि लागिरहेको थियो। चि~~~~~~~~~सो बतासको स्पर्श अद्भुत थियो। सायद प्रकृतिको कोमल हृदयबाट प्रसारित भएको हुनुपर्छ। जसको माधुर्ययताले ह्दय भित्रसम्म गएर आफ्नो मादकता प्रसारित गरिरहेथ्यो। चिसोले हात कापिईहेको थियो। १३० रुपियाँको एक कप कालो चियाले ज्यान तताए। ती सुन्दर दृश्यहरू हेरिरहँदा म त्यसैमा हराई रहेकी थिए ‌। म शून्यतामा थिए। शून्य हुँदाको अनुभव कस्तो हुन्छ महसुस गरे ।मैले ध्यान गरिरहेकी थिए।यसै यसै मुग्ध भई रहेकी थिए ‌। म आफैमा हराई रहेकी थिए।म सन्तुष्टको सुखानुभूति गरिरहेकी थिए। न कसैको प्रवाह थियो न ‌केहीको आवेग थियो । म नितान्त हिमालसँग तृप्त थिए। त्यसकै सुन्दरतामा तृप्त थिए। जीवनमा ‌उत्कर्षको अनुभव छोटो हुने रहेछ। मेरो ती सुन्दर दृश्यहरू आँखामा सुसज्जित गरे। मन र मस्तिष्कमा टपक्क टिपेर राखे ।किनकि मलाई आजै पोखरा फर्कनु थियो ‌। फेरी एक पटक हिमाललाई हेरेर हामी ओराली लाग्यौँ। जीवन यही त रहेछ । उकाली , ओराली, देउराली, भन्झाङ्ग अनि चौतारी।

हिमाल र जीवन उस्तै उस्तै रहेछ। टाढा बाट नियाल्दा निकै सुन्दर देखिने तर नजिकबाट हेर्दा यसको आफ्नै दुःख हरू छ। जतिसुकै स्वीकार नगरे पनि आफ्नो कुराहरू‌ आफैसँग हुन्छ। आफ्ना दुःख आफ्नै हुन्छ। हिमालीहरूको पनि आफ्नै किसिमको पिडाहरू छ ‌। तपाई हाम्रो पनि आफ्नै दुःख छन्‌।
हामी सबैको जीवनका आ -आफ्नै सगरमाथाहरू छन्।‌ बाटो पहिल्याउन सके पक्कै पुग्न सकिन्छ। ढिलोचिटो हुन सक्छ। तर चढ्नै नसकिने भन्ने हुँदैन। हिमाल र हिमालको काखमा यात्रा गर्नु एक साहसिक कार्य हो र साहस आफैमा एक विशिष्ट प्रतिभा हो ‌‌। हिमालसँग मेरो एक अद्भुत प्रेम बसेको छ।र त आफ्नो आत्मविश्वास, आत्मसम्मान र इमानदारिता सुगठित र सुसज्जित गराउन सकूँ भन्ने अभिलाषा पनि। आखिर म र हिमाल एक पर्याय जस्तै त हौ।
सगरमाथाको टुप्पामा पुगिसकेपछि पनि त्यहाँ बसिरहन सकिँदैन।हामीलाई पुगेपछि फर्किन पर्छ। जीवनका यात्राहरू पनि सधैँ सफल हुँदैनन्। टुप्पोमा पुगे पनि झर्नुपर्छ है भन्ने हिमालहरूले जस्तो बोध अरू कसले गराउला र! गन्तव्य भन्दा यात्रा प्रिथक बनाउनु पर्छ।

मलाई जीवन पूर्ण रूपले बाँच्न मन छ। थाहा छैन पूर्णता कहाँ छ, के मा छ? कसरी प्राप्त गरुँला? तर मलाई कमसेकम यो त थाहा छ की मलाई जीवन कटाउनु छैन , बाँच्नु छ। म जीवनमा गतिहीनता चाहन्न। नैराश्य चाहन्न। थाहा छैन बाँच्न कति जाने, सिके वा जीवन कति बुझेँ? लेख्न कति जाने, सिकेँ? तर मलाई बाँच्नु छ ,स्वछन्द भएर। म चाहन्छु मेरा आशा – अभिलाषाहरूले मलाई झकझकाई रहुन्। सपनाले मलाई बिउँझाइरहुन्।
सफल भई रहन नसकिन पनि सक्छ , भई रहनु पर्छ भन्ने पनि छैन तर असल भई रहन सकिन्छ। असल हुने कोसिस गरिरहन सकिन्छ। आखिर जीवनमा गर्न सकिने भनेको एक ईमान्दार कोसिस न हो। जीवन जिउन धेरै केही चाहिँदैन केही आट, केही आत्मविश्वास र जोस भरिदिने परिवार, साथीभाइ र आफ्नाहरू भए पुग्छ।

बसिरहन सकेनौ, त्यसैले त बाटो ततायौ। पोल्याण्डकी साथी र म पुन साथी बनेर फर्कियौँ। पोखरा फर्किँदै गर्दा हृदय खुसीले धक्क फुलेको थियो। आफैले आफैलाई मनमनै बधाई भने। अनि पोखरा झर्दै गर्दा एक पटक हिमालाई हेर्दै भनेँ । ए हिमालय पर्वतहरू म एक पटक मात्र होइन पटक पटक तिमीलाई स्पर्श गर्न चाहन्छु। म फेरि आउनेछु तिम्रो काखमा लुकामारी खेल्न , तिम्रो सामीप्ययतामा रम्न।
यसरी मेरो दुई दिनको जिन्दगीमा दुई दिने पुनहिलको एक्लो यात्रा सकियो। र मेरो जीवनको पहिलो ‘एक्लो ‘ यात्रामा साथ सहयोग गर्नुहुने ,प्रत्यक्ष परोक्ष मलाई आट र साहस दिनुहुने ज्ञात ,अज्ञात सबैलाई साधुवाद। र एक पटकलाई बाबा – आमा र परिवारसँग माफी माग्न चाहन्छु। अर्को पटक स्वीकृति बेगर ‌जाने छैन। तर यात्रा जरुर गर्नेछु किनकि भविष्यमा रहेका सम्भावनाहरू कहाँ रित्तिएका छन् र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *