देश छोडेको दिन
जलन भण्डारी एडिलेड मेरा शुभचिन्तकहरु, मलाई माया गर्ने नजरहरु, मेरा प्यारा सरदार काका, गाउँ बेंसी र मेलापातका, मेरा प्यारा साथिसंगिहरु, लाटिले पापा हेरेझैं ट्वाल्ल परेर हेरिरहे मैले गाउँ छोडेको दिन । मेरो प्यारो गाउँ, भञ्ज्याङ र चौतारिहरु, एक मुठ्ठि पाति र एउटा भेटी बोकेको मेरो थकान बिसाउने देउराली , बर्षौं कमाएको गैरि खेत, मलाई ताते गर्न सिकाउने मेरो घरको सिकुवा र आँगन, सुँगुरले जुन हेरेझैं एकोहोरो हेरिरहे हेरिरहे मैले गाउँ छोडेको दिन । मिरमिरे उषासंग बिदा लिंदा पाटी र पौवा ब्युँझिएका थिए, दीपशिखा झैं टुकिको रोशनिमा निरन्तर म हिडिरहेको थिएँ, खै मलाई रोक्न कोही आएन, झर्ना र छहरा छङछङ बग्दैथिए, गोरेटाहरुले मलाई बोकिरहे, मैले गाउँ छोडेको दिन । सूर्योदयको आगमनलाई पर्खि बसेको हरियाली वन, डाँफे, मुनाल र चाँप गुराँस, कोइली , सधैं छमछम नाच्ने मयुर, अनि मेरो पुच्छर लाग्ने काले, सबै चकमन्न- सुनसान थिए मैले गाउँ छोडेको दिन । हिँउले पुरिएका कुल्हागांरि र जोमोलरि, नागबेलि परेर बगेका हिमनदिहरु, मेरो गौचरन बोक्ने एक टुक्रो बगर, मलाई क ख को उचारण सकाउने मेरो सानो प्यारो पाठशाला, मिरमिरे उषाको घुम्टो ओडेर, मेरा लरबराएका पाईला हेरिरहे मैले देश छोडेको दिन ।


JN sir, bhabuk ani ramro pani. kathmandu ma magarka gharma basta lekhnu bhayeko “कागज सागको मेरो प्रेम” पनि पुब्लिश गर्न मिल्छ?
लक्ष्मी प्रसाद ढकाल