भगवान् (भाग ४)

आई पी अधिकारी
एड्लेड, अस्ट्रेलिया

सन् २५४७ मा मानिसले मङ्गल ग्रहमा नयाँ टेरा नामक फराकिलो उपनिवेश स्थापना गर्‍यो । एक समय जीवनका लागि अयोग्य ठानिएको यो रातो ग्रहले अब भने जीवन्तता पाएको छ । यसका धूले मैदानहरू बगैँचा र हरिया प्राङ्गणमा परिणत भएको छ । तर पुस्तौँदेखि यहाँ बसोबास गर्नेहरूले जिउनका निम्ति धेरै परको अर्को ग्रह पृथ्वीमा भर पर्नु पर्छ । हरेक महिना पृथ्वीबाट खाद्यान्न ढुवानीमा खटिएका कैयन बडेमान जहाजहरू यहाँ ओर्लिन्थे – आशाको त्यान्द्रो बोकेर । तर धेरै वर्ष भयो यी जहाजहरूमा मानिसले मङ्गलमा पाइलो टेक्न छाडेको । स्वचालित यी जहाजमा खाद्यान्न मात्र आउँछन् । मानिसको ध्यान अब अरू ठुला ग्रहतिर केन्द्रित भएको छ ।

मङ्गलका बसाई सरेकाहरू आफूलाई मानिस हैन बरु माङ्गलिक भन्न रुचाउन थाले । उनीहरू आफ्नो फरक पहिचान चाहन्छन् । पृथ्वीका मानिसहरूले पनि मङ्गलतिर बसाई सरेकाहरूलाई माङ्गलिकका रूपमा नयाँ परिचय दिन चाहे ।

समय क्रममा माङ्गलिकहरू आफूलाई जिउन सघाउने पृथ्वीका मानिसलाई अद्भुत शक्ति सम्पन्न ‘देवता’ जस्तै मान्न थालेका छन् । पृथ्वीवासीलाई माङ्गलिकहरू आफ्नो अस्तित्वका लागि आवश्यक अदृश्य शक्ति मान्छन् । माङ्गलिकका विचारमा पृथ्वीवासीहरू परोपकारी शक्ति हुन् । यही शक्तिका कारण आफूहरूले टाढाबाट उपहार र सहयोग पाएको उनीहरू ठान्छन् । नयाँ टेरामा साँझ गरिने प्रत्येक भोजनमा पृथ्वीवासीको लागि कृतज्ञताको अनुष्ठान, भजन र गीतहरू समर्पण गरिन्छन् । ‘देवता’हरूको सम्मानमा वेदीहरू बनाइन्छ र भेटी चढाइन्छ ।

तर, समय बित्दै जाँदा दुई संसारबीच दरार सिर्जना भयो । जलवायु परिवर्तन, राजनीतिक उथलपुथल र स्रोतसाधनको अभावले पेलिएका पृथ्वीवासी माङ्गलिकहरूलाई पूर्वाग्रही बनेर हेर्न थाले। शक्तिशाली माङ्गलिकहरू जसले आफूलाई तिर्न सक्थे, तिनीका लागि मात्र खाना अन्य आवश्यक सामाग्री ढुवानी गर्न थाले पृथ्वीवासी । यो विभेदले माङ्गलिकहरूलाई पिरोल्यो तर उनीहरूको पृथ्वीवासीहरू प्रतिको आस्था भने घटेन । माङ्गलिकहरूलाई लाग्थ्यो पृथ्वीवासीहरू प्रशंसाका भोका हुन्छन्, उनीहरूको प्रशंसा गरे वा प्रार्थना गरे ती ‘देवता’हरूले अवश्य सुन्ने छन् ।

अक्टोबरको एक दिन, सौर्य मण्डलमा भीमकाय परिवर्तन आयो । सूर्यबाट ठुलो ज्वाला निस्कियो र सौर्य मण्डलभरि छरियो । पृथ्वीवासीले बनाएका उपग्रहहरू आकाशमै बिलाए, पावर ग्रिडहरू ढले अनि सञ्चार सञ्जालहरू भत्किए । यो विनाशकारी सौर्य ज्वाला यति छिटो फैलियो कि क्षणभरमा पृथ्वीलाई बस्न अयोग्य बनायो । माङ्गलिकले प्रार्थना गर्ने पृथ्वीवासी ‘देवता’हरूको अब अस्तित्व रहेन । पृथ्वी लोक मौन बन्यो, त्यहाँ सन्नाटा छायो ।

