भूटानी समाज विन्सर, क्यानडाद्वारा २११औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

भूटानी समाज विन्सर, क्यानडाद्वारा २११औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

विन्सर, क्यानडा | जुलाई १३, २०२५
भूटानी समाज विन्साेर क्यानडा (बिसिए)ले २११औँ भानु जयन्तीको अवसरमा एक भर्चुअल साहित्यिक कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाएको  छ । भानुभक्त आचार्य नेपाली समाजमा उनको रामायणका लागि प्रसिद्ध छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बिसिएका अध्यक्ष कृष अधिकारीले नेपाली भाषा संरक्षणका चुनौति र यसको महत्त्वमाथि गहन विचार राखेका थिए । त्यस पश्चात् समीक्षक शिवलाल दाहालले भानुभक्तको जीवनी र कृतित्वबारे लिखित वक्तव्य प्रस्तुत गर्दै उनलाई “नेपाली मन, भावना र चेतनाका कवि” का रूपमा चित्रण गर्दै उनको साहित्यिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश परेका थिए । उनले भानुभक्तीय रामायणको सरल भाषा, कथाको सहज प्रवाह र नेपाली जनजीवनसँगको नजिकपन नै उनको लोकप्रियताको मूल आधार रहेको बताएका थिए ।

कार्यक्रममा नेपालबाट सहभागी कवयित्री कल्पना भट्टराई र शिव त्रिपाठीले सुमधुर स्वरमा आफ्ना रचनाहरू गाएर सुनाएका थिए  । त्यस्तै, कवि टिकाराम राई (आँशु) र तुम्बेहाङ लिम्बूले जेल जीवनको स्मृतिसँग जोडिँदै, गुरु कमल रेग्मीबाट छन्द सिक्दाको अनुभव साझा गरे।

अन्य सहभागी स्रष्टामध्ये गङ्गाराम रिजाल, खेम खनाल, नारद तिम्सिना, हरि फुयाँल, भोला सापकोटा, भानु ढुङ्गाना, टिकाराम राई र तुम्बेहाङ लिम्बूले आफ्ना मौलिक कविता प्रस्तुत गरे भने इन्दिरा प्याकुरेल, कमला प्रिय फुयाँल , सीता श्री खनाल, तुलसा पोख्रेल, भोला सुवेदी र राधिका काफ्ले लगायतका स्रष्टाहरू विभिन्न कविहरूका  छन्दोबद्ध कविताहरू गाएर सुनाएका थिए ।

कोलम्बस रिनस्बर्गका सिटी काउन्सिल श्री भुवन प्याकुरेलले रामायणका केही श्लोकहरू लयात्मक शैलीमा प्रस्तुत गरे भने मङ्गलहाङ सुब्बाले “गुण रत्न माला” भित्रको एउटा कविता मीठो लयमा सुनाएका थिए ।

कार्यक्रममा साहित्यकार छत्रपति फुयाँल र भूटान साहित्य परिषद्का अध्यक्ष गङ्गाराम लामिटारेले पनि मन्तव्य राख्दै भानुभक्तप्रतिको श्रद्धा व्यक्त गरे।

कार्यक्रमको संयोजन भानु ढुङ्गानाले गरेका थिए भने सञ्चालनको जिम्मेवारी गजलकार जानुका न्यौपानेले सम्हालेकी थिइन् । उनले परिपक्क, मर्यादित र समयानुकूल सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गराएकी थिइन्। ४०१ हाेम्सले प्रायोजन गरेको कार्यक्रम उज्यालो विन्साेरले प्रत्यक्ष प्रसारण गरेको थियो भने अध्यक्षता साहित्यकार भानु ढुङ्गानाले गरेका थिए । कार्यक्रममा सहभागी सम्पूर्ण स्रष्टाहरूले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा सुमन अर्पण गर्दै नेपाली साहित्य र भाषाप्रतिको आस्था पुनः प्रकट गरेका थिए। अन्त्यमा भानुभक्त आचार्यले नेपाली साहित्यमा गरेको योगदानको स्मरण गर्दै, सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरी सभापति भानु ढुङ्गानाले कार्यक्रमको समापन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *