मेला-महोत्सव
वासु पोख्रेल
मेला मानिसको जमघट मात्र होइन। यहाँ त परम्पराको भकारीभित्र संस्कृतिका गतिविधिहरू लुकामारी गरिरहेका हुन्छन्। मेला प्रांगढ़को प्रवेशद्वारमा राखिएको सप्तरङ्गी मालामा एकताको सन्देश उनिएको हुन्छ। मेला-महोत्सव पुर्ख्यौली परम्पराको थुन्सेलाई अडेसा दिने सगरमाथा हो। यहाँ खेलिने खेलको विजेताले परम्पराको दोसल्ला ओढ्छ, गाइने गीतमा संस्कृतिले सङ्गीत भर्छ, र उडाइने चङ्गाले एकताको सन्देश छर्छ। मेला-महोत्सव मानव सव्यताको मेरुदण्ड हो। मेला लामो समयदेखि सांस्कृतिक र सामाजिक जीवनको मुख्य भाग भएको छ, जसले मनोरञ्जन, शिक्षा र वाणिज्यको अद्वितीय मिश्रण प्रदान गर्दछ। केही अपवादलाई पैताला मुनी राखेर हेर्ने हो भने मेलाका अनेकौँ फाइदा छन्। मेलाले सांस्कृतिक संरक्षण, आर्थिक परिसंचरण, सामाजिक अन्तरक्रिया जस्ता कार्यहरूमा टेवा पुर्याएको हुन्छ।
पहिलो, मेलाले सांस्कृतिक संरक्षण गर्न ठुलो मद्दत गर्छ। इनारको पानीलाई बाल्टिनले बाहिर निकाले झैँ मेलाले विभिन्न समुदायमा लुकेर बसेको मौलिक कला-संस्कृतिलाई स्थानीय प्रांगढ़मा उतार्ने गर्छ। मेलाको साझा आँगनमा नाच-गान, खेल-कुद्, र जादु प्रदर्शनीको भेलले उपस्थित भीडको मन मस्तिष्कमा रहेको तनावको फोहोरालाई किनारा लगाइदिन्छ। मेलाको बेलो पछ्याउँदै जाने हो भने कुम्भ मेला , कनकाई-माई मेला , बराह मेला आदिको कोपिला भेट्न समय लाग्दैन। उद्देश्य, भाव, र सार उहीँ तर प्राचीन महोत्सव र आजकाल आयोजित मेला-महोत्सवको पूर्वाधारमा धेरै अन्तर पाइन्छ। उहिले तिर्थालु हिँडेर वा साइकलमा मेला मैदान पुग्थे। अहिले आधुनिक चार पाङ्ग्रेमा। पुर्ख्यौली कार्यक्रम विपरीत, हिजो-आज महोत्सवको प्रत्येक घटना क्रम सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण हुन्छ। सरसफाइको चरमचुली, आधुनिक उपकरणको महासागर, र बजारको उचित ब्यवास्तापन अहिलेका मेला-महोत्सवका महत्त्वपूर्ण विशेषता हुन्। भाषा, साहित्य र भेष-भूषाको असारे रोपाई गरेर मेल-मिलाप र सभ्यताको बाली भित्र्याउने खेती हो मेला। मेलाको प्राथमिक कार्य स्थानीय सम्पदा र परम्पराहरूको संरक्षण हो। धेरै मेलाहरू इतिहासमा खडा छन्, प्रायः कृषि अभ्यासहरू, मौसमी चक्रहरू, वा स्थानीय उत्सवहरूमा जरा गाडिएका हुन्छन्। तिनीहरूले समुदायको अद्वितीय चलन, खाना, सङ्गीत र शिल्पहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दछन्, जसले स्थानीय र आगन्तुकहरूलाई उनीहरूको सांस्कृतिक विरासतसँग संलग्न हुन अनुमति दिन्छ।
दोस्रो, मेलाले आर्थिक परिसंचरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। मेलाले आर्थिक विविधीकरणको लागि उत्प्रेरकको रूपमा काम गर्छ। यसले आर्थिक, सामाजिक, र धार्मिक विकासको अग्लो स्तम्भ खडा गर्छ। यही दरिलो बुर्जालाई केन्द्रबिन्दु बनाएर स्थानीय व्यवसायीले आफ्नो व्यापार विस्तार गर्ने मौका पाउँछन्। मेला पर्यटन व्यवसायको धरोहर हो। मेला प्राङ्गण नजिकैका होटेल, यातायात, र बजारमा पर्यटकको बाक्लो उपस्थितिले आर्थिक कारोबारको भदौरे भेल बग्छ। सुस्ताएको स्थानीय अर्थतन्त्रलाई मेलाले उमङ्गको चिसो पानी छम्केर बिउँझाउँछ। किन-बेच र मोलतोलको प्रकृति उस्तै तर उहिलेका मेला-महोत्सवमा नगद कारोबार हुन्थ्यो भने आजकाल बैङ्क कार्ड चल्छ। कुम्भ मेला देखि मध्य ओहायोको सिभिक पार्क वा हर्रिस्बर्ग पेंसिल्वेनियामा आयोजित मेला सम्म आइपुग्दा अर्थतन्त्रको विकासले राम्रै गति समातेको देखिन्छ। किन-बेचको गुरुत्वाकर्षणले उपस्थित भिडको झोला तान्दा अर्थतन्त्रको खुट्टा तन्किन्छ। मेलाले अस्थायी कामहरू सिर्जना गर्दछ, कार्यक्रममा कर्मचारीहरू राख्नदेखि सुरक्षा र मर्मतसम्भार जस्ता सेवाहरू प्रदान गर्न। यस रोजगारीको लहरले थप आर्थिक वृद्धिलाई उत्प्रेरित गर्छ, किनकि कामदारहरूले आफ्नो कमाइ मेला सेरोफेरोमा खर्च गर्छन्। आर्थिक रूपमा, मेलाहरूले स्थानीय समुदायहरूको लागि वृद्धिको शक्तिशाली इन्जिनको रूपमा काम गर्दछ | यसले राजस्व उत्पादनलाई चलाउँछ, साना व्यवसायहरूलाई समर्थन गर्दछ, र पर्यटनलाई बढवा दिन्छ।
सांस्कृतिक संरक्षण र आर्थिक परिसंचरण मात्र नभई, मेलाले सामाजिक अन्तरक्रियामा पनि अत्यन्त महत्त्वपूर्ण सहायता पुर्याएको हुन्छ। सभ्यताको नदीमा थापिएको संकृतिको पुल तर्दै उत्साहको ढाकरमा कलाको पुञ्ज बोकेर आएका कलाकारको सिर्जना प्रस्फुटन हुने स्थल हो मेला-महोत्सव। यहाँ उपस्थित हरेक भक्तका हत्केला, गला वा पदमा कला-कौशलको फूल ढकमकाएको हुन्छ। दर्शका आँखा कला प्रदर्शनीको मञ्च तिर तेर्सिए पनि पन्चानब्बे प्रतिशत भिडको मन-मस्तिष्क सामाजिक अन्तरक्रियामा व्यस्त हुन्छ। मिठाई बनाउने तरिका, कला-संस्कृतिको महत्त्व, र वरिपरि देखिएका रोमाञ्चक खेलकुदका संवादले मेलाको आकाश ढाकिएको हुन्छ। मानसिक चाप, तनाव, र थकानको भारी बिसाउने साझा चौतारी हो मेला। वर्षौँदेखि अन्तर्मनको एक कुनामा लुकेर बसेका प्रसङ्गलाई उखेलेर मेलाको न्यानो आँगनमा गफगाफको बिस्कुन सुकाउने जमात ठुलै भेटिन्छ। मेलाको भौतिक रूपरेखाले निश्चित प्रकारका अन्तरक्रियाहरूलाई प्रोत्साहन वा अवरोध गर्न सक्छ। बस्ने ठाउँहरू भएका खुला ठाउँहरूले लामो कुराकानीलाई बढवा दिन सक्छन्, जबकि भिडभाड हुने बाटोहरूले छोटो संवाद आदानप्रदान गर्न सक्छ। कलाकारहरूको उपस्थिति वा आकर्षक प्रदर्शनहरूले कुराकानी सुरु गर्ने, मानिसहरूलाई सँगै खिच्ने र साझा रुचिहरूको वरिपरि संवादलाई सहज बनाउने काम पनि गर्न सक्छ। मेलाले कलात्मक प्रक्रियाहरू, प्रविधिहरू, र विभिन्न हस्त निर्मित वस्तुहरू पछाडिका कथाहरूको छलफलहरूलाई प्रेरित गर्छ । यी सन्दर्भ-विशिष्ट संवादहरूले आगन्तुकहरूको अनुभव मात्र बढाउँदैन, मेलामा प्रस्तुत गरिएका विषयवस्तुहरूको साझा प्रशंसामा पनि योगदान पुर्याउँछ।
मेलाले सांस्कृतिक संरक्षण, आर्थिक परिसंचरण, सामाजिक अन्तरक्रिया जस्ता घटनाको वातावरण र अनुभवलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ। मेलाको सांस्कृतिक महत्त्व मनोरञ्जनभन्दा माथि छ। यस्ता कार्यक्रम सामुदायिक पहिचान र सम्पदाको महत्त्वपूर्ण अभिव्यक्ति हुन्। परम्पराको संरक्षण गर्दै, सामाजिक जडानहरू बढाउँदै, रचनात्मकता प्रवर्द्धन गर्दै, र सामुदायिक पहिचानलाई सुदृढ गर्दै, मेलाहरूले सांस्कृतिक परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्छन्। मेलाले दिगो विकास र स्थानीय बासिन्दाहरूको जीवनको गुणस्तर सुधार गर्न सक्छ। मेला निष्पक्ष जीवन्त र लचिलो स्थानीय अर्थतन्त्रको आवश्यक घटक हो। मेला-महोत्सवले स्थानीय बजारमा बढुवा पाउनुपर्छ।