माङ्गलिकहरू बदलिँदो परिवेशबाट विचलित बने । पृथ्वीबाट कार्गो जहाजहरू आउन छाडेपछि खाद्यान्न सङ्कट सुरु भयो, तिनका बगैँचाहरू ओइलाउन थाले । निराशाले समाजमा आतङ्क मच्चाउन थाल्यो यो नैराश्य भुसको आगो जस्तै फैलँदै गयो । तर माङ्गलिकहरू यो नैराश्यलाई शक्तिमा बदल्ने प्रयासमा लागे । खाद्य वस्तुको उत्पादन प्रयास सुरु भयो । उनीहरूलाई लाग्यो, पृथ्वीवासीले उनीहरूलाई त्यागेका हैनन्, बरु यी ‘देवता’हरू उनीहरूलाई जीवन बाँच्ने कलामा स्वावलम्बी बनाउन चाहन्छन् ताकि ‘देवता’ हरू मालिकका अरू बृहत्तर हितका लागि काम गर्न सकुन् ।

सम्पर्क विच्छेद पछि पृथ्वीमा के भयो भन्ने माङ्गलिकहरूलाई जानकारी हुन छाड्यो । यसले पृथ्वीवासी बारे उनीहरू नानाथरी काल्पनिक कथन बुन्न थाले । यी कथाहरूमा माङ्गलिकहरूले पृथ्वीवासी ‘देवता’ लाई ब्रह्माण्डीय शक्तिमा परिणत गरे जसले अदृश्यहरूमा उनीहरूले रेखदेख गर्छन् । यस्ता दैवी शक्तिलाई अब जीवन पर्यन्त मात्र भेट्न सम्भव छ । माङ्गलिकहरू ठान्छन् उनीहरूको भाग्य अझै पनि पृथ्वीवासीले निर्धारण गर्छन् ।  यी कथाहरूमा माङ्गलिकहरूले ‘देवता’हरूको एउटा परिषद्को परिकल्पना गरे । यो परिषद्मा रहने हरेक सदस्यले माङ्गलिक जीवनको कुनै एक पक्षलाई हेर्ने जिम्मेवारी पाएको छ ।  जस्तो एबन्डेन्टिया – खानाको देवी; सोलारा – सौर्य देवता र एथेरियस – सञ्चार को देवता । यी देवताहरू अब टाढाका भएनन्, माङ्गलिकका हृदय र दिमागमा बसे, उनीहरूलाई कर्मका आधारमा परीक्षण गर्ने र मार्गदर्शन गर्न थाले, अदृश्य रूपमा ।

हप्ताहरू महिनामा परिणत भए, महिनाहरू वर्षमा । बिस्तारै नयाँ परिस्थितिलाई माङ्गलिकहरू आत्मासाथ गर्न थाले । उनीहरूको जीवन सामान्य बन्न थाल्यो । उनीहरू बाच्नका लागि आवश्यक खाद्यान्न उत्पादनका लागि कृषि क्रान्तिमा लागे । माटोलाई आफ्नो हितमा प्रयोग गर्न थाले । एक अर्कामा पहिले भन्दा बढी भर पर्न थाले, स्रोत र सीपहरू आदान-प्रदान गरे, सहयोगी बन्न थाले । यसले समाज बन्यो । बलियो समाज बन्यो । उनीहरूलाई ‘देवता’हरूका कथाले साझा विश्वास दिलायो ।

उनीहरूले पृथ्वीवासीको सम्मान र सम्झनामा कार्यक्रमहरू गर्न थाले । कार्यक्रमको अग्रस्थानमा खटिनेहरूले कालान्तरमा समाजको नेतृत्व गरे । उनीहरूले ठुला उत्सवहरू आयोजना गरे, विशाल समूहमा प्रार्थनाहरू गरे । कथा यसरी बुनियो पृथ्वीवासीहरू ब्रह्माण्डीय शक्तिमा परिणत भएका छन् जसले उनीहरूलाई सधैँ रक्षा र मार्गदर्शन गर्छन् अनि गर्नेछन् ।  यी शक्तिहरू आकाशमा चम्किला नक्षत्रका रूपमा देखिन्छन् । जब जब मङ्गलमा सङ्कट सृजना हुन्छ, अनिष्ट हुन्छ वा धर्म मर्छ, पृथ्वीवासीहरू सदाचारको रक्षा गर्न, दुष्टहरूको विनाश गर्न, अनि धर्मको पुनर्स्थापना गर्न उनीहरू प्रत्येक युगमा माङ्गलिकका रूप धारण गरेर जन्मिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *