“भम्पा : एक अडान अनेक प्रश्न” को विमोचन सम्पन्न

बेलडाँगी/११ असोज : भूटानी लेखक वीरेन मगरद्वारा लिखित डा. भम्पा राईको आत्मकथा ‘भम्पा : एक अडान अनेक प्रश्न’ पुस्तकको असोज ११ बिहीबारका दिन भूटानी शरणार्थी शिविर बेलडाँगीमा विमोचन भएको छ । सो कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, लेखक, वक्ताहरू र परिजनको हस्त बाहुलीबाट पुस्तकको लोकार्पण गरिएको थियो ।

लेखक तथा भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै पौडेलले भने, “डा. भम्पा राई स्वदेश फिर्तीको निम्ति अडिग रहने एउटा स्तम्भ हुनुहुन्थ्यो । उहाँ म र मेरो अनि हामी र हाम्रो छुट्याउन जान्नुहुन्थ्यो । उहाँमा एउटा सिद्धान्त थियो — समाज कल्याण गर्ने ।” उनले डा. राईको व्यक्तित्वमाथि चर्चा गर्दै थपे, “भूटानमै हुँदा आफ्नो नोकरीबाट विदा भएर गाउँ आउँदा कार्टुनमा कोसेलीको रूपमा औषधी लिएर आउने र बिरामीहरूको उपचार गर्ने डा. राईको सेवा भाव थियो । शरणार्थी भएर नेपाल प्रवेश गरेपछि पनि भूटानी जनताहरूको सेवा गर्न कहिल्यै कञ्जुस्याइँ गर्नु भएन ।”

पुस्तकमाथि चार जना वक्ताहरूले चर्चा गरेका थिए । डा. राईको योगदानको चर्चा गर्दै साहित्यकार सुमित्रा वाङदेल ‘चेली’ले भनिन्, “यदि डा. भम्पा राईले चाहनु भएको भए दरवारसँग चाप्लुसी गरे सुविधा सम्पन्न जीवन बिताउनु सक्नु हुन्थ्यो तर त्यसलाई लत्त्याएर सङ्कटपूर्ण जीवन चुन्नु भयो ।” उनको बिचारमा “डा. राईले आफ्नो आत्मकथामा सरल ढङ्गबाट अनेकन् प्रश्नहरू उठाएका छन् तर उत्तर चाहिँ ‘स्वदेश फिर्ती’ मात्र थियो ।”

भूटानी शरणार्थी स्वदेश फिर्ती समिति (बि.आर.आर.आर.सी) का कार्यवाहक अध्यक्ष तिलक राईले “यो पुस्तक सरल रूपमा डा. राईको दैनिक जीवनमा घटेका घटनाहरू लेखिए पनि भूटानी इतिहासको दस्ताबेज भएको” उल्लेख गरे । उनले भने, “सरल तरिकाबाट भूटानको इतिहास जान्नको लागि यो पुस्तक अनिवार्य पढ्नु जरुरी छ ।”

कान्तिपुर दैनिकसँग आबद्ध वरिष्ठ पत्रकार देवेन्द्रराज भट्टराईले पुस्तकबारे आफ्नो धारणा राख्दै भूटानले विश्वव्यापी फैलाएको देशको संवृद्धि मापन गर्ने ‘कुल राष्ट्रिय खुसीयाली’ को अवधारणा विरुद्ध अहिले संसारभरि पत्रकारहरूले प्रश्न उठाइरहेको विचार व्यक्त गरे।

अर्का वक्ता लेखक तथा कृषि वैज्ञानिक डा. गोविन्द रिजालका अनुसार “जस्तै मन दरिलो हुने पाठक भए पनि पुस्तकको ‘उर्मिला ‘खण्ड पढ्दा पटक पटक आँखा रसाउने कहानी उल्लेख भएको छ।”

स्व. डाक्टर राईको तस्बिरमा माल्यार्पण साथै दीप प्रज्वलन गरी उद्घाटन भएको विमोचन कार्यक्रम भूटानी शरणार्थी व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार, कलाकार र शरणार्थीहरूको व्यापक उपस्थिति थियो । कार्यक्रम कवि दिल भूटानीले सञ्चालन गरेका थिए । यस कार्यक्रमको आयोजना भूटानी शरणार्थी बस्ती व्यवस्थापन समितिले गरेको थियो भने प्रायोजक तथा सहप्रायोजक क्रमशः जिबिएलओ/स्वीकारोक्ति फाउन्डेसन र ओमप्रकाश अधिकारी थिए ।


गोविन्द रिजालद्वारा लिखित समीक्षा “भम्पा- आधारबाट शिखरको उत्खनन” यहाँ पढ्नुहोस्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *