भम्पा – शरणार्थीका डाक्टर पूर्व शरणार्थीकै आँखाबाट

विकाश धमला ‘प्राञ्जल’
अस्ट्रेलिया

आफ्नो जन्मभूमि छोडेर विदेशिन बाध्य बनाइएका नेपालीभाषी भुटानीहरूका नेता डा. भम्पा राईको आत्मसंस्मरण ‘भम्पा – एक अडान अनेक प्रश्न’ प्रकाशनमा आएको केही महिना बितेको छ। युवा लेखक श्री वीरेन मगरद्वारा नेपाली भाषामा लेखिएको यो पुस्तकको प्रकाशनको जिम्मा रत्न पुस्तक भण्डार, काठमाडौँ नेपाल’ले लिएको छ । डाक्टर राईसँगको कुराकानी र अन्तर्वातामा आधारित पुस्तकको अधिकांश विषयवस्तु र पाण्डुलिपि स्वयं डा. राईले पढ्नुभएको र उहाँले औँल्याउनुभएका ठाउँमा आवश्यक परिमार्जन गरिएको जानकारी लेखक वीरेन मगरले दिएका छन् । देहावसान हुनुपूर्व सिकिस्त डा साहबसँग लेखकले बिताएका दुई (२) दिनका घटना-परिघटना समेटेर ‘लेखकीय’ अध्याय थपेर पुस्तकको आकार पूरा गरिएको छ ।

पुस्तक पढ्दा लाग्छ सामान्य गाउँको सामान्य परिवारमा जन्मे-हुर्के-बढेका डा. राईको जीवनी लेखनमा लेखकले आफ्नो तर्फबाट गर्न सक्ने लेखकीय न्याय गरेका छन् । डा. राईले बोल्ने भाषा र लवजलाई बिना बढाई-चढाई हुबहु प्रस्तुत गर्न लेखकले राम्रै चुनौती खेप्नुपरेको देखिन्छ, यस हिसाबले लेखकको लेखकीय कौशलको सराहना गर्नु पर्छ । प्रस्तुतिमा डा. राईको जीवनबारे अतिरञ्जना शून्य र तथ्य उच्च पाइन्छ । पुस्तकले शरणार्थीका डाक्टर डा. भम्पा एक सामान्य तर आदर्श समाजसेवी थिए भन्ने तथ्यलाई स्थापित गरेको छ ।

पुस्तकको सुरुवातमा ‘म स्वेच्छाको शरणार्थी’ शीर्षकमा डा. राईले राखेका आफ्ना कुरा बाहेक अन्य परम्परागत भूमिका, प्रस्तावना र प्रकाशकीय दृष्टिकोणहरू केही छैनन् ।

तत्कालीन भुटान र भुटानको छिमेकी भारतबिच राजनैतिक सीमारेखा स्थापना हुनुभन्दा अघि नै डा. राईका पुर्खाहरू नेपालको भोजपुरबाट इलाम-दार्जिलिङ हुँदै भारतको पश्चिम बङ्गाल, भुटानको दुबे र अन्ततः बाँडामा बसाई सरेका थिए । यसरी भुटान छिरेका डा. राईका पुर्खाहरूले आफ्नो थात-थलो जोड्न गरेको सङ्घर्ष र दुखका कहानीहरूबारे सुरुका दुई अध्यायमा पढ्न पाइन्छ । खेती-बाली गर्ने सीप नभएका र दुःख जिलो गर्न नजान्ने भोटेहरू र डा. राईका पौरखी पुर्खाहरूबिच घटेका केही झगडा र द्वन्द्वहरूबारे पढ्दा लाग्छ कि डा. राईका पुर्खा निडर र साहसी स्वभावका थिए ।

तिनै पुर्खाहरूको साहसको विरासत कायम गर्न खोज्ने साख डा. राईसँग समेत थियो भन्ने भाव उनका जीवनमा घटेका अन्य सन्दर्भहरूबाट बुझ्न सकिन्छ । डा. राईले बारम्बार प्रयोग गर्ने नाम ‘सहबीर राई’ जो साइनोले भम्पाका दिवा (बाजे) थिए, उनको कहानीलाई जोडेर लेखिएको भुटानको पहिलो आन्दोलन ‘जय गोर्खा’ आन्दोलन, त्यसका नेतृत्वकर्ता महाशुर क्षेत्री र उनको हत्यापछि गठन गरिएको पार्टी ‘भुटान स्टेट काँग्रेस’को बारेमा लेखिएको कथनलाई भुटान र नेपालीभाषी भुटानीहरूको इतिहासप्रति उत्सुक कुनै पनि पाठकले उपयोगी सन्दर्भ सामाग्रीको रूपमा पाउनेछ भन्नेमा अत्युक्ति नहोला ।

“… ‘जय गोर्खा’ आन्दोलन टुङ्ग्याएबापत नेतृत्व गुरुङले एक हजार र महासचिव डी. बी. खड्काले पाँच सय रुपैयाँ मासिक भत्ता आजीवन बुझिरहे”, यी सन्दर्भहरू बुझ्न पाठकलाई यो पुस्तक आफैँ पढ्न प्रोत्साहन गरिन्छ ।

अरू सामान्य मानिस झैँ डा. राईको जन्म र पालनपोषण पनि सामान्य रहेको देखिन्छ । डा. राई को नाम ‘भम्पा’ अनौठो नाम सुनिन्छ । यसको अर्थ थाहा पाउन पुस्तकको ‘मेरो निधारमा पढाई थिएन’ शीर्षकको कथा पढ्नुपर्छ ।

बाल्यावस्थादेखि नै तीक्ष्ण दिमाग, उच्च साहस र निस्वार्थ समाजसेवाको गहिरो भावना बोकेका राई अनवरत सङ्घर्ष र कठिन मेहनत पछि भारतको गुहावटी मेडिकल कलेजबाट एम. बी. बी. एसको पढाइ पूरा गरेर डाक्टर बन्दै स्वदेश फर्कन्छन् । डाक्टर बनेपछि भम्पा केही वर्ष देश भित्रै बिरामीहरूको सेवामा खटिन्छन् । विशेष गरी दरवारीयाहरूको चाकडीमा उनलाई वितृष्णा पैदा भए पनि डाक्टर भएपछि बिना भेदभाव सबैको सेवा गर्नुपर्ने भएकोले उनले दरबारीया र जनता दुवैको सेवा गर्छन्, भलै उनी जनताको लागि बढी मरिमेट्ने गर्दछन् र जनता नै उनको सेवाको प्राथमिकतामा पर्दछन्, उनको त्यस्तो साहसले केही दरबारीयाहरू रुष्ट बन्दछन् तर डा. राई निडरताका साथ आफ्नो विशेषतालाई कायम गरिराख्छन् ।

जनताको सेवा गर्ने मनोबल अझै बढ्न थालेपछि र पढाइप्रतिको आफ्नो भोक अझै पूरा नभएपछि उनी केही वर्षपछि ढाकाबाट फेलोसिप सकेर सर्जन बन्छन् र फेरि भुटान फर्कन्छन् । सर्जन बनेपछि दरबारीयाहरूसँगको उनको भेटघाट पहिलेको भन्दा बाक्लिन्छ । केहीसँग तिक्तता बढ्छ भने केही सँग आत्मीयता । यस क्रममा दरबार (वाङ्चुक) र दरबारको ससुराली (दोर्जी)हरूबिच सत्ता हानथापमा भएका केही ऐतिहासिक खटपट र दुर्घटनाका सन्दर्भहरू पनि समेटिएका छन्। भुटानका पहिलो प्रधानमन्त्री कुमार साहेब पाल्देन दोर्जी (महासुर क्षेत्री को हत्या गर्ने) जो तत्कालीन महारानीका दाजु थिए, उनको हत्या, र हत्या पश्चात्, राजाका मामा छाब्दा नाम्ग्येल (तत्कालीन आर्मी चिफ) माथि हत्याको झुटो आरोप र त्यसपछि तिनको पनि हत्या र त्यस घटनासँग सम्बन्धित अन्य रोचक विषयहरू ‘फजुल भेटघाट’ र ‘डासो लाम्फेको प्रतिक्रिया’ शीर्षक अन्तर्गत समेटिएको छ ।

समय क्रमसँग शासक वर्गले नेपालीभाषी भुटानीहरूमाथि गरेको दमन प्रस्ट रूपमा देखिन थाल्छ र डा. राई समेत यसको अपवाद रहन्नन् । नेपालीभाषीहरूमाथिको दमन र थिचोमिचोलाई उनले टुलुटुलु हेरिरहन सक्दैनन् र आत्मीयता जोडिएका दरबारीयाहरू रातारात उनीसँगको सम्बन्धबाट टुट्छन् । प्रत्यक्ष र परोक्ष रूपमा उनी आन्दोलनमा जोडिन्छन् र एक लाखभन्दा बढी शरणार्थीहरूसँग उनी पनि देशबाट बाहिरिन्छन् ।

आन्दोलनताका वा आन्दोलन पश्चात् आन्दोलन सफल नहुनुमा डा. राई नेतृत्वको कमीकमजोरीलाई पनि औँल्याउँछन् । तत्कालीन पार्टी बी. पी. पी. मा “… अध्यक्षदेखि साधारण सदस्यसम्म प्रायः सबै निम्न सरकारी ओहोदा वा निम्न वर्गका मान्छेहरू मात्र थिए” । पढालेखा भएकाहरूलाई पार्टीले ठाउँ नदिएको बारे भम्पा थप्छन्, “… पढालेखा भएकाहरू पार्टीमा आए वा ठाउँ पाए पार्टी नै हडप्न सक्ने भयले ग्रस्त थिए उनीहरू” । डा. भम्पाको यो भनाई हाल अस्ट्रेलियामा पुनर्वासित भुटानी श्री ओम ढुङ्गेलद्वारा लिखित आत्मसंस्मरण ‘भुटान टु ब्ल्याकटाउन’ पुस्तकमा उल्लेख गरिएको आशयसँग मेल खान्छ ।

सुरुका दिनहरूमा बाक्लो बसोबास भएको शिविरमा चाहिने टोइलेट र जुठेल्नुको डिजाइन देखि लिएर हैजा अनि रोग नियन्त्रणमा डा. भम्पाले पुर्‍याएको योगदान र त्यसपछिका वर्षहरूमा प्रदान गरेको अभिभावकत्वले उनको उच्च मानवतावादी चेतलाई उजागर गर्दछ । शरणार्थीहरूको सेवामा दिनरात खटेका कारण शरीर दुब्लाएको सन्दर्भलाई कोट्याउँदै डा. राई भन्छन् “…दिनदिनै त्यत्रा भुटानी मरिरहेका बेला, म एउटा त्यसमा थपिँदा के नै जान्छ र”। “… एक दिन बालबालिकासहित धेरैको मृत्यु भयो । मृत्यु हुनेको सङ्ख्यामा कसैले बिस, कसैले पच्चीस, कसैले पैँतीस हिसाब लगाए”।

खोज्नेले चामलमा बियाँ भेट्छ,चन्द्रमामा पनि दाग देख्छ । विशुद्ध सेवाको भावले काम गर्दा-गर्दै पनि भम्पाले केही आलोचना भने खेप्नुपर्छ – “भम्पाको गलत ट्रिटमेन्टका कारण मान्छे मरेको हो । भम्पालाई अब बहिष्कार गर्नुपर्छ”।

“आफ्नाले दिएको घाउ न हो बिस्तारै बिसेक भएर जाला”, आलोचनाको पर्बाह नगरी कर्तव्यनिष्ठ डाक्टर फेरि आफ्नो नियमित काममा लागिरहन्छन् ।

शिविरमा उनीविरुद्ध एक पटक मुर्दावाद को नारा लागेको र हात हालाहालको अवस्थालाई सम्झँदै भम्पा भन्छन्, “… खबर सुनेअनुसार बी. पी. पी. कै नेताहरूले त्यस्ता युवाहरूलाई खर्च दिएर राखेका थिए र ह्युरोबका विरुद्ध प्रयोग गर्थे” । यस्ता विभिन्न घटनाहरूको दृष्टान्त दिँदै डा. भम्पा बी. पी. पी. प्रति केही असन्तुष्ट हुन्छन् यद्यपि यसको पुष्टि भने गर्न शब्द खर्च गर्दैनन् । सुरुमा बी. पी. पी., बी. एन. डी. पी. अनि त्यसपछि स्वदेश पिर्तीको उद्देश्य राखेर च्याउ सरि उम्रिएका राजनैतिक सङ्घ-संगठनहरुबीच भएका खुट्टा तानातान, खिचातानी र अनेकताप्रति डाक्टरको असन्तुष्टि देखिन्छ । आहुरा भुटानको गठन पछि, डा राई भन्छन्, – “…सुरुमा बी. पी. पी. र बी. एन. डी. पी. बीचमा मात्र सीमित रहेको टकराब आहुराको गठनपछि त्रिकोणात्मक भयो”। यद्यपि स्वदेश फिर्तीका लागि गरिएका प्रयासहरूले शरणार्थीलाई केही ठोस लाभ मिल्ला कि भन्ने आशाले डा. राईले सारमा यावत् पार्टीहरूप्रति सकारात्मक दृष्टिकोण राखेको र सहयोग गरेको पाइन्छ ।

स्वदेश फिर्तीका लागि चालिएका हरेक आन्दोलन असफल भएपछि र बिस्तारै सेलाउँदै जान थालेपछि, शरणार्थी समस्या समाधानार्थ विकल्पका रूपमा अघि सारिएको तेस्रो राष्ट्र पुनर्वास कार्यक्रमप्रति प्रस्ट असन्तुष्टि भए पनि पुनर्वास कार्यक्रमको भने डा. राईले प्रतिवाद नगरेको भाव पुस्तकमा पाइन्छ । स्वदेश फिर्ती असम्भव प्राय भइसकेको अवस्थामा अधिकांश शरणार्थीहरू निराश भएको बेलामा पुनर्वास कार्यक्रमप्रति डा. राई आलोचनात्मक विचार प्रकट गर्थे – शरणार्थीलाई आश र त्रास देखाएर निरीह बनाइयो ।

डा. भम्पा शरणार्थीहरूको स्वदेश फिर्ती जसरी पनि हुनुपर्छ भन्ने मान्यता र दृढ विश्वास बोकेका एक स्वाभिमानी देशभक्त थिए । उनी आफ्नो देशलाई असाध्यै माया गर्दथे भन्ने प्रमाण उनले मृत्युपर्यन्त आफ्नो आँगनको माटो आफूसँग राखेको कुराले पुष्टि गर्दछ । मरणोपरान्त आफ्नो लासमा छर्किन डा. राईले त्यो माटो साँचेर राखेका थिए ।

भम्पासँग उपचारमा जाने बिरामीहरूको घरको ठेगानाको बारेमा बिरामीकै शब्दमा डा. राईको यस्तो कथन छ – “डा. भम्पाले घर कहाँ हो भनेर सोध्छ । त्यस बेला झुक्किएर पनि शिविरको एड्रेस बताउने हैन”। “भुटान भन्नुपर्छ । अनि भुटानकै आफ्नो एड्रेस बताउनुपर्छ । नत्र भने त झापड पनि लगाउन बेर लाउँदैन बुढाले”। उहाँसँग उपचार लिन जाने प्राय सबै शरणार्थीहरू डाक्टरको यो स्वभावका साक्षी छन् ।

उनी निस्वार्थ समाजसेवी भएको कुरा पुस्तकले स्थापित गर्दछ । गरिब र सोझा शरणार्थीहरूको उनी निःशुल्क उपचार गरिदिन्थे, यतिसम्म कि कतिको त उनी औषधिको समेत शुल्क लिँदैनथे । शरणार्थी बाहेक राज्यबाट ठगिएका वा पहुँच नपाएका गरिब स्थानीयहरूको समेत उनी त्यसै गरी उपचार र सेवा गर्थे भन्ने कुरा पुस्तकमा समेटिएका विभिन्न प्रसङ्गबाट बुझ्न सकिन्छ ।

आफ्नो लागि चाहिने खुसी र आनन्द भन्दा बिरामी शरणार्थीहरूको चिन्ता र दया बढी प्राथमिकतामा राख्ने डाक्टर आफ्ना रुचिका बारे यसो भन्छन् – ‘मैले सुनेको नेपालको पोखरा भन्ने ठाउँ घुम्न र हेर्न लायक छ रे, तर मैले यही वरिपरि पनि घुमेको छैन । … पोहोर परार उर्मिलाले त्यही पर जामुनखाडी कि के भन्ने ठाउँमा घुम्न जौँ न भनिन्, मैले मानिनँ” (पृष्ठ ३०३) ।

“तर जब जब यस्तो इच्छा हुन्थ्यो, मलाई मेरा मान्छेहरूको झझल्को हुन्थ्यो। कोही अभर परेर आउने हुन् कि ? जीवनको अन्तिम आशा बोकेर मेरो बाटो हेर्दाहेर्दै मरे भने ? मलाई यस्तो सोच आउँथ्यो” (पृष्ठ ३०३) ।

अन्तर्जातीय बुहारी भएर भित्रिएकी कारण डाक्टरकी श्रीमती उर्मिलाले भम्पाको परिवार तथा आफन्तजनबाट केही असन्तुष्टि झेल्नुपरेको थियो । तर परिवारले गर्ने भेदभाव र अन्यायलाई आफ्नी श्रीमतीले चुपचापमै सहेर बसेको कुरा डाक्टरको कथनबाट बुझ्न सकिन्छ ।

संस्मरणको अन्त्यतिर आफ्नी दिदीको देहावसानपछि, आफ्नी अर्धाङ्गिनी उर्मिला समेत रोगले ग्रस्त भएपछि, औषधि उपचार र हातमुखको लागि खर्च जुटाउन धौ-धौ भए पछि र आफू स्वयं अशक्त बनेपछि भने डा. राई निराशाको भावमा पश्चात्तापजन्य विचार राख्छन्, “… पुनर्वासमा जाने कुरा म सोच्न पनि सक्दिन थिएँ । तर… के उर्मिलाले पनि मैले जस्तै सोच्थिन् त! … उनलाई यो थाहा थियो कि त्यहाँ उनको बिरामको सहजै उपचार हुन्छ”। “आफ्नो व्यक्तिगत जीवनसँग मलाई कुनै खेद छैन किनभने त्यो मैले आफै रोजेको बाटो थियो । तर अहिले मेरो परिवारका प्रत्येक सदस्यतिर फर्केर हेर्दा लाग्छ, मेरो यस्ता खाले हर्कतले कालान्तरमा मेरो पारिवारिक जीवनमा भने निकै ठुलो असर गरेछ”।

डा. राईका पछिल्ला दिनहरू निकै नै कष्टप्रद देखिन्छन् । दिदी, र उर्मिलाको स्वर्गवासपछि, डा. राईको एक्लो जीवन कम विक्षिप्त भएन । पढ्ने पाठकहरूलाई डा. राईका यी मृत्युपर्यन्तका वेदनाहरूले निकै नै मर्माहत बनाउँदछन् ।

यसरी पुस्तकमा डा. भम्पाका जीवनका विभिन्न पाटाहरूको वर्णन र प्रसङ्गहरू पढ्न पाइन्छन् । पुस्तक लेखनमा लेखकले आफूले भेटेसम्मका ‘रेफरेन्स’हरू पनि समेटेको पाइन्छ । तत्कालीन समयमा नेपालका राष्ट्रिय तथा स्थानीय तहमा प्रकाशित भएका पत्र-पत्रिकाका समाचारहरू, लेख-आलेख तथा भुटानीहरूसँग सम्बन्धित पुस्तकहरूलाई लेखकले सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गरेको कुरा उनले पानाका अन्तिममा उल्लेख गरेको ‘रेफरेन्स’बाट थाहा हुन्छ ।

पुस्तकमा समेटिएका सामाग्रीहरू र सन्दर्भहरू नितान्त डा. भम्पाकै वरिपरि मात्र घुम्दछन् । डाक्टरले आफ्ना आमा-बाबा, लाटी दिदी र श्रीमती बाहेक अन्य पारिवारिक नाता जोडिएका ससुराली तथा बन्धुहरूका बारेमा बखान र प्रशंसा छाँटेको पाइँदैन । यस हिसाबमा आत्मसंस्मरणको गुणात्मक पक्ष र मर्मलाई जोगाउन लेखक तथा पात्र दुवै लेखकीय दृष्टिकोणबाट सचेत बनेको देखिन्छ ।

समग्रमा पुस्तक ‘भम्पा – एक अडान अनेक प्रश्न’ पढ्नलाई सरल र सुन्नलाई तथ्यपरक छ । डा. भम्पा राईलाई अनन्तसम्म सम्झन सकियोस् ! र लेखक वीरेन मगरलाई थप लेखनका लागि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